शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कि लास चाहियो कि सास चाहियो, खै उनी कहाँ छन् ?’

शनिबार, १३ वैशाख २०७७, १८ : ००
शनिबार, १३ वैशाख २०७७

तिम्रा पनि बाउआमा होलान् तिम्रा पनि बाल बच्चा होलन् । 
तिम्लाई त्यस्तै पारे भने सम्झनामा कति रोलान् 
मान्छेले नै मान्छेलाई कस्तो व्यवहार गर्न सक्ने 
रावण राक्षसले झँै सीतालाई झैँ हर्न सक्ने
कति कठोर हुँदो रैछ यो मान्छेको मन 
कि लास चाहियो कि सास चाहियो खै उनी कहाँ छन् ?

विष्णु खत्री र विष्णु माझीले गाएको यो गीतले आज पनि धेरै बेपत्ता परिवारको मुटु घोचिरहन्छ । युद्ध अन्त्य भएको यतिका समयसम्म पनि आफ्ना सन्तानहरुको अवस्थाबारे बेखबर आमाबाहरु सन्तानको सम्झनामा आँशु झारिरहन्छन् । मुलक बदल्ने भनेर हिँडेका सन्तानहरु बेखबर हुँदा कसको पो मन पोल्दैन र ?  

  २०५९ वैशाख १३ मा खाना खाँदै गर्दा बेपत्ता भएका  पूर्ण पौडेल घर फर्कने आशामा बाटो हेरेर बसेकी पूर्ण पौडेलीकी आमा मोतीमाया पौडेलको उमेर छोरा कुर्दाकुर्दै ८० कटिसकेको छ । 

छोराजस्तै हुलिया भएको मान्छे टाढाबाट देखियो भने उनी हेरिरहन्छिन् । जब उनलाई त्यो आफ्नो छोरो होइन भन्ने थाहा हुन्छ । अनि मुटु गाँठो पर्छ, मन ऐठन हुन्छ । अनयासै आँखाबाट आँशु झर्छ ।

तत्कालीन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पूर्ण पौडेल बेपत्ता भएको पनि १७ वर्ष भयो  । ‘खोलो पनि बाह्र वर्षमा फर्कन्छ भन्छन् तर मेरो छोरो अझै फर्किएन’ मोतीमाया पौडेल भन्छिन् । 

शान्ति प्रक्रिया भई माओवादी सरकारमा गएपछि मोतीमायामा केही आशाहरु संचारित भएका थिए । तर त्यो लामो समयसम्म टिक्न पाएन । बरु आशाहरु एकाएक निराशामा बदलिन पुग्यो । उनका आशाहरु एक्कासि पानीको फोकाजस्तै फुट्यो । 

आज पनि उनका साथीहरु कोही मन्त्री छन् कोही सांसद छन् तर उनका आँखाबाट आँशुका धारा टुटेका छैनन् । उनका साथीहरु मात्र होइन, पूर्ण पौडेलको बहिनी र श्रीमती पहिलो संविधान सभाको सदस्य पनि बने । अहिले उनका ज्वाइँ दीपक कोइराला गण्डकी प्रदेश सभा सदस्य तथा विकास समितिका सभापति भएका छन् । 

उनी छोरो खोज्नका लागि पोखरादेखि काठमाडौँसम्म थुप्रै नेताको दैलो चाहरेकी छन् । ‘हिजोको सरकार त माओवादीको विरोधी थियो । छोरा खोज्न मन लगाएन अहिले त उसैको पार्टीको सरकार छ । तर पनि छोरो बेपत्ता छ’ उनी भन्छिन् ।

छोरा खोज्न मानव अधिकारको कार्यालय पुग्दा तत्कालीन सरकारले उनी लगायतका बेपत्ता परिवारलाई कुटेर  बागमती किनारामा फालेको कुरा सम्झन्छिन्  । छोरो खोज्दै हिँड्दा उनले थुप्रैको बचन खानुपरेको सुनाउँछिन् । उनले छोरा गुमाउनुअघि पनि झन् तत्कालीन सेनाप्रहरीले थुप्रै यातना दिएको कुरा गहभरी आँशु पार्दै उनी भन्छिन्, ‘टाउकोमा पेस्तोल राखेर छोरा खोई भन ? नत्र तँलाई पनि मारिदिन्छु भनेर कतिचोटि भने भने ।’

अहिले पूर्ण पौडलको श्रीमती सावित्री दुरा नेकपा विप्लवमा लागेको कारण बुहारीको चिन्ताले पनि उनलाई सताउन थालेको छ । 

अँगेनामा आगो भर्भराउँदा आफ्नो मान्छे आउँछ कि भन्ने आशामा बस्न विवश छन् । कहाँ होलान् तिनीहरू जो बेपत्ता भएका छन् । के यसको जबाफ बेपत्ता परिवारलाई यो सरकारले दिन सक्ला ?

मोतीमाया आमाजस्तै कास्कीमा २४ परिवारले आफ्नो सन्तान गुमाएको छ । देशैभरी करिब हजार परिवारको आफ्नो सन्तान बेपत्ता छन् । अझै पनि धेरैले छोराछोरी घर फर्कन्छन् भनेर कुरेर बसिरहेका छन् । धेरैका सन्तानले बेपत्ता बाआमा घर फर्कने सपना सजाएका छन् ।

त्यसरी नै सन्तान गुमाउनेमध्येका अणनाथ बराल पनि अर्का बुबा हुन् । उनी  बेपत्ता योद्धा परिवार कास्की अध्यक्ष पनि हुन् ।

उनका छोरा पनि राज्यबाट बेपत्ता पारिएको धेरै वर्ष भयो । उनी आफ्नो छोरा फोटो बोकेर छोरो खोज्न नपुगेको कुनै ठाँउ छैन । छोराको खबर थाहा पाउन कहिले उनी सरकारको ढोका ढकढक्याउन पुग्छन् त कहिले पार्टीकार्यालयको ढोकामा पुग्छन् ।  कहिले नेतालाई थर्काउँछन् त  कहिले नेतासँग आँशु बगाउँछन् । उनी भन्छन्, ‘हामीलाई कि लास चाहियो कि सास चाहियो ? कतिन्जेल हामी सन्तान बेपत्ता भयो भनेर मात्र बस्ने ?’

 युद्ध सकिएको यतिका समयसम्म पनि बेपत्ताहरुको बाटो हेरेर बस्ने आमाबुबाहरु दिनदिनै भक्कानिन्छन् । हिजो युद्ध गर्ने पार्टी नै आज सरकारमा छ । बेपत्ताहरुको स्थिति सार्वजनिक गर्नका लागि विशेष पहल जरूरी छ ।

रातोपाटीसँग भक्कानिँदै बेपत्ता पूर्ण पौडेलकी आमा भन्छिन्, ‘हामीले हाम्रो छोराको अवस्था जस्तो छ । त्यो सार्वजानिक गर्न पर्यो भनेका हौँ नि बाबु जिम्दो मर्दो के छ भनिदिन पर्यो । मेरो त उमेर पनि चार बीस भयो । अब मेरो शेषपछि छोराको बारेमा को बोलिदिन्छ । बेपत्ता दिवसको दिन मात्र सम्झिएर भएन नि छोराको अवस्था पत्ता लगाउन लाग्न प-यो नि ?’

कास्कीमा मोतीमाया जस्तै २४ परिवार युद्धको बेलामा आफ्नो परिवारको बारेमा बेखबर छन् । उनीहरुसँगैको एउटै स्वर छ– ‘कि लास चाहियो कि सास चाहियो खै उनी कहाँ छन् ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप