शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो

आइतबार, २६ माघ २०७६, २१ : १४
आइतबार, २६ माघ २०७६

झापा ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छन् । उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए । झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२० मा घुम्न आउन छिमेकी देशका पर्यटकलाई निम्तो गरेका हुन् ।

उनले प्रदेश नं. १ हिमचुचुरा, अलैँची, चिया, लालीगुराँस, अर्ना र चराहरुको राजधानी भएको चर्चा गर्दै प्रदेशको मूलढोकामा आयोजित महोत्सवले नेपालमा पाहुनाहरुलाई स्वागत छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना हुने महोत्सवहरुलाई देखावटी नबनाउन र पर्यटन प्रवद्र्धनमा सघाउने गरी लक्ष्य केन्द्रित तुल्याउन सुझावसमेत दिए ।

मुख्यमन्त्री राईले देवकोटा पार्कमा रिबन काटेर महोत्सवको उद्घाटन गरेका थिए भने बाहुनडाँगीरोडमा विद्यार्थीहरुसँगै भित्तामा चित्र कोरेका थिए । उनले प्रदर्शनी कक्षहरुको अवलोकनसमेत गरे ।

झापाको मेचीनगरमा सन् २०१२ देखि एशियाली ग्रामीण पर्यटन महोत्सवको आयोजना हुँदै आएको र यसपटक ५० हजार पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताए ।    महोत्सवको उद्घाटन समारोहमा बेलायतको फोक्सटन सिटीबाट आएकी मेयर जेकी माइड, बेलायतका पूर्वकाउन्सिलर धनकिरण गुरुङ, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, भारतका प्रख्यात पर्यटन अभियन्ता राज बसुलगायतको उपस्थिति थियो ।

महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बद्ध विभिन्न संस्थाका ६० वटा प्रदर्शनी कक्ष छन् । जसमा १० वटा भारतको र केही कक्ष भूटानको रहेको महोत्सवका प्रवक्ता नवराज प्रधानले जानकारी दिए । महोत्सव फागुन १ गते समापन हुने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप