शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका : संक्रमित बढे, आइसोलेशन बढेन

बल्ल आइसोलेशन विस्तार गरेर ६ हजार पुर्‍याउन सरकारको तयारी
बिहीबार, ०४ भदौ २०७७, २१ : १६
बिहीबार, ०४ भदौ २०७७

कोरोनाभाइरसको हटस्पटको रुपमा विकसित हुँदै गरेको उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनको व्यवस्था गर्ने काममा भने सरकार नराम्ररी फेल खाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो सातासम्म ३९ हजार सक्रिय संक्रमित हुन सक्ने प्रक्षेपण गरेको थियो । दुई महिना अघिदेखि ३९ हजार सक्रिय संक्रमित हुन सक्ने प्रक्षेपण गरेर स्वास्थ्य पूर्वाधारको तयारी गरेको भनिएको स्वास्थ्य मन्त्रालय पछिल्लो समय ११ हजार ६ सय ८१ सक्रिय कोरोना संक्रमित हुँदा उपत्यकामा बिरामीलाई व्यवस्थापन गर्न सकस परेको छ । स्वास्थ्य मन्त्रालयले गरेको सक्रिय संक्रमितको प्रक्षेपण र स्वास्थ्य पूर्वाधारको तयारीले फेल खाएको जनस्वास्थ्यविद्ले बताउन थालेका छन् ।

काठमाडौं उपत्यकाका दिनहुँ संक्रमितको संख्या तिव्ररुपमा बढ्दै गएको छ । बिहीबार मात्रै उपत्यकामा २०० संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उपत्यकालगायत देशभरमै संक्रमतिको संख्या बढेसँगै बेडको आभाव हुन थालेको छ । 

स्वास्थ्य पूर्वाधारको तयारी गरेको भए साढे ११ हजार संक्रमित हुँदा बेडको हाहाकार हुने थिएन होला । सही समयमा सही व्यवस्थापन नहुँदा अहिले बेडको अभाव हुन थाल्यो : डाक्टर रविन्द्र पाण्डे


सरकारले सक्रिय संक्रमितको प्रक्षेपण गरेअनुसार व्यवहारिक रुपमा स्वास्थ्य पूर्वाधारको तयारी गर्न नसकेको जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डे बताउँछन् । ‘स्वास्थ्य पूर्वाधारको तयारी गरेको भए साढे ११ हजार संक्रमित हुँदा बेडको हाहाकार हुने थिएन होला,’ उनले भने, ‘सही समयमा सही व्यवस्थापन नहुँदा अहिले बेडको अभाव हुन थाल्यो ।’

कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्दै जाँदा संक्रमितलाई व्यवस्थापन गर्न सरकारलाई गाह्रो हुन थालेको छ । उपत्यकामा कोरोना उपचारको लागि तोकेका कोभिड अस्पताल तथा अन्य अस्पतालमा संक्रमितका लागि छुटाइएको बेड भरिएपछि  व्यवस्थापन तथा उपचार गर्न नसकिने अस्पतालहरूले बताउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले भदौ पहिला सातासम्म ३९ हजार जना सक्रिय संक्रमित हुन्छन् भनेर प्रक्षेपण गरेपछि कम्तीमा करिब ४ हजारजना संक्रमितलाई अस्पतालको आवश्यकता पर्न सक्छ भनेर आइसोलेसन, आईसियू भेन्टिलेटर जनशक्ति व्यवस्थापनको खाँचो पर्थ्यो । ‘जनघनत्व बढी भएको राजधानीमा कोरोना संक्रमण सम्हाल्न नसक्ने स्थितिमा नपुग्दै स्वास्थ्य पूवार्धारको अभाव हुन नदिन लागि स्वास्थ्य मन्त्रालयले संक्रमणको दरको प्रक्षेपण र सही रणनीति बनाउन जनस्वास्थ्यविद्को सल्लाह लिएर अगाडि बढ्नुपर्ने’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

कोरोना नियन्त्रण, पहिचान र व्यवस्थापनको लागि सरकारलाई सल्लाह सुझाव दिने जनस्वास्थ्य विज्ञ सरकार, पार्टी निकटका भएकाले सही कामलाई सही र गलत कामलाई गलत नभनिदिँदा महामारीको वर्तमान अवस्थालाई समेत आंकलन र व्यवस्थापन गर्न मन्त्रालय चुकेको छ : डाक्टर समीरमणि दीक्षित


‘सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नेबारे आफू निकटका जनस्वास्थ्य विज्ञको कुरा मात्रै सुनेको’ डाक्टर दीक्षितको बुझाइ छ ।  ‘कोरोना नियन्त्रण, पहिचान र व्यवस्थापनको लागि सरकारलाई सल्लाह सुझाव दिने जनस्वास्थ्य विज्ञ सरकार, पार्टी निकटका भएकाले सही कामलाई सही र गलत कामलाई गलत नभनिदिँदा महामारीको वर्तमान अवस्थालाई समेत आंकलन र व्यवस्थापन गर्न मन्त्रालय चुकेको’ उनी बताउँछन् । ‘महामारी नियन्त्रण, पूर्वाधारको व्यवस्थापन र भविष्यमा आउन सक्ने जोखिमको बारेमा स्वास्थ्य मन्त्रालयको काम गर्ने शैलीलाई सकारात्मक तरिकाले आलोचना गर्ने विज्ञहरूको सुझाव सल्लाहलाई समेटेर काम नगरेको’ डाक्टर दीक्षित बताउँछन् ।

काठमाडौं उपत्यकामा पर्याप्त कोभिड अस्पताल तथा आइसोलेशन केन्द्रहरू नहुँदा आफैं अस्पताल पुगेका संक्रमितलाई समेत फर्काइएका छन् । ‘दुई महिनाअघि मन्त्रालयले गरेको प्रक्षेपणले फेल खाएसँगै भविष्यमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएमा के गर्ने, वर्तमान समयमा के गर्ने र संक्रमितको संख्या बढ्दै गएमा कसरी अगाडि बढ्ने भन्ने कुराको सही गुरुयोजना नभएको’ डाक्टर पाण्डे बताउँछन् । ‘सरकारले क्वारेन्टिन, आइसोलेसन विस्तार समयमै गर्न नसक्दा हाल समस्या देखिएको’ उनले बताए ।

लकडाउन खुकुलो भए पनि संक्रमणको जोखिम उत्तिकै छ भनेर जनता माझ जनचेतना फैलाउन नसक्दा र   उपत्यका बाहिरबाट आउने मानिसमा राज्यले निगरानी नराख्दा राजधानी झन उच्च जोखिममा  परेको हो । काठमाडौं उपत्यका उच्च जोखममा छ भनिरहँदा समयमै वर्तमान अवस्था आउन सक्छ भनेर आंकलन गरी तैयारी गर्न नसक्दा परीक्षण, स्वास्थ्य पूर्वाधारको अभाव भएको विज्ञहरुको भनाइ छ ।

उपत्यकामा  हाल सम्म १२ सय आइसोलेशन बेड रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ४ सय ५४ वटा आइसियू छ भने २ सय वटा भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा संक्रमितको संख्या बढेसँगै आइसोलेशन  विस्तार गरेर ६ हजार पुर्‍याउन तयारी थालेको प्रवक्ता डाक्टर गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप