खण्डहरको छेउमा उभिएर
सारांश
- नेपालमा भएको आन्दोलनमा जेन-जी पुस्ताको भूमिका रहेको छ, जसले राजनीतिक सुधार र परिवर्तनको माग गरेको छ।
- आन्दोलनको क्रममा सरकारी भवनहरूमा क्षति पुगेको छ, जसले देशलाई ठूलो क्षति पुर्याएको छ।
- लेखकले देशको नेतृत्वको कमजोरी र नैतिक मूल्यको क्षयलाई दोष दिएका छन्, जसले गर्दा यस्तो अवस्था आएको हो।
नेपालको राजनीति कसरी अघि बढ्छ यसै भन्न सकिन्न । जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण निर्मित परिस्थिति सजिलो छैन । अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रतिनिधिसभा विघटन गरिएको छ र फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुने भएको छ, तर ठुलो सङ्घर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धि गुम्ने हुन् कि भन्ने चिन्ता मलाई जस्तै धेरैलाई छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, वर्तमान संविधानको विकल्प अझ समृद्ध संविधान हो, पछिल्तिर फर्किनु होइन ।
यस्तो आन्दोलन हुन सक्छ भनेर अलि पहिलेदेखि भन्दै आइएको थियो । अकारण यसो भनिएको थिएन । मूल्यहीन राजनीति, आदर्शच्युत शासक, पार्टी आन्दोलनमा कमजोर बनेको आलोचनात्मक विवेक, अनैतिक र सुविधाभोगी चरित्र, बढ्दो बेरोजगारी, मौलाउँदो भ्रष्टाचार र कुशासन यसो भन्नुका कारण थिए । बङ्गलादेश र श्रीलङ्काका घटना अगाडि थिए । हामी आक्रोशको ज्वालामुखीमाथि थियौँ । सामाजिक सञ्जाल बन्द गर्ने विवेकहीन निर्णयका कारण आक्रोशको ज्वालामुखी फुट्यो । मुलुकमा नयाँ राजनीतिक परिस्थितिको निर्माण भयो ।
जेन–जी आन्दोलन हाम्रा निम्ति नयाँ थियो । उनीहरूले बेरोजगारी, भ्रष्टाचार र कुशासनका विरुद्ध आन्दोलन गर्दै छन् भन्ने सरकारलाई थाहा थियो, तर उसले उनीहरूलाई पत्याएन । उल्टै सामाजिक सञ्जाल बन्द गर्यो । यसको परिणाम के हुन सक्छ भनेर ख्यालै गरिएन । खोल्न आग्रह गर्दा पनि अराजकता र नियम–कानुन नमान्ने कुरा सह्य हुँदैन मात्र भनिएन, राष्ट्रवादको कुरा पनि गरियो । बेरोजगारी, भ्रष्टाचार र कुशासनले पीडित र व्यथित जेन–जी यसबाट आगो भए । आन्दोलनका निम्ति यो गज्जबको निहुँ बन्यो ।सामाजिक सञ्जाल आफूलाई व्यक्त गर्ने मुक्त आकाश हो । युवाहरू यसमा आलोचना गर्छन्, आक्रोश व्यक्त गर्छन्, घृणा ओकल्छन्, खबरदारी गर्छन्, सपना देख्छन्, रुन्छन्, हाँस्छन्, गाउँछन्, सुख–दुःख बाँड्छन् । ती अनुशासित–अराजक, शिष्ट–अशिष्ट दुवै हुन्छन् । यसलाई बन्द होइन, नियमन गर्नुपर्छ । बाटो बिराउँदा बाटो देखाउनुपर्छ । तर कुनै पनि बहानामा उनीहरू उड्ने आकाश खोस्नु हुँदैन । सरकारले त्यही आकाश खोस्यो । सामाजिक सञ्जालका कम्पनी दर्ता हुन नआएको कारण देखायो । यसो गर्नु आवश्यक थिएन । यससम्बन्धी कानुन निर्माण गरेर अघि बढ्न सकिन्थ्यो, तर यो बाटो रोजिएन । ठुला र चर्का कुरा गरियो, यसले आगोमा घिउ थप्ने काम गर्यो । आन्दोलनमाथिको चरम दमनले आक्रोश र घृणालाई बढायो । एकै दिन दुई दर्जनभन्दा बढीको ज्यान जानु र सयौँ घाइते हुनु सामान्य घटना थिएन । यसले विध्वंशका निम्ति आधार निर्माण गर्यो । हाम्राअगाडि अहिले विध्वंशको हृदयविदारक तस्बिर छ । मारिएका र घाइते परिवारका आँसु र सुस्केरा छन् । सुरक्षामा खटिएकाहरूको गम्भीर कमजोरी र आन्दोलनमा निहित उद्देश्य राखेर घुसेकाहरूले जेन–जीको शान्तिपूर्ण आन्दोलनलाई विध्वंशको दिशातिर मोडिदिए । हाम्रा अगाडि अकल्पनीय त्रासदी घट्यो ।
बङ्गलादेश र श्रीलङ्काका घटना अगाडि थिए । हामी आक्रोशको ज्वालामुखीमाथि थियौँ । सामाजिक सञ्जाल बन्द गर्ने विवेकहीन निर्णयका कारण आक्रोशको ज्वालामुखी फुट्यो । मुलुकमा नयाँ राजनीतिक परिस्थितिको निर्माण भयो ।
डिजिटल प्रविधिसँग खेल्दै हुर्किएको जेन–जी पुस्ता हामीले सोचेभन्दा संवेदनशील छ । यस पुस्ताका भावना, सोचाइ र अनुभूति फराकिला र गहिरा छन्; देश, समाज र जीवनप्रति प्रेम छ; स्वतन्त्रता, समानता, न्यायप्रति गहिरो प्रतिबद्धता छ; लोकतन्त्र र मानव अधिकारप्रति सचेत छन्; विभेदप्रति आलोचनात्मक छन् । आफ्नो र मुलुकको भविष्यप्रति गम्भीर छन् । वैश्विक सरोकार छ । डिजिटल प्रविधि र वैश्विक सम्पर्कले उनीहरूको सामर्थ्यलाई बढाएको छ । सामाजिक सञ्जाल अराजकता, घृणा, आक्रोश पोख्ने ठाउँभन्दा बढी सिर्जनात्मक थलोका रूपमा रहेका छन् । जेन–जीमा कमजोरी पनि छन् । यसमा सस्तो भावुकता, अराजकता लगायत मनोवैज्ञानिक समस्या पाउन सकिन्छ । यस्ता समस्या परिवार र आजको आर्थिक, सामाजिक, सांस्कृतिक संरचनासँग पनि जोडिएका छन् । पपुलिजम्ले उनीहरूको चेतना पनि प्रभावित छ । उपभोक्तावादले निर्माण गरेको मनोविज्ञानबाट उनीहरू पनि प्रभावित छन् । २०२४ को अमेरिकी निर्वाचनमा यस पुस्ताको ठुलो सङ्ख्याले दक्षिणपन्थलाई रुचाएको देखिन्छ । यस्तो स्थिति अन्य मुलुकमा पनि छ, तर समग्रमा यो पुस्ता उदार, आलोचनात्मक, संवेदनशील, मानवता, लोकतन्त्र एवं मानवीय मूल्यप्रति गम्भीर र प्रतिबद्ध पाइन्छ ।
जेन–जी विश्वका विभिन्न मुलुकमा सक्रिय छन् । उनीहरूको सरोकार र सक्रियताको फलक विस्तृत छ । यस पुस्ताले अमेरिका, युरोप, अफ्रिका, एसियामा विभिन्न विषयलाई उठाएर महत्त्वपूर्ण आन्दोलन गरेको छ । सन् २०१९ मा स्विडेनकी ग्रेटा थुनबर्गले जलवायु परिवर्तनको मुद्दामा विश्वव्यापी विरोध प्रदर्शनको आह्वान गरिन् । यस आह्वानका कारण वैश्विक रूपमा हडताल भए । जेन–जीको अगुवाइमा भएको यस आन्दोलनको महत्त्वपूर्ण प्रभाव पर्यो । सन् २०२० मा अमेरिकामा चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा यस पुस्ताको सक्रिय सहभागिता थियो । पछिल्लो समयमा हङकङमा भएको लोकतान्त्रिक आन्दोलन, ‘मि–टु’ आन्दोलन, हिजाबविरोधी आन्दोलनमा यस पुस्ताको सक्रिय सहभागिता र भूमिका रह्यो । सन् २०२४ मा केन्यामा भएको कर वृद्धिको विरोधमा यस पुस्ताले महत्त्वपूर्ण भूमिका खेल्यो । यो पुस्ताले प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधमा पनि आफूलाई उभ्याएको छ । सन् २०२४ मा बङ्गलादेशमा भएको आन्दोलनलाई ‘जेनरेसन–जेड’ले नेतृत्व गरेको विश्वको पहिलो सफल राजनीतिक आन्दोलनका रूपमा उल्लेख गरिन्छ । नेपालको अहिलेको आन्दोलनलाई पनि यसै रूपमा हेर्न सकिन्छ । जेन–जी आन्दोलनको चरित्र बढी ‘खबरदारी र निगरानी’का रूपमा रहे पनि पछिल्ला दिनमा यसले आक्रामक रूप ग्रहण गरेको पाइन्छ ।
युवाहरू सामाजिक सञ्जालमा आलोचना गर्छन्, आक्रोश व्यक्त गर्छन्, घृणा ओकल्छन्, खबरदारी गर्छन्, सपना देख्छन्, रुन्छन्, हाँस्छन्, गाउँछन्, सुख–दुःख बाँड्छन् । ती राजक–अराजक, शिष्ट–अशिष्ट दुवै हुन्छन् । यसलाई बन्द होइन, नियमन गर्नुपर्छ । बाटो बिराउँदा बाटो देखाउनुपर्छ । तर कुनै पनि बहानामा उनीहरू उड्ने आकाश खोस्नु हुँदैन ।
नेपालमा यो आन्दोलन व्यापक राजनीतिक सुधार र परिवर्तनसम्म आइपुगेको छ । जेन–जी यसको अगुवाइ गरिरहेछन् । लोकतन्त्र र संविधानप्रति उनीहरूको प्रतिबद्धता, भूमिका र आलोचनात्मक विवेक प्रशंसनीय छ । उनीहरूको सङ्घर्ष र सपनालाई लोकतन्त्र र संविधानलाई अझ प्रगतिशील बनाएर मात्र सम्बोधन गर्न सकिन्छ । आजका कमजोरी र समस्या नैतिक मूल्यको क्षय, लोकतान्त्रिक मूल्यको ह्रास र शासकीय कार्यशैली एवं कमजोरीसँग मात्र सम्बन्धित छैनन्, संरचनासँग पनि सम्बन्धित छन्, संविधानको अपूर्णतासँग पनि जोडिएका छन् । यस आन्दोलनको सबैभन्दा दुःखद र भयावह पक्ष जिउधनको अकल्पनीय क्षति हो । भनिन्छ, आन्दोलन, विद्रोह वा क्रान्ति हिसाब–किताबले चल्दैनन् । माओ सेतुङ क्रान्ति भोजभतेर होइन भन्थे । साँचो हो, आन्दोलन, विद्रोह वा क्रान्ति हिसाब–किताबले चल्दैनन् । ती भोजभतेर पनि होइनन्, तर ध्वंसले मन दुख्छ । यस्तो नभइदिएको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्छ । नियतवश आन्दोलनमा घुसेका गलत तत्त्वहरूले गर्ने विनाश अझ दुःखदायी हुन्छ । २४ गते त्यस्तै भयो । विध्वंस सधैँ बल्झिरहने घाउमा बदलियो । सबै विध्वंसलाई निर्माणका निम्ति गरिने विध्वंसका रूपमा अर्थ्याउन सकिन्न । मुलुकलाई पछिल्तिर फर्काउने, प्रतिशोध साँध्ने र बर्बाद गर्ने उद्देश्यले गरिने विध्वंस डरलाग्दा हुन्छन् र तिनले पछिसम्म चिमोट्छन् ।
यसपटक राज्यका धेरै महत्त्वपूर्ण भवन जलेका छन् । मुलुकभरमा ध्वस्त भएका सरकारी भवनको सङ्ख्या सयौँ छ । व्यक्तिका निजी घर, पार्टी कार्यालय, व्यापारिक भवन पनि जलाएर खरानी बनाइएका छन् । सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत आदि राष्ट्रका अमूल्य सम्पत्ति खण्डहरमा बदलिएका छन् । यी भवन खण्डहर बन्दा मुलुकलाई अपूरणीय क्षति भएको छ । यी सरकारी भवन मात्र होइनन्, ऐतिहासिक र सांस्कृतिक सम्पत्ति पनि हुन् । यिनमा रहेका कागजपत्र मुलुकका अमूल्य सम्पत्ति हुन् । आजका कागजपत्र भोलिका इतिहास हुन् । अभिलेखहरू ध्वस्त हुनु भौतिक क्षति हुनु मात्र होइन, समाजको स्मृति, पहिचान र भविष्यमाथि गम्भीर चोट लाग्नु पनि हो । राज्यका महत्त्वपूर्ण भौतिक संरचनाको विनाशलाई आत्मिक विनाशका रूपमा पनि हेरिन्छ । यस्तो विनाशलाई अम्ब्रेटो ई को ‘स्मृतिहरूलाई नष्ट गर्नु हो’ भन्छन् । जर्मन कवि हेनरिक हाइने यस्ता सामग्री जलाइनु मानिसलाई जलाइनु हो भन्छन् । यस्तो ध्वंसले सभ्यताको स्मृतिलाई त ध्वंस गर्छ नै, मानव ज्ञानलाई पुनः उत्पादन गर्न नसकिने पनि बनाउँछ । इतिहासलाई पछिल्तिर धकेल्ने अभीष्ट पनि यसका पछि हुन्छ । प्रशासनिक निरन्तरता र इतिहास लेखनमा यसले गम्भीर कठिनाइ उत्पन्न गर्छ । नालन्दा विश्वविद्यालयका हजारौँ पाण्डुलिपि नष्ट गरिएको कुरालाई लिएर एडबर्ड जे थोमसले ‘मानव ज्ञानको विनाश’ त्यसै भनेका होइनन् । हाम्रा भौतिक संरचना नष्ट हुँदा जलेका कागजपत्र एक प्रकारले नालन्दा विश्वविद्यालयका सामग्रीजस्तै त हुन् नि !
अभिलेखहरू ध्वस्त हुनु भौतिक क्षति हुनु मात्र होइन, समाजको स्मृति, पहिचान र भविष्यमाथि गम्भीर चोट लाग्नु पनि हो ।
नेपालमा ठुल्ठुला आन्दोलन र विद्रोह भएका छन् । २००७ सालको राणाविरोधी सङ्घर्ष, २०३५–३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन, ०६२–६३ को जनसङ्घर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध आदि यसका उदाहरण हुन् । यी सबैमा कयौँ भौतिक संरचना ध्वस्त भए । यससँगै कागजपत्र, पुस्तक, पुराना सामग्री पनि नष्ट भए । यिनको अभाव अहिले पनि खड्कन्छ । यसपटक पनि धेरै सामग्री नष्ट भएका छन् । सर्वोच्च अदालतका कागजपत्र जलेर खरानी बनेका छन् । यही स्थिति सिंहदरबारको छ । यो ऐतिहासिक धरोहर निर्माण चन्द्रशमशेरले निजी निवासका रूपमा गरेका थिए । यो भवन त्यतिबेला एसियाकै ठुलो र सुन्दर भवनमध्ये एक मानिन्थ्यो ।
२०३० सालमा यसमा आगलागी भयो र धेरै महत्त्वपूर्ण सामग्री जलेर नष्ट भए । त्यतिबेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । ती सामग्रीको गम्भीर अभाव आज पनि खट्कन्छ । यसपटक पनि यसमा रहेका सामग्री नष्ट भएका छन् । दर्जनौँ गाउँपालिका र नगरपालिका, जिल्ला प्रशासन, कर कार्यालय, अदालत एवं महत्त्वपूर्ण सरकारी भवन खरानी बनाइएका छन् । यससँग इतिहास पनि नष्ट भएको छ; प्रमाणहरू नष्ट भएका छन्; अभिलेखहरू ध्वस्त भएका छन् । तेस्रो शताब्दीमा ध्वस्त पारिएको इजिप्टको ‘अलेक्जान्ड्रिया पुस्तकालय’लाई लिएर भोल्टेयर पटक–पटक यसलाई ‘मानव ज्ञानलाई दिइएको सबैभन्दा ठुलो चोट’ भन्थे । सन् २०११ को अरब स्प्रिङ्गमा ‘इन्स्टिच्युट डी इजिप्ट’ जलाइँदा भएको क्षति अहिले पनि इजिप्टले बिर्सन सकेको छैन । सन् २०२४ मा बङ्गलादेशमा भएको आन्दोलनका कारण ‘बङ्गबन्धु स्मृति सङ्ग्रहालय’ लगायत सांस्कृतिक संस्था, पुस्तकालय जलाइए । त्यसको अभाव त्यहाँ खट्कन थालेको छ । त्यसैले आन्दोलन प्रारम्भ गर्दा क्षति कसरी कम गर्न सकिन्छ भन्ने विषयप्रति गम्भीर ध्यान दिइन्छ । इतिहास, सभ्यता, संस्कृतिको सकेसम्म विनाश नहोस् भनेर सोचिन्छ ।
यहाँ जेन–जीले होइन, अरुले नै ध्वंसको डिजाइन गरे र त्यसलाई आकार दिए । यसभित्र मुलुकलाई खरानी बनाएर अतीततिर फर्काउने सोच थिए । भौतिक विनाशको कुरा गर्यो भने मात्र पनि तस्बिर कहालीलाग्दो छ । यसबाट माथि उठ्न वर्षौं लाग्नेछ । जेहोस्, जलेर खरानी बनेका भौतिक धरोहरका छेउमा उभिएर म देशबारे सोचिरहेछु, आउँदा दिनहरूबारे गमिरहेछु र दुखिरहेछु । सबैभन्दा बढी म कहिल्यै पाठ नसिक्ने, सिक्न नचाहने, मुलुकका अहङ्कारी र राजनीतिक एवं नैतिक मूल्यका दृष्टिले कमजोर नेतृत्वका कारण दुखिरहेको छु । यो स्थिति उनीहरूकै कमजोरीको परिणति हो भन्न मलाई कुनै सङ्कोच र भय छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण