शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अणु–परमाणुभन्दा कोभिड–१९ खतरनाक

सोमबार, ०१ वैशाख २०७७, १४ : २६
सोमबार, ०१ वैशाख २०७७

विषय प्रवेश
     यतिखेर कोभिड–१९ को महामारीबाट विश्व अक्रान्त बनिरहेको छ । यो २ सयभन्दा बढी मुलुकमा फैलिसकेको छ । विश्वभरि करिब १८ लाख सङ्क्रमित छन् भने मृत्यु हुनेको सङ्ख्या १ लाख नाघिसकेको छ । प्रकोपको ग्राफ चढ्दोछ । योक्रम अझै अनिश्चित कालसम्म बढिरहने विज्ञहरुले अनुमान गरिरहेका छन् । अर्थात यसले सिङ्गो मानव सभ्यतालाई चुनौती दिइरहेको छ । आजसम्म मान्छेले विकास गरेको विज्ञान, प्रविधि, विकास, सोच, चिन्तन,  मनोविज्ञान र स्थापित दृष्टिकोण माथि प्रश्नचिन्ह खडा गरिदिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक एवं मनोेवैज्ञानिक परम्परा र विरासतहरुको विषयमा नितान्त नयाँ बहसको थालनी गरेको छ । मूलतः धनी–गरिब, ठूलो–सानो, विकसित–अविकसित अनि शक्तिशाली र कमजोर मुलुक, समुदाय, संस्था र व्यक्ति सबैलाई टेकेकै धरातलबाट चिन्तन–मनन गर्न बाध्य पारेको देखिन्छ ।
परिभाषा
     वस्तुतः ‘भाइरस’ शब्द ल्याटिन भाषाबाट व्युत्पत्ति भएको हो । यसको अर्थ विषालु तत्व वा झोल भन्ने हुन्छ । यसलाई नेपालीमा विषाणु भनिन्छ । यो कोष नभएको अति सूक्ष्म जीव हो । यो जीवाणु भन्दा अझ सूक्ष्म हुन्छ साथै पूरै हानिकारक पनि हुन्छ । यता कतिपय जीवाणु भने प्राणीजगतलाई अनिवार्य पनि हुन्छ । विषाणु जीवाणु जस्तो आफै वा सबै अवस्थामा सक्रिय हुँदैन । यसका लागि कुनै अर्को जीवित कोषिका जरुरत पर्दछ । यसैमा रहेर वा छिरेर मात्र यसले आफ्नो जीवनको गुणात्मक वृद्धि विकास गर्दछ । यो जव जीवित कोषिकाहरुमा प्रवेश हुन्छ तब तीव्ररूपमा सङ्क्रमण पैदा गर्दछ । यसले कुनै पनि जीवको आफ्नो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिन्छ । यो एउटा जीवित कोषिकाबाट अर्को कोषिकामा विभिन्न माध्यमहरुबाट सजिलै सर्दछ । त्यसपछि विकराल महामारीको रूप लिने गर्दछ ।
इतिहासमा महामारी
     मानव सभ्यताको विकाससँगै विभिन्न ऐतिहासिक कालखण्डमा धेरै डरलाग्दो महामारीहरुको सामना गर्नुपरेको देखिन्छ । तर यस आलेखमा प्राग–ऐतिहासिक कालदेखि नै फैलिँदैआएको केही महामरीहरुको मात्र चर्चा गरिएको छ । करिब पाँच हजार वर्षअघि उत्तरपूर्वी चीनको एउटा गाउँमा यस्तै ठूलो महामारी फैलिएको इतिहासकारहरुको दाबी छ । उनीहरुले पुरानो घरभित्र सैयौँ मान्छेको खप्पर उत्खनन् गरी यो तथ्य पत्ता लगाएका हुन् । यता लगभग २५ सय वर्ष पहिला ग्रिसको राजधानी एथेन्समा पनि ५ वर्षसम्म महामारी फैलीएको थियो जहाँ १ लाखभन्दा बढीले ज्यान गुमाएका थिए । यसैगरी झण्डै २ हजार वर्ष पहिला रोमन साम्राज्य विस्तारका क्रममा सेनाहरुको माध्यमबाट डरलाग्दो महामारी उत्पन्न भयो । यसमा ५० लाखभन्दा ज्यादा मानिसको मृत्यु भएको थियो । यता सन् ५४१ तिर युरोपको भूमध्यसागरीय सहरहरुमा ‘जस्टिनियन’ नामक महामारी फैलियो जहाँ करोडौँ नागरिकले ज्यान गुमाएका थिए । उता १३४६ मा युरोप र एसियामा पानी जहाजबाट आएको उपियाँबाट डरलाग्दो महामारी फैलियो । यो महामारीमा युरोपको झण्डै आधा जनसङ्ख्याको मृत्यु भएको बताइन्छ ।

     यसैगरी १५१९ तिर युरोपेली अन्वेषकहरुको माध्यमबाट अमेरिकामा ठूलो महामारी फैलिएको थियो । यसले तात्कालीन माया र एज्टेक सभ्यतालाई ध्वस्त गरेको दाबी गरिन्छ । यसैगरी १७२० मा फ्रान्सको भर्सेली, १७९३ मा अमेरिकाको फिलाडेल्फिया, १८८९ मा युरेसियामा रसियन फ्लु, १९१० मा भारत, १९१६ मा न्युयोर्क सहरमा फैलिएको पोलियो, १९१८ मा स्पेनिस फ्लु, १९५७ मा एसियन फ्लु र १९७० मा मास्कोमा फैलिएको महामारी विशेष उल्लेखनीय रहेका छन् । त्यस्तै यता बहुचर्चित महामारी ‘एड्स’ १९८१ देखि व्यापकरूपमा फैलिएको देखिन्छ । यद्यपि १९२० तिर नै यो विषाणु चिम्पान्जीबाट मान्छेमा सरेको अनुमान गरिएको छ । यसबाट हालसम्म ३ करोड साठ्ठी लाखको मृत्यु भइसकेको छ । ४ करोड सङ्क्रमितमध्ये अफ्रिकामा मात्रै ४० प्रतिशत रहेको छ ।  

सन् २००३ मा दक्षिणी चीनमा ‘सारस’ भाइरस फैलियो जुन चमेराबाट सरेको बताइन्छ । यो झण्डै दुई दर्जन मुलुकहरुमा फैलिएको थियो । यसबाट ९ हजार सङ्क्रमित भए भने ८ सयको मृत्यु भयो । यसैगरी २००९ मा मेक्सिकोमा स्वाइन फ्लु फैलियो जसले विश्वव्यापी रूप लिनुको साथै लाखौैँ सङ्क्रमित भए भने झण्डै ६ लाखको मृत्यु भएको थियो । यता २०१४ मा पश्चिम अफ्रिकामा ‘इबोला’ भाइरस फैलियो । यो  पश्चिम अफ्रिकी नदी ‘इबोला’को नामबाट राखिएको हो जुन लाइबेरिया, सियरालियोन र गिनिया लगायतका मुलुकहरुमा फैलिएको थियो । यसबाट ११ हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै २०१५ मा दक्षिण अमेरिकामा लामखुट्टेबाट ‘जिका’ भाइरस फैलियो । आज कोभिड–१९ बाट सिङ्गो विश्व नै प्रताडित बनिरहेको छ । यसलाई विगतकै महामारीको पछिल्लो विकासित, विस्तारित र विकराल रूप भनेर परिभाषित गरिँदैछ जसले सिङ्गो मानव सभ्यताको लामो ऐतिहासिक विरासत माथि नै प्रश्न उठाइरहेको देखिन्छ ।

परमाणु र विषाणु
     दोस्रो विश्वयुद्धको निर्णायक विजयास्त्र परमाणु बम नै थियो । अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ तारिख जापानको हिरोसिमा र नागासाकीमा दुईवटा परमाणु बम प्रहार गरी डेढ लाख निर्दोष नागरिकहरु मारे । त्यसपछि जापानले आत्मसमर्पण गर्नुको साथै विश्वयुद्धको पनि अन्त्य भयो । तर यही विन्दुबाट परमाणु अस्त्रको व्यापक होडबाजी सुरु भयो । परमाणुभन्दा एक हजार गुणा शक्तिशाली हाइड्रोजन बम पनि मानव इतिहासमा परीक्षण भइसकेको छ । यसले परमाणु अस्त्र नै कुनै पनि मुलुकको शक्ति मापन गर्ने मापदण्ड बन्नपुग्यो । यो मनोविज्ञान अझै पनि विभिन्न आयतन, अवतार, रूप–रङ्ग र शैलीहरुमा देख्न सकिन्छ । अर्थात विश्वयुद्धपछि परमाणु शक्तिको गुरुत्वकेन्द्र वरिपरि विश्व अर्थराजनीति फनफनी घुम्न थाल्यो । हस्तक्षेप, पकड, प्रभुत्व र शक्ति परमाणु अस्त्रमा निर्भर हुँदै  गयो । समग्र विश्व नै परमाणु होडबाजीको चपेटामा धकेलियो । 

     तर परमाणु वा रासायनिक अस्त्रको दम्भद्वारा निर्देशित विश्व अर्थराजनीतिलाई आज एकाएक अति सूक्ष्म भाइरसले अति सूक्ष्म लगानीमै आफ्नो कब्जामा राख्न सफल भइरहेको छ । परमाणु वा हाइड्रोजन अस्त्र निर्माणमा ठूलो आर्थिक लगानी, अनुसन्धान र समय अनिवार्य पक्ष हो । सङ्क्रमण शीघ्रता, संवेदनशीलता, व्यापकता र त्यसको असरको आयतन हेर्दा विषाणु परमाणु अस्त्र भन्दा लाखौँ गुणा शक्तिशाली देखिन्छ । भाइरसको ‘टीएनटी’ अथाह हुन्छ । तर १९६१ मा तात्कालीन सोभियत सङ्घले ५८ मेघाटन (टीएनटी) बराबरको ‘जार’ नामक सबैभन्दा शक्तिशाली हाइड्रोजन बम परीक्षण ग¥यो ।

यो जापानमा पड्काइएको बम भन्दा सयौँ गुण शक्तिशाली थियो । यसले विश्वको कुनै पनि एउटा ठूलो सहरलाई ध्वस्त गर्न सक्दथ्यो जसलाई उनीहरुले ‘सिटी किलर’ को उपनाम दिएका थिए । यद्यपि करोडौँ डलर बराबरको आर्थिक लागत, वैज्ञानिकहरुको जटिल र महँगो अनुसन्धान, समय र विष्फोटनको झन्जट आदिलाई नियाल्दा परमाणु भन्दा विषाणु धेरै खतरा हुनेरहेछ । आज कोभिड–१९ महामारीले नाटकीय रूपमा विश्वव्यापी सङ्कट पैदा गरी मानव सभ्यतालाई नै ध्वस्त गर्न खोजिरहेको छ  । स्मरण रहोस, विज्ञान, प्रविधि, खोज–अनुसन्धान र उपलब्धिहरु पक्कै पनि कसैको भित्री स्वार्थ, पूर्वाग्रह र विवेकद्वारा परिचालन हुनेगर्दछ । तर प्राकृतिक रूपमा उत्पन्न महामारीको सन्दर्भमा भने स्वार्थ र आग्रह रहँदैन । 

मुख्य प्रभावहरुः

     राजनीतिक प्रभावः कोभिड–१९ ले उद्धार लोकतन्त्रको व्यवस्थापकीय पक्षलाई चुनौती दिएको छ । यही विचारको छातामुनि सङ्गठित राजनीतिक दल र यसका नेताहरुको टाउकोमा ठण्डा पानी खन्याइदिएको छ । यसले कतिपय राजनीतिक दल र नेताहरुलाई स्थापित गर्दैछ भने कतिपयलाई विस्थापित । किनकि उद्धार लोकतन्त्रको खोक्रो, ढोंगी र भद्रगोल वा अस्तव्यस्त चरित्रभित्र भाइरस सङ्क्रमणको सम्भावना बढी हुन्छ । कोभिड–१९ को पछिल्लो उग्रचण्डी रूप हेर्दा यसको पुष्टि भइरहेको छ । यद्यपि वर्तमान विश्व–अर्थराजनीति उद्धार पुँजीवादी लोकतन्त्रद्वारा निर्देशित रहेको छ । सामन्यतय यो दलाल एकाधिकार पुँजीवादद्वारा निर्देशित, नियन्त्रित र प्रशिक्षित हुन्छ । यसले लोकतन्त्र भन्दै खर्चिलो आवधिक संसदीय चुनावलाई आफ्नो राजनीतिक आदर्श मान्दछ ।

राजनीतिलाई  व्यवसायीकरण गरिन्छ । उद्धार पुँजीवादमा राज्यको उपस्थिति नगन्य हुन्छ । सीमित व्यक्तिले सिङ्गो मुलुकलाई नियन्त्रणमा राख्दछ । राज्य गरिब हुन्छ तर व्यक्ति वा निश्चित संस्था धनी हुन्छ । त्यही सीमित स्रोतसाधन सम्पन्न व्यक्तिहरुलाई हेरेर समाज नै धनी देख्ने दृष्टिदोष नै उद्धार लोकतन्त्रको मूलभूत कमजोरी हो  । पछिल्लो समय त यो झनै आफ्नै नजिकका आफन्तहरु वरिपरि मात्र फन्को मार्न थालेको छ । त्यसैले यसलाई आसेपासे पुँजीवाद पनि भन्न थालिएको छ । यसमा पनि केही मानवीय सहयोगबारे उल्लेख गरिए पनि त्यसको पछाडि प्रधानतः अझ ठूलो स्वार्थ लुकेको हुन्छ । ५ किलो राहतको पोकालाई १५ जोरभन्दा वढी हातहरुले छपक्कै ढाकेको फोटो खिचेर सार्वजनिक गर्नु यही अर्थराजनीतिक स्वार्थको चरित्रगत अभिव्यक्ति हो । यस्तै विडम्बनाहरुको औसत शृङ्खला नै उदार लोकतन्त्रको अनिवार्य कर्मकाण्डहरु हुन् । यसमा अरू धेरै भन्न जरुरी छैन ।   

   त्यसैले यस्तो विश्वव्यापी सङ्कटको बेला विश्व, राज्य र समुदाय हाबी हुनुपर्दछ । बलियो राजकीय नियन्त्रण र उन्नत अनुशासन सहितको समानता र सामाजिक न्यायमा आधारित राज्यरूपले मात्र यस्तो सङ्कटको उचित व्यवस्थापन गर्दछ । तर यो औसत पुँजीवादी राज्यरूपमा सम्भव हुँदैन । पुँजीवादले त सजिलो हुँदा सबै स्रोतसाधनहरु माथि पकड राख्छ भने सङ्कटको समय यो वा त्यो बाहनामा भाग्ने गर्दछ । किनकि उसको मूलभूत चरित्र नाफासँग जोडिएको हुन्छ । नेपालका निजी अस्पतालहरुले उपचार गर्न सक्दैनौँ भन्नु उदार लोकतन्त्रको अर्थराजनीतिक अभिव्यक्ति हो । कोभिड–१९ प्रकोपको कारण स्वयं सभ्रान्तहरुले पनि निर्विकल्प भन्दै आएको उदार लोकतन्त्रको विकल्प बारे नयाँ कोणबाट बहस थालेका छन् ।  यो निकै सुखद पक्ष हो । त्यसैले यस्ता विकराल महामारीहरुबाट बच्न अब निर्णायक राजकीय उपस्थिति र उन्नत अनुशासन सहितको समाजवादी सत्ता अनिवार्य देखिन्छ । तब मात्र सङ्कटहरुको सही र शीघ्र व्यवस्थापन गर्न सकिन्छ । 

 आर्थिक प्रभावः यो महामारीका कारण आज विश्व बन्दाबन्दीको स्थितिबाट गुज्रिरहेको छ । लकडाउन लामो समयसम्म रहे यसले अर्थतन्त्रमा महामन्दी निम्त्याउनुको साथै सन् १९३० पछिको सबैभन्दा भयावह आर्थिक सङ्कटको सामना गर्नुपर्ने  विज्ञहरुको दावीछ । सिङ्गो विश्व अर्थतन्त्र पक्षघात हुने प्रबल सम्भावना छ । यसले उत्पादन र आपूर्ति बीचको सन्तुलन गुमाउँदैछ । औद्योगिक कारखाना, पर्यटन उद्योग र व्यापारिक एवं सामाजिक गतिविधिहरु बन्द हुनेछ जसले उत्पादन र आपूर्ति शृङ्खलामा बाधा पु¥याउनेछ । होटेल र हवाई व्यवसायहरु प्रायः ठप्पै हुनेछ । राजस्व सङ्कलनमा उल्लेख्य गिरावट आउनेछ भने करोडौँ रोजगारीको अवसरहरु गुम्नेछ । मुद्रा सङ्कट सिर्जना हुनेछ साथै डलर सञ्चिति घटनेछ । तब बहुसङ्ख्यक साधरण जनताको क्रयशक्ति नाटकीय रूपमा घट्नेछ । मूल्य वृद्धि र तरलता बढ्नेछ । यता एसियाली विकास बैङ्कले ४ खरब डलरभन्दा बढी पुँजी गुम्ने आर्थिक प्रक्षेपण गरिसकेको छ जुन निकै संवेदनशील तथ्याङ्क हो ।

     नेपालले झनै विकराल अवस्था झेल्नुपर्ने देखिन्छ । किनकि नेपाली अर्थतन्त्र पननिर्भरमुखी रहेको छ । दिगो उत्पादनमूलक राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास असाध्यै न्यून छ । राजकीय रूपमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा पर्याप्त ध्यान दिइएको छैन । उद्योग कलकारखानाको विकास नगन्य अवस्थामा छ । सीमित उद्योगहरुमा पनि दलाल पुँजी हावी छ । कतिपय पुरानो राजकीय उद्योगहरु पनि प्रायः बन्दको अवस्थामा छ । यसलाई भ्युटावर, गुफा, पोखरी र रमितेडाँडाहरुले छायाँमा पारिदिएको छ । अलि अलि भएको विकास पनि पर्यटन जस्ता सेवामुखी अर्थतन्त्रमा सीमित देखिन्छ । नेपालको विकास अवधारणा नै गलत रहेको छ । सपना–विपनै पर्यटन–पर्यटन भन्दै भ्युटावरको मात्र भाषण गर्ने नेताहरुलाई उत्पानमूलक अर्थतन्त्रको महत्त्व कति रहेछ भन्ने बोध गराइरहेको छ ।  वैदेशिक सहायता उल्लेख्य रुपमा कटौती हुँदैछ । यसो भएपछि लगानीमा गिरावट आउनेछ । विश्वभरि मन्दीले करोडौँ रोजगारी गुम्दैछ । वैदेशिक रोजगारी धराशयी बन्दैछ जसले विप्रेषणमा आधारित अर्थतन्त्रमा नराम्रो असर पार्नेछ । योसँगै हाम्रो आयतमुखी अर्थतन्त्र रहेकोछ, जुन यस्तो महामारीको बेला झनै संवेदनशील हुन्छ । 

     विश्व अर्थतन्त्रको मूलभूत चरित्र भूमण्डलीकृत एकाधिकार पुँजीवादमा आधारित छ । यो धेरै नाफा कमाउने स्वार्थद्वारा निर्देशित हुन्छ । यो नितान्त निजी  स्वार्थतर्फ परिलक्षित हुन्छ । उदार पुँजीवादमा असीमित नाफाको अलवा असीमित निजी स्वतन्त्रता, सुखसयल र छाडापन हाबी हुन्छ । सार्वभौमतः स्वार्थहरु अमानवीय र कैफियती हुन्छ । यस्तो आर्थिक सम्बन्धले महासङ्कटलाई परास्त गर्न सक्दैन । कोभिड–१९ विरुद्धको युद्धमा पनि राज्य नियन्त्रित र उदारवादी अर्थतन्त्र मध्ये कुन अर्थनीति प्रभावकारी रह्यो भन्ने सवाल जगजाहेरैछ । त्यसैले अबको विश्वमा निजी नाफामा मात्र लिप्त हुने आर्थिक पद्धति होइन राज्य नियन्त्रित सामाजिक एवं सामूहिक अर्थव्यवस्था अपरिहार्य देखिन्छ । तब मात्र सङ्कटको बेला नाफा–घाटा नहेरी सेवाभावको साथ तुरुन्तै व्यापक स्रोत–साधन परिचालन गर्न सकिन्छ । 

      सांस्कृतिक तथा सामाजिक प्रभावः कोभिड–१९ को सङ्क्रमणपछि उपभोगवादी र अनुत्पादक सांस्कृतिक तथा सामाजिक आडम्बरपूर्ण गतिविधिहरुमा कमी आएको छ । मूलतः राजनीतिले अर्थतन्त्रको चरित्र निर्धारण गर्दछ । यसैगरी अर्थराजनीतिले सांस्कृतिक चरित्रलाई दिशानिर्देश गर्दछ । आजको विश्व राजनीति दलाल पुँजीवादद्वारा निर्देशित उद्धार लोकतन्त्रमा आधारितछ । यसको सार पक्ष नाफाको लागि विश्व बजार कब्जा गर्ने एकाधिकार चरित्रको हुन्छ । अझ यसले विपन्न मुलुकहरुसँग नाफा–घाटाका लागि दलाली पनि गर्दछ । त्यसैले यसलाई दलाल एकाधिकार पुँजीवाद पनि भनिन्छ । यस्तो अर्थराजनीतिद्वारा निर्देशित समाजको सांस्कृतिक तथा सामाजिक पक्ष पनि ‘जसो–जसो बाजे उसै–उसै नाति’ भनेझै हुन्छ । तब वर्तमान विश्वको सांस्कृतिक तथा सामाजिक पक्ष अवश्य नै उपभोगवादी, भौतिक सुविधाभोगी, आडम्बरी, ढोँगी, तडक–भडक र औपचारिकतामा आधारित हुन्छ । यस्तो संस्कृति अनुत्पादक मात्र हुँदैन । समाजमा भ्रष्टाचार, अपराध र दलाली जस्ता विकृति–विसङ्गतीहरुलाई प्रश्रय दिने गर्दछ । यसले उन्नत, सभ्य तथा अनुशासित संस्कार संस्कृति सिकाउँदैन । स्वतन्त्रता र नागरिक अधिकारको नाममा उपभोग र रस–रङ्गको जीवनशैली अङ्गीकार गर्दछ जसले अन्ततः छाडा र अराजकतामा धकेलिदिन्छ । राष्ट्रिय सङ्कटको बेला यस्तो आडम्बरी र अनुत्पादक सामाजिक तथा सांस्कृतिक सम्बन्धहरु सहयोगी हुँदैन । त्यसैले कोभिड–१९ले हामीलाई यसबारेमा पनि नयाँ तरिकाले सोच्न बाध्य पारेको  देखिन्छ ।

     रणनीतिक प्रभावः यो महामारीले संसारैभरी बहुआयमिक प्रभाव पारिरहेको छ । विश्व व्यवस्था नै खल्बलिने खतराछ । विशेषतः यसले चीन र अमेरिका बीचको शक्ति सङ्घर्षको परम्परागत भाष्यमा फेरबदल ल्याउने देखिन्छ । रणनीतिक शक्ति सन्तुलनमा प्रभाव पर्नेछ । प्रारम्भमा उनीहरु कोभिड–१९ कै सन्दर्भमा निकृष्ट  छेड–छाड र आरोप–प्रत्यारोपमा उत्रिए । यहाँसम्म कि चीनले वुहानमा सम्पन्न सैन्य खेलकुदमा अमेरिकी सेनाले भाइरस छाडेको आरोप लगायो । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यो प्राकृतिक नभएर चिनियाँ भाइरस हो भनेर टिप्पणी गरे । त्यसो त विज्ञहरुले पनि यसलाई जैविक अस्त्र भनेर दाबी गरीरहेका छन् । शक्ति राष्ट्रहरु बीचको नयाँ किसिमको रणनीतिक शक्ति सङ्घर्ष भइरहेको परिप्रेक्ष्यमा अबको अध्याय विषाणु युद्धतर्फ परिलक्षित हुने खतरालाई  नजरअन्दाज गर्न सकिन्न । यो मानव निर्मित जैविक हतियार हो या प्राकृतिक विषाणु ढिलो–चाँडो पुष्टि हुनेनै छ । यद्यपि यसले अमेरिकी दम्भ र घमण्डको पारोलाई खुम्च्याइदिएको छ । दुई हप्ताअघिसम्म चिनलाई यो वा त्यो आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्प यतिखेर घाममा सुकाइएको साग जस्तो भएको छ । चीनसँग सहयोगका लागि अनुनय विनय गर्दैछ । यता चीन पनि मानवीयता प्रदर्शन गर्दै मौकामा हिरा फोर्ने नीति अन्तर्रगत विश्वव्यापी पहलकदमी लिने दाउमा देखिन्छ । उसले अमेरिका र युरोपको विभिन्न मुलुकहरुमा स्वस्थ्य सामग्री र विज्ञहरुको टोली पठाइसकेको छ । यसरी विश्वको अन्य शक्ति राष्ट्रहरु महामारीको चपेटामा रुमलिरहँदा चीनले चौतर्फी सहयोगी भूमिका निभाउन सक्यो भने उसको प्रभाव, पकड र प्रभुत्व विस्तारको सकरात्मक थालनी यही विन्दुबाट हुनेछ । यद्यपि उसलाई पनि महामारीको खतरा अझै जीवितैछ साथै विश्वव्यापी आर्थिक महामन्दीको भुङ्ग्रोमा पर्दैन भन्ने बलियो आधार छैन । 

निष्कर्षः
     वस्तुतः कोभिड–१९ ले समग्र विश्वमा पारेको प्रभाव, धन–जनको नोक्सानी, दुख–हैरानी र पीडाहरुको हिसाब गर्दा यो परमाणु युद्धभन्दा धेरैगुणा खतरा देखिन्छ । यो महामारी मानव सभ्यताकै साझा दुस्मन हो । यसले हालसम्म स्थापित गराइएका मूल्य–मान्यताहरुको पुनरव्याख्या, पुनरमूल्याङ्कन र पुनरसंयोजन गर्नैपर्ने ठाउँमा ल्याइदिएको छ । आजको उद्धार पुँजीवादद्वारा निर्देशित राजनीति, अर्थतन्त्र र  संस्कृतिको विकल्प बारे सोँच्न बाध्य पारेको छ । यसअतिरिक्त भूमण्डलीकृत विश्वलाई चुनौती दिएको छ । दम्भ, घमण्ड र मपाइँत्वको अन्त्य गरेको छ । कथित महाशक्तिको श्रीपेचहरु ढालिदिएको छ । यसैगरी विश्वको रणनीतिक शक्तिसन्तुलन र ध्रुवीकरणको कोर्स पनि परिवर्तन हुने सम्भावना छ । राज्य नियन्त्रित बलियो समाजवादी अर्थतन्त्रको अपरिहार्यताको सन्दर्भमा स्वयं उदारवादी पण्डितहरुलाई समेत सोच्न बाध्य पारिरहेको छ । 

     नेपालीहरु पनि परनिर्भर वा मगन्ते मानसिकताबाट मुक्त हुँदैछ । धनी मुलुकहरुमा जाने चरम मोह भङ्ग गर्दैछ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको टड्कारो विकल्प खोज्दैछ । राष्ट्रिय स्तरमै बाँझो जग्घाहरु आवाद गर्दै कृषि पेसामा लाग्ने उत्प्रेरणा प्रदान गर्दैछ । स्वदेशमै साना–साना स्वरोजगार उद्यम गर्नेतर्फ सबैको आकर्षण बढाउँदैछ । आत्मनिर्भरताको लागि पारिवारिक व्यवसायहरु खोल्न प्रेरित गर्दैछ । त्यति मात्र होइन, दिगो आर्थिक विकासका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माण प्राथमिक सर्त हुने वस्तुगत आवश्यकताको महसुस हुँदैछ । कोभिड–१९ ले डिजिटल प्रविधिलाई अनिवार्य बनाउँदैछ । तर उपर्युक्त सकरात्मक सम्भावनाहरुलाई चुम्नको लागि सबै एक भएर कोभिड–१९ विरुद्धको लडाइँ जसरी पनि जित्नु सर्वाधिक मुख्य सवाल हो । यसमा हामी असाध्यै गम्भीर भएर सबैखाले सावधानीहरु अपनाउनुको अर्को विकल्प छैन । आशा गरौँ ! विजयोत्सवको माहौलसँगै उदार लोकतन्त्रको औचित्य माथिको नयाँ बहस तीव्र हुनेछ । तब यसैको चिहानमा समाजवादी सत्ताको भ्रूणहरु जन्मनेछन् ।        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप