बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
नयाँ दिल्ली

अरुण जेट्ली स्टेडियम

अरुण जेट्ली क्रिकेट स्टेडियम भरतको राजधानी सहर नयाँ दिल्लीको बहादुर शाह जाफर मार्गमा रहेको छ । यो क्रिकेट स्टेडियमको सञ्चालन तथा व्यवस्थापन दिल्ली क्रिकेट संघले गर्दै आएको छ । यो भारतको दोस्रो सबैभन्दा पुरानो क्रिकेट रंगशाला हो । 

यो क्रिकेट स्टेडियमको स्थापना सन् १८८३ मा भएको थियो । तर, सुरुवाती समयमा यो रंगशालालाई अन्य प्रयोजनका लागि बढी प्रयोग गरिन्थ्यो । यो रंगशालाको पहिलेको नाम भने ‘फिरोज शाह कोट्ला स्टेडियम’ हो ।  यो क्रिकेट स्टेडियममा हालसम्म टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिएको छ । दिल्ली जिल्ला क्रिकेट संघले सन् २०१७ मा यो स्टेडियमका विभिन्न भागलाई आफ्ना चर्चित पूर्वखेलाडीहरुको नाममा समर्पित गरेको छ । 

स्टेडियमको कुनै भागको नाम भारतीय टोलीका पूर्वकप्तान विसनसिंह बेदीको नामबार, कुनै भागको नाम भारतीय टोलीका पूर्वअलराउन्डर मोहिन्द्र अमरनाथको नामबाट र कुनै भागको नाम भारतीय टोलीका पूर्वओपनर गौतम गम्भीरको नामबाट राखिएको छ ।  आफ्ना पूर्वखेलाडीहरुप्रति सम्मान व्यक्त गर्ने क्रममा यो स्टेडियममा घरेलु टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम रमन लाम्बाको नाममा राखिएको छ । भ्रमणकारी टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम भने प्रकाश भण्डारीको नाममा राखिएको छ । सन् २०१९ को सेप्टेम्बर १२ मा यो स्टेडियमको नाम परिवर्तन गरी ‘फिरोज शाह कोट्ला स्टेडियम’ बाट ‘अरुण जेट्ली स्टेडियम’ राखिएको हो । पूर्ववित्तमन्त्री अरुण जेट्ली दिल्ली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष पनि हुन् । सन् २०१९ को अगस्त २४ मा उनको निधन भएपछि यो रंगशालाको नाम उनको नाममा राखिएको हो । 

आफू दिल्ली जिल्ला क्रिकेट संघको अध्यक्ष हुँदा यो रंगशालामा भौतिक पूर्वाधार विस्तार गर्न जेट्लीले निकै ठुलो भूमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त विराट कोहली, बीरेन्द्र सेहवाग, गौतम गम्भीर, आशिष नेहराजस्ता प्रभावशाली खेलाडीहरू तयार पार्न पनि जेट्लीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो रंगशालाको दर्शक क्षमता ४१ हजार आठ सय ४२ रहेको छ । यो स्टेडियमको नाम परिवर्तन गर्दा निकै ठुलो विवाद पनि भएको थियो । थुप्रै पूर्वक्रिकेटरहरुले उक्त कार्यको विरोध गरेका थिए । यो स्टेडियममा सन् १९४८ को नोभम्बरमा पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो ।   यसैगरी पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने सन् १९८२ को सेप्टेम्बर १५ मा खेलिएको थियो । उक्त खेल भारत र श्रीलङ्काबिच भएको थियो । सन् २०२२ को अक्टोबर ११ देखि भने यो स्टेडियममा एकदिवसीय खेल खेलिएको छैन । 

यो स्टेडियममा सन् २०१६ को मार्च २३ मा पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । उक्त खेलमा अफगानिस्तान र इङ्ल्यान्डबीच भएको थियो । आगामी विश्वकपमा यो स्टेडियममा पाँचवटा खेल खेलाइने भएको छ ।  इन्डियन प्रिमियर लिग क्लब देल्ही क्यापिटल्सले यो स्टेडियमलाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । सन् २०१७ मा भारत र श्रीलङ्काबिच टेस्ट क्रिकेट भइरहँदा अत्यधिक प्रदूषणका कारण केही समय खेल प्रभावित हुन पुगेको थियो । त्यतिबेला श्रीलङ्काली खेलाडीहरूले मास्क लगाएर बाँकी खेल खेलेपछि त्यो घटना विश्वभर चर्चित बन्न पुगेको थियो । 

भारतले सन् १९८७, सन् १९९६ र सन् २०११ मा एकदिवसीय विश्वकप आयोजना गर्दा केही खेलहरू यो स्टेडियममा पनि खेलाइएको थियो । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा हालसम्म दुई पटक मात्र तीन सयभन्दा बढी रन बनेको छ ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा बनेको उच्च स्कोर आठ विकेट गुमाएर तीन सय ३० रन हो । सन् २०११ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजले उक्त रन बनाएको थियो । यो स्टेडियममा हालसम्म आठजना ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका छन् ।  शतक बनाउने खेलाडी श्रीलङ्काका रोय डायस (नेपाली टोलीका पूर्वप्रशिक्षक), भारतका सचिन तेन्दुल्कर, अस्ट्रेलियाका रिकी पोन्टिङ, इङ्ल्यान्डका निक नाइट, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, भारतका विराट कोहली, न्युजिल्यान्डका केन विलियम्सन र अस्ट्रेलियाका उसमान ख्वाजा हुन् । यो स्टेडियममा वेस्ट इन्डिजका भीम रिचर्डसले सन् १९८९ मा ६ विकेट लिएका थिए ।

खेल तालिका