शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राउटेका मुखमा मास्क

सोमबार, २४ चैत २०७६, १३ : ३८
सोमबार, २४ चैत २०७६

–लक्ष्मी भण्डारी
सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २  स्थित छिञ्चुखोलामा बस्दै आएको सो  समुदायका सबैले मास्क लगाउन थालेका छन् । कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले बताएका छन् ।  गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका बारेमा जानकारी गराएपछि उनीहरु माक्स लगाउन तयार भए । 

राउटे समुदायको अहिले गाउँपालिकाले नियमित रुपमा स्वास्थ्यजाँच गर्दै आएको छ । उक्त समुदायमा १५१ सदस्य छन् । गाउँपालिकाले राउटे समुदायलाई मास्क प्रयोग गर्ने तरिका पनि सिकाएको थियो ।गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नाप्नाका साथै मास्क पनि  वितरण गरेको छ । 

कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती पनि अहिले लकडाउनमा परेको छ । राउटे समुदायका नागरिकलाई बस्तीभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन । राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताए । सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उनको भनाइ थियो । ‘सरकारको निर्देशनअनुसार अहिले हामी बस्तीभन्दा बाहिर गएका छैनौं’, उनले भने, ‘हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्री आवश्यक छ ।’

राउटे समुदायको स्वास्थ्य जाँच गरेका अनमी सुमन काफ्लेले कुनै पनि राउटेमा उच्च ज्वरो नदेखिएको जानकारी दिए ।  गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोनाबाट जोगाउन नियमित स्वास्थ्यजाँच शुरु गरिएको बताए । ‘आवश्यक परेमा जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछौं’, गाउँपालिका अध्यक्ष वलीले भने, ‘अन्य बेलामा भन्दा कोरोनाको संक्रमण फैलिएको अवस्थालाई ध्यानमा राखी समयसमयमा स्वास्थ्य जाँचमा ध्यान दिएका छौं ।’

्अहिलेसम्म राउटे बस्तीमा कुनै पनि रोगको संक्रमण देखिएको छैन भन्दै उहाँले लोपोन्मुख जाति बचाउन निगरानी बढाइएको बताए । ‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाइमा केन्द्रित हुन्छौंँ ।’ उनले बस्ती स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका काम गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले गाउँपालिका अहिले सचेतनाको कामलाई जोड दिएर अघि बढेको बताए । ‘हाम्रो काम  भनेको विपद्को बेलामा निरन्तर रुपमा सचेतना जगाउने हो’  बुढाले भने, ‘यस्तो अवस्थामा चेतना जगाउनु नै हाम्रो मुख्य भूमिका हो ।’ 

उनले राउटे समुदायलाई गाउँपालिकाले  २०७५ असारमा परिचयपत्र वितरण गरिसकेपछि निरन्तर रुपमा हेरविचार गर्दै आएको बताए । गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा रु एक लाखभन्दा बढी जम्मा भएको छ जसमा गाउँपालिकाका अध्यक्ष वलीले रु २५ हजार जम्मा गरेका छन् । गाउँपालिकाका सबै वडामा बाहिरबाट आउने व्यक्तिको तथ्याँक लिइनाका साथै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यजाँच गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । बाहिरबाट आएका सबै क्वारेन्टाइनमा छन् ।

त्यसैगरी गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भन्नाका लागि खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा सहकारीमार्फत खाद्यान्न वितरण गरिने बुढाले बताए । सोका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार  छुट्याएको छ । ‘विश्वमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकामा निरन्तर अनुगमन गरिरहेका छौँ’, उनले भने, ‘यहाँका नागरिकको स्वास्थ्य अवस्थाका साथै खाद्यान्न उपलब्धताको अवस्थाका विषयमा निरन्तर जानकारी लिइरहेका छौँ ।’

गाउँपालिकाका बिरामी अस्पताल वा क्वारेन्टाइनमा लैजानका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले बताइन् । ‘कोरोनाको संक्रमणको बेलामा केही समस्या भएमा अस्पताल लैजानका लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ’ उपाध्यक्ष बिसीले भनिन्, ‘जसले गर्दा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।’ त्यसैगरी हेल्थ डेस्क सेन्टरबाट पनि नियमित रुपमा स्वास्थ्यजाँच भइरहेको उपाध्यक्ष बिसीले बताइन् । 

गाउँपालिकामा भारतबाट आएका व्यक्तिको लगत संकलनसंँगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मी घरघर पुगेर  स्वास्थ्य जाँच गरेका छन् । गाउँपालिकाका ठाउँठाउँमा क्वारेन्टाइनसमेत व्यवस्थापन गरिएको छ ।  जाँचका लागि आवश्यक सबै सामग्री उपलब्ध भएकाले कुनै जोखिम नभएको स्वास्थ्यकर्मी बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप