बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गीत–सङ्गीतमा जम्दै ‘रवीन्द्र’

सोमबार, ३१ वैशाख २०८१, १० : ३०
सोमबार, ३१ वैशाख २०८१

विराटनगर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर २ वाछाका रवीन्द्र राई गीत–सङ्गीतमा जम्ने प्रयासमा छन् । २०६६ सालदेखि सांगीतिक यात्रा सुरु गरेका उनले शास्त्रीय सङ्गीत सिकेका छन् । हालसम्म उनले २० वटासम्म गीत रेकर्ड गरेको सुनाए । इमेज अवार्ड, हिट्स अवाड, म्यूजिक अवार्ड पाइसकेका रवीन्द्रले एउटै गीतमा ३६५ जनाले गाएको गीतमा गिनिज रेकर्ड पनि पाएका छन् । रेडियो कान्तिपुरमा आर्टिस्ट अफ द मन्थ लगायतका उपाधि पाएका उनका थुप्रै नयाँ गीत रेकर्ड हुँदै गएको सुनाए । 

सानैदेखि सुरिलो स्वरमा गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाउने क्षमता उनमा छ । उनले आफ्नो प्रतिभा प्रस्तुत गरी पूर्वका विभिन्न सहरहरूमा भएका गायन प्रतियोगितामा पहिलो भई थुप्रै पुरस्कारसमेत जितेका छन् । काठमाडौँ बसेर सङ्घर्ष गरिरहेका गायक राईले आफ्नो एकल स्वरमा ‘सम्भावना’ एल्बम बजारमा ल्याएका छन् । म्युजिक भिडियोसमेत रहेको ‘त्यो छुट्ने दिन’ बोलको गीत युट्युबमा १ लाख बढीले हेरेका छन् । म्युजिक भिडियोमा सुरजसिंह ठकुरी र बेनिशा हमालले अभिनय गरेका छन् । 

कलाकारिता क्षेत्रमा झन्डै दुई दशक बिताइसकेका राईको आगामी दिनमा पनि सङ्गीतमा लाग्ने योजना छ । सुगम सङ्गीत र आधुनिक गीत गायनमा दखल राख्ने राई नेपालमा गीत सङ्गीतको क्षेत्र भाइरल र कमसल शब्द सङ्गीतले बजार लिएकोमा चिन्तित देखिन्छन् । चटपटे खालका गीत सङ्गीत भन्दा शास्त्रीय सङ्गीतको महत्त्व धेरै हुने उनको भनाइ छ । 

गीत सङ्गीतको क्षेत्रमा लागेर निरन्तर टिक्न धेरै कठिन छ । गाउँबाट उठेर सङ्गीतको यो उचाइ प्राप्त गर्न झनै चुनौतीपूर्ण छ । उनले गीत सङ्गीतको क्षेत्रमा लागेर गरेका दुःख र केही सङ्घर्षका कथाहरू धेरै छन् । ‘सङ्गीत क्षेत्रमा जम्न अहिलेको समयमा गाह्रो पनि छ र जम्न नसकिने पनि हैन त्यसको लागी मेहनत र निरन्तरता चाहिन्छ । क्षमता त अनिवार्य सर्त भई हाल्यो,’ उनी भन्छन्, ‘तर आजभोलि अलि भाइरल र कमसल शब्द–सङ्गीतले बजार लिएको देखिन्छ । त्यस्तो चटपटे सङ्गीतले गर्दा अलि अध्ययन र साधना गरेको कलाकार छायामा पनि परेको छ ।’

पछिल्लो समय सार्वजनिक भएको र तिलक सिंह पेलाले गाएको ‘के लत बस्यो मलाई’ बोलको शास्त्रीय गीत भाइरल भयो । वर्षौँपछि पेलाले गाएको यो गीतको मधुरता र मिठास आम मानिसलाई मन पर्ने खालको थियो । त्यस्तै लामो सङ्घर्ष पछि आफ्ना गीत–सङ्गीतमा गरेको मेहनतलाई आम मानिसले अँगाल्ने उनले विश्वास लिएका छन् । 

भोजपुरको विकट गाउँमा जन्मिएका उनलाई सुरुमा यो क्षेत्रमा टिक्न निक्कै समस्या भयो । तर, मेहनत र सङ्घर्ष गर्दै आफू अगाडि बढिरहेको उनी सुनाउँछन् । ‘समग्रमा भन्नुपर्दा सङ्गीतको यात्रामा सारो गाह्रो आई परेपनि निरन्तरता अनिवार्य चाहिन्छ । गाउँबाट आएर सङ्घर्ष गर्न निकै कठिन थियो र अझै पनि छ । किनकी परिवारिक वातावरणमा यो क्षेत्रमा कोही थिएन,’ उनी भन्छन् ।

सङ्गीतले उनको जीवन यापनमा धेरै परिवर्तन ल्याउन सकेको पनि छैन । तर, उनी निरन्तर यो क्षेत्रमा लागिरहने बताउँछन् । ‘जीवन यापन जसोतसो चलेकै छ अझै राम्रो गर्न सके धेरै राम्रो पनि हुन्छ भन्ने विश्वासमा छु,’ उनले भने । सुरुवाती चरणमा घर, गाउँका साथी भाइहरूले पनि यो क्षेत्रमा लागेर के नै पो हुन्छ र भन्ने गर्दथे । तर, अहिले सकारात्मक प्रतिक्रिया पाउन थालेको उनको भनाइ छ । ‘घर, परिवार र समाजले पहिलेको तुलनामा केही सकारात्मक सोचाइ राख्न थालेको छ । तर यो क्षेत्रमा पेसागत रूपमा अझै समाजले स्वीकार गरिसकेको स्थिति छैन । मलाई मेरो क्षमताअनुसार अझै चल्नु पर्ने हो । अझै दर्शक माझ नपुगेको हो कि भन्ने छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप