हिटलरी दस्तादेखि लोकतन्त्रको पहरेदारसम्म: अस्ताए विश्वप्रसिद्ध चिन्तक ह्याबरमास
सारांश
- जर्मनीका प्रभावशाली दार्शनिक जुर्गेन ह्याबरमासको ९६ वर्षको उमेरमा निधन भयो।
- ह्याबरमासले तर्क र सार्वजनिक वृत्तको अवधारणाको विकास गर्दै लोकतन्त्रको महत्व दर्शाए।
- उनले युरोपेली संघको परियोजना र राष्ट्रवादी प्रवृत्तिको पुनरागमनप्रति चिन्ता व्यक्त गरेका थिए।
दोस्रो विश्वयुद्धपछिका जर्मनीका सबैभन्दा प्रभावशाली र सबैभन्दा बढी उद्धृत गरिने दार्शनिक तथा सार्वजनिक बौद्धिक जुर्गेन ह्याबरमासको शनिबार म्युनिखको दक्षिण–पश्चिममा पर्ने स्टार्नबर्गमा निधन भएको छ । उनी ९६ वर्षका थिए ।
उनका प्रकाशक ‘सुहरक्याम्प’ ले उनको मृत्युको पुष्टि गरेका छन् ।
आधा शताब्दीभन्दा लामो समय र दर्जनौँ पुस्तकहरूमार्फत ह्याबरमासले सत्य र तर्कका बारेमा व्याप्त ‘उत्तर–आधुनिक निराशावाद’ को कडा प्रतिवाद गरे । उनले ज्ञानोदय (इन्लाइटमेन्ट) का आदर्शहरू र व्यक्तिगत एवं सामाजिक स्वतन्त्रताको सम्भावनाको दृढतापूर्वक रक्षा गरे ।
उनलाई सन् १९६० को दशकको सुरुतिर ‘सार्वजनिक वृत्त’ को अवधारणा ल्याएकोमा सबैभन्दा बढी चिनिन्छ । उनले लोकतन्त्रको उदय त्यतिबेला मात्र सम्भव छ र त्यो त्यतिबेला मात्रै स्वस्थ रूपमा बाँच्न सक्छ, जब त्यहाँ राज्यको नियन्त्रणबाहिर स्वतन्त्र रूपमा विचार–विमर्श गर्ने सार्वजनिक वृत्त रहन्छ भनी सिद्धान्त प्रतिपादन गरेका थिए ।
यो अवधारणाले राजनीतिशास्त्र र इतिहासदेखि मिडिया अध्ययनसम्मका धेरै प्राज्ञिक क्षेत्रलाई प्रभावित पार्यो र यस विषयमा हजारौँ शोधपत्र एवं पुस्तकहरू लेखिए ।
प्रसिद्ध ‘फ्र्याङ्कफर्ट स्कुल अफ क्रिटिकल सोसल थ्योरी’ का शिष्य र पछि त्यसको नेतृत्व सम्हालेका ह्याबरमासको आधुनिकताको सम्भावनामाथि आफ्ना गुरुहरू थियोडोर एडोर्नो र म्याक्स होर्कहाइमरको तुलनामा बढी विश्वास थियो । उनी ज्ञानोदयलाई एउटा ‘अधूरो परियोजना’ मान्थे । त्यसैले मानिस–मानिसबीच हुने सञ्चारमा सुधार गरेर यसलाई सच्याउन सकिने उनको ठम्याइ थियो ।
सन् १९७० को दशकदेखि उनले ‘आदर्श वाक् स्थिति’ का बारेमा लेख्न थाले, जहाँ मानिसहरू समान हैसियतमा एक ठाउँमा आउँछन् र तर्कपूर्ण संवादको माध्यमबाट सत्यमा पुग्छन् । यो विचारलाई उनले आफ्नो प्रमुख कृति ‘द थ्योरी अफ कम्युनिकेटिभ एक्सन’ (१९८१) मा अझ विस्तार गरे ।
कुराकानीमार्फत यस प्रकारको सहमति निर्माण गर्दा, विचारहरूलाई ‘निर्मम सार्वजनिक बहसको कडा अग्निपरीक्षा’ मा राखेर नागरिकलाई ‘आफ्नो सामाजिक भविष्यमाथि सामूहिक प्रभाव पार्न’ बहसले सक्षम तुल्याउँछ भन्ने उनको तर्क थियो ।

दोस्रो विश्वयुद्धको विनाश र मृत्युले धेरै चिन्तकहरूलाई ‘तर्क’ ले साझा हित गर्छ भन्नेमा आशङ्कित तुल्याएको थियो । तर, ह्याबरमासले तर्कपूर्ण सञ्चारलाई लोकतान्त्रिक समाजलाई पुनर्जीवित गर्ने अवसरका रूपमा देखे ।
सन् २००५ को एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘दैनिक कुराकानी र छलफलले मानिसहरूमा कारण दिने, अलि बढी तर्कसङ्गत हुने र तिमीले किन यसो भन्यौ ? तिमीले किन त्यसो गर्यौ ? भन्ने प्रश्नहरूको जवाफ दिने एक प्रकारको दबाब हुन्छ भन्ने कुरामा म सधैँ विश्वस्त थिएँ र हाम्रो दैनिक भाषामा अन्तर्निहित रहेको त्यही तर्कको खोजी गर्ने मेरो प्रेरणा बन्यो ।’
उनको ख्याति नै प्रख्यात छ
ह्याबरमासले सन् २०१३ को प्रतिष्ठित ‘इरास्मस पुरस्कार’ र सन् २०१५ को ‘जोन डब्लु. क्लुज पुरस्कार’ लगायत धेरै सम्मानहरू प्राप्त गरे । सन् २००७ मा जब ‘टाइम्स हायर एजुकेशन’ म्यागजिनले मानविकी क्षेत्रमा सबैभन्दा बढी उद्धृत गरिएका पुस्तकका लेखकहरूको सूची बनायो, ह्याबरमास फ्रायड र कान्टभन्दा अघि सातौँ स्थानमा थिए ।
अमेरिकी दार्शनिक रोनाल्ड ड्वोर्किनले ह्याबरमासको ८०औँ जन्मदिनका अवसरमा लेखेका थिए, ‘जुर्गेन ह्याबरमास विश्वका सबैभन्दा प्रसिद्ध जीवित दार्शनिक मात्र होइनन्, उनको त ख्याति नै आफैँमा प्रख्यात छ ।’
यद्यपि उनका दार्शनिक लेखनहरू अत्यन्तै जटिल र गहन हुन्थे (जसलाई एकजना अमेरिकी बौद्धिकले ‘काँच चपाउनु’ जत्तिकै कठिन भनेका थिए) । ह्याबरमासले अर्को शैलीमा पनि काम गरे । उनी जर्मन पत्रपत्रिकाहरूमा समसामयिक विषयहरूमा निरन्तर वैचारिक लेख लेख्थे ।
उनको मुख्य चिन्ता लोकतन्त्रको अवस्था र आफ्नो युवावस्थामा भोगेको जस्तो हिंसात्मक र बहिष्करणकारी सामाजिक व्यवस्था समाजमा फेरि फर्किएला कि भन्ने डरमा केन्द्रित थियो ।
उनले राष्ट्रवादको उदय र हलोकास्ट (यहुदी नरसंहार) लाई बिर्सने वा त्यसलाई सामान्यीकरण गर्ने कुनै पनि प्रयासविरुद्ध खबरदारी गरिरहे । उनले लेखेका थिए, ‘जर्मनीमा बसोबास गर्ने हामीमाथि एउटा महत्त्वपूर्ण दायित्व छ । त्यसलाई अरूले महसुस नगरे पनि हामी जर्मनवासीहरूले हाम्रै हातहरूबाट मारिएकाहरूको पीडालाई कुनै तोडमरोडबिना जीवित राख्नै पर्छ ।’
उनी बौद्धिक लडाइँमा रमाउने व्यक्ति थिए । सन् १९८० को दशकमा उनको सबैभन्दा चर्चित विवाद ‘हिस्टोरिकरस्ट्रिट’ वा इतिहासकारहरूको बहसका रूपमा चिनिन्छ । त्यसमा उनले दक्षिणपन्थी जर्मन इतिहासकारहरूमाथि आक्रमण गरे । ती इतिहासकारहरूले हलोकास्ट कुनै विशिष्ट विनाशकारी घटना नभएको भन्दै इतिहासलाई संशोधन गर्ने तर्क गरिरहेका थिए ।
आशाका प्रतीक
ह्याबरमासलाई कतिपयले ‘निर्दोष र अव्यावहारिक’ भन्दै आलोचना गरे । सार्वभौमिक सत्यमा विश्वास गर्ने भएकाले उत्तर–आधुनिक वामपन्थीहरूले र सम्झौता एवं सहमतिमा जोड दिने भएकाले नव–रूढिवादी दक्षिणपन्थीहरूले विभिन्न समयमा उनीमाथि प्रहार गरे ।
आफ्नो किशोर उमेर ‘हिटलरी युवा दस्ता’ मा बिताएका मानिसबाट मानव समाज संवादको माध्यमबाट स्थिर लोकतन्त्र र एकीकरणतर्फ जान सकिन्छ भन्ने कुरा आउनु आफैँमा उल्लेखनीय थियो । अमेरिकी दार्शनिक थोमस नागेलले एक अन्तर्वार्तामा भने, ‘उनी अँध्यारो इतिहासको पृष्ठभूमिबाट उदाएका आशाका प्रतीक थिए ।’
अर्न्स्ट फ्रेडरिक जुर्गेन ह्याबरमासको जन्म १८ जुन १९२९ मा जर्मनीको डसेलडोर्फमा भएको थियो । उनी कोलोनबाट करिब ३० माइल पूर्वमा रहेको गमर्सबाख सहरमा हुर्किएका थिए । उनी मध्यमवर्गीय प्रोटेस्टेन्ट परिवारका तीन सन्तानमध्ये माइला थिए ।
उनको ओठ काटिएको थियो र युवावस्थामा त्यसलाई सुधार्न धेरैपटक शल्यक्रिया गरियो तर उपचार कहिल्यै पूर्ण हुन सकेन । त्यसै कारण उनलाई बोल्न अप्ठेरो हुन्थ्यो । पछि उनले भनेका थिए, ‘बालक छँदा हेपिएका कारण समाजबाट बहिष्कृत गरिएकाहरूप्रति ममा विशेष सहानुभूति जाग्यो ।’

आफ्नो पुस्ताका धेरै जर्मनहरूजस्तै उनी पनि १० वर्षको उमेरमा हिटलरको युवा दस्तामा भर्ती भएका थिए । जब कि उनका पिता नाजी पार्टीमा आबद्ध भई वेह्रमाख्त (नाजी जर्मनीको सशस्त्र बल) मा मेजरको पदमा कार्यरत थिए । सन् १९४४ को शरद ऋतुमा जब उनी १५ वर्षका थिए, उनलाई पश्चिमी मोर्चामा लड्नका लागि बोलाइएको पत्र आयो ।
फेब्रुअरी १९४५ मा जब सैन्य प्रहरी उनलाई खोज्न आयो, संयोगवश उनी घरमा थिएनन् । केही हप्तापछि मित्रराष्ट्रका सेना जर्मनी आइपुगे र उनी सैन्य सेवाबाट बचे ।
पछि ‘हलोकास्ट’ भनेर चिनिने नरसंहारको छायामा हुर्कँदै गर्दा ह्याबरमासले आफ्नो राजनीतिक र दार्शनिक दृष्टिकोणलाई परिपक्व बनाउने स्तरमा खेलाउन थाले । न्युरेमबर्ग ट्रायलले उनलाई आफ्नै जर्मनहरूले ‘सामूहिक रूपमा गरेको अमानवीयता’प्रति गहिरो रूपमा सचेत गरायो । उनका लागि यो मस्तिष्क हल्लाउने पहिलो परिघटना थियो ।
सन् १९५३ मा, २४ वर्षको उमेरमा, जब उनी बोन विश्वविद्यालयमा अध्ययनरत थिए, उनले तत्कालीन समयका महान् जीवित जर्मन दार्शनिक मार्टिन हाइडेगरको कडा आलोचना गरे । हाइडेगरले आफ्नो नाजी विगतलाई स्वीकार नगरेकोमा उनले प्रश्न उठाए । हाइडेगरको सन् १९३५ मा प्रकाशित कृति ‘इन्ट्रोडक्सन टु मेटाफिजिक्स’ पुनः प्रकाशित हुँदा नाजी पार्टीको ‘आन्तरिक सत्य र महानता’ भन्ने सन्दर्भलाई हटाइएको थिएन ।
ह्याबरमासले लेखे, ‘विगतका जिम्मेवार कार्यहरूलाई स्पष्ट पार्नु र तिनीहरूको ज्ञानलाई जीवित राख्नु के चिन्तनशील मानिसको प्रमुख कर्तव्य होइन ?’
सन् १९५६ देखि १९५९ सम्म ह्याबरमासले फ्र्याङ्कफर्ट विश्वविद्यालयको प्रसिद्ध ‘इन्स्टिच्युट फर सोसल रिसर्च’ मा थियोडोर एडोर्नोको पहिलो सहायकका रूपमा काम गरे । नव–मार्क्सवादी यहुदी बुद्धिजीवीहरू त्यहाँ दार्शनिक विचारहरूलाई सामाजिक समस्यामा प्रयोग गरेर संसारलाई बुझ्ने नयाँ विश्वदृष्टि खोजिरहेका थिए ।
तर, ह्याबरमास एडोर्नो र होर्कहाइमरको ‘क्रिटिकल थ्योरी’ मा रहेको निराशावादी स्वरसँग सहमत थिएनन् । युद्धले उनीहरूलाई आधुनिकताप्रति सशङ्कित बनाएको थियो । ह्याबरमासका अनुसार, उनीहरूले पुँजीवादको आम उपभोक्ता संस्कृतिलाई व्यक्तिगत पहिचान समाप्त पार्ने ‘भ्रमको पूर्ण प्रणाली’ का रूपमा बुझ्थे ।
सार्वजनिक वृत्त
सन् १९५९ मा ह्याबरमासले फ्र्याङ्कफर्ट स्कुल छाडे र मारबर्ग विश्वविद्यालयबाट आफ्नो दोस्रो विद्यावारिधि पूरा गरे । उनको शोधप्रबन्ध, जो १९६२ मा ‘द स्ट्रक्चरल ट्रान्सफर्मेशन अफ द पब्लिक स्फेयर’ पुस्तकका रूपमा आयो, तर्क र सञ्चारले मानिसलाई भ्रमबाट मुक्त हुन कसरी मद्दत गर्न सक्छ भन्नेमा केन्द्रित थियो ।
उनले १८औँ शताब्दीका बेलायत र फ्रान्सका कफी पसलहरूमा ‘सार्वजनिक वृत्त’ को जन्मको इतिहास प्रस्तुत गरे । अखबारहरूको सहयोगमा मध्यमवर्गीय पुरुषहरू राजनीतिका विषयमा छलफल गर्थे र साझा सरोकारका विषयहरूमा सहमतिमा पुग्ने प्रयास गर्थे । ह्याबरमासका लागि त्यो एक प्रकारको स्वर्णयुग थियो, जहाँ तर्कपूर्ण सञ्चारले लोकतान्त्रिक समाजको निर्माणमा मद्दत पुर्याएको थियो ।
‘जब तर्कवादी हुनु फेसन थिएन, उनी एक तर्कवादी थिए’, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका प्राध्यापक र ह्याबरमासका जीवनीलेखक म्याथ्यु स्पेक्टरले एक अन्तर्वार्तामा भने । ‘उनले तर्कको एक परिष्कृत र संवादमुखी अवधारणा विकास गरे, जसले युद्धपछिका युरोपेली पुस्तालाई २०औँ शताब्दीको फासीवाद र साम्यवादको विनाशपछि पनि आलोचना र प्रगतिको ज्ञानोदयकालीन विश्वासलाई फेरि सार्थक बनाउन सकिन्छ भनेर विश्वस्त तुल्यायो ।’
ह्याबरमासले सन् १९६४ मा फ्र्याङ्कफर्ट विश्वविद्यालयमा होर्कहाइमरको पद सम्हाले र फ्र्याङ्कफर्ट स्कुललाई अर्को पुस्तामा सफलतापूर्वक डोहोर्याए । सन् १९७१ देखि १९८१ सम्म १० वर्ष उनी स्टार्नबर्गको ‘म्याक्स प्लाङ्क इन्स्टिच्युट’ को निर्देशक रहे र त्यसपछि फेरि फ्र्याङ्कफर्ट फर्किए । सन् १९९४ मा अवकाश नहुन्जेल त्यहीँ अध्यापन गरे ।
आफ्नो जीवनको अन्तिम दशकहरूमा पनि उनले नर्थवेस्टर्न युनिभर्सिटी र न्युयोर्क युनिभर्सिटीजस्ता अमेरिकी संस्थाहरूमा लामो समय बसेर व्याख्यान दिने काम जारी राखे ।
उनको परिवारमा श्रीमती उटे ह्याबरमास–वेसेल्फोफ्ट र दुई सन्तान टिलम्यान र जुडिथ ह्याबरमास छन् । उनकी अर्की छोरी रेबेका ह्याबरमास, जो गोटिन्जेन विश्वविद्यालयमा आधुनिक इतिहासकी प्राध्यापक थिइन्, उनको सन् २०२३ मा निधन भएको थियो ।
‘आहा, युरोप’
आफ्ना पछिल्ला वर्षहरूमा ह्याबरमास विशेषगरी युरोपेली सङ्घको परियोजनाको अवस्थाप्रति चिन्तित थिए । यो चिन्ता उनको सन् २००८ को पुस्तक ‘आहा, युरोप’ को शीर्षकमा झल्किएको थियो ।
उनको विश्वास थियो– विश्वव्यापी पुँजीवाद र राष्ट्रवादको विनाशकारी प्रभावको सबैभन्दा राम्रो प्रतिरोध युरोपेली सङ्घजस्तो एकीकृत लोकतान्त्रिक सङ्घले नै गर्न सक्छ । तर बजार र सामाजिक शक्तिहरूले यस अवधारणालाई कमजोर बनाउँदै लगेको देख्दा उनी दुःखी थिए ।
सन् २०१० को दशकको सुरुतिर धेरै पत्रिकाहरूले उनलाई ‘अन्तिम युरोपेली’ भनेर सम्बोधन गरेका थिए ।
ह्याबरमासले सार्वजनिक वृत्तमा धर्मको स्थानका बारेमा पनि ध्यान दिए । युरोपमा मुस्लिमहरूप्रति बढ्दो शत्रुताबाट प्रेरित भएर उनले ‘उत्तर–धर्मनिरपेक्ष’ समाजका बारेमा लेखे, जसमा उनले ज्ञानोदयको नास्तिक परम्परा र आधुनिक धर्म, तथा आस्था र लोकतान्त्रिक संस्थाहरूबीच तालमेल मिलाउने प्रयास गरे ।
यो उनको जीवनभरको त्यस आदर्शको हिस्सा थियो, जहाँ धेरैभन्दा धेरै नागरिकहरूले आफ्नो समाजको अवस्थाबारे मिलेर विमर्श गरून् । सन् २०१० मा ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित उनको लेखमा उनले युरोपेली राजनीतिमा राष्ट्रवादी प्रवृत्तिको पुनरागमनप्रति खेद व्यक्त गरेका थिए ।
उनले लेखेका थिए, ‘चुनौतीपूर्ण भविष्यलाई सामूहिक रूपमा आकार दिन अझै केही ठाउँहरू बाँकी छन् भन्ने विश्वासमा लोकतन्त्र निर्भर रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण