मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय
प्रदेश

वीरेन्द्रनगरमा खानेपानीको चरम संकट : ६ दिनको फरकमा १ घण्टा वितरण

बुधबार, २६ वैशाख २०८१, १४ : ४६
बुधबार, २६ वैशाख २०८१

सुर्खेत । गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । 

कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या भएको छ । ‘राजधानी हो सुबिस्ता होला भन्छन्, यहाँ त प्यास मेट्ने पानी नपाइँदो रहेछ’, वीरेन्द्रनगर–१, बांगेसिमलका हरिन्द्र शाहीले भने , ‘हामी दैलेख (गाउँमा) हुँदा पानीको कुनै समस्या हुन्थेन, जतिबेला चाह्यो मूलको चिसो पानीले तिर्खा मेट्न पाइन्थ्यो । यहाँ त धारामा पानी कहिले आउने हो टुङ्गो नहुने रहेछ ।’ 

उनको परिवारले वीरेन्द्रनगरका घर बनाएर बसेको केही वर्ष भयो । धारा जडान भएकाले कुवा नबनाएको भन्दै उनले तर धारामा पानी नआउँदा निकै समस्या भइरहेको उनले बताए । ‘एक त पानी नै आउँदैन, आएको भए पनि थोरै मात्रामा आउँछ’, उनले भने, ‘त्यसरी जम्मा गरेको पानी सबै परिवारलाई २/३ दिन पनि पुग्दैन ।’ 

राजधानी बनेसँगै वीरेन्द्रनगरको जनघनत्व दिनप्रतिदिन बढ्दो छ । जसका कारण सबै घरहरूमा धारा जडान हुन सकिरहेको छैन । धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन् । तर, यो पटकको लामो खडेरीका कारण कुवा नै सुक्ने समस्या बढिरहेको स्थानीयहरू बताउँछन् । 

वीरेन्द्रनगर, भैरवस्थानकी बसन्ती थापाको घरमा धारा जडान हुन सकिरहेको छैन । उनको भएको कुवामा पानी आउन छाडिसक्यो । ‘अघिल्लो वर्षसम्म त कुवा सुक्थेन, यो पटक वैशाख पहिलो हप्ता देखिनै कुवा सुक्न थाल्यो’, उनले भनिन्, ‘पानी सुक्दा निकै कठिन भयो । अरूको कुवामा पानी थाप्न जानुपर्ने स्थिति छ, पिउनका लागि पानी अभाव छ, सरसफाइको त के कुरा गर्नु ?’ वीरेन्द्रनगरको तल्लो भेगहरूमा डीप बोरिङले कुवाहरू सुक्न थालेको स्थानीयहरू बताउँछन् ।

सुर्खेत उपत्यकामा खानेपानीको समस्या अहिले मात्र होइन, विगत देखिनै हो । राजधानी बनेसँगै जनघनत्व ह्वात्तै बढ्यो । गणना भएको र बाहिरबाट आई बसोबास गर्ने सबै नागरिकहरूको सङ्ख्या करिब ३ लाख बढी रहेको अनुमान छ । 

अहिले भइरहेका मुहानको पानी आधा जनसङ्ख्यालाई पनि पुग्दैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार ३८ हजार बढी घरधुरी (अहिले बढेको हुनसक्छ) मध्ये अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सुचीमा रहेका छन् ।

धारा जडान भएका घरधुरीका लागि मात्रै दैनिक ३७४ लिटर प्रति सेकेन्ड पानी आवश्यक पर्छ । दैनिक १५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने स्रोतहरूबाट हाल खडेरीका कारण जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएका कारण खानेपानीको सङ्कट चुलिएको खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । 

हाल झुप्रा खोला, खरिखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाइएको छ । तर, ती मुहानमा लामो खडेरीका कारण पानी घट्दै जाँदा उपत्यकामा पानीको चरम अभाव भएको हो । 

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट प्रयोगमा ल्याएका खानेपानीका स्रोतहरू हाल भइरहेको लामो सुख्खा खडेरीका कारण घट्न गई खानेपानी वितरण कार्य प्रभावित बनेको छ । तिवारीका अनुसार स्रोतबाट उपलब्ध पानीलाई यथोचित व्यवस्थापन गर्दै हाल संस्थाले ६ दिनको फरकमा १ घण्टा वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागु गरेको बताए ।

 साथै विषम परिस्थितिमा एक आपसमा मिलेर खानेपानी प्रयोग गर्न र खानेपानीलाई अन्य प्रयोजनमा प्रयोग नगरिदिन संस्थाले अपिल समेत गरेको छ । संस्थाले नयाँ वितरण तालिका लागु गरेपनि त्यो समान हुन नसकेको स्थानीय बताउँछन् । कतिपयको धारामा तालिकाअनुसार नै पानी आउँछ भने कतिपयको १० दिनको फरकमा पनि आउँदैन । 

उपत्यकाको खानेपानी समस्या समाधानको एउटै उपाय–भेरीको पानी वीरेन्द्रनगर ल्याउने नै हो । लामो समयदेखि चर्चामा रहेको बहुचर्चित भेरी लिफ्ट परियोजना अहिलेसम्म अघि बढ्न सकिरहेको छैन । 

तीन दशकपछिको जनसङ्ख्यालाई लक्षित गरी अघि बढाइएको यो परियोजनाको टेन्डर प्रक्रिया पुरा भई काम अघि बढेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल बताउँछन् ।

 ‘यो आर्थिक वर्षभित्रै सम्झौता गरी काम अघि बढ्छ,’ उनले भने । खानेपानीको चरम सङ्कटसँगै अनियमित विद्युत्का कारण वीरेन्द्रनगरबासीको बसाइँ सकसपूर्ण छ । चर्को गर्मी बढ्दा होस् वा थोरै हावा चल्दा पनि विद्युत् जाने समस्या छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप