स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी लिलामी प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा आएको नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा ५५ वर्षीय पलिना श्रेष्ठ र ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन् । पक्राउ परेकी श्रेष्ठ झम्सीखेल बस्दै आएकी थिइन् भने उलाक धापासी बसोबास गर्दै आएका थिए । उनीहरूलाई क्रमशः जमल र बखुन्डोल बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार स्मार्ट टेलिकम प्रा. लि. ले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो । तर नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
अनुमति रद्द भएसँगै “अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९” अनुसार स्मार्ट टेलिकमका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो ।
तर ती सम्पत्तिहरू नेपाल सरकारको हकहित विपरीत गैरकानूनी रूपमा लिलामी गर्ने प्रयास गरिएको भन्दै प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण