शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘हामी स्वार्थ केन्द्रित एकता गर्ने पक्षमा छैनौँ’

बिहीबार, २९ साउन २०८२, ११ : ५६
बिहीबार, २९ साउन २०८२

सारांश

  • नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको चर्चा चलिरहेको छ, नेताहरूबीच भेटघाट बाक्लिएको छ।
  • दुई पार्टीबीचको एकता प्रक्रिया सहज छ कि छैन भन्ने प्रश्न उठिरहेका छन्, जसमा वैचारिक, व्यवहारिक, संस्थागत र भावनात्मक छलफल आवश्यक रहेको छ।
  • विप्लवसँग पार्टी एकताको लागि वार्ता टोली बनाउने कुरा भइरहेको छ, र यो एकता पदमा केन्द्रित नभई विचारमा आधारित हुने बताइएको छ।

यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता हुने चर्चाले नेपालको राजनीतिक वृत्त तातिएको छ । दुई पार्टीका नेताहरूबिच दैनिक भेटघाट र छलफल बाक्लिएका छन् । पार्टीपंक्तिमा पनि एकताबारे वैचारिक बहस छेडिएको छ ।

तर, दुई फरक इतिहास, स्कुलिङ र विचारधाराबाट आएका पार्टीहरूबिच गर्ने भनिएको एकता प्रक्रिया सहज छ त ? यो एकताले पनि नेकपा कालको नियति त भोग्नुपर्दैन ? भन्ने प्रश्नहरू पनि सँगसँगै तेर्सिएका छन् ।

दुई पार्टीले यी प्रश्नको उत्तर खोजेको छ कि छैन ? यसपटक एकता प्रक्रिया कसरी बढिरहेको छ ? रातोपाटीकर्मी गणेश पाण्डेले माओवादीका सचिव दीनानाथ शर्मासँग यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

  • तपाईँहरू नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयासमा हुनुहुन्छ । एकता प्रक्रिया कसरी अघि बढिरहेको छ ?

–पहिला पार्टीहरू हतारमा एकता गर्ने तर पछि गएर कता–कता, के–के नमिलेर फेरि टुट्ने गरेको हामीले देखेका छौँ । तत्काल फाइदा लिनको लागि स्वार्थकै कारणले एकता हुने तर स्वार्थ नमिलेपछि विभाजन भएको हामीले देखेकै हौँ । विचारकै आधारमा पार्टीहरूबिच एकता भए पनि विचारकै आधारमा विभाजन भएकै हो । 

विगतका हाम्रा एकता र विभाजनका समृद्ध अनुभवले अहिले हामी जुन एकताको कुरा गरिरहेका छौँ, त्यसलाई वैचारिक, व्यवहारिक, संस्थागत र भावनात्मक छलफलको माग गर्ने रहेछ । त्यो सबै चिजलाई मिलाउन एक आपसमा नजिक हुने, सहकार्य गर्ने, कार्यक्रमहरू बनाउने, योजनाहरू बनाउने, योजनामा तत्परता र इमानदारी देखाउने जस्ता परीक्षणका आधार र मापदण्ड हुने रहेछन् । 

त्यही भएर अहिले हामीले तलैदेखि छलफलहरू चलाएका छौँ । हामीले समाजवादी मोर्चालाई एक आपसमा वैचारिक रूपले नजिक हुने माध्यम बनाएका छौँ । वैचारिक र व्यवहारिक रूपले  हाम्रा शैली तथा बानी बेहोराहरू अलग–अलग छन् । ती सबैलाई मिलाउन एक आपसमा घुलमिल हुने वातावरण बनाएर एकतालाई थप समृद्ध बनाएर मात्र अन्ततः एकता गर्नुपर्ने रहेछ ।

यसअघि माथिका शीर्ष नेताहरूबिचमा सहमति हुने र निर्णय कार्यान्वयन गराउने अभ्यास थियो । तर, अब चाहिँ त्यसरी नगर्ने । अहिले प्रदेशका सम्पूर्ण नेताहरू तथा जिम्मेवार साथीहरूलाई राख्ने, उहाँहरूबिच छलफल गर्ने र सम्बन्ध र समस्याहरूलाई मिलान गर्ने भन्ने छ । किनभने एक आपसमा छलफल गरिसकेपछि त्यसको समाधानको बाटो पनि निस्कन्छ भन्ने हाम्रो विश्वास हो । अहिले अलि परिपक्व किसिमले एकतालाई टुङ्ग्याउने गरी अगाडि बढेको अवस्था हो ।

  • एकीकृत समाजवादीसँगको एकताको प्रयासको सन्दर्भमा तपाईँहरू फरक–फरक स्कुलिङबाट आउनुभएको छ । उहाँको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै छ भने तपाईँहरूले मार्क्सवाद–लेनिनवादबाहेक माओवादलाई पनि मार्गदर्शक सिद्धान्त बनाउनुभएको छ । यो दुईबिचको अन्तरघुलन सम्भव छ ?

–सम्भव छ । हाम्रो कार्यदिशा के हुने भन्ने कुराहरूमा हामी छलफल गरेर एक ठाउँमा पुग्छौँ । हाम्रो रणनीति र कार्यनीतिमा एकरूपता आयो भने त्यो पक्कै पनि सम्भव छ । अहिले तत्काललाई चुनावलाई मात्र केन्द्रमा राखेर वा सरकारमा जाने–नजाने विषयमा वा पदहरू हत्याउने कुरालाई केन्द्रमा राखेर एकता गर्न लागेको भए, त्यो स्वार्थ केन्द्रित एकता हुन्थ्यो । तर, अहिले हाम्रा छलफलहरू स्वार्थ केन्द्रित नभएर समग्र वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउने, समाजवादी क्रान्ति सम्पन्न गर्ने, समस्त जनताका समस्या समाधान गर्ने, राष्ट्रलाई प्रतिगमनको दिशातिर जान नदिएर यो संविधानको रक्षा गर्ने, यसको विकास गर्ने र समाजवादी क्रान्ति सम्पन्न गर्ने विषयमा केन्द्रित छन् । 

चुनावी प्रतिस्पर्धामा जाने र प्रतिस्पर्धामा श्रेष्ठ कायम गर्ने कुरा पनि आफ्नो ठाउँमा छ । तर, हामीले चुनावलाई मात्रै केन्द्रमा राखेर दुईवटा पार्टी एक भयौँ भने यो स्वार्थ केन्द्रित एकता मात्र हुन्छ । हामी हाम्रो रणनीति र कार्यनीतिलाई समाजवाद केन्द्रित बनाउन, वैज्ञानिक समाजवादलाई समृद्ध गर्न, क्रान्तिलाई सम्पन्न गर्न, भविष्यलाई नेतृत्व गर्ने गरी हाम्रो विचारको विकास गर्न र त्यसैअनुसारको योजना र कार्यक्रमहरू तय गर्न गम्भीर रूपमै लाग्नुपर्छ भन्ने छ । यस उद्देश्यका साथ यसपटक हामीले सबै राजनीतिक दलहरूसँग छलफलहरू गरेर सङ्गठित र उनीहरूलाई एकताबद्ध बनाएर लिएर जाने भन्ने उद्देश्यका साथ गइराखेका छौँ । यसमा माधवजीहरू पनि सहमत हुनुभएको अवस्था हो । 

अब तत्काल हामी समाजवादी मोर्चाको माध्यमबाट सहकार्य गर्ने अनि त्यसपछि त्यसलाई एकतामा रूपान्तरण गर्ने गरी जाने भन्ने उद्देश्यका साथ आएको अवस्था हो । मलाई विश्वास छ, यसले एउटा परिणाम ल्याउँछ । एकता विचारको आधारमा हुने हो । हामीले तय गर्ने रणनीति र कार्यनीतिमा जो सहमत हुन्छन्, एकतामा आउनुहुन्छ । त्यसमा सहमत हुन नसक्ने साथीहरूले आफ्नो किसिमले नयाँ ढङ्गले सोच्ने कुरा पनि हुन्छ । निरपेक्ष एकता र निरपेक्ष विभाजन भन्ने हुँदैन । 

फेरि प्रत्येक पार्टीभित्र समस्या नभएका पनि होइनन्, ती प्रायः वैचारिक समस्याहरू हुन् । तर, प्रत्येक पार्टीभित्र वैचारिक रूपले देशलाई कसरी अगाडि लिएर जाने भन्ने सोच छ । त्यस्तै, पार्टीभित्र आफ्नो स्वार्थलाई कसरी सिद्ध गर्ने भन्ने कुराहरू पनि छन् । यो सबैतिर हुन्छ । यो स्वाभाविक पनि हो । तर इमानदारीपूर्वक देश, जनता, परिवर्तन, वर्ग, समुदाय र राष्ट्रलाई केन्द्रमा राखेर माथिल्लो स्तरबाट सोच्ने, विचार गर्ने, छलफल गर्ने अनि त्यसपछि त्यसको वरिपरि केन्द्रित भएर जाने कुरा महत्त्वपूर्ण हुन्छ । सङ्गठन ठुलो–सानो भएर केही फरक पर्दैन, विचार ठुलो भयो भने सङ्गठन आफै ठुलो बन्छ । हिजो हामीले ठुलो भएर जनयुद्ध सुरु गरेका होइनौँ, सानै पार्टी भएर सुरु गरेका हौँ । त्यो देशको आवश्यकता थियो, परिवर्तनको चाहना थियो, देशको माटो, हावा, पानी, सबैलाई परिवर्तन चाहिएको थियो, पुरानो सामन्ती सत्ताको अन्त्य गर्नुपर्छ भन्ने थियो । 

अहिले पनि नयाँ उकुसमुकुसको स्थिति भएको १०–१२ वर्ष भइसक्यो । धेरै मान्छेलाई अहिले तत्काल जे गतिविधि भइराखेको छ, यो मन परेको छैन । एउटा विद्रोहको स्थिति भोलि अवश्य पनि उत्पन्न हुन्छ । त्यो स्थितिमा हामीले ठिक ढङ्गले वैचारिक रूपले नेतृत्व गर्न सकियो भने त्यसलाई हामीले नेतृत्व गर्न सक्छौँ । यदि ठिक ढङ्गले विचारले नेतृत्व गर्न सकिएन भने देश फेरि अर्को २०–२५ वर्ष वा ५० वर्ष पछि पुग्छ । 

सात सालको क्रान्तिलाई ट्र्याकमा ल्याउन हामीले संविधानसभामार्फत संविधान बनाएर लोकतन्त्रलाई संस्थागत गरेको भए, देश ३० वर्षसम्म अन्धकारमा बस्नुपर्ने थिएन । इतिहासमा सधैँ एउटा महत्त्वपूर्ण मोड आउँछ, त्यो मोडलाई ठिक ढङ्गले सेटल गर्न सकियो भने हामी एउटा चरणमा अगाडि पुग्छौँ । तर, त्यसलाई क्यास गर्न सकिएन भने फेरि देशले पछाडि धकेलिन्छ । यो संसारको इतिहास पढ्दा र नेपालको इतिहासमा पनि हामीले अनुभव गरिराखेका छौँ । 

त्यस कारण तत्कालको स्थिति, अवस्था, सोच, विचार र स्वार्थहरूलाई केन्द्रमा राखेर होइन, ५० वर्षपछिसम्म पनि यो देशको राष्ट्रिय राजनीतिलाई अगाडि लिएर जान र देशलाई समृद्ध बनाउन लागि एउटा वैचारिक मार्ग निश्चित गर्न यस प्रकारको छलफलहरू सबैतिर चलाएर लिएर जानुपर्छ भन्ने उद्देश्यका साथ हामी गइराखेका छौँ । 

अब वैचारिक रूपले देशको चिन्ता लिएर विभिन्न तहमा, विभिन्न क्षेत्रमा, विभिन्न राजनीतिक शक्तिहरू अथवा साथीहरूसँग छलफल गर्नुलाई अस्वाभाविक मान्न सकिँदैन । तर पदको लागि यताउता भइराखेको छ भने, त्यो विचारले भोलिको नेतृत्व सम्भव हुँदैन र ठिक ढङ्गले त्यसको परिणाम आउँदैन भन्ने लाग्छ ।

  • विप्लवसँगको पार्टी एकताबारे के भइरहेको छ ?

–अहिले हामीले विप्लवजीसँग पार्टी एकता गर्नको लागि वार्ता टोली बनाउने भनेका छौँ । अरूसँग उच्च स्तरमा हाम्रो पदाधिकारी साथीहरू, महासचिवहरू, अध्यक्ष, महासचिव, उपमहासचिव, उपाध्यक्षहरू बसेर छलफल गरिराख्नुभएको छ । आवश्यक पर्‍यो भने वार्ता टोली पनि बन्छ । 

विप्लवजीसँग त वार्ता टोली बनाउने भनेर वार्ता र संवादमा छौँ हामी । त्यसलाई चाहिँ नि अलि छिटो परिणाममा ल्याउने भन्ने कुरा पनि छ । यो एकता पनि अहिले पदमा केन्द्रित छैन, हामी विचारमा केन्द्रित छौँ । विचारमा सहमति भयो भने र वैचारिक, रणनीतिक र कार्यनीतिक रूपले यो दिशा अथवा धारमा जाने भनेपछि सङ्गठनात्मक विषयलाई मिलाएर लिएर जाने कुरामा समस्या हुन्छ भन्ने मलाई लाग्दैन । किनभने हिजो हामीले ओलीहरूसँग एकता गरेर जाँदाखेरि पनि हाम्रोमा पदको विषयमा ठुलो समस्या भएको होइन । हामीले मिलाएर नै लिएर गएका हौँ । 

यो पद पाए बस्ने, नपाए नबस्ने भन्ने कुरा अन्यत्र पुँजीवादी सङ्गठन प्रणालीमा हुन्छ, हाम्रोमा त्यस्तो हुँदैन । म आफै पार्टी एकता गरेर आउँदा मलाई पहिले कुनै यो पद दिनुपर्छ भनेर आएको होइन । म आन्दोलनमा लाग्दा पनि कुनै यो पदमा बसेर काम गर्छु, नत्र गर्दिनँ भनेको होइनँ । मैले जनताको लागि काम गर्ने हो, परिवर्तनको लागि काम गर्ने हो, आन्दोलनको लागि काम गर्ने हो भनेर सोच्दै आएको छु । सबै लिडरहरूको पनि त्यही हो । त्यसरी नै सोच्दै अगाडि गएपछि त्यो पदहरूलाई मिलाउने कुरा प्राविधिक विषय मात्र हो । मार्क्सवाद भन्ने एउटा विज्ञान हो, यो सबै कुरालाई त्यही विज्ञानले हल गर्छ । हाम्रा विचार र समस्याको समाधान पनि मार्क्सवादले नै दिन्छ ।

महाधिवेशन नै गरेर आउने स्थिति भयो भने वा एउटा राष्ट्रिय सहमति कायम गर्दै आउने स्थिति भयो भने र उहाँहरूले पनि त्यो आवश्यकता ठान्नुभयो भने एकता महाधिवेशनको रूपमा अलग्गै महाधिवेशन गरेर पनि एउटा सहमति बनाएर र एउटा विचारलाई पास गरेर लिएर आउनुहोला । अब छिटोभन्दा छिटो हाम्रो बिचमा एकता भएर एउटा संयुक्त महाधिवेशन अथवा एउटा एकताको महाधिवेशन गर्ने स्थिति सिर्जना भयो भने त्यसले राम्रो गर्छ । यसका लागि अलि राम्रो छलफल र तयारी गर्नुपर्छ । हामी चाहिँ महाधिवेशन अलि छिटै गर्नुपर्छ भन्ने पक्षमा छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप