सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्क शुद्धीकरण अभियान, लागुऔषधसहित ७३ पक्राउ

आइतबार, १९ माघ २०७६, १० : २६
आइतबार, १९ माघ २०७६

प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् ।
 
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति,  बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिए। “बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति गर्ने÷गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ”, उनले भने । 

पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन् । पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ । 

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउनका लागि सबै लाग्नुपर्ने बताए । “नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उनले भने ।
 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरेको बताए । प्रहरीले पक्राउ परेकालाई  आवश्यक अनुसन्धान गरी मुद्दासमेत चलाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप