आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाङ उपनिर्वाचन  ः नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा

सोमबार, ०९ मङ्सिर २०७६, १८ : २४
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं । यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल तातेको छ । दाङको क्षेत्र नं ३ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले बिहानदेखि राति अबेरसम्म टोल-टोल एवं घरघरमै पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । पार्टीका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेतासमेत प्रचारप्रचारमा सक्रिय छन् ।गाउँ र टोलमा हुने चुनावीसभामासमेत केन्द्रीयस्तरका नेता पुगेर आफ्नो पार्टीको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्न थालेका छन् ।

जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेदवाबीच चलेको देखिन्छ । मतदाताले भने बाटोघाटो तथा पुल निर्माण, कृषि क्षेत्रको विकास माग्ने गरेको पाइएको छ ।

आफ्नो क्षेत्रमा हुने विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्ने गरेको सुनिन्छ । यस क्षेत्रमा सत्तारुढ दल नेकपा र मुख्य प्रतिपक्ष काँग्रेसका उम्मेदवारबीच मै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी विमलाकुमारी खत्री ओली चुनावी मैदानमा छन् । त्यस्तै काँग्रेसबाट पुराना नेता केशवराज शर्मा चुनावी मैदानमा उत्रिएका छन् । 

यस्तै राप्रपा, राप्रपा (संयुक्त), काँग्रेस (बिपी), नेकपा (माले), मङ्गोलिएन पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्तभएको थियो । 

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याउँदै विजयी भएका थिए भने काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता थपिएका छन् ।

दुई हजार सुरक्षाकर्मी 

दाङमा हुने दुई स्थानको उपनिर्वाचनलाई लक्षित गरी दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही १६ का लागि दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।

जसका लागि २२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

दुई हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधानसमेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने उनको भनाइ छ ।यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई भयरहित र मर्यादित बनाउन आवश्यक सुरक्षा रणनीति प्रभावकारी बनाइएकोसमेत प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

निर्वाचनहुने क्षेत्रमा अहिले पनि गस्तीमा सुरक्षाकर्मी खटिसकेका छन् । सुरक्षित निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थासमेत गरिएको सुरक्षा समितिले जनाएको छ ।

मतदाता शिक्षा शुरु

दाङमा हुने दुई स्थानको उपनिर्वाचनका लागि खटिने कर्मचारीकालाई आज र भोलि तालीम प्रदान गर्न शुरु गरिएको छ ।

दुई स्थानका ३४ मतदानस्थल र ८२ केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालीम दिन लागिएको हो । निर्वाचनमा ४१० कर्मचारी र ३२६ स्वयमसेबक खटिने भएका छन् ।

मङ्सिर ११ गतेदेखि मतदानस्थलमा खटिने गरी अधिकृत र सहायक मतदान अधिकृतलाई कसरी निर्वाचन गराउने विषयमा तालीम दिन लागिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने छन् । यस्तै ३२६ जना कर्मचारी स्वयंम सेवकका रुपमा खटाइने भएको छ भने गत बिहीबार ५ गतेबाट मतदाता शिक्षा पनि सञ्चालन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप