१०औँ एनभिए कप खेल्न सुदूरपश्चिमको महिला टोली काठमाडौँ प्रस्थान
धनगढी । नेपाल भलिबल सङ्घ एनभीएको आयोजनामा हुने १०औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागी हुन सुदूरपश्चिम प्रदेशको महिला भलिबल टोली काठमाडौँ प्रस्थान गरेको छ।
मङ्गलबार धनगढीमा आयोजित एक विशेष कार्यक्रमका बिच सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का रविले खेलाडीहरूलाई अबिर र खादा लगाएर शुभकामनासहित बिदाइ गरे।
बिदाइ कार्यक्रममा बोल्दै सदस्य सचिव खड्काले भलिबल खेलको विकासका लागि यो प्रतियोगिता एउटा महत्त्वपूर्ण खुड्किलो भएको बताए।
‘हाम्रा खेलाडीहरूमा सिक्ने र राम्रो प्रदर्शन गर्ने उमेर र क्षमता दुवै छ। यो प्रतियोगिताले उनीहरूलाई थप निखार्ने अवसर दिनेछ। खेलकुद परिषद्को तर्फबाट खेलाडीहरूका लागि सधैँ पूर्ण सहयोग रहनेछ।’उनले भने।
प्रतियोगितामा सुदूरपश्चिमको कप्तानी अनुभवी खेलाडी संगीता विष्टले गर्नेछिन् भने उप–कप्तानको जिम्मेवारी विमला महताले पाएकी छिन्। टिमको व्यवस्थापकमा प्रेम राज जोशी रहेका छन् भने मुख्य प्रशिक्षकमा लालबहादुर बटाला र सहायक प्रशिक्षकमा सञ्जय भाट रहेका छन्। प्रशिक्षक बटालाले टोलीको तयारी राम्रो रहेको र मैदानमा अन्य बलिया टोलीहरूलाई कडा टक्कर दिनेमा आफू ढुक्क रहेको बताए।
यसअघि गत पुसमा सम्पन्न नवौँ एनभिए कपमा पहिलो पटक सहभागी भएको सुदूरपश्चिमको महिला टोलीले दोस्रो पटक यस ऐतिहासिक लिगमा सहभागिता जनाउन लागेको हो।
आउँदो वैशाख १० देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ वटा टोलीबिच सिंगल लिगका आधारमा प्रतिस्पर्धा हुनेछ।
भलिबल इतिहासकै सर्वाधिक नगद पुरस्कार राशि राखिएको यस प्रतियोगिताका विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्टहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
सुदूरपश्चिमको महिला टोलीले यो ठुलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक नतिजा निकाल्ने अपेक्षा गरिएको टिम कप्तान विष्टले बताइन्। ‘हामी राम्रो प्रदर्शन गर्नेछौँ, टिम बलियो भनेको छ, सबै समर्थकहरुले माया गर्नुहोला,’विष्टिले भनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण