किम जोङ उनले रोजे उत्तराधिकारी : १३ वर्षीया छोरी उत्तर कोरियाको भावी शासक बन्ने
काठमाडाैँ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरी किम जु एलाई आफ्नो राजनीतिक उत्तराधिकारी चयन गरेका छन्। दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले बिहीबार त्यहाँका सांसदहरूलाई यस बारे जानकारी गराएको हो।
करिब १३ वर्ष पुगेकी विश्वास गरिएकी जु एले पछिल्ला महिनाहरूमा आफ्ना पितासँगै विभिन्न उच्चस्तरीय र महत्त्वपूर्ण कार्यक्रमहरूमा उपस्थिति जनाउन थालेपछि यस्तो आकलन गरिएको हो। एनआईएसका अनुसार जु ए अहिले तालिम लिने चरणबाट अघि बढेर उत्तराधिकारी चयनको आधिकारिक चरणमा पुगेकी छिन् ।
कोरियाली जनसेनाको स्थापना दिवस र कुम्सुसान प्यालेस अफ द सन जस्ता महत्त्वपूर्ण भ्रमणहरूमा उनको सक्रिय सहभागिताले यसलाई पुष्टि गर्छ। दक्षिण कोरियाली सांसद ली सोङ–क्वेनका अनुसार जु एले केही राज्य नीतिहरूमा आफ्नो धारणा समेत राख्न थालेको संकेत पाइएपछि उनी उत्तराधिकारीको रूपमा अघि बढेको निष्कर्ष निकालिएको हो।
विश्वको ध्यान खिच्दै
सन् २०२२ मा पहिलो पटक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षणको क्रममा सार्वजनिक भएकी जु ए त्यसयता लगातार राज्य सञ्चालित सञ्चारमाध्यममा देखिने गरेकी छिन्। गत सेप्टेम्बरमा बेइजिङको भ्रमण गर्दा उनी आफ्ना पितासँगै बख्तरबन्द रेलबाट ओर्लिएकी थिइन्, जुन उनको पहिलो विदेश यात्रा थियो।
तस्बिरहरूमा उनी आफ्ना पितासँगै हिँड्ने र कतिपय अवस्थामा किम जोङ उनभन्दा पनि अग्लो कदमा देखिएकी छिन्। उत्तर कोरियाली सञ्चारमाध्यममा किम बाहेक अन्य व्यक्तिलाई यसरी समान स्थानमा प्रस्तुत गरिनुलाई ठूलो सांकेतिक महत्त्वका साथ हेरिने गरिन्छ।
उत्तर कोरियाका अन्य बालबालिकाका लागि कडा नियम र प्रतिबन्धहरू भए पनि जु ए भने लामो कपाल छोड्ने र महँगा डिजाइनर लुगाहरू लगाउने गर्छिन्। उनलाई अहिले उत्तर कोरियाको ‘डि फ्याक्टो’ अर्थात् दोस्रो शक्तिशाली नेताका रूपमा व्यवहार गर्न थालिएको छ।
दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले अब यसै महिना हुने उत्तर कोरियाको पार्टी कंग्रेसमा उनको उपस्थितिलाई नजिकबाट नियाल्ने बताएका छन्। यो अधिवेशन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक कार्यक्रम हो, जहाँ आगामी पाँच वर्षका लागि विदेश नीति र सैन्य योजनाहरू तय गरिन्छ।
किम जोङ उन र उनकी पत्नी री सोल जुकी एक मात्र सार्वजनिक सन्तान जु ए हुन्। यद्यपि किमको एक जेठो छोरो पनि रहेको विश्वास गरिन्छ, तर उनलाई अहिलेसम्म राज्यले औपचारिक रूपमा स्वीकार गरेको वा सार्वजनिक गरेको छैन।
उत्तर कोरियामा तीन पुस्तादेखि किम परिवारकै शासन चल्दै आएको छ र जु ए अब चौथो पुस्ताको रूपमा सत्ताको बागडोर सम्हाल्ने तयारीमा छिन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण