एमाले ११ औँ महाधिवेशन प्रतिनिधि छनोट : धनकुटामा मतपत्र च्यातियो, विराटनगरमा हातपात
सारांश
- नेकपा एमालेको कोशी प्रदेशमा प्रतिनिधि छनोट प्रक्रियामा केही जिल्लामा सर्वसम्मत र केहीमा विवाद देखिएको छ।
- धनकुटामा मतपत्र च्यात्ने र तालाबन्दीसम्मको अवस्था सिर्जना भयो भने मोरङमा नेताहरूबीच झडप भएको छ।
- पराजुली पक्षले सहमति तोडेको भन्दै मतपत्र च्यातेर निर्वाचन बहिष्कार गरे भने अध्यक्ष खतिवडाले न्यायिक निरूपण गर्ने बताए।
विराटनगर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया उत्साह र तनावको मिश्रित अवस्थामा देखिएको छ ।
प्रदेशका १४ जिल्लामध्ये आधा जिल्लामा नेतृत्व सर्वसम्मत टुङ्गिएको छ भने बाँकी आधामा चुनावी प्रक्रिया र विवाद देखिएको छ । विशेष गरी धनकुटामा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्मको अवस्था सिर्जना भएको छ भने मोरङमा नेताहरूबिच घम्साघम्सीको स्थिति बनेको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार सोलुखुम्बु, खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम गरी ७ जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत भएको छ ।
तर, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनकुटा र सङ्खुवासभामा भने निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छानिँदै छन् । निर्वाचनको अन्तिम मतपरिणाम आउन भोलीसम्म पर्खिनुपर्ने खतिवडाले बताए ।
धनकुटामा प्रतिनिधि छनोट प्रक्रियामा भने विवाद भएको छ । यहाँ संस्थापन पक्ष (अध्यक्ष केपी ओली निकट) मानिने केन्द्रीय सदस्य राजेन्द्र राई र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिने प्रदेश कमिटी सदस्य इन्द्रमणी पराजुली समूहबिच तीव्र विवाद उत्पन्न भएको हो ।
पराजुली पक्षका अनुसार शनिबार राति ४ जना प्रतिनिधि पराजुली पक्षलाई र ९ जना राई पक्षलाई दिने सहमति भएको थियो । सोही सहमतिका आधारमा पराजुली पक्षका धेरैले उम्मेदवारी फिर्ता लिएका थिए । तर, आइतबार बिहान राई पक्षले सहमति लत्त्याउँदै एकलौटी ढङ्गले चुनावमा जाने निर्णय गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
सहमति गरेर उम्मेदवारी फिर्ता गराएपछि धोका दिएको भन्दै पराजुली समूहले मतपत्र च्यात्नुका साथै पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरूले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया नै बहिष्कार गरेको घोषणा गरेका छन् । पराजुली पक्षले महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाका केही वडाहरूमा मतदान नै हुन नदिएको दाबी गरेको छ ।
यद्यपि, निर्वाचन अधिकृत नहकुल राईले भने अवरोधका बाबजुद धेरै ठाउँमा मतदान भएको र मतगणना सुरु हुने दाबी गरेका छन् । यस विषयमा एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले भने, ‘धनकुटाको विवादलाई हामीले गम्भीर रूपमा लिएका छौँ । त्यहाँको पार्टी विधान, नियमावली र साथीहरूको मत–अभिमत बुझेर न्यायिक निरूपण गरिनेछ ।’
मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पनि प्रतिनिधि छनोटका क्रममा तनाव देखिएको छ । अशक्त र अपाङ्गता भएकाहरूको नाममा वडाध्यक्ष भानुभक्त पाठकले एकै व्यक्तिलाई पटक–पटक भोट हाल्न पठाएको भन्दै एमाले नेता पर्शुराम बस्नेत आक्रोशित भएका थिए । बस्नेतले फर्जी मतदान रोक्न खोज्दा अर्को पक्षसँग धकेलाधकेल र झम्टाझम्टी भएको थियो ।
प्रदेश अध्यक्ष खतिवडाले भने मोरङको घटनालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । ‘मिडियाले यसलाई धेरै उचालेको छ । हजारौँ मान्छेको भीडमा ठुलो स्वरले बोल्दा वा असन्तुष्टि जनाउँदा त्यसलाई ठुलो झगडा भन्न मिल्दैन । त्यस्तो ठुलो विवाद केही भएको होइन,’ उनले भने ।
एकातिर ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुनुलाई सकारात्मक मानिए पनि धनकुटा, मोरङ र अध्यक्ष केपी शर्मा ओलीकै जिल्ला झापामा सर्वसम्मत हुन नसक्नुले पार्टीभित्रको गुटगत प्रतिस्पर्धा स्पष्ट देखिएको छ । धनकुटाको विवाद केन्द्रसम्म पुग्ने सङ्केत देखिएको छ भने अन्य जिल्लामा निर्वाचनको परिणामले समीकरण स्पष्ट पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण