शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कुवेत विमानस्थलमा इरानी आक्रमण : एक जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बुधबार, २० जेठ २०८३, २१ : ५३
बुधबार, २० जेठ २०८३

सारांश

  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
  • कुवेतले इरानी आक्रमणको प्रतिक्रियामा दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गरेको छ र इरानी कार्यवाहक राजदूतलाई औपचारिक विरोधपत्र हस्तान्तरण गरेको छ।
  • अप्रिलमा युद्धविराम सहमति भए पनि इरान र अमेरिकाबीचको तनाव जारी छ, जसले युद्धविरामको भविष्य अनिश्चित बनाएको छ।

कुवेत । अमेरिका र इरानबिचको युद्धविराम थप दबाबमा परेको बेला इरानले कुवेत र बहराइनस्थित अमेरिकी पूर्वाधारलाई लक्षित गर्दै नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।

ती आक्रमणमध्ये कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक हमलामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

कुवेतको विदेश मन्त्रालयका अनुसार बुधबार बिहान भएको आक्रमणले विमानस्थलसहित विभिन्न नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाएको थियो । युद्ध सुरु भएयता इरानी आक्रमणका कारण कुवेतमा घाइते हुनेहरूको यो सबैभन्दा ठुलो घटनामध्ये एक भएको बताइएको छ।

इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूका साथै हर्मुज जलडमरू नजिक रहेको एक जहाजलाई पनि निशाना बनाएको दाबी गरेको छ। 

यो आक्रमण अमेरिकी सेनाले इरानको खार्ग टापुस्थित बन्दरगाहतर्फ गइरहेको बोत्स्वाना झण्डावाहक तेल ट्यांकरमाथि हेलफायर मिसाइल प्रहार गरेको केही समयपछि भएको हो।

कुवेतले दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्‍यो

आक्रमणपछि कुवेत सरकारले इरानको कूटनीतिक नियोगका दुई सदस्यलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै देश छाड्न आदेश दिएको छ ।

कुवेती विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा निरन्तर भइरहेका इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण उक्त निर्णय लिइएको जनाएको छ । मन्त्रालयले कुवेतस्थित इरानी कार्यवाहक राजदूत हामेद हमिद याकौबी फारलाई बोलाएर औपचारिक विरोधपत्र पनि हस्तान्तरण गरेको छ।

युद्धविरामपछि पनि जारी तनाव

अप्रिलमा अमेरिका र इरानबिच युद्धविराममा सहमति भए पनि पछिल्ला दिनहरूमा दुवै पक्षबाट पुनः आक्रमणहरू भइरहेका छन्। विश्लेषकहरूका अनुसार पछिल्लो घटनाक्रमले युद्धविरामको भविष्यलाई अनिश्चित बनाएको छ।

युद्धको प्रारम्भिक चरणमा पनि इरानले उक्त क्षेत्रका विभिन्न देशहरूमा आक्रमण गरेको थियो, जसका कारण कुवेत, बहराइन, संयुक्त अरब इमिरेट्स, ओमन, साउदी अरेयिबा तथा इजरायलमा मानवीय क्षति भएको थियो।

अमेरिका मध्यस्थतामा इजरायल–लेबनान वार्ता जारी

यसैबिच अमेरिका मध्यस्थतामा इजरायल र लेबनानबिचको सुरक्षा तथा राजनीतिक वार्ता दोस्रो दिन पनि जारी रहेको छ।अमेरिकी विदेश मन्त्री मार्को रुबियो का अनुसार वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयमा दुवै देशका प्रतिनिधिहरूबिच छलफल भइरहेको छ ।

वार्ताले लेबनानको सार्वभौमिकता पुनःस्थापना गर्ने र इजरायलको सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्य राखेको अमेरिकी पक्षको भनाइ छ। तर इजरायल र हेजबुल्लाहबिच युद्धविरामका बाबजुद आक्रमण–प्रत्याक्रमण जारी रहेकाले क्षेत्रीय तनाव अझै उच्च रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप