केन्द्रीय संस्करण
युवा

प्रियाको प्रिय सपना

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने अभिलाषा बोकेकी मिस नेपाल ‘अर्थ’

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्, ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ ।

देवकोटाले यो पंक्तिमार्फत् चन्द्रमा छुने, चन्द्रमामा पुग्ने जस्ता दिव्यकल्पना, उत्साह र महान् उद्देश्य हरेकमा हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

हो, यस्तै महान उद्देश्य राखेरै एक २४ वर्षीया युवती देश र जनताको पक्षमा केही गर्ने अठोटसहित राजनीतिमा होमिएकी छिन् । राजनीतिमा प्रवेश मात्रै उनको उद्देश्य पक्कै होइन, युवावस्थामा नै जुन सोच लिएर अघि बढेकी छिन् त्यो पक्कै पनि महान् छ । १५ वर्षको उमेरमा किशोरीहरुका लागि जुन काम गर्ने निर्णय लिइन्, त्यो महान् छ । मिस नेपालमा जुन उद्देश्यसहित भाग लिइन् त्यो महान् छ र बाल्यकालको जुन ‘अप्ठेरो’ परिस्थितीलाई सकारात्मकताका साथ लिएर अघि बढिन् त्यसलाई पक्कै पनि महान् भन्नैपर्छ ।

आफ्नो शीरमा सामाजिक अभियानकर्ता, मिस नेपाल र राजनीतिज्ञको ताज पहिरिएकी उनी हुन् ‘ब्यूटी विथ ब्रेन’ प्रिया सिग्देल ।

*****

प्रियाले आफ्नो बाल्यकाल अप्ठेरो र सोचेजस्तो सजिलो नभएको बताइन् । किन त ? उनको बिगत खोतल्न मन लाग्यो । जवाफ दिन उनले आफ्नो आधिकारिक नाम खुलाइन् – प्रिया सिग्देल राई ।

*****

बाल्यकालः

प्रियाले आफ्नो बाल्यकाल अप्ठेरो र सोचेजस्तो सजिलो नभएको बताइन् । किन त ? उनको बिगत खोतल्न मन लाग्यो । जवाफ दिन उनले आफ्नो आधिकारिक नाम खुलाइन् – प्रिया सिग्देल राई ।

‘मेरो मम्मी राई हो र पापा सिग्देल (बाहुन) । त्यो जमानामा अन्तरजातीय विवाह गर्ने जोडीहरु सामाजिक बहिष्कारमा पर्थे । मेरो मम्मी पापालाई पनि उहाँको परिवारले स्वीकार गर्नुभएन,’ उनले भनिन् ।

‘हामी बसुन्धरामा एउटा भाडाको कोठामा बस्थ्यौँ । आम्दानीको श्रोत राम्रो थिएन । आर्थिक हैसियत निकै नाजुक । त्यसमाथि तीनजना सन्तान । मम्मी पापालाई असाध्यै गाह्रो थियो,’ उनले बिगत सम्झिइन् ।  

अन्तरजातीय विवाह गरेर समाज र परिवारले बहिष्कार गर्दासमेत आफ्नो मम्मी पापा एक–अर्कासँग असाध्यै खुसी भएकोे उनी स्मरण गर्छिन् । ‘उहाँहरुले कहिले पनि हार मान्नुभएन । आफ्नै बलबुतामा मलाई पढाउनुभयो,’ उनले भनिन् ।

सुरुमा उनले सरकारी विद्यालय पढिन् । बोर्डिङ स्कूलको महँगो शुल्क तिर्न उनका आमा–बुवा असमर्थ थिए । नभए आफ्नो छोराछोरीलाई चिटिक्क परेको ड्रेस लगाइदिएर, फ्यान्सी ब्याग बोकाएर, राम्रा बोतल हातमा राखिदिएर राम्रो स्कूल पठाउन को आमाबुवालाई रहर हुँदैन होला र ? तर बाध्यताको अगाडि रहरले घुँडा टेक्छ ।

तर प्रियाका लागि त्यही सरकारी विद्यालय विशेष छ । त्यहाँ पढ्दाको लगभग प्रत्येक दिन उनको मनस्पटलमा स्पष्ट छन् । उनलाई सरकारी विद्यालयमा गरेको हरेक दिनको क्रियाकलाप राम्रोसँग याद छ ।

उनलाई सबैभन्दा रमाइलो टिफिन ब्रेक लाग्थ्यो । हातमा राखेर तितौरा चाट्दै हिँड्न पाउँदा उनी कम्ता खुसी हुँदैन थिइन् । उनले भनिन्, ‘हामीसँग जहिले पनि खाजा हुँदैनथ्यो । त्यसकारण तितौरालाई हातमा राखेर चाट्ने, पाँचवटा औँलामा ढुङ्ग्री छिराएर एक–एक गरेर खान्थेँ । ’

उनले आफ्नो कुराकानीमा क्यान्टिनको दिदीलाई पनि सम्झिइन् । ‘क्यान्टिनको दिदीले ठूलो थैलीमा सामान ल्याएर स्कूलको बार्दलीमुनी ल्याएर सामान बेच्नुहुन्थ्यो । अनि म चाँही अन्तिमसम्म कुरेर बस्थेँ । दिदीलाई खाजा बाँड्न सहयोग पनि गर्थेँ । सबैजना गइसकेपछि ‘ल दिदी अब तपाईंको यति सामान बाँकी भयो, मलाई दिनुहोस्, म खाइदिन्छु’ भन्थेँ,’ उनले भनिन् ।

त्यसपछि उनले मज्जाले हाँसेर भनिन्, ‘बाठी, बच्चाबेलादेखि म एकदमै बाठी’ ।

स्कूलमा पहिला चौर थियो, त्यहाँ गएर बस्ने, गुच्चा खेल्नेलगायतका क्रियाकलाप उनको बाल्यकालका निकै प्रिय पल हुन् । ‘दोज वेर द मोस्ट ब्यूटिफूल थिङ्ग्स द्याट ह्यापन्ड इन माइ लाइफ,’ उनले भनिन् । 

तर बाल्यकालमा उनलाई धेरैले हेप्ने गरेको पनि बताइन् । कतिले उनलाई ‘खच्चड’ भन्थे । उमेर बढ्दै गएपछि उनको उचाई हेरेर कतिले बाँसघारीको बाँससमेत भने ।

आमाबुवाले अन्तरजातीय विवाह गरेकै कारण यस्तो भएको हो कि भनेर उनको बाल मस्तिष्कले सोच्थ्यो । त्यसैले उनले आफ्नो परिचय दिँदा प्रिया मात्रै भन्थिन्, न त पापाको थर भन्थिन् न मम्मीको नै । आफूलाई बाल्यकालमा पहिचानको संकट भएको उनको बुझाइ छ । किनभने उनले आमा, बुवा र आफ्नै पहिचान सबै सामू् लुकाइन् ।

यसबारे कहिले मम्मी–पापालाई भन्नुभयो भन्ने मेरो प्रश्नमा उनी भन्छिन्, ‘उहाँहरुले समाज र घर परिवारसँग धेरै नै संघर्ष गरिरहनुभएको थियो । मैले यसबारे कहिले पनि केही भनिनँ किनभने उहाँहरुसँग सुल्झाउनुपर्ने पहिले नै धेरै नै समस्याहरु थिए ।’

*****

सरकारी विद्यालयमा टाई बेल्ट भन्ने हुँदैनथ्यो । उनका आफन्त सबै बोर्डिङ जान्थे टाई बेल्ट लगाएर । त्यो देखेर उनी टाई, बेल्टप्रति निकै लोभिन्थिन् । उनी पढेको विद्यालयसँगै प्राइभेट स्कूल पनि जोडिएको थियो । त्यहाँका विद्यार्थीले राम्रो ब्याग बोकेको, चिटिक्क परेर लुगा लगाएको देख्दा उनी मनमनै भन्थिन्, ‘वाह कति सुन्दर अनि कति रमाइलो ।’

*****

सानैदेखि उनलाई आफ्नो भन्दा मम्मी–पापाको समस्या ठूलो हो त्यसकारण सानोतिनो कुराले उहाँहरुलाई दबाब दिनुहुँदैन भन्ने चाँही चेत थियो ।

त्यसो त उनलाई निजी विद्यालय पढ्न मन नलागेको भने होइन । सरकारी विद्यालयमा टाई बेल्ट भन्ने हुँदैनथ्यो । उनका आफन्त सबै बोर्डिङ जान्थे टाई बेल्ट लगाएर । त्यो देखेर उनी टाई, बेल्टप्रति निकै लोभिन्थिन् । उनी पढेको विद्यालयसँगै प्राइभेट स्कूल पनि जोडिएको थियो । त्यहाँका विद्यार्थीले राम्रो ब्याग बोकेको, चिटिक्क परेर लुगा लगाएको देख्दा उनी मनमनै भन्थिन्, ‘वाह कति सुन्दर अनि कति रमाइलो ।’

आफूले बाल्यकालमा त्यस्तो स्थितिको सामना नगरेको भए यत्तिको सोच्न सक्ने क्षमता आफूमा विकसित हुनै नसक्ने उनको ठम्याइँ छ । कतिले उनलाई ‘तिम्रो बाल्यकाल त कस्तो अन्धकार भएछ, कस्तो नराम्रो भएछ’ भन्ने गर्छन् तर त्यसलाई उनी भने त्यसलाई नै सकारात्मक तरिकाले लिएर अघि बढेकी छिन् । उनले भनिन्, ‘ मान्छेहरुले त के के भन्छन् भन्छन् नि । भन्ने मान्छेहरुलाई त म रोक्न सक्दै सक्दिनँ । तर ती चीज मेरा लागि एउटा राम्रो सिकाइको माध्यम बन्यो र मेरो लागि जीवनभरीका लागि प्रिय स्मरण पनि । ’

परिवारको आर्थिक स्थिति थोरै सुध्रिएपछि उनी प्राइभेट स्कूलमा भर्ना भइन् । कक्षा तीनमा पढ्न गएकी उनलाई अंग्रेजी नजान्ने भएर युकेजीमा राखियो । तर, उनले हिम्मत हारिनन् । मिहिनेत गरिन् र अन्ततः गुह्वेश्वरी बोर्डिङ हाइस्कूलबाट ७९ प्रतिशत अंकसहित एसएलसी पास गरिन् । प्लस टु जेभियर इन्टरनेशनल कलेजबाट गरेकी उनले नेशनल कलेजबाट डेभलपमेन्ट स्टडिजमा स्नातक गरिन् ।

*****

महिनावारीसम्बन्धी ज्ञान नभएकाले उनलाई स्कूलमा धेरै नै गाह्रो भयो । के गर्ने भनेर ‘ब्ल्याङ्क आउट’ नै भइन् । प्याड कतिबेर लगाउने, कसरी लगाउने भन्ने उनलाई राम्रो ज्ञान थिएन । जहाँ बस्यो त्यही रगत लाग्ने हुन्थ्यो । जानकारी नभएकाले जहिले पनि स्कूलमा लाजमर्दो स्थितिको सामना गर्नुपर्ने बाध्यता । कतिपय अवस्थामा ‘ह्या यस्तो भइरहेको छ, कसैले सिकाउँदै सिकाउँदैन भन्ने हुन्थ्यो’ । उनी कत्ति रुन्थिन् पनि ।

*****

समाजसेवाः

जब उनीहरुलाई उनको पापाको परिवारले स्वीकारे त्यसपछि उनीहरु बाहुन संस्कृतिमा हुर्कंदै गए । पहिलो पटक महिनावारी हुँदा १३ दिन लुकिन् पनि । तर महिनावारीबारे स्कूल, घर, समाजले जे कुरा सिकाउनुपर्छ त्यो सिकाइको कमी भएको उनलाई महसुस भयो । अर्थात्, महिनावारीबारे कसैले पनि खुल्ला रुपमा कुरा गर्दैन थिए ।  उनले भनिन्, ‘महिनावारी हुँदा तिमी कोठाभित्र नआउ, यो नछोउ, यो नगर भनेर सिकाइन्छ तर यतिबेला तिमीलाई कहाँ दुख्छ, क्र्याम्प भनेको के हो, महिनावारी भनेको के हो ? भन्ने लगायतका आधारभूत ज्ञान, जुन हामीलाई साँच्चै चाहिन्छ, त्यो हामीलाई कसैले पनि सिकाएनन् ।’

महिनावारीसम्बन्धी ज्ञान नभएकाले उनलाई स्कूलमा धेरै नै गाह्रो भयो । के गर्ने भनेर ‘ब्ल्याङ्क आउट’ नै भइन् । प्याड कतिबेर लगाउने, कसरी लगाउने भन्ने उनलाई राम्रो ज्ञान थिएन । जहाँ बस्यो त्यही रगत लाग्ने हुन्थ्यो । जानकारी नभएकाले जहिले पनि स्कूलमा लाजमर्दो स्थितिको सामना गर्नुपर्ने बाध्यता । कतिपय अवस्थामा ‘ह्या यस्तो भइरहेको छ, कसैले सिकाउँदै सिकाउँदैन भन्ने हुन्थ्यो’ । उनी कत्ति रुन्थिन् पनि ।

१५ वर्षीया प्रियालाई त्यतिबेला नै थाहा भइसकेको थियो कि महिनावारी स्वच्छतताबारे जानकारी नहुँदा जुन स्थितिबाट आफू गुज्रिइन्, त्यसबाट अरु कोही पनि गुज्रिनु हुँदैन । त्यसकारण उनले मनमनै गमिन्, ‘कुनै दिन भने मजस्तै दिदी बहिनीहरुलाई महिनावारी स्वच्छतता व्यवस्थापनबारे शिक्षा दिन्छु ।’

उनले १० कक्षा सिद्धिएलगत्तै काठमाडौँकै विभिन्न स्कूल चहारेर ‘१५ वर्षे प्रिया’को सोचाईलाई मूर्त रुप दिन थालिसकेकी थिइन् । 

मिस नेपालको यात्राः

उनी प्लस टुमा आइपुग्दासम्म महिनावारी स्वच्छतालाई अभियानकै रुपमा स्थापित गरिसकेकी थिइन् । यसका लागि उनले थुप्रै फ्रिलान्स प्रोजेक्टहरुमा काम गरिन् । जस अन्तरगत उनले भारत, स्वीटजरल्याण्ड र बंगलादेशमा नेपाललाई प्रतिनिधित्व पनि गरिन् । विदेशमा प्रतिनिधित्व गर्ने बेला जत्ति राम्रो काम गरेता पनि यदि स्रोत भएन भने त्यो धरापमा हुने उनले बुझिन् । यसबारे उनी भन्छिन्, ‘महिनावारी स्वच्छताबारे काम गरेको मैले धेरै वर्ष भइसकेको थियो । यो कामको लागि कसैले समर्थन नगर्दा त्यो अभियान बीचैमा तुहिने खतरा बढ्यो । म एक मध्यम वर्गीय परिवारकी छोरीले समाजमा केही गर्छु भनेर सोच्न वा आँट गर्न पनि नसक्ने स्थिति आइसकेको थियो किनभने महँगी अत्यधिक बढिसकेको थियो । प्याड मात्रै दिउँ न त भन्दा पनि सक्ने स्थिति थिएन किनभने साधारण प्याडको नै ६५ रुपैयाँ पर्छ । कहाँबाट किन्न सक्नु ? यस्ता कुराले निकै समस्यामा पारेको थियो ।’

आफ्नो यही काममा यदि चर्चित व्यक्तित्व भएको भए यसलाई धेरै मानिसहरुले सजिलै बुझ्थे, धेरैले समर्थन गर्थे भन्ने उनलाई लाग्यो । आफ्नो अभियानको आवाज बलियो छ भन्ने कुरामा उनी विश्वस्त थिइन् । त्यही आवाजलाई ठाउँठाउँ लिएर जान चाहन्थिन्, मानिसले गम्भीरतापूर्वक हेरुन् भन्ने उनको उत्कट चाहना थियो ।  आफ्नो आवाज जति नै बलियो भएपनि, मानिसहरुले यदि चिन्दैनन् भने त्यसले समस्या निम्त्याउने उनले बुझिन् ।

आफ्नो यही समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर उनले धेरैजनासँग सल्लाह लिइरहेकी थिइन् । बुझ्दैजाँदा उनले मिस नेपाल भेटाइन् ।

‘मैले स्कूलदेखि नै आफ्नो लुकेको प्रतिभा देखाउन सकिने, क्षमतालाई वृद्धि गर्न पाउने र मैले लक्षित गरेका किशोरीहरुमाझ कसरी पुग्न सकिन्छ भनेर सोच्दासोच्दै मिस नेपाल भेटाएँ,’ उनले भनिन् । ‘म स्कूल पढ्दादेखि नै मिस नेपाल निकै चर्चित थियो । मैले सोचेँ सायद मिस नेपाल एउटा यस्तो मञ्च हुनसक्छ जहाँ मैले मेरो क्षमता उजागर गर्न पाउँछु र मिस नेपालले पनि एउटा राम्रो प्रतिनिधित्व पाउनेछ । ’

उनी जहिले पनि स्पष्ट भएर सोचेपछि मात्रै निर्णय लिन्छिन् । मिस नेपालमा भाग लिनु बच्चाबेलादेखि कै शौख भएपनि आफूले जे काम गरिरहेकी थिइन् त्यसलाई राम्रो समर्थन हुनसक्छ भनेर मिस नेपालमा भाग लिएको उनले स्पष्ट पारिन् । उनी मिस नेपालमा गएपछि केही न केही जित्न सक्छु भन्ने कुरामा पनि विश्वस्त थिइन् ।

मिस नेपालमा भाग लिनको लागि उनलाई उनको जीवनले नै तयार बनाएको उनी बताउँछिन् । उनले भनिन्, ‘मलाई जुनसुकै स्तरको प्रतियोगिता र संघर्षका लागि मलाई मेरो बाल्यावस्थाले नै तयार पारिसकेको थियो । सहनशील र सकारात्मक सोच मेरो मम्मीपापाबाट जिन्सबाट ममा आइसकेको थियो । मैले जीवनबाट जतिपनि कुरा सिकेको थिएँ त्यो मिस नेपालमा देखाउनु थियो ।’ नभन्दै उनले सन् २०१८ को मिस नेपालमा मिस नेपाल ‘अर्थ’ को टाइटलसँगै ब्यूटी विथ पर्पोसको टाइटलसमेत जितिन् ।

राजनीतिमा किन ?

फिलिपिन्सको राजधानी मनिलामा आयोजित मिस अर्थमा उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । फाइनलमा ९० वटा देशमा शीर्ष १८ मा जब नेपालको नाम घोषणा भयो तब उनको आई–मी– माइसेल्फ वाला ‘एटिट्युड’ एकैछिनमा आई नेपाल–मी नेपाल–माइसेल्फमा परिवर्तन भयो । उनले भनिन्, ‘त्यहाँ प्रिया भनेर कसैलाई पनि फरक परेन । त्यहाँ नेपालीहरु खासै थिएनन् तर फिलिपिन्स, कोलम्बिया, भेनेजुएलाका मानिसहरुले नेपाललाई चियर गरिरहनुभएको थियो । त्यहीबेला नेपालप्रति मेरो सोच परिवर्तन भइसकेको थियो ।’

*****

राजनीति जुन वर्षौँ अघिदेखिको थियो र अहिले जस्तो छ त्यसलाई उनी राजनीति नै मान्दिनन्  । उनको विचारमा राजनीति त्योभन्दा पनि धेरै राम्रो छ, उत्कृष्ट छ । राजनीति उनका लागि देशको वर्तमान र भविष्य हो । उनको लागि राजनीति सबथोक हो र यो सर्वव्यापी छ । राजनीतिलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उनी बताउँछिन् ।

*****

डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकी उनले राजनीति पनि पढ्नै पर्दथ्यो । उनलाई राजनीति निकै रोचक पनि लाग्थ्यो । त्यसो त स्नातक सिद्धिएपछि राजनीतिमा लाग्ने कि मिस नेपालमा जाने दोधारमा थिइन् । मिस नेपाल एउटा निश्चित उमेर सीमासम्म हुने भएकाले सुरुमा प्रतियोगितामा जाने र त्यसलगत्तै राजनीतिमा जाने उनले सोच बनाइन् । धेरैले अनुमान लगाएजस्तो राजनीतिमा उनले रातारात जाने निर्णय लिएकी होइनन् ।

विदेशमा नेपाललाई धेरैपटक प्रतिनिधित्व गर्दा नेपाललाई जसरी हेरिन्छ त्यो उनलाई चित्तै बुझ्दैन । उनले भनिन्, ‘हाम्रो पासपोर्टलाई प्राथमिकता नदिने, हामीलाई जहाँ गएपनि हेप्ने, ए यिनीहरुलाई त केही पनि थाहा छैन भन्ने जस्ता कुराहरुले मलाई सधैँ खट्किरहन्थ्यो । वुमन एक्टिभिजममा काम गर्दा कति धेरै नीतिगत स्तरका कुरा पनि चित्त बुझ्दैनथ्यो ।’

‘यति धेरै कुराहरु चित्त बुझ्दैन, म नेपालमा नै बस्छु भनेको छु । किन म राष्ट्र निर्माणको हिस्सा हुन सक्दिनँ त ? भन्ने हुन्थ्यो । त्यो चाँही थियो के मेरो दिमागमा । मैले जति जति नेपाललाई प्रतिनिधित्व गरेँ, यी कुराहरुले मलाई त्यति नै घोपिरहे, छुराले घोपेजस्तै,’ सीमान्तकृत महिलाको अधिकारसम्बन्धि काम गर्ने गैर नाफामुलक संस्था हात्तीहात्ती नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी प्रियाले भनिन् ।

नेपाल निकै राम्रो छ, नेपालमा राम्रो काम गर्न खोज्ने धेरै मानिसहरु छन् तर केही अस्थिरताका कारण नेपालको परिभाषा गलत भइरहेको उनको बुझाई छ । ‘यदि मैले आज प्रयास गरिनँ भने कसैले पनि गर्दैन,’ उनले सोचिन् । 


राजनीति जुन वर्षौँ अघिदेखिको थियो र अहिले जस्तो छ त्यसलाई उनी राजनीति नै मान्दिनन्  । उनको विचारमा राजनीति त्योभन्दा पनि धेरै राम्रो छ, उत्कृष्ट छ । राजनीति उनका लागि देशको वर्तमान र भविष्य हो । उनको लागि राजनीति सबथोक हो र यो सर्वव्यापी छ । राजनीतिलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उनी बताउँछिन् ।

तर युवापुस्तामा राजनीतिप्रति वितृष्णा भएको उनी स्वीकार्छिन् । धेरैले राजनीति मन नपर्ने र यसलाई फोहोरी खेलको संज्ञा दिएका छन् । कतिले राजनीतिमा लाग्ने व्यक्तिलाई समेत नराम्रो भन्ने गरेको उनलाई राम्रोसँग थाहा छ । उनी भन्छिन्, ‘त्यो सोच किन पनि छ भने हामीलाई त्यसरी नै देखाइएको छ । नेपालको राजनीति निकै जटिल छ भन्ने छाप हामीमा परेको छ । हामीजस्तो युवा देशमा होस् नहोस् केही फरक पर्दैन भन्ने खालको व्यवहार गरिन्छ । युवाहरुमा वितृष्णा छ भन्दा म छक्क पर्दिनँ किनभने म पनि त्यसरी नै हुर्किएको हुँ र तपाईं पनि ।’

‘कतिले यसलाई साधारण कुरा हो भन्छन् तर यसलाई कहिलेसम्म साधारण मान्ने ?’ उनले प्रश्न गरिन्, ‘देशको राजनीति यस्तो छ, अब म विदेश जान्छु, देश भन्या त्यस्तै हो भन्ने कि अब जे भयो भयो, त्यहाँ फोहोर छ भने हामी आफैं गएर फोहोर सफा गर्न सकिन्छ कि भनेर प्रयास गर्ने हो ? प्रयास गर्दैमा के हुन्छ र ?’

‘पछि आउने सन्ततीले ‘तिमीहरुले नेपालका लागि के गर्‍यौ त ?’ भनेर सोध्दा हामीले के भन्ने ? हामीले नेपालको लागि केही पनि त गरेनौँ नि त ।’

‘हामीजस्तो युवा जोसँग हातहातमा फोन छ, सूचनाको स्रोत प्रशस्त छ, सबैजना यति स्मार्ट हुनुहुन्छ, अब चाँही ह्या... म बुझ्दै बुझ्दिनँ, म सक्दै सक्दिनँ, राजनीति फोहोरी खेल हो, यसमा संलग्न मानिसहरु फोहोरी हुन् भनेर मात्र अब नभन्ने कि ? एकपटक प्रयास गर्ने कि ? जबसम्म हामीले हाम्रो देशको राजनीतिबारे थाहा पाउँदैनौँ तबसम्म हामीलाई हाम्रो देशले बोकेको राष्ट्र निर्माणको क्षमताबारे थाहा नै हुँदैन,’ उनले भनिन् ।

उनी थप प्रश्न गर्छिन्, ‘हामी युवाहरुको फ्रन्टलाइन भूमिका के छ त ? राष्ट्र निर्माणको लागि हाम्रो आवाज कति शक्तिशाली हुन सक्दो रहेछ त ? राजनीति प्रति वितृष्णा राखिराख्यो भने यतातिर हाम्रो ध्यान जानै सक्दैन त्यसकारण यो परिवर्तन गर्नैपर्छ । पहिलादेखि जे भइरहेको छ, त्यसलाई होस् भनेर यत्तिकै छोड्नु पनि भएन, २० वर्षपछिको नेपाल तपाईं हामीले नै बनाउनुपर्छ, अरुले बनाइदिँदैन ।’

*****

उनी जे काम गर्छिन् त्यसमा सहज हुनुपर्छ भन्ने मान्यता राख्छिन् । उनलाई कताकता डर थियो, कतै सही वातावरण नहुने हो कि, कतै हराउने पो हो कि, बोलीको कदर नहुने पो हो कि । तर साझा पार्टीले उनको यो सबै डर मेटाइदियो । उनका लागि सहज वातावरण उपलब्ध गराइदियो । उनले भनिन्, ‘मलाई साझासँग काम गर्न निकै सहज महसुस भयो ।

‘आई वाज मी, आई वाज माइसेल्फ’ ।

*****

साझा पार्टीमा भित्रिनुको कारणः

उनले निकै अघिदेखि साझा पार्टीले गरेको कामहरु नियालिरहेकी थिइन् । उनलाई किन किन त्यहाँ उनको लागि ठाउँ छ जस्तै महसुस भयो । त्यसैले आफै खोज्दै गइन् । त्यसपछि पार्टीको काममा आफूलाई भिजाउन थालिन् ।

उनी जे काम गर्छिन् त्यसमा सहज हुनुपर्छ भन्ने मान्यता राख्छिन् । उनलाई कताकता डर थियो, कतै सही वातावरण नहुने हो कि, कतै हराउने पो हो कि, बोलीको कदर नहुने पो हो कि । तर साझा पार्टीले उनको यो सबै डर मेटाइदियो । उनका लागि सहज वातावरण उपलब्ध गराइदियो । उनले भनिन्, ‘मलाई साझासँग काम गर्न निकै सहज महसुस भयो ।

‘आई वाज मी, आई वाज माइसेल्फ’ ।

आफ्नो लागि साझा पार्टी नै उपयुक्त भन्ने निर्क्यौल गरेपछि ‘ओके डन आइ एम रेडी टु बी पार्ट अफ साझा पार्टी’ भन्ने उनलाई लाग्यो ।

अब उनी राजनीतिमा प्रत्यक्ष संलग्न भएर देश बनाउनमा योगदान दिएका वरिष्ठ व्यक्तित्वबारे धेरैकुरा थाहा पाउन इच्छुक छिन् ।

अब उनको उद्देश्य नेपालको पहिलो कान्छी महिला प्रधानमन्त्री हुने हो । तर यसका लागि आफूले आफैंलाई निकै निखार्न र माझ्नु पर्ने पनि उनी स्विकार गर्छिन् । 

अन्त्यमाः

देशका लागि केही गर्छु भनेर अघि बढिरहेका आफूजस्तो युवालाई निरुत्साहन नगर्न उनी सबैलाई आग्रह गर्छिन् । आफूमाथि निकै पुराना धारणाहरु पनि नथोपरिदिन उनको अनुरोध छ ।

उनले भनिन्, ‘नेपालमा केही गर्छु भनेर बसेकाहरुलाई तर्साउने काम, धम्काउने काम बन्द गरौं । देश बनाउने मानिस यदि तपाईं हो भने हामी पनि हौँ । त्यसकारण हातेमालो गरेर सँगसँगै अघि बढौँ । कसैलाई हेयको भावले नहेरौँ । त्यसमाथि हाम्रो नेपाल सानो छ, मायाको कमी भइरहेको अवस्थामा एकअर्कालाई एकदमै माया गरौँ भन्ने सन्देश दिन चाहन्छु ।’

यो यात्रा आफ्नो मात्रै नभई सबै युवाको भएको उनी ठान्छिन् । युवा पुस्तालाई जता भएपनि हरेश नखान, निरन्तर प्रयास गरिरहन उनी आग्रह गर्छिन् । उनी भन्छिन्, ‘तपाईंको यात्रामा सफलता  होला नहोला तर सिकाइ र वृद्धि अवश्य नै हुन्छ ।’

उनको उचाई ५ फिट १० इन्च छ । साधारण नेपाली युवतीभन्दा ‘असाधारण’ । त्यस्तै उनको सपनाको उचाई पनि । यो यात्रामा उनले सबैको साथ र सहयोगको अपेक्षा गरेकी छिन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...