शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमणको डरले बिहारका ८३ चिकित्सकहरुद्वारा सेल्फ क्वारेन्टाइनमा बस्न माग

शुक्रबार, १४ चैत २०७६, ०९ : ३१
शुक्रबार, १४ चैत २०७६

पटना । कोरोनाभाइरसको सामना गर्नका लागि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्यलाई कम्तीमा एक–एकवटा कोरोना विशेष अस्पताल बनाउन निर्देशन दिएको छ ।

सोही अनुसार बिहार राज्य सरकारले पटनास्थित नेशनल मेडिकल कलेज हस्पिटल (एनएमसीएच) लाई कोरोना विशेष अस्पताल बनाउने घोषणा गरेको छ । तर बिहार राज्य सरकारको उक्त निर्णयलाई चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

८३ जुनियर डाक्टरले अस्पताल व्यवस्थापनका साथै प्रधानमन्त्री कार्यालय, बिहार स्वास्थ्य विभाग र मुख्यमन्त्री कार्यालयमा पत्र लेख्दै भनेका छन्, ‘अस्पतालमा पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) र एन–९५ मास्क नै चिकित्सकहरुलाई उपलब्ध छैन, बिरामीले कहाँबाट पाउनु ?’

चिकित्सकहरुले पत्रमा आफूसमेत संक्रमित हुन सक्ने खतरा औँल्याएका छन् । सोहीअनुरुप उनीहरुले सेल्फ क्वारेन्टाइनमा जान पाउनका लागि माग गरेका छन् ।

एनएमसीएचमा कोरोनाका दुई संक्रमित बिरामी भर्ना छन् । यो अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा घोषणा गरेसँगै संक्रमणका आशंकामा कयौँ बिरामी यही अस्पतालमा आउन थालेका छन् ।

एनएमसीएचका जुनियर चिकित्सकहरुको संगठनका अध्यक्ष रवि रमन भन्छन्, ‘हामी विगत केही दिनदेखि कोरोनाका संदिग्ध बिरामीको उपचार पीपीई र मास्कबिना नै गर्दै आएका छौँ, किनकि हामीलाई अस्पताल व्यवस्थापनले उपलब्ध नै गराएको छैन ।’

आफूहरुले माग गर्दा अस्पताल व्यवस्थापनले सामानहरु आउँदैछ भनेर टारेको उनको भनाइ छ । ‘तर आजसम्म सुरक्षा उपकरणहरु आइपुगेन, जबकि यो अस्पताल कोरोना विशेष अस्पतालका रुपमा घोषणा भइसकेको छ, यहाँ दुई पोजेटिभ मामिलाका बिरामी पनि छन्, अब यसरी काम गर्न सकिदैँन ।’

चिकित्सकहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना नगरी आफूहरुले संदिग्ध बिरामीको उपचार गरेको राम्रोसँग जानकारी रहेको डा. रमनको भनाइ छ । उनले भने, ‘केहीदिन यता, केही चिकित्सकलाई भाइरल फ्लुको समस्या थियो, जाँच गर्दा तत्काल होम क्यारेन्टाइनमा बस्न भनियो, त्यसैले सेल्फ क्वारेन्टाइनको माग गर्दा अस्पताल व्यवस्थापनबाट अनुमति दिइएन । अहिले पनि हामी विना संशाधन र विना सुरक्षा काम गर्न बाध्य छौँ ।’

केही जुनियर डाक्टरहरुले मिडियामा यस्ता कुरा बाहिर ल्याएमा डिग्री रोक्नेसम्मको धम्की अस्पताल व्यवस्थापन पक्षबाट आउन थालेको बताए ।

सरकारको तयारी

चिकित्सकहरुले लगाएको आरोपबारे एनएमसीएचका सुपरिटेन्डेन्ट गोपालकृष्णले भने, ‘हामीसँग ५ सयभन्दा बढी शैया छ, ४३ भेन्टिलेटर छ, पीपीइ र एन–९५ मास्कमा केही कमी छ, तर चाँडै उपलब्ध हुने कुरा हामीले चिकित्सकलाई भनेका छौँ ।’

चिकित्सकहरुको हरसम्भव ख्याल गरिने, उनीहरुको सुरक्षाका लागि विशेष पहल गरिने जनाउँदै उनले संकटको यस्तो बेलामा गुनासोहरु बाहिर ल्याउन नहुने बताए ।

बिहार सरकार १२० संदिग्ध व्यक्तिको खोजीमा छ जो, १५ जनवरीपछि कोरोना प्रभावित मुलुकबाट आएका थिए । स्वास्थ्य विभागका अनुसार उनीहरुका बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन । अधिकारीहरुका अनुसार तीमध्ये ६८ जना मुजफ्फरपुरमा, २४ गोपालगञ्जमा, ३० सारणमा र बाँकी अन्य जिल्लामा छन् ।

सिङ्गो भारतसँगै बिहार पनि अहिले ‘लकडाउन’ मा छ । बिहार राज्य सरकारले लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा कारवाही गर्न थालेको छ । लकडाउन उल्लंघन गरेकोमा २ सय १५ जनाविरुद्ध मुद्दा दायर भएको बताइएको छ । जरिवानाबाट ६९ लाख ७३ हजार २ सय ५० रुपैयाँ असुल गरिएको छ ।

लकडाउनका क्रममा आफ्नो घरबाहिर फसेका बिहारबासी, जो राज्यभित्र हुन् वा राज्य बाहिर, उनीहरुको भोजन तथा आवासका लागि राज्य सरकारले १०० करोड रुपैयाँ छुट्याएको छ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप