केन्द्रीय संस्करण

कथा : तिलस्मी चस्मा

person explore access_timeबैशाख १३, २०७७ chat_bubble_outline0

–डा. राजु अधिकारी

त्रिपुरेश्वका सबैजसो चस्मा पसलहरु चाहार्दा पनि उनले आफूले खोजेको चस्मा भेटाउन सकेका थिएनन् । भेटाउन पनि कसरी ? उनले किन्न चाहेको चस्मा थियो नै अनौठो– तिलस्मी चस्मा । तर उनले आशा मारिसकेका भने थिएनन् । अब एक दुई चस्मा पसल मात्र सोध्न बाँकी थियो । 

“साहुजी, तिलस्मी चस्मा छ यहाँ ?” उनले फरि अर्काे पसल पसेर सोधे ।

“के हो तिलस्मी चस्मा भनेको ? छैन मसँग त” पसलेले सामान्य रुपमै उत्तर दियो । उनी त्यहाँबाट निस्के । एउटा अन्तिम पसल मात्रै सोध्न बाँकी थियो । मर्दै गएको आशाबीच उनी त्यो पसलमा पसे र त्यही प्रश्न सोधे, “साहुजी, तिलस्मी चस्मा छ यहाँ ?”

पसले अनौठो प्रश्न सुनेर आफूले गलत पो सुनेँ कि भन्ने ठानेर सोध्यो, “के खोज्नु भएको रे ?”

उनले फेरि त्यही प्रश्न दोहोर्याएपछि पसलेले उनलाई अनौठो नजरले तलदेखि माथिसम्म नियाल्यो ।

भएको खासमा के थियो भने, एक जना पत्रकारले चस्मा बारे एउटा जोसिलो लेख पत्रिकामा लेखेछन् । उनको लेखमा भनिएको थियो९ “...आज हामी हाम्रो समाजले, हाम्रो राज्य व्यवस्थाले, हाम्रो सरकारले, हाम्रा बुद्धिजीवीहरुले, हाम्रा राजनीतिक दलहरुले हामीलाई लगाइदिएको रङ्गीन चस्मा लगाएर बसेका छौँ । हामी जन्मिँदै त्यस्ता चस्मा लगाउन बाध्य पारिन्छौँ । ती चस्मा लगाएपछि हामीले हरेक कुरा त्यही चस्माको रङ अनुसार देख्छौँ । रातो चस्मा लगाउनेले सबै चिज रातो देख्छ, निलो चस्मा लगाउनेले सबै चिज निलो देख्छ । कसैले कालो चस्मा लगाएको छ, कसैले बैजनी त कसैले पहेँलो । हामीहरु वास्तविकता खासमा के हो, त्यो देख्दैनौँ र देख्न पनि चाहँदैनौँ । हामी सबै तिनै रङ्गीन चस्मामा रमिरहेका छौँ । हरेक कुरामा तिनै रङ्गीन चस्मा लगाउनेहरुको भिड छ, तिनैहरुको विचार हाबी छ ।

...हामीले ती रङ्गीन चस्मा उतारेर वास्तविकता देख्ने चस्मा नलागाउँदासम्म देश र जनताको उत्थान सम्भव छैन । त्यो वास्तविकता देख्न अब तिलस्मी चस्माबाहेक अरुबाट सम्भव छैन, त्यसैल हामीले तिलस्मी चस्मा लगाउने आँट गर्नु पर्छ । त्यस्तो चस्मा जसले क्रुर तानाशाही शाशनको बेलामा पनि वास्तविकता देख्न सकोस् । त्यस्तो चस्मा जसले सत्तालाई आफ्नै जस्तै ठानेर बासेका शासकहरुले गरेका भ्रष्टाचार, दमन र बर्बरता देख्न सकोस् । त्यस्तो चस्मा जसले देश र जनताले भोगेको दुःख र पीडा देख्न सकोस् । देशमा सबैलाई त्यही चस्मा चाहिएको छ । हाम्रा आँखामा लगाइएका रङ्गीन चस्माहरु उतारेर

हामीले तिलस्मी चस्मा लगाउनु परेको छ । आउनुस् सबैले तिलस्मी चस्मा लगाउने आँट गरौँ, देशको वास्तविकता बुझेर त्यसलाई समाधान गर्ने प्रयत्न गरौँ ।”

त्यो लेख पढेपछि उनलाई पनि निकै जोश चल्यो । आफूले सधैँ लगाउने कालो चस्मा तुरुन्तै उतारेर उनी तिलस्मी चस्मा खोज्न निस्केका थिए । तर कसरी पाइयोस् तिलस्मी चस्मा ।

चस्मा खोज्ने भनेपछि त्रिपुरेश्वरको आँखा अस्पताल नै उनको पहिलो रोजाइ थियो । 

“डाक्टर सा’ब, यहाँ चस्मा किन्ने कहाँ हो ?” अस्पतालको काउन्टरमा गएर उनले सोधे ।

“यहाँ अस्पतालभित्र चस्मा किन्न पाइँदैन, ऊ त्यो बाहिरको पसलमा जानुस्” काउन्टरको व्यक्तिले आफूले कमिसन पाउने चस्मा पसल देखाइदिँदै भन्यो ।

उनले त्यो पसलमा गएर सोधे– “साहुजी, यहाँ तिलस्मी चस्मा पाइन्छ ?”

पसलेले हेर्दा पनि नहेरी भन्यो– “कति पावरको हो ? पर्चा दिनुस् ।”

“पावर वाला होइन, तिलस्मी चस्मा खोजेको” उनले प्रष्ट्याए ।

“यहाँ ब्रान्डेड चस्मा पाइँदैन, ऊ त्यो पसलमा जानुस्” पसलेले टाउको उठाएर ठूलो डिपार्टमेन्ट स्टोर देखाउँदै भन्यो । कहिले नाम नसुनेको हुनाले पसलेको बुझाइमा उनले खोजेको चस्मा कुनै मूल्यवान ब्रान्डको हुनुपर्ने र महँगा पसलहरुमा मात्र पाइन्छ होला भन्ने लागेको थियो । 

डिपार्टमेन्ट स्टोरभित्र गएर ब्रान्डेड चस्मा बेच्ने पसल खोजेर उसले पसलेलाई सोधे– “साहुजी, यहाँ तिलस्मी चस्मा पाइन्छ ?”

पसलेले अलि हेपाहा पाराले भन्यो– “हामी कहाँ त रेब्यान, बर्बेरी, आर्मानी जस्ता ठूला ब्रान्डका चस्मा मात्र पाइन्छ, ‘लोकल ब्रान्ड’ त हामीले बेच्दैनौँ ।” उसलाई लाग्यो तिलस्मी भन्ने स्थानीय ब्रान्ड होला ।
“कहाँ पाइएला त साहुजीरु” उनले सोधे ।

“खै बाटाका चस्मा पसलहरुमा सोध्नुस् न” उसले हेर्दा पनि नहेरी भन्यो ।

त्यसपछि त्रिपुरेश्वरका हरेक चस्मा पसलमा उनी तिलस्मी चस्मा खोज्दै हिँडेका थिए ।
अन्तिम पसलमा पुगेर त्यही प्रश्न सोधेपछि पसलेले उनलाई नियालेर हेर्दै व्यङ्ग्यात्मक रूपमा हाँस्दै भन्यो– “ए त्यो खाले चस्मा ? त्यो चस्मा त यहाँ पाइँदैन । लगनखेलमा अस्पतालको नजिकै एउटा चस्मा पसल छ । त्यहाँ गए सोध्नुस् पाइन्छ होला ।”

“हवस्” भन्दै उनी लगनखेलतिर जाने बस खोज्नतिर लागे ।

पसले सानो आवाजमा उसलाई हेर्दै एक्लै गुन्गुनायो– “कस्ता कस्ता पागलहरू आउँछन् यार ?”
.......
लगनखेल पुगेर उनले धुइँधुइँती चस्मा पसल खोज्न थाले । यता सोधे उता सोधे तर कसैले पनि त्यहाँ चस्मा पसल कहाँ छ भने बताउन सकेनन् । रेडिमेड लुगा बेच्ने एउटा पसलमा केही निला काला चस्मा बेच्न राखेको देखेर झिनो आशा राख्दै उनले पसलमा गएर त्यही प्रश्न सोधे, “साहुजी, तिलस्मी चस्मा बेच्न राख्नु भा’छ ?”

“के चस्मा ?” पसलेले सोध्यो ?

“तिलस्मी चस्मा” उनले दोहोर्याए ।

पसलेलाई झनक्क रिस उठ्यो र मानसिक अस्पतालको गेटतिर देखाउँदै उसले भन्यो, “ऊ त्यो अस्पतालभित्र किन्न पाइन्छ, त्यहाँ जानुस् ।”

पसलेले भने अनुसार उनी त्यतातिर लागे । त्यहाँ ठूलो अक्षरले ‘मानसिक अस्पताल’ लेखेको थियो । उनलाई अलि अचम्म लाग्यो– मानसिक अस्पतालमा चस्मा ?

तर सोध्दैमा के बिग्रन्छ र भन्ने सोचेर उनीभित्र पसे ।

नाम लेख्ने ठाउँमा पुगेर उनले सोधे “यहाँ चस्मा किन्न कहाँ पाइन्छ ?”

नाम लेख्ने मान्छेले अलि शङ्कालु पारामा उनलाई हेर्दै सोध्यो– “नाम के हो ?”

उनले आफ्नो नाम बताए ।

“उमेर ?”

उनले आफ्नो उमेर पनि बताए ।

“ठेगाना ?”

‘चस्मा किन्न यत्रो झमेला ?’ उनलाई अलि रिस पनि उठ्यो । तर सायद विशेष चस्मा भएकोले होला भन्ने विचार गरेर उनले खुरुक्क आफ्नो ठेगाना पनि बताए ।

नाम लेखेको पर्चा उनलाई दिँदै कर्मचारीले भन्यो– “ल यो पर्चा लिएर ३ नम्बरको कोठामा जानुस् ।”

उनी पर्चा समातेर ३ नम्बरको कोठातिर लागे । उनलाई लागेको थियो सायद त्यो कोठामा चस्मा होला । भित्र एकजना अधबैँसे मान्छे पातलो सेतो कोटको पहिरनमा चस्मा लगाएर बसेको थियो । देख्दै थाहा हुन्थ्यो त्यो मान्छे डाक्टर थियो ।

उनीभित्र पसेर डाक्टरलाई पर्चा दिँदै भने– “चस्मा किन्न आको डाक्टर साब ।”

“ल ल बस्नुस्, चस्माको कुरा अलि पछि गरौँला” भन्दै डाक्टरले बस्न इसारा गर्याे । उनी कुर्सीमा बसे ।

“के हुन्छ तपाईंलाई, किन चस्मा किन्नु पर्याे ?” टाउको दुख्छ ?” डाक्टरले सोध्यो ।

“हैन, म त तिलस्मी चस्मा किन्न आको” उनले आफ्नो कुरा बताए ।

‘फेरि आयो अर्काे पागल’ भनेर मनमनै सोच्दै डाक्टरले उनलाई पर्चा दिँदै भर्ना हुने वार्डतिर देखाउँदै भन्यो, “ऊ त्यहाँ मान्छेहरु घाम तापेर बसेका छन् नि, हो त्यहीँ नजिकैको झ्यालमा यो पर्चा लगेर दिनुस्, त्यहीँ पाइन्छ तपाईंले खोजेको चस्मा ।”

आफूले खोजेको चस्मा आखिरमा पाइने नै भयो भनेर मख्ख हुँदै उनी डाक्टरले देखाएको ठाउँतिर लागे । डाक्टरले भनेको झ्याल नजिकै एकजना निकै भद्र देखिने मान्छे बेन्चमा बसेका थिए । 

झ्यालभित्रको मान्छेलाई नसोधेर उनले ती भद्र व्यक्तिलाई सोधे, “तिलस्मी चस्मा पाइने यहीँ हो ।”

“हो, यहीँ हो । तपाइँलाई पनि लगाउन मन लाग्यो ?” भद्र मान्छेले सोधे ।

“हो” उनले भने ।

“ल लिएर जानुस्” ती भद्र मान्छेले एउटा चस्मा आफ्नो गोजीबाट निकालेर उनलाई दिँदै भने ।

“कति हो ?” उनले पैसा तिर्ने हेतुले मूल्य सोधे ।

“पर्दैन, मेरो चस्मा हो, मेरो उपहार भयो तपाईंलाई, लिएर जानुस्, मलाई थाहा छ तपाइँ फर्केर यहीँ आउनुहुनेछ” ती व्यक्तिले भने ।

उनले चस्मा समाते । तर त्यो अलि अर्कै चस्मा थियो । 

“अलि अर्कै चस्मा छ त यो त ?” उनले भने ।

“हो, अलि अर्कै छ । यो बिजुलीबाट चल्ने चस्मा हो । ऊ त्यो धातुको रड छ नि, त्यसलाई तपाईंको कन्चट छुने गरी लगाउनु होला, नत्र काम गर्दैन,” ती भद्र मान्छेले सम्झाए । 

उनले पनि ‘धन्यवाद’ भन्दै त्यो चस्मा लिएर बाहिर निस्के ।

आफूले त्यत्रो मिहिनेत गरेर पाएको चस्मा लगाउन उनलाई हतार थियो । अस्पतालबाट ननिस्कँदै उनले त्यो चस्मा लगाए । उनको टाउको भनन्न भयो । आँखा तिरिमिरी भए । निकै पावर रहेछ कि जस्तो उनलाई लाग्यो र फुकाले । तर तिलस्मी चस्मा यस्तै हुन्छ होला भन्ने ठानेर उनले फेरि हिम्मत गरेर लगाए । पहिलेको जस्तो त्यति गाह्रो भएन, विस्तारै कम हुँदै पनि गयो र केहीबेरमै सामान्य भयो । मख्ख पर्दै चस्मा लगाएर उनी बाहिर निस्के ।

बाहिर निस्कँदा औषधि पसलेले म्याद गुज्रेको औषधि एकजना अनपढ जस्तो देखिने मान्छेलाई बेच्दै थियो । उनी गएर हकारे । अलि पर पुग्दा प्रहरीले चालकसँग पैसा लिएर मापसे गरेको गाडीलाई छोडिदिँदै थियो । अलि उता पसलेले पानीका जारमा खोलाबाट ल्याएको पानी धमाधम राखेर शिलबन्दी गर्दै थियो । अफिसमा जाँदा घुस लिएर मालपोतको मान्छेले कीर्ते गरी जग्गा पास गरिदिँदै थियो । न्यायालयमा हत्याको आरोपी निर्दाेष सावित भएर निस्कँदै थियो । बलात्कारीले दिन दहाडै बलात्कार गर्दा पनि डामेको डामेको साँढे झै हिँड्दै थियो ।

तेलमा पानी मिसाइँदै थियो, बेसारमा काठको धुलो । गुणस्तर विभागका कर्मचारीहरु गुणस्तर जाँच गर्न कारखाना र गोदाममा नगएर व्यापारीका घरमा गएर सही छाप गर्दै पैसाको मुठा बोकेर फर्कादै थिए । ठेकेदारले नेताहरुलाई पैसाका ब्रिफकेस बुझाउँदै थिए, इन्जिनियरहरु कमसल छ भन्ने जान्दाजान्दै पनि निर्माणका कागजातमा धमाधम सही ठोक्दै ठेकेदारहरुसँग पैसा बटुल्न व्यस्त थिए । डाक्टरहरु औषधी पसलेहरुसँग कमिसन लिन तछाड मछाड गर्दै थिए । नेताहरु सरकारी जग्गा आफ्नो र परिवारको नाममा पास गराउन व्यस्त थिए । वकिलहरु गवाहहरु किन्दै थिए, न्यायाधीशहरु न्याय बेच्दै थिए । पत्रकारहरु बिक्दै थिए, मन्त्रीहरु पैसामा डुब्दै थिए । नैतिकता रूँदै थियो, मानवता चिच्याउँदै थियो । गरिबहरु शोषिदै थिए, धनीहरु मोटिँदै थिए । तस्करहरु मौलाउँदै थिए, कालाबजारीहरु सल्बलाउँदै थिए । देश बेचिँदै थियो, जनता ठगिँदै थिए, शासकहरु सुखको पोखरीमा तैरिँदै थिए, शासितहरु दुःखको सागरमा डुब्दै थिए । 

त्यो सब देखेर उनलाई असह्य भयो । आँखा रसाए । आँसु पुछ्न उनले चस्मा उतारे । तर अचम्म चस्मा उतार्ने वित्तिकै सबै कुरा सामान्य थियो । न त कालाबजारी देखिन्थे, न त अन्याय र अत्याचार देखिन्थ्यो । न त भ्रष्टाचार थियो न त ठगी थियो । सरकारले निकै राम्रो काम गरेको प्रचार गर्दै थियो, जनताले विश्वास गर्दै थिए । दलका नेताहरुले आश्वासन बाँड्दै थिए, जनता पछि लाग्दै थिए । सुशासन थियो, शान्ति थियो, तीव्र विकास हुँदै थियो, न्यायिक समाज स्थापना हुँदै थियो ।

उनलाई अचम्म लाग्यो, उनले फेरि चस्मा लगाए । चस्मा लगाउना साथ फेरि त्यही पीडादायक दृश्य उनको आँखासामु आयो । उनलाई लाग्यो साँच्चै नै पत्रकारले आफ्नो त्यो लेखमा लेखे जस्तै वास्तविकता देख्न शुक्रराज शास्त्रीकै चस्मा लगाउनुपर्ने रहेछ । उनले शुक्रराज शास्त्रीलाई सम्झे । देश र जनताको लागि प्राणको समेत पर्वाह नगरी राणा शासनसँग लडेको दृश्य सम्झे । अनि आफू पनि देश र जनताका लागि लड्ने प्रण गर्दै आफूले देखेका हत्या, आतङ्क, कुशासन, भ्रष्टाचार, व्यभिचार, ठगी सबै भण्डाफोर गर्दै हिँड्न थाले । प्रहरीले उनको क्रियाकलाप देखेर उनले मानसिक सन्तुलन गुमाएको निक्र्याैल निकाल्यो अनि उनलाई जबर्जस्ती समातेर लगेर मानसिक अस्पतालमा बुझायो । उनलाई चस्मा दिने ती भद्र व्यक्ति त्यही बेन्चमा बसेर उनको प्रतीक्षा गर्दै थिए ।

“मलाई कस्तो चस्मा भिडाउनु भयो सर ?” उनले ती भद्र मान्छेलाई सोधे ।

“तपाईंले खोजेकै चस्मा दिएको हुँ । मैले नै आविष्कार गरेको चस्मा हो यो । यही चस्माको कारणले म पनि अहिले पागलखानामा छु । मलाई थाहा थियो तपाईंलाई पनि यिनीहरुले पागल घोषित गरेर यहीँ ल्याउनेछन् । वास्तविकता देख्ने तिलस्मी जस्तो चस्मा लगाउनेहरु सबै यहाँ पागलखानामा हुलिन्छन्, यही नै यहाँको वास्तविकता हो” उनलाई डाक्टरहरुले भर्ना गर्न लिएर जाँदै गर्दा ती भद्र मान्छे भन्दै थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.