शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक समीक्षा

‘चिनियाँ दृष्टिकोण’ : चीन बुझ्ने अपरिहार्य पुस्तक

शनिबार, २४ माघ २०८२, १५ : ३०
शनिबार, २४ माघ २०८२

सारांश

  • चेतनाथ आचार्यको पुस्तक 'चिनियाँ दृष्टिकोण' चीनबारेको एक गहकिलो कृति हो, जसले चीनको सभ्यता, दर्शन, र विकास मोडेललाई प्रस्तुत गर्छ।
  • पुस्तकले पश्चिमा दृष्टिकोणको विकल्पमा एसियाली चिनियाँ दृष्टिकोण प्रस्ताव गर्दै चीनको विकास मोडेल र विश्वव्यापी प्रभावको विश्लेषण गर्छ।
  • पुस्तकमा चीनको विकास, मानव अधिकार, र नेपालका लागि यसको सान्दर्भिकता लगायतका विषयमा लेखकको विचार समावेश छ।

चीनलाई चिन्न र बुझ्न चिनियाँ चेतनाकै आवश्यकता पर्छ । चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ समकालीन नेपाली बौद्धिक जगतमा चीनलाई बुझ्ने एउटा गहकिलो, वैकल्पिक र सन्तुलित कृति हो । 

नेपाल–चीन सम्बन्ध प्रायः कूटनीति, व्यापार वा भू–राजनीतिक चर्चामा मात्र सीमित रहने गरेको सन्दर्भमा आचार्यको यो कृतिले चीनको सभ्यता, दर्शन, सामाजिक संरचना, राज्य–दृष्टि र विकास–मोडेललाई एउटै तस्बिरमा उतार्ने प्रयास गरेको छ । यस अर्थमा, यो पुस्तक केवल चीनबारेको विवरणात्मक ग्रन्थ मात्र नभई ‘पश्चिमा उत्तरआधुनिक दृष्टिकोण’ को विकल्पमा ‘एसियाली चिनियाँ दृष्टिकोण’ प्रस्ताव गर्ने एक बौद्धिक हस्तक्षेप हो । 

यो २१औँ शताब्दीको नयाँ विश्वको आर्थिक–कूटनीतिक दृष्टान्त र विश्वलाई हेर्ने चीनको सैद्धान्तिक आधारको विश्लेषण पनि हो ।

हामी वैचारिक ध्रुवीकरण र एकताको मिश्रित युगमा छौँ । २१औँ शताब्दीको विश्व राजनीति, अर्थतन्त्र र कूटनीतिमा चीन एक प्रभावशाली शक्तिका रूपमा उदाएको छ । यस सन्दर्भमा ‘चिनियाँ दृष्टिकोण’ भन्ने अवधारणा केवल चीनको राष्ट्रिय हितमा मात्र सीमित छैन, बरु यो विश्वव्यापी शान्ति, विकास, सुरक्षा र सभ्यतागत सहअस्तित्वसँग जोडिएको एक बहुआयामिक अवधारणा हो । 

लेखक आचार्यले यही अवधारणालाई नेपाली भाषामा दस्तावेजीकरण गर्दै विश्लेषणात्मक रूपमा प्रस्तुत गरेका छन् । यो पुस्तकमा चिनियाँ पहलकदमीहरू— ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडिआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) तथा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता अवधारणाहरूको समष्टिगत वैचारिक आधार र विश्वव्यापी सान्दर्भिकताको समालोचना प्रस्तुत गरिएको छ ।

पुस्तकको मूल शक्ति लेखकको दीर्घकालीन अनुभव, अध्ययन र चिन्तनद्वारा सृजित गरिएको हो भन्ने पुस्तक अध्ययन गर्दै जाँदा बोध हुन्छ । आचार्यले पुस्तकमा चीनको न त अन्धाधुन्ध प्रशंसा गरेका छन्, न त पश्चिमा आलोचनाको अन्ध–अनुकरण नै । बरु, उनले चीनको ऐतिहासिक विकासक्रम, कन्फ्युसियस दर्शन, सामूहिक मूल्य प्रणाली, राज्यको भूमिका र अनुशासन–केन्द्रित सामाजिक संरचनाको मसिनो विश्लेषण गरेका छन् । 

चीनले किन आफ्नै मौलिक बाटो रोज्यो र त्यसले कस्तो परिणाम दियो भन्ने प्रश्नको उत्तर यसमा खोजिएको छ । यो पुस्तक विकासको सही मार्ग ठम्याउन नसकेका नेपाल जस्ता अल्पविकसित मुलुकका राजनीतिक कार्यकर्ता, नीति–निर्माता र कर्मचारी प्रशासनका लागि पठनीय सामग्री बन्न सक्छ । अति–राजनीतिक उग्रवादले थलिएको नेपाली समाजलाई यसले विकास र अनुशासनको मार्ग देखाउन सक्छ ।

पुस्तकको महत्त्वपूर्ण पक्ष पश्चिमा उदार लोकतन्त्र र चिनियाँ राज्य–केन्द्रित मोडेलको तुलनात्मक विश्लेषण हो । आचार्यका अनुसार चीनलाई पश्चिमा मापदण्डबाट मात्र मूल्याङ्कन गर्नु बौद्धिक अन्याय हो । चीनको सभ्यता हजारौँ वर्ष पुरानो छ, जहाँ व्यक्तिभन्दा समुदाय, अधिकारभन्दा कर्तव्य र तात्कालिक स्वतन्त्रताभन्दा दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिइन्छ । 

यस सन्दर्भमा लेखकले मानव अधिकार, लोकतन्त्र र विकास जस्ता अवधारणाहरूलाई ‘सांस्कृतिक सापेक्षता’ को दृष्टिबाट बुझ्नुपर्ने तर्क गर्छन् । संस्कृति नबुझी समाज बुझिँदैन र समाज नबुझी सामाजिक विकास सम्भव छैन । शीतयुद्धपछिको विश्व व्यवस्था मूलतः पश्चिमा मूल्य–मान्यतामा आधारित रहे पनि २१औँ शताब्दीको दोस्रो दशकपछि चीनले अघि सारेका वैकल्पिक दृष्टिकोणले विश्वव्यापी बहसलाई नयाँ मोड दिएको उनको भनाई छ ।

चीनको विकास मोडेलसम्बन्धी अध्यायहरू पुस्तकका सबैभन्दा सबल अंश हुन् । लेखकले चीनको आर्थिक उन्नतिलाई केवल बजार सुधार वा विदेशी लगानीको परिणाम मात्र मानेका छैनन्; बरु राज्यको दीर्घकालीन योजना, राजनीतिक स्थिरता, अनुशासन र राष्ट्रिय उद्देश्यप्रतिको सामूहिक प्रतिबद्धतालाई प्रमुख कारणका रूपमा अर्थ्याएका छन् । 

यहाँ आचार्यको दृष्टिकोण अमर्त्य सेनको ‘डेभलपमेन्ट एज फ्रिडम’ को अवधारणासँग पनि संवाद गर्छ । स्वतन्त्रताको परिभाषा सांस्कृतिक र राजनीतिक सन्दर्भअनुसार फरक हुन सक्छ भन्ने उनको तर्क छ । चीनमा ‘बहुमतको निर्णय’ भन्दा पनि ‘समग्रको हित’ लाई प्राथमिकता दिइन्छ । ‘सबैले जित्ने’ रणनीति नै चिनियाँ दृष्टिकोणको मुटु हो । 

लेखकले चिनियाँ श्रम संस्कृति र सामूहिक हितको प्रसंग जोड्दै यो नेपालका लागि उपयोगी मोडेल हुन सक्ने विचार पस्केका छन् ।

पुस्तकमा २७ वटा शीर्षकमा विभिन्न लेखहरू समावेश छन् । जसमा ‘जीसीआई’, ‘जीडीआई’, ‘जीएसआई’ जस्ता नवीन चिनियाँ पहलहरूदेखि ‘बिआरआई’ र ‘चीनको लगानी ऋणको पासो कि विकास साझेदार’ जस्ता समसामयिक र विवादास्पद विषयमा पनि गहिरो विश्लेषण प्रस्तुत गरेका छन् । 

जीडिआईले गरिबी निवारण र दिगो विकासलाई केन्द्रमा राख्छ भने जीएसआईले सैन्य गठबन्धन र शक्ति राजनीतिको विकल्पमा संवाद र पारस्परिक विश्वासको मार्ग प्रस्तुत गर्छ । त्यसैगरी, जीसीआईले सभ्यताहरूबिचको श्रेष्ठताको अहम्लाई त्यागेर समानता र सम्मानमा जोड दिन्छ । 

आचार्यले बिआरआईका अवसरहरूसँगै यसका पारदर्शिता र दिगोपनाका प्रश्नहरूलाई पनि सन्तुलित रूपमा पुस्तकमा उठाएका छन् ।

यसअर्थमा यो पुस्तक नेपालका लागि महत्त्वपूर्ण सन्दर्भ सामाग्रीका रूपमा रही रहने छ । आचार्य चीनलाई अन्ध–अनुकरण गर्नुपर्ने मोडेलभन्दा पनि ‘बुझ्नुपने’ प्रणालीका रूपमा प्रस्तुत गर्छन् । नेपाल जस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशले चीनको विकासबाट के सिक्न सक्छ र आफ्नो राष्ट्रिय स्वाभिमान कसरी जोगाउन सकिन्छ भन्नेमा उनले सावधानीपूर्ण सुझाव दिएका छन् । 

कतिपय पाठकलाई पुस्तक चीन–पक्षीय लाग्न सक्छ, तर यसलाई लेखकको ‘दृष्टिकोणात्मक छनोट’ का रूपमा बुझ्नुपर्छ । चीनको आन्तरिक सुशासन र अनुशासनलाई उनले जसरी व्याख्या गरेका छन्, त्यसले हाम्रो जस्तो अस्तव्यस्त प्रणाली भएको देशलाई मार्गनिर्देश गर्छ ।

शैलीगत रूपमा पुस्तक सरल, प्रवाहपूर्ण र विश्लेषणात्मक छ । बौद्धिक गहिराइ हुँदाहुँदै पनि यसको भाषा बोझिलो छैन । लामो समय चीनमा बसेर पत्रकारिता गरेका आचार्यको लेखनमा अनुभवको स्पष्ट छाप देखिन्छ । यद्यपि, आगामी संस्करणहरूमा नेपालको विशिष्ट सन्दर्भमा चीनको प्रभावबारे अझै थप अनुसन्धानमूलक र तुलनात्मक सामग्री समेट्न सके झनै गहकिलो हुने थियो ।

समग्रमा, ‘चिनियाँ दृष्टिकोण’ नेपालमा चीनसम्बन्धी विमर्शलाई नयाँ उचाइमा पुर्‍याउने कृति हो । यसले पाठकलाई चीनलाई ’प्रेम वा घृणा’ को चस्माबाट होइन, बरु सभ्यतागत समझदारी र ऐतिहासिक चेतनाका साथ हेर्न प्रेरित गर्छ । 

आजको बहुध्रुवीय विश्वमा, जहाँ ज्ञान नै शक्ति हो, आचार्यको यो पुस्तक चीनलाई बुझ्ने नेपाली प्रयासका रूपमा दीर्घकालीन महत्वको रहनेछ । नेपालका राजनीतिज्ञ, योजनाविद् र बौद्धिक पाठकका लागि यो एक अनिवार्य सङ्ग्रहणीय पुस्तक हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जु दाहाल
सञ्जु दाहाल
लेखकबाट थप