सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा जब धुवाँको मुस्लो दन्कियो...

बुधबार, ०४ चैत २०७७, १९ : ३१
बुधबार, ०४ चैत २०७७

पोखरा । पोखराको आकास बुधबार अपरान्ह ढकमक्क कालो बादलजस्तो धुवाँको मुस्लोले ढाकिएको थियो । केही दिनदेखि नियमित जस्तो बर्षा भइरहेकाले पानी पर्ने लख काट्दै थिए पोखरेलीहरु । मुसलधारे वर्षा हुनलाई आकास अँध्यारो भएको भन्दै अघिपछि भन्दा अगाडिनै घरभित्र पसेकी नाग ढुङ्गाकी जमुना पोखरेल घरबाट सामुन्ने रहेको पोखरा विमानस्थलमा अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिइन् । घर वरपरका छिमेकीलाई विमास्थलमा आगलागी भएको भन्दै हारगुहार गर्न थालिन् ।

हारगुहारसँगै बाहिर निस्किएका वरिपरिका मानिसहरु पनि आत्तिए । कसैले बरुण यन्त्रलाई त कसैले प्रहरीलाई फोन गर्न थाले । विमानस्थलभित्र ठूलै दुर्घटना भएको उनीहरुले अनुमान लगाए । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरू दौडन थाले । वरिपरिको वातावरण कोलाहल पूर्ण बन्दै गएपछि एयरपोर्ट वरिपरिका मानिसहरुले शंका गरे कि यतिका कोलाहल भएपछि आज विमानस्थलभित्र अप्रिय घटना भयो ।

वास्तवमा उनीहरु सबैको अनुमान गलत थियो । यो त हवाईजहाजको आपतकालिन उद्दार सम्बन्धि गरिएको अभ्यास थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मी क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यासको आयोजना गरेको थियो ।

बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमुनाको रुपमा जहाज दुर्घटना गराइयो । त्यसपछि उक्त जहाजमा आगलागी पनि भयो । आगो निभाउनका लागि दमकलको सहारा लिइयो । त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुडे । यी सबै घटना नमुनाको रुपमा गरिएको थियो । 

अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिएका थिए । यसको पूर्व तयारी अन्तर्गत सोमबार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको थियो । कुनै पनि बेला भइपरी आएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्यास गरिएको हो ।

आपतकालीन उद्धारको अभ्यास हुँदैछ भनेर थाहा नपाउनेलाई विमानस्थलमा कतै दुर्घटना नै भएको हो कि भन्ने पर्न सक्छ भन्दै मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको थियो । उद्दार अभ्याससँगै चारदिने विपद् उद्धारकर्मी क्षमता विकास तालिमको समापन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप