आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालका लागि अझै टरेको छैन खतराको घण्टी

शनिबार, १३ वैशाख २०७७, १० : १२
शनिबार, १३ वैशाख २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरणका लागि सैद्धान्तिक सहमति गरेर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । एक वर्ष अगाडी एकीकरण भइ बनेको समाजवादी पार्टी र तीन वर्ष अगाडि छवटा दल मिलेर बनेको राजपा नेपालभित्रै समायोजनले पूर्णता नपाएको अवस्थामा दुई दल अपसमा मिल्नुले एकतालाई झन् पेचिलो बनाउने देखिएको छ ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल गठन गरेको थियो । अशोक राई नेतृत्वको तत्कालिन समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरम नेपालबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपालका विभिन्न संगठनबीच समायोजन चलिरहेकै बेला सो पार्टीले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकीकरण गरी समाजवादी पार्टी बनाएको थियो । अहिले यी दुई दलबीच समायोजनको प्रक्रिया चलिरहेकै बेला राजपा नेपालसँग एकीकरण भएको छ ।

देश लकडाउनमा नै रहेको बेला सरकारले आकस्मिकरुपमा दल बदल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्यो । त्यसले संसदमा रहेका सबै दललाई झस्कायो । समाजवादी पार्टी त फुट्ने तयारीमा अवस्थामा नै पुग्यो । राजपा नेपालको पनि त्यही अवस्था तयार भयो । पार्टी फुट्ने अवस्था भएपछि यी दुई दल एकीकरणका लागि तयार भए र एकीकरणको घोषणा भयो ।

यी दुई दलको इतिहास हेर्दा उनीहरु कहिले पनि स्थिर रहेको देखिँदैन । मधेशी जनअधिकार फोरम र त्यसभन्दा अघि गठन भएको नेपाल सद्भावना पार्टी यी दुवै दलको गठन भएदेखि आजसम्मको यात्रा उचारचढावले भरिहेको छ । टुटफुटको समस्या पहिलादेखि झल्दै आएका यी दुवै पार्टीले यत्रो समय आफ्नो आन्तरिक व्यवस्थापनमा नै समय खेर फाल्यो र अहिले पनि त्यही अवस्था छ ।

राजनीतिक विश्लेषक एवं पूर्व राजदूत विजयकान्त कर्णले भन्छन्, ‘यी दुवै दलले गठन भएदेखि नै आफूलाई व्यवस्थान गर्नमा समय बिताए । तर, उनीहरु कहिले पनि व्यवस्थित हुन सकेनन् । अगामी दिनमा नयाँ एकीकृत पार्टीका लागि यो नै सबभन्दा ठूलो चुनौती रहनेछ ।’ फोरम नेपाल शुरुमा टुटफुटबाट अक्रान्त थियो । त्यसपछि अशोक राइको पार्टीसँग एकीकरण गरी व्यवस्थित हुन नपाउँदै डा.भट्टराई नेतृत्वको पार्टीसँग एकीकरण भयो । र, फेरि राजपा नेपालसँग जोडियो । राजपा नेपालको पनि अवस्था त्यही नै छ । दुवै पार्टी आफूमा पार्टी नै हुन नसकेको कार्णले टिप्पणी गरे ।

नेता व्यवस्थापन

नयाँ पार्टी अर्थात् जनता समाजवादी पार्टी (जसपा) नेपालको सबभन्दा ठूलो चुनौती भनेको नेता तथा कार्यकर्ता व्यवस्थापन नै हो । यो पार्टीले आफूलाई जति राष्ट्रिय पार्टी भने पनि यसको आधार क्षेत्र मधेश नै हो । तत्कालिन समाजवादी पार्टीले आफ्नो पार्टीको संगठन देशै भर रहेको दावी गरे पनि उसको देखिने गरि मधेशमा मात्र संगठन रहेको छ । त्यस्तै तत्कालिन राजपा नेपालको पनि त्यही अवस्था छ । ।

मधेशमै संगठन भएको कारणले सो दलका सबै नेताको आकर्षण मधेशमा मात्र देखिएको छ । त्यो पनि प्रदेश २ मा मात्र । अशोक राई, डा. बाबुराम भट्टराईबाहेक जसपाका जति पनि शीर्ष नेताहरु रहेका छन्, ती सबै प्रदेश २ का नै रहेका छन् । त्यति मात्र होइन, अधिकांश पदाधिकारीहरु पनि प्रदेश २ का नै रहेका छन् । यी सबैलाई व्यवस्थापन गर्नु जसपाका लागि ठूलो चुनौती हुनेछ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भन्छन्, ‘समाजवादी पार्टी र राजपा नेपाल अर्थात् अहिलेको जसपामा जति पनि नेताहरु हुनुहुन्छ, सबै निकै महत्वकाँक्षी हुनुहुन्छ । ती नेताहरुले आफ्नो जितका लागि जे पनि गर्न तयार हुने खालका हुनुहुन्छ । जसलाई व्यवस्थापना गर्न निकै समस्या हुनेछ ।’

तत्कालिन समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय कमिटीमा २४ जना पदाधिकारी नै छन् । त्यस्तै तत्कालिन राजपा नेपालको ७९४ सदस्यीय केन्द्रीय कमिटीमा १३५ जना पदाधिकारी रहेका छन् । अर्थात अहिलेकै हिसाब हेर्ने हो भने जसपा नेपाल एकहजार २२५ सदस्यीयको केन्द्रीय कमिटी हुन जान्छ जसमा १६० जना त पदाधिकारी मात्र छन् । तत्कालिन राजपा नेपालमा ६ जनाको अध्यक्षमण्डल रहेको थियो भने समाजवादी पार्टीमा पनि दुईजना अध्यक्ष थिए । यसरी हिसाब गर्दा आठजनाको त अध्यक्षमण्डल नै हुने भयो ।

यद्यपी राजपा नेपालका राजकिशोर यादव र अनिलकुमार झा नयाँ पार्टी जसपा नेपालमा आउने हुन् कि होइन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

मधेश मामिलाका जानकार तुलानारायण साहको बुझाइ अलि फरक छ । उनी भन्छन्, ‘पार्टीका नेता तथा कार्यकर्ता कसरी व्यवस्थापन हुन्छ भन्ने कुरा ठूलो होइन । यो समस्या नेकपा पनि छ, नेपाली काँग्रेसमा पनि रहेको छ । यो कुनै पनि पार्टीका लागि नियमित प्रकृया हो । अबको दिनमा जसपा नेपाल राजनीतिक तथा सामाजिक रुपमा कसरी अगाडि बढ्छ त्यो मुख्य कुुरा हो ।’

तर विश्लेषक लालले भने मधेशवादी दलमा मुख्य समस्या नै नेता तथा कार्यकर्ताको व्यवस्थापन रहेको जिकिर गर्छन् । ‘नेकपा र काँग्रेसमा त्यस्तो समस्या भएपनि ती दलहरुले कुनै नकुनै रुपमा त्यसलाई व्यवस्थापन गरेको देखिन्छ । तर मधेशवादी दलहरुमा त्यो अवस्था छैन,’ उनले भने ।

उनले सानो–सानो विवादले पार्टी विभाजनका अवस्था पटक–पटक आएको र पछिल्लो समय पनि समाजवादी पार्टीको आन्तरिक विवादका कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको हुनाले जसपा नेपालका लागि यो विषय सधैँ ठूलो चुनौती रहेको टिप्पणी गरे ।

तत्कालिन राजपा नेपालका सह–अध्यक्ष लक्ष्मण लाल कर्णले जसपा नेपालका लागि नेता तथा कार्यकर्ता व्यवस्थापन चुनौती भएपनि सबै विस्तारै समाधान हुने आशा व्यक्त गरे । उनले भने, ‘पार्टी एकीकरणका लागि धेरै पहिलादेखि झमेला भइरहेको थियो तर एउटा यस्तो झट्का लाग्यो जसले सबैलाई एक ठाउँमा आउन बाध्य पार्यो । नेता तथा कार्यकर्ता व्यवस्थापनमा पनि त्यही हुन्छ, सबै कुरा मिल्दै जान्छ ।’

यद्यपी शीर्ष नेताहरुले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने अवस्था रहेको उनले बताए । नेताहरुको कार्यशैलीमा सुधार नआए नेता तथा कार्यकर्ताको व्यवस्थापनमा चुनौती आउने उनले बताए ।

शासकीय स्वरुप र निर्वाचन प्रणाली

तत्कालिन समाजवादी पार्टी कार्यकारी राष्ट्रपतिका पक्षमा थियो भने राजपा नेपाल (संसदीय व्यवस्था)  प्रधानमन्त्रीय प्रणालीमा थियो । अब यी दुवै दल मिलेपछि कुन प्रणालीमा जाने निर्णय हुन्छ, त्यो हेर्न बाँकी छ । राजपा नेपालका अध्यक्षमण्डलका एकजना सदस्यले भने, ‘उपेन्द्रजी पनि प्रधानमन्त्रीय प्रणालीमा नै आउनु हुन्छ भने विश्वास लागेको छ ।’ कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ जुन अहिले सम्भव नभएको र अब अर्को पटक चुनाव भएपछि कसको कस्तो बहुमत आउँछ, त्यसबाट नै कुन प्रणालीमा जाने जाने विषयमा टुङ्गो लाग्ने उनले बताए ।

तर तत्कालिन राजपा नेपालका सहअध्यक्ष कर्ण भन्छन्, ‘यदि सबै कुरामा सहमति भयो भने यो शासन प्रणाली कस्तो हुने विषयमा कुरा मिलाउन त्यति गाह्रो हुने छैन । दुई दलका नेताबीच छलफल भयो भने यो पनि टुङ्गिने विषय नै हो ।’

निर्वाचन प्रणालीमा पनि दुई दलको बीचमा कुरा मिलिरहेको थिएन । समाजवादी पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने अडानमा थियो भने राजपा नेपालले अहिले रहेको मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने धारणा अडिग थियो । दुई पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि यी विषयलाई एकीकरणपछिको महाधिवेशनको एजेन्डा बनाएर राख्ने राजपा नेपालले यसअघि नै प्रस्ताव गरेको थियो । यी विषय पनि जसपा नेपालका लागि चुनौती हुने देखिन्छ ।

वैकल्पिक शक्ति

समाजवादी पार्टी होस् या नयाँ शक्ति, राजपा नेपाल होस् या अहिले बनेको जसपा नेपाल, यी दहरुले आफूलाई देशको वैकल्पिक शक्तिको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । तर मूलधारको राजनीतिमा आफूलाई विकल्पका रुपमा कहिल्यै उभ्याउन सकेन । १२ वर्षको इतिहास रहेको यी दलहरुले देशमा विकल्प दिन सकेनन् ।

जसपा नेपाल गठन हुने बित्तिकै नेताहरुले फेरि यो पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउने उद्घोष गरेका छन् । तर के यो सम्भव छ त ?

यिनै नेताहरुबाट देशका ठूला दललाई विकल्प दिन नसक्ने विश्लेषक लालको बुझाइ छ । यो पार्टी आउने चुनावसम्म दुरुस्त रह्यो भने देशको तेस्रो ठूलो पार्टी हुने तर विकल्प भने दिन नसक्ने उनको टिप्पणी छ । ‘नेताहरु टेस्टेड छन् । विगतमा सत्ताका लागि के के गरे ती सबैका सामु छर्लङ् छ।  आउने दिनमा उहाँहरुले त्यही कुरा फेरि गर्नुहुन्न भने ग्यारेन्टी छैन,’ उनले भने, ‘वैकल्पिक शक्ति बनाउनका लागि सबभन्दा ठूलो कुरा त्याग हो । जुन यी नेताहरुमा देखिँदैन । सत्ता र कुर्सीका लागि जे पनि गर्न पछि नहट्ने नेताले देशमा विकल्प दिन्छ भनि विश्वास गर्ने आधार छैन ।’

विश्लेषक कर्णको पनि त्यही बुझाइ रहेको छ । उनी भन्छन्, ‘अशोक राई, डा.बाबुराम भट्टराइका कारण पार्टीले हिमाल, पहाडमा पनि संगठन विस्तार गर्न सक्छ, तर यसको आधार क्षेत्र भनेको मधेश नै हुनेछ । जबसम्म देशैभरिबाट पार्टीलाई मत प्राप्त हुँदैन तबसम्म विकल्प दिन सक्दैन । मधेशको मतले मात्र जसपा नेपालाई वैकल्पिक शक्ति बनाउन सक्दैन ।’

‘बरु दुई दल मिलेपछि यो देशको एउटा शक्ति बन्यो । अब पहिला जस्तो यसलाई हेप्न सक्दैन, नजर आन्दाज गर्न सक्दैन । एउटा शक्तिको रुपमा स्वीकार गर्ने अवस्था अवश्य आउँछ,’ उनी भन्छन्, ‘तर यही र यस्तै अवस्थामा नेकपा र काँग्रेसको विकल्प दिन सक्दैन ।’

सत्ता र सरकारको भय

जसपा नेपालका लागि सरकार र सत्ताको भय कायमै रहने नै भयो । समाजवादी पार्टीलाई सरकारकै तर्फबाट फुटाउने प्रयास भएको कुरा बाहिर आइसकेको छ । र, यो प्रयास पछि पनि हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन । जसपा नेपालले पूर्णता पाइसकेपछि यो खतरा सो दलका लागि कायम रहने नै भयो ।

सो पार्टीका नेताहरु सत्ता र कुर्सीका लोभी छन् । त्यसलाई उपयोग गर्न राज्य संयन्त्रले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्नेछ । विश्लेषक कर्णले भन्छन्, ‘जसपा नेपालका लागि खतरा टरेको छैन । नेकपाको नेतृत्वमा सरकार छ, नेकपाले जहिले पनि यो शक्तिलाई कमजोर बनाउन चाहनेछ । त्यसैले आज समाजवादी पार्टी फुट्नबाट जोगाए पनि अब केही हुँदैन भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।’

दुई पार्टीमा असन्तुष्ट नेताहरु छन् । उनीहरुको असन्तुष्टिलाई समाधान वा व्यवस्थापन गर्न सकिएन भने बाटो खोज्नसक्छन् । अरु पार्टीमा जान सक्ने सम्भावना धेरै हुनसक्छ । अब जसपा नेपालबाट निस्किने नेताहरु कि त नेकपामा जान्छन् कि त काँग्रेसमा जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप