मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय

सोच ठूलो राखौँ, काम सानो थालौँ

बिहीबार, ०९ असोज २०७६, १५ : ४७
बिहीबार, ०९ असोज २०७६

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखका अनुसार चीनमा हाल गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ६ करोड रहेछ । ‘कम्युनिस्ट पार्टीको एक सदस्यले ३ जना गरिबहरूको हेरविचार र स्तरोन्नति गर्ने गरी कार्यविभाजन गरिएको छ’ भन्ने उनको भनाइ निकै सोचनीय छ । 

उमेरले दस पुगेर एघार लाग्दो हुँ सायद । ठुलदाइले अखिल नेपाल बाल सङ्गठनको एकाइ सचिव बनाइदिएको याद छ । उनैले लेखिदिएको एकपेज भाषण कनिकुथी भनेपछि पसिना पसिना भएर लामो सास फेरेको झन स्पस्ट सम्झना छ । त्यसयता राजनीतिको नशाले छाडेको छैन । जसरी रक्सी, भाङ, धतुरो जस्ता लागू पदार्थले एक पटक जबरजस्त समातेपछि मान्छेलाई हत्तपत्त  छाड्दैन, नशा नै लाग्यो भने । छाड्न त किताब पढ्ने नशाले पनि छाड्दैन । मानव हितको निम्ति आफ्नो थोपा थोपा पसिना बगाउने नशाले पनि छाड्दैन । माटोका कण–कणलाई माया गर्ने र त्यही माटोमा सिर्जनाको फूल र परिश्रमको फल फलाउने नशाले पनि छाड्दैन । तर मलाई केवल राजनीतिको नशाले पागल बनायो ।   

विद्यार्थी नेता बन्ने नशाले, बन्दुक बोकेर जनयुद्ध गर्ने नशाले, चुनाव लडेर सांसद बन्ने नशाले, चुनाव हारे पनि ‘कमजोर छैन है’ भन्ने सन्देश दिने नशाले, जे जसरी होस् अरुभन्दा आफ्नो प्रभाव कायम राखी राख्ने नशाले, भाषण गर्दा मास–कन्ट्रोल गर्ने नशाले, आफ्नो हितैसी मित्रको कोखमा छुरा धसेर भए पनि आफ्नो पद वढाइराख्ने नशै नशाको नशाले म नशित भएको छु । 

यी यावत नशामध्ये सम्झँदा आनन्द लाग्ने नशा केवल जनयुद्ध थियो । अरूका कुरा अरूले गर्लान् । मेरो मप्रतिको दाबी छ, म सम्पूर्ण रूपले जनयुद्धप्रति समर्पित थिएँ । आज पनि मेरा लागि त्यस युद्धका हरपलहरू जिन्दगीको गौरवपूर्ण पल थियो । त्यसमा मैले जागरणको ज्वाला बोकेको थिएँ । स्वतन्त्र मान्छेहरूको ठुलठुला जमात देखेको थिएँ । ठुल्ठुला  सामन्तको किल्ला मात्र होइन स्वयं सामन्तहरू ढलिरहेको एक अनुपम दृश्य देखेको थिएँ । म गौरवान्वित यस कारण थिएँ कि त्यस सपनाको मार्गमा सानो भए पनि आफू एक योद्धा थिएँ । एक कर्मवीर यात्री थिएँ । मलाइ लागेको थियो त्यो मेरो यात्रा थियो र मेरो स्वतन्त्रताका लागि मैले गरेको कर्म थियो । 

आजभोलि ‘बटारिएर’ सोच्दा कुरा त्यत्रो आदर्शको मात्रै पनि होइन जस्तो लाग्छ । जम्माजम्मी १७ पुगेर १८ वर्ष लागेको अल्लारे ठिटोको दिमागमा यत्रोविधि बठ्याइँवाला कुरा छिरी सक्ने बेला पक्कै भएको थिएन । बरु कहीँ न कहीँ मरेप नि सर्वाधिक नाम चल्ने एक वीर सहिद बन्ने ख्वाब कसै न कसैले घुसाइदिएको पक्कै थियो । कथंकदाचित बाँचे पनि ‘देशको सेवा गर्ने’ एक ‘महान नेता’ बनेर सबैको हाईहाईवाला मान्छे बन्ने महत्त्वाकाङ्क्षाले पनि म ज्यान फालेर लडेको हुनसक्छु । मेरो आजले होइन मेरो भविष्यले यसको जवाफ दिनेछ । 

तर मान्छे दुनियाँका लागि काम गरेको भनेर ढोँग गर्न बढी रुचाउँछन् । वास्तवमा भन्ने हो भने मान्छे आफ्ना लागि कर्म गर्दा जति आनन्दित हुन्छ त्यो अरूका लागि गर्दा प्रायसः हुँदैन । यही तीतो सत्य हो । अझ थप सत्य के हो भने आफ्नो आनन्दका लागि गर्ने कामको छनौटले कसलाई सकरात्मक र कसलाई नकरात्मक प्रभाव पारिरहेको छ ? यो चाहिँ दृष्टिकोणसहित छनौटको प्रश्न हो । आफ्ना लागि काम गर्दा समाजको ठूलो हिस्सालाई सकरात्मक प्रभाव पर्छ र अनुसरण पनि भइरहेको छ भने त्यस व्यक्तिको त्यस कार्यमा प्राप्त भएको सामाजिक सफलता हो । मेरा लागि जनयुद्ध सायद यस्तै केही थियो । तर हामी यसो भन्दैनौँ । ठोकुवा गरेर भन्छौँ, ‘हामी जनताका लागि जन्मेका, जनताकै लागि बाँच्छौँ र जनताकै लागि मर्न तयार छौँ’ । ‘म मेरो पूर्ण स्वतन्त्रता र आत्मसम्मानका लागि सङ्घर्ष गरिरहेको छु’ भनेर कसैले भन्यो भने त्यो ‘क्रान्तिकारी’ ठानिँदैन । यसोगर्दा जसले क्रान्तिकारी थप्पा लगाइदिने हो उसले लगाइदिँदैन । थप्पा नलागेको ‘अक्रान्तिकारी’ बनेर कार्यकर्तालाइ बाँच्न गाह्रो हुन्छ । जब आम कार्यकर्तामा यसरी एक्लै पनि सोच्न सकिन्छ र फरक ढङ्गले बाँच्न सकिन्छ भन्ने आत्मबलको अन्त हुन्छ त्यही खरानीमाथि व्यँुझन्छ ‘क्रान्तिकारी’ सामन्तवाद । साँच्चै भन्ने हो भने आज म सामन्तवादको किल्ला ढलेको भग्नावशेषमाथि लाल सामन्त अट्टाहास गर्दै उठिरहेको देख्छु । थप्पा लागेका क्रान्तिकारीहरू अरिङ्गाल बनेर भुनभुनाइरहेको देख्छु ।

ऐतिहासिक युद्ध र आन्दोलनहरू खास समयको माग हो । युद्ध र आन्दोलन एक आँधिबेहरी जस्तो हो । एक छलाङ हो । युद्ध र आन्दोलनले हरेकलाई एक जिम्मेवारी दिएको हुन्छ । युद्ध वा आन्दोलनको सफलतासँगै त्यस परिस्थितिको अन्त हुन्छ र निरन्तरताको परिस्थिति सिर्जना हुन्छ । तर हाम्रो सन्दर्भमा नेता कार्यकर्ताका लागि त्यस खाले सामान्य परिस्थिति कहिल्यै सिर्जना भएन वा गराइएन । बरु आन्दोलनको व्याज स्याज उठाएर इतिहासलाई जीविकोपार्जको साधन बनाउने परिस्थितिका लागि धेरथोर हामी सबै जिम्मेवार छौँ । जो जसले इतिहासको व्याज भेट्टाएका छैनन् उनीहरू पनि खासै क्रान्तिकारी रहन सकेनन् । बरु इतिहासको त्यस विशेष योगदान अनुसार आफूले विशेष सुविधा प्राप्त गर्न नसकेको तथा अमुक सहयात्रीहरूले मात्रै सुविधाको उपभोग गरेको कुण्ठाले ग्रस्त भए । आफूले विताएको गौरवपूर्ण इतिहासलाई समेत आफ्नो स्वनिर्णय हो भन्न सकेनन् । फलस्वरूप परनिर्भर र राजनीतिक बेरोजगार मानसिकता मज्जाले फस्टायो । साथसाथै संरचनागत दृष्टिले पार्टीका भद्दा साङ्गठनिक संरचना र संरचनाअनुसार निर्माण भएको हाकिमी मानसिकता त्यसका लागि थप मल हुन् । मानौँ कोही नेता केन्द्रीय सदस्य भयो भने उसले सोच्छ, मेरो काम केन्द्र बनाउने हो । प्रान्त सदस्यले सोच्छ उसको काम प्रान्त बनाउने हो । एवं रीतले वार्ड समितिको सदस्यले पनि ठान्छ उसको काम वार्ड बनाउने हो । प्रश्न यहीँ खडा भएको छ, त्यो गाउँको सानो टोलको अँध्यारो भीरकुनामा सम्पूर्ण जिन्दगी गुजारा गर्ने एक भुइँ मान्छेको जिन्दगीमा मुस्कान भर्न चाहिँ कसले काम गर्ने हो ? यही प्रश्न हलबिना झनझन बल्झिँदै गएको छ, राजनीतिक बेरोजगारी ।

यस विषयसँग गम्भीर ढङ्गले जोडिएको महत्त्वपूर्ण विषय वैचारिक केन्द्रीकरण हो ।  कम्युनिस्ट पार्टीभित्र भनेर वा नभनेर प्रयोगमा आउने यो महत्त्वपूर्ण सिद्धान्त हो । जनयुद्ध सुरु भइसकेपछि डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीभित्र एक बहसको रूपमा यसलाई उठाउनुभएको थियो । जनयुद्धको संवेदशील परिस्थितिमा बाबुरामले ‘किचलो’ निकालेका हुन् भन्ने अराजनीतिक तर्क आम कार्यकर्तामा पुगे पनि केन्द्रमा चर्को वैचारिक बहस बाबुराम भट्टराई एमाओवादीमा हुँदासम्म पनि रहि नै रह्यो । यो बहस आज सतहमा छैन । उसो त पार्टीभित्र आजभोलि विचारको बहस पनि कहाँ हुने हो र ? यद्यपि मेरो बोध के छ भने वैचारिक केन्द्रीकरणवाला विषयले आम कार्यकर्तालाई भुत्ते, बोदो, दासात्व स्वीकार नगरी नसक्ने परनिर्भर र असिर्जनशील हुलमा परिणत गरिदिएको छ । आज अधिकांश एक स्तरका नेता तथा कार्यकर्ताले आफूलाई या त सोच्न आवश्यक नै ठान्दैनन् या त त्यस्तो कुनै हैसियत नै राख्दैनन् । न आफूलाई प्रश्न अगाडि उभ्याउन तयार छन् न कसैलाई प्रश्न गर्न नै सक्छन् ।  

निकै समयअघि एकजना जिम्मेवार नेताले आफ्नो भाषणमै व्यक्त गरेका थिए, ‘मसँग निकै राम्रो योजना छ तर म अहिले भन्दिनँ ।’ पछि मैले एक्लै हुँदा सोधेँ– ‘तपाईं आफूसँग भएको राम्रो योजना किन हामीलाई भन्नु हुन्न ?’ उहाँलो मुसुक्क हाँसेर भन्नुभयो, ‘मैले तपाईंहरूलाई नभन्ने भनेको होइन, मभन्दा माथिकालाई नभन्ने भनेको । म यो प्रदेशको इन्चार्ज भएँ भने यो योजना प्रयोग गर्छु नत्र गर्दिनँ ।’ उनको डर आफ्नो योजना अर्को नेता आएर आफ्नो भनिदेला भन्ने चिन्तामा केन्द्रित थियो । त्यस्तै एक्काइसौँ सताब्दीको जनवाद पार्टी (क.प्रचण्ड) को कि डा. बाबुराम भट्टराईको भन्ने बारेमा तत्कालीन नेकपा माओवादीमा निकै लामो अनौपचारिक औपचारिक बहस चल्यो । यसको निष्कर्ष के हो भने व्यक्तिगत सिर्जनाको महत्त्व नदिने हो भने व्यक्तिले किन मिहिनेत गर्ने ? यस प्रश्नमाथि पनि भन्न सकिन्छ आम कार्यकर्ताको सोचलाई समेत कुनै नेतामा केन्द्रित गरेर केवल उसको नाम रोषन गर्ने प्रवृत्ति त झन ठूलो वैचारिक शोषण हो । वैचारिक सामन्तवाद हो । यो आजसम्म पनि भइरहेकै छ । यसकारण पनि व्यक्ति कम सिर्जनशील भइरहेको छ । सिर्जनशील सोचमा ह्रास आउनु भनेको अन्तत राजनीतिक बेरोजगारी थप्नु नै हो । 

एकछिनका लागि मानौँ यदि यसखाले  मानसिकता पार्टीभित्र हाबी नभएको भए के हुन्थ्यो ? मलाई लाग्छ, पक्कै पनि मूल वैचारिक दायराभित्र कुनै सामान्य व्यक्तिले बिलकुल नयाँ विचार र व्यवहारका मोडलहरू सिर्जना गर्न सक्थे । यस्ता प्रतिभाहरूलाई पार्टीले सहजीकरण गरिदिएर उसको हैसियत अनुसार गाउँ, जिल्ला, प्रदेश वा देशैभरी पनि कार्यान्वयन गर्ने वातावरण सिर्जना गरिदिन सक्थ्यो । परिणमतः एकसे एक नेताहरू जन्मिन तथा स्थापित हुन सक्थे । हरेक नेता कार्यकर्ताका भिन्नाभिन्नै कर्मले समाजलाई अर्को युगमा फड्को हान्न मद्दत गर्न सक्थ्यो । 

 यी सबै निराशावादी जस्ता कुरा भए । यावत पृष्ठभूमिमा निकै भरभराउँदो आशा छ । खासमा हामी हरेक भिन्ना भिन्नै एक अमूल्य प्रतिभा हौँ । हामी आफैले धेरै ठुलाठुला कुरा पनि सोच्न सक्छौँ । तर सोच्नु र गर्नुमा निकै फरक छ । यसर्थ थालनी एकदमै सानो भनिएको कर्मबाट गर्नुपर्ने हुन्छ  । जो जहाँ छ त्यहीँबाट, जसले जति सक्छ त्यति, हैसियत जति ठुलै किन नहोस् खुट्टा भुइँमा टेकेर एउटा सानो काम सुरु गरौँ । काम आफ्ना लागि गरौँ तर प्रभाव समाजलाई परोस् र समाजले अनुशरण गर्न उपयुक्त ठानोस् । 

यसका लागि नेकपाले चाहने हो भने निकै ठूलो परिवर्तन आउन सक्छ । जिल्ला समिति सदस्यको सङ्ख्या मात्रै झण्डै बाह्र हजार पुग्छ । प्रदेश समिति सदस्य झण्डै दुई हजार । केन्द्रीय समितिका सदस्यहरू साढे चार सय छन् । हरेकले एउटा सानो तीनकक्षासम्म पढाइ हुने विद्यालय जिम्मा लिने हो भने देशका सबै सरकारी विद्यालयको स्तर अर्को अवस्थामा पुग्नेवाला छ । सानो टोलको जिम्मा लिने हो भने एकै पटक १५ हजार टोलहरूको स्तर उन्नति हुनेवाला छ । एक व्यक्तिको जिम्मा लिने हो भने १५ हजार व्यक्तिहरूको जीवनमा खुसी आउनेवाला छ । तर हामी कसैलाई यसो गर्ने फुर्सद छैन किनकि हामी ‘देश बनाउने’ वाला हौँ । 

अन्तमा मैले यो लेख लेख्दै गर्दा तैँले सुरु गरे के हुन्छ ? भन्ने प्रश्न खेप्नै पर्ने अवस्था हुन्छ । यसको सानो प्रतिरक्षा चाहिँ पहिल्यै गरिहाल्छु । मैले यसखाले अभियानलाई सुरु गरेको छु । यस वर्ष मेरो कार्यक्षेत्रको १८ वटा विद्यालयलाई गुणस्तरीयता प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तहका जनप्रतिनिधिसँगको सहकार्यमा १२ वर्षे शैक्षिक रणनीतिसहित हामी काम गरिरहेका छौँ । हाललाई एक विद्यार्थी एक बिरुवा (त्यो पनि आफ्नो नाम लेखेर, आफ्नो सपना र आशा जोडेर, वर्षांैसम्म त्यसलाई बचाइराख्ने प्रणका साथ) को अभियान (जसलाई हरेक व्यक्तिको भावनासँग जोड्न सकिन्छ) अगाडि बढ्दैछ । एक व्यक्ति एक उत्पादन (सानो वा थोरै होस् तर त्यस काममा मज्जा आओस्, माटोप्रतिको माया जागोस् र त्यस मायामा मिसिएको मसिनो राष्ट्रवाद टाउकोमा झण्डा बाँधेर नारामा सीमित हुने राष्ट्रवादभन्दा कति फरक हुन्छ थाहा होस्) अभियान सुरु भइसकेको छ । जसलाई हामीले समग्रमा ज्ञानशाला अभियान भनेका छौँ । समग्रमा हरेक ज्ञानशालाबाट हरेक क्षेत्रमा उभिएका मान्छेसँग उसको विषयमा प्रश्न गर्ने हैसियत राख्ने छ । सारमा प्रश्नहरूको अभियान भन्न पनि सकिन्छ । हाम्रो मान्यता छ, प्रश्न उसैसँग हुन सक्छ, जोसँग कम्तीमा सामान्य उत्तरहरूको ज्ञान हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरल सहयात्री
सरल सहयात्री
लेखकबाट थप