शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकै पहिलो अर्थव्यवस्था किन बन्दैछ चीन ?

सोमबार, ३१ वैशाख २०८१, १० : ०६
सोमबार, ३१ वैशाख २०८१

आरम्भ 
नेकपा माओवादी केन्द्रको तीस सदस्यीय प्रतिनिधि मण्डल चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक विभागको आमन्त्रणमा चीनको अध्ययन भ्रमणमा २०८१ साल वैशाख ५ गते ‘चाइना एयर’ बाट दिनको ११.४० बजे छेन्दु सहरका लागि प्रस्थान गर्‍यो । लगभग साढे तीन घण्टाको उडानपछि छेन्दु सहरमा ओर्लिएर केही समय विश्रामपछि पुनः चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्‍यो । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला हेर्ने केन्द्रीय विभागका विभागीय सदस्य तथा कर्मचारीले हामीलाई स्वागत गर्दै होटलमा बस्ने बन्दोबस्त गरे । 

उहाँ पुगेपछि हाम्रो भ्रमणको उद्देश्य अनुरुप गरिने सबै कार्यक्रमको विवरण सहितको समय–तालिकायुक्त पुस्तिका उपलब्ध गराइयो भने सो समय तालिका बमोजिम एसिया र दक्षिण एसिया हेर्ने विभागीय उपप्रमुख, प्रमुखसंग अर्को दिन भेटवार्ता र विचार आदान–प्रदान गरियो । दुई जना दोभाषे जिम्मेवार व्यक्तिहरु सरला र विजय (नेपाली नाम)ले हामीलाई भाषिक सम्प्रेषणको काम गरे साथै समन्वय, निर्देशिका अनुरुप अनुयात्रा र सहकार्यको महत्वपूर्ण भूमिका कुशलतापूर्वक निभाए । 

चिनियाँ प्रतिनिधि र नेपाली प्रतिनिधि मण्डलवीच चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान विदेश सम्वन्धको स्थिति, सी जिन पिङ्ग विचार, आर्थिक र भौतिक विकास योजना, चिनियाँ विशेषताको समाजवाद र त्यसको अभ्यास, चीनले पूरा गरेको गरिबी निवारणको योजना, शिक्षा, यातायात र कृषि विकास, मसिनरी र यन्त्र उत्पादन, सीपीसीको भावी लक्ष्य, चीनले हासिल गरेको अन्तरिक्ष प्रविधि, नेपाल र चीनवीचको ऐतिहासिक, साँस्कृतिक तथा राजनैतिक सम्वन्ध, नेपालको विकासमा सहकार्य र बीआरआई परियोजना, नेपालसितको सहकार्यमा नेपालमा औद्योगिक विकासको सम्भावना, दुई देशका कम्युनिष्ट पार्टीवीचको कमरेडली सम्वन्धको विकास गर्नेबारे छलफलहरु भए । यो अध्ययन, भ्रमण, अवलोकनले महत्वपूर्ण उपलब्धि र शिक्षा प्रदान गरेको अनुभूति समग्र टिमले गरेको छ । टिमका नेता महासचिव देव गुरुङ् हुनुहुन्थ्यो र परशुराम तामाङ्, अमृता थापा, कमला रोक्का, ओम शर्मा, ईश्वरचन्द्र ज्ञवाली, तारा घर्ती, शंकर दुलाल लगायत हामी तीस जना थियौं । चिनियाँ आतिथ्य, सम्मान, कमरेडली भाव, सहयोगी व्यवहार र आत्मीयताले सबैलाई तीव्र प्रभाव पारेको महसुस भयो । भ्रमणले आनन्द मात्र होइन शिक्षा र सन्देश पनि दिएको छ । यस भ्रमणले दिएको सन्देशलाई छोटोमा निम्न रुपमा प्रस्तुत गर्न सकिन्छ । 

क) राजनीति/विचार 

यस भ्रमणले चीन आज पनि माओ विचार, शिक्षा र माओका योगदानलाई सान्दर्भिक र सम्मानित रुपमा अनुकरण गरिरहेको देखिन्छ । मुख्यतः नयाँ चीन (क्रान्तिपछिको चीन)ले मुख्य नायक माओसहित देङ सियाओ पिङ र सी जिन पिङका त्रिआयामिक विचारलाई चिनियाँ विकासका तीन मोड र तीन मेरुदण्ड मानेको पाइयो । माओले क्रान्तिको नेतृत्व गर्दै राजनैतिक, वैचारिक, सामाजिक, साँस्कृतिकका साथै व्यवस्था नै परिवर्तन गर्न भूमिका निभाएको, देङले आर्थिक रुपान्तरणको नयाँ नमूना दिई नेतृत्व गरेको र सीले वर्गीय विभेद पाट्ने समाजवादी पद्धति, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गति, साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्र विरुद्धको नयाँ नीति, चीनको समग्र विकासको योजना, बन्द ढोका खोल्ने नीति प्रयोग गरेको भन्ने धारणा चिनियाँहरुको रहेको पाइयो । आर्थिक, सामाजिक, साँस्कृतिक विकास, अन्तरिक्ष विज्ञानमा पहुँचको तीव्रता, गरिबी विरुद्ध अभियानमा सीको वैचारिक योगदान महत्वपूर्ण रहेको र सीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्ड चीनको राष्ट्रवादी विचारलाई अत्यन्त ध्यान पुराउँदै चीनको एकतालाई अझ मजबुत पार्ने दृष्टिकोण राखेको पाइयो । ताइवान, हङ्गकङ्ग, मकाउ, तिब्बत, सेचुवान(उइगुर क्षेत्र), इनर मंगोलिया आदिमा साम्राज्यवादको विघटनकारी षड्यन्त्र र गडबडी विरुद्ध चीन अत्यन्त सचेत देखिन्छ । यो पाठ सीले रुस विघटनबाट सिकेको थाहा हुन्छ । चीन साम्राज्यवादी चरित्र र विस्तारवादी विचारबाट अलग्गै रहेको र आफूमाथि आइलाग्नेलाई नछोड्ने नीतिमा दृढ रहेको पाइयो । चिनियाँ विशेषता सहितको समाजवादको योे एउटा पक्ष हो ।

436013291_3140044709460456_5446149122113821932_n

ख) अर्थ व्यवस्था 

चीन विश्वकै धनी, विकसित देशमध्ये एक बन्न पुगेको छ । उसको अर्थव्यवस्था सफल हुँदै गएको पनि मानिन्छ । चीनले भौतिक पूवाधारलाई सबै प्रान्त, क्षेत्र, गाउँ, वस्तीसम्म पुराउने योजना र लक्ष्य अनुसार निरन्तर तीव्रगतिमा रहेको स्पष्ट देखिन्छ । यातायात, सञ्चार, कल–कारखाना, उद्योग, व्यापार, व्यवसाय आदि प्रवद्र्धनमा अहिले गाउँलाई पनि महत्व र जोड दिएको देखिन्छ । आर्थिक समुन्नतिमा विश्वकै दोस्रो ठुलो अर्थव्यवस्था बन्न पुगेको चीन कमजोर र गरिब मुलुकको पनि आर्थिक समुन्नतिमा सहयोगी बन्दै गएको रहेछ । त्यस्तै विश्व मानवता, शान्ति र समानताका लागि आवाज उठाइरहेको तथा अविचल रहेको पनि पाइयो । यसले विकास, निर्माण, उत्पादन, श्रम सुव्यवस्था र सुशासनमा पनि ध्यान दिइरहेको छ । मिश्रित अर्थव्यवस्था र एक देश दुई पद्धति अँगालेको चीनले ठुलाठुला व्यापारिक समूह, ठुलाठुला उत्पादन कम्पनी, सहकारीकरण, सरकारी र निजी साझेदारी, समानुपातिक आर्थिक वितरण, गरिब, विपन्न, कमजोर क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको रहेछ । ठाउँठाउँमा पीपीपी मोडेलको अर्थ व्यवस्था पनि लागु गरिरहेको छ । एक देश दुई व्यवस्था अनुरुप राज्य सञ्चालन गरिरहेको चीन आर्थिक पद्धतिमा नै परिवर्तन गर्दै खुला बजारलाई पनि स्थान दिइरहेको छ । अर्थतन्त्रमा आएको वृद्धिसँगै हामीले कल्पना नै गर्न नसकेका काम उसले गरेर देखाएको छ । तीव्रगतिको रेलको विकासले अर्थतन्त्र र प्रविधिलाई झन्झन् सहज तुल्याएको रहेछ भने अनुसन्धान, खोज, अन्वेषण, आविष्कारमा दिएको जोडले उच्च आर्थिक विकासलाई बढी सम्भव बनाएको पनि देखिन्छ ।

ग) कृषि पद्धति/नीति 

चीनको कृषि प्रणाली अत्यन्त विकसित रहेको पाइयो । विकसित कृषि पद्धतिमा थोरै जमिनबाट धेरै उत्पादन गर्ने, उन्नत जातका बिउ विजन आविष्कार गर्ने, यान्त्रीकरण र उच्चस्तरीय कृषिसामग्री प्रयोग गर्ने, जैविक श्रमशक्तिलाई क्रमशः यान्त्रिक शक्तिद्वारा विस्थापन गर्ने, कृषि पद्धतिलाई सरलीकरण गर्ने, चक्ला प्रथा, सामूहिक खेती, सहकारी मार्फत खेती गर्ने, कृषि व्यवसायीकरण र सर्वसुलभ कृषि सामग्री, उन्नत विउविजन तथा उन्नत कृषि प्रविधि उपलब्ध गराएको तथा कृषि अनुसन्धान केन्द्रलाई विभिन्न ठाउँमा व्यापक बनाउने नीति लिएको रहेछ । विशेष अन्नबाली, फलफूल, तरकारी, पशुपालन, चिया बगान, जरीबुटीका विशेष क्षेत्र निर्धारण र तिनमा सम्पूर्ण साधन–सुविधा, उद्योगको व्यवस्था, व्यवसाय–व्यापार केन्द्रको व्यवस्था, कृषि प्रयोगशाला, रोग अनुसन्धान र उपचार व्यवस्था, कृषि उद्योग तथा कृषिप्रशोधन केन्द्रको स्थापना, कृषिविज्ञहरुको व्यवस्था आदि गर्दै अत्यन्त वैज्ञानिक ढंग र विधिको प्रयोग पनि गरिएको रहेछ । हरेक क्षेत्रमा जमिनलाई कृषि, वन, चरन, आवास, उद्योग, शिक्षा आदि तोकेर कृषि उत्पादन हुने क्षेत्रलाई मास्न नपाउने नियम लागु गरिएको रहेछ । आधुनिक र वैज्ञानिक खेती प्रणालीमा सकेसम्म नियमित सिञ्चाइ पुर्‍याउने कुरामा जोड दिइएको छ । ठाउँठाउँमा ठुलाठुला सिञ्चाइका लागि पोखरी, ताल, जलाशय, जलाधार बनाई, बर्खे पानी संकलन र भण्डारण गर्दै कुलो सिञ्चाइ, पाइप सिञ्चाइ, थोपा सिञ्चाइद्वारा नियमित सिञ्चाइ सुविधा किसानलाई उपलब्ध गर्ने व्यवस्थापन मिलाइएको रहेछ । खाद्यान्नमा ‘हाई ब्रिड’को विकास र अनुसन्धानले छिटोछिटो खेती पाक्ने र वर्षमा चार पटकसम्म खेती लगाउने समेत गरिएको रहेछ । एउटै मकैको बोटमा छ वटा घोंगा लाग्ने, एउटै धानको गाँजमा एक माना धान फल्ने, एउटै फूलको बोटमा फरक रंगका फूल फुल्ने, एउटै फलको बोटमा फरक फलफुल फल्ने आदि समेत गरेको देखियो । कलमे विधिले गमलामा पनि सानासाना बोटमा फलफूल फलाउने गरिंदो रहेछ । फूलको व्यावसायिक खेती र विश्वव्यापी निर्यात मात्रले वर्षमा अरबौं युआन भित्रिने रहेछ । कृषि पद्धतिमा गरिएको आधुनिकीकरण र वैज्ञानिकीकरणले परम्परागत उत्पादनमा दश गुणासम्म उत्पादन वृद्धि भएको रहेछ । कृषि विश्व विद्यालयलाई यन्त्र विकास, प्रयोगशाला, अन्वेषण केन्द्रका रुपमा विकास गरेर रिमोट–कृषियन्त्र, विषादि छर्ने मसिन, शक्तिशाली पम्प, हाते हलो, धान काट्ने, मकै छोडाउने, खेती गोडमेल गर्ने यन्त्रहरु पनि उत्पादन गर्ने स्थान बनाइएको रहेछ । कृषि क्षेत्रहरुलाई पर्यटन, अवलोकन–भ्रमण केन्द्र आदिमा विकास गरिएको छ ।

घ) पर्यटन 

 हरेक प्राकृतिक स्थललाई कुनै न कुनै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, त्यसको भौतिक सौन्दर्यीकरण गर्ने, नयाँ नयाँ पर्यटन स्थल निर्माण गर्ने र यसरी पर्यटन केन्द्रहरुको व्यापकता सिर्जना गर्ने काम पनि वर्तमान चीनको विशेषता रहेको देखिएको छ । यसो गर्दा प्रकृतिको यथारुपको जगेर्ना गर्न जोड दिइएको पाइयो । प्राकृतिक भौगोलिक रुपलाई मासेर वा बिगारेर पूर्वाधार विकास गरिएको देखिएन । माओको जन्मस्थलको पुरातात्विक प्राचीनतालाई यथावत् राखेर नै पर्यटन स्थलको विकास गरिएको रहेछ । युनान प्रान्तको झिजिन गुफाको चित्ताकर्षक बनोट र परिमार्जित अवस्था हेर्दा पर्यटनलाई कति महत्व दिइएको रहेछ भन्ने स्पट हुन्छ । यसको तिलस्मि सौन्दर्य मनमोहक छ । पार्कहरु र व्यवस्थित पारिएका कृषि उत्पादन एकाइहरु पनि पर्यटन अवलोकन केन्द्र बनेका छन् । वार म्युजियम, वनस्पति म्युजियम, ऐतिहासिक स्थल, पुरातात्विक स्थल, तियानमेन चोक, ग्रेटहल अफ द पिपुल, अरनिको ग्राम, पुरानो चीनको जेल म्युजियम, डाटा प्रदर्शनी स्थल, कृषि म्युजियम र प्रदर्शनी स्थल, ठुला ठुला उद्यान र बगानहरुको निर्माण, विकास, संरक्षण गरी पर्यटनमा प्रगति गरिएको रहेछ । एउटै माओको लकेटबाट मात्रै करोडौं आम्दानी गर्नु सानो कुरा होइन । विशाल भौतिक संरचना, तिनको आकर्षक बनोट, विशिष्ट प्रकारको शैली, कलात्मक रुप–रचना आदिले ती ठाउँ पनि दर्शनीय पर्यटक स्थल बनेका रहेछन् । ‘जनताको सेवा गर’, ‘तथ्यबाट सत्य पत्ता लगाऊ’, ‘परिश्रमबाट आत्मनिर्भरता’ ‘एक चीन एक सम्बन्ध’ जस्ता नाराहरुलाई विशाल ढुङ्गाहरुमा कपेर सजाइएको र पर्यटनलाई टेवा पुर्‍याएको दृश्य देखेर आश्चर्य लाग्छ । ढुङ्गै ढुङ्गा भएको चट्टानी थुम्के डाँडालाई ढुङगे बगैचामा विकास गरेर पनि पर्यटन विस्तार गरिएको देखेर मान्छेले गर्न नसक्ने केही रहेनछ भन्ने अनुभूति हुन्छ । यसरी पर्यटन विकासमा जोड दिइएको छ । 

ङ) यातायात र विशाल संरचना 

यातायात सुविधालाई आधारभूत र अनिवार्य पूर्वाधारका रुपमा लिइएको रहेछ । फलस्वरुप ठुला ठुला छ लेनदेखि दश लेनसम्मका राष्ट्रिय राजमार्गहरु बनाइएको छ । ठुलाठुला विशाल भौतिक संरचना, अग्ला अग्ला खम्बा भएका (तीन सय मिटरसम्म अग्ला) पुल, पुलमाथि पुल, घुमाउरा र आकर्षक पुल, सत्तरी तलासम्मका प्रत्येक बजार क्षेत्रमा दर्जनौं घरहरु, यत्रतत्र सुरुङ मार्ग निर्माण, ८ सय किमिमा ७५ प्रतिशत बाटो सुरुङ नै रहेको पनि देखियो । गाउँ गाउँसम्म कृषि मार्ग पुगेको रहेछ । अन्तर प्रादेशिक मार्गहरु दश लेनसम्मका रहेछन् । ठुला सहर जोड्ने छ लेनका राजमार्गहरु ३–३ वटासम्म बनेका रहेछन् । लाखौं किमि बाटो पनि सफा र सुग्घर राखिएको रहेछ । तीव्रगतिको रेल लाइन जताततै बिछाइएको छ । भव्य र विशाल रेलवे स्टेसन  बनेका छन् । हामी घुमेका सबै ठाउँमा ८ लेनका समानान्तर राजमार्ग बनेको पनि देखियो जुन प्रशस्त चौडा छन् । सबै क्षेत्रमा यातायातको पहुँच पुर्‍याइएको रहेछ । गाउँगाउँमा दर्जनौं तले भवनहरुले पर्यटनलाई निम्तो दिएको पनि देखियो । यातायात क्षेत्र विकासको मुख्य र पहिलो आधार हो भन्ने नीति नै बनाइएको रहेछ ।

च) उद्योग/कारखाना विकास 

हामीले ‘एसएएनवाई’ यन्त्र उद्योग भ्रमण गर्‍यौं । यो ठुलो क्षेत्रमा फैलेको रहेछ । जसमा यन्त्रशाला र प्रदर्शन केन्द्र पनि थिए । यसले जेसीबी, डोजर, लोडर, ड्रिलर, क्रेन, टनेल मसिन, अत्यन्त शक्तिशाली पम्प, मोटर, टे«क्टर, एकैपटक धेरै गाडी ओसार्ने ठुला ट्रक बनाउने रहेछ र निर्यात गर्दो रहेछ । हजारौं टन सम्बहन गर्न सक्ने विशालकाय मोटरहरु बनाइदो रहेछ । यस्ता ठुला उद्योग देशैभरि हजारौंको सङ्ख्यामा बनेका रहेछन् । यन्त्र उद्योग, इलेक्ट्रोनिक उद्योग, व्यावसायिक उद्योग, कृषि उद्योग, खाद्य उद्योग आदि स्थानीय विशेषता अनुरुप ठाउँठाउँमा समानुपातिक र सन्तुलित रुपमा खोलिएको रहेछ ।

 यो ‘सानी’ उद्योगमा साना हवाइ इञ्जिन पनि बनाइँदो रहेछ । कैयो यन्त्र त स्वचालित मिसिनबाट बिना मानिस नै बनाइदो रहेछ । प्रदेश प्रदेशमा फरक प्रकृतिका उद्योग, कल–कारखाना आवश्यकता अनुरुप खोलिएको रहेछ । ठुलाठुला उद्योग, कारखाना सबै प्रान्तमा देशैभरि खोलिएका रहेछन् । उद्योगहरु सरकारी, प्राइभेट समूह, साझा कम्पनी, सरकार र जनताको साझेदारीमा खोलिएको पाइयो । जसले विश्वभरि आफ्ना उत्पादन पुर्‍याएका छन् । गाउँगाउँमा कृषि उद्योग व्यवस्थित गरिएको रहेछ ।

zhijin-(1)_ruzxYH92xv

छ) समाजवादी आधुनिकीकरण र गरिबी उन्मूलन 

यो भ्रमणमा चीनले गरेको प्रगति विकास आश्चर्य लाग्दो रुपमा रहेको थाहा भयो । तेस्रो विश्वका नेपाल जस्ता मुलुकले असम्भव ठानेका कामहरु चीनले सम्भव बनाएको छ । समाजवादको आधुनिक रुपले अर्थतन्त्रको समानुपातिक वितरण, सन्तुलित औद्योगिक विकास, कृषि क्षेत्रमा विकास र प्रचुर उत्पादन गर्दै ‘गरिबी उन्मुलन’ सफल पारिएको पाइयो । यातायातको विस्तारले त्यसमा सहयोग गरेको छ । सहरीकरण र वर्गीय असमानता पाट्ने काम, अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रता विस्तार, बीआरआई परियोजना, विश्वमानवता, शान्ति, र पर्यावरणमा पनि पूरा ध्यान पुर्‍याइएको रहेछ । त्यस्तै विश्व साम्रज्यवाद र विस्तारवादको विरोध, स्वाधीन स्वाभिमानी आत्मनिर्भर समृद्ध चीन निर्माण, सरकारको जनताप्रतिको उत्तरदायित्वको पालना, भ्रष्टाचार विरुद्ध अभियान एवम् कडा दण्ड विधान, प्रशासनिक पद्धतिमा व्यापक सुधार र राष्ट्रिय अनुशासन, सामाजिकीकरण, जनसेवामा जोड, मिश्रित अर्थव्यवस्था जस्ता विशेषता सामाजवादको आधुनिकीकरणका विशेषता रहेको पाइयो । जसबाट गरिब वस्तीहरुमा गरिबी निवारणका प्याकेज लिएर सरकार गाउँमा पुग्ने गर्दछ । माछा खान दिने भन्दा माछा मार्न सिकाउने नीति गरिबी उन्मूलनको दिगो आधार बनाइएको र अशक्त, कमजोर, अपाङ्ग, दीर्घरोगीहरुलाई सरकारले जीविका–भत्ता प्रदान गरिरहेको छ तथा तिनका छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य, यातायात आदि दिएको रहेछ । सबै जनताको आवास, खाद्यान्न, पोशाक, स्वास्थ्योपचार, कृषिउत्पादन, शिक्षामा समानता ल्याउन जोड दिइएको छ । यो सबै परिवर्तित व्यवस्थाको श्रेय भने सी जिङ्ग पिङलाई दिइएको छ ।

ज) शिक्षा

चीनमा वैज्ञानिक प्राविधिक उपयोगी शिक्षाका साथै कृषि शिक्षालाई पनि उत्तिकै महत्व दिइएको छ । प्रायोगिक र व्यावहारिक शिक्षालाई पनि जोड दिइएको छ । खोज, अनुसन्धान, आविष्कार, अन्वेषणमूलक शिक्षाका केन्द्रहरु बनाइएको रहेछ । माओले अध्ययन गरेको प्राचीन पेकिङ विश्वविद्यालयलाई आधुनिक विश्वविद्यालयमा रुपान्तर गरी सञ्चालन गरिएको छ भने शिक्षालाई सर्वसुलभ बनाइएको रहेछ । शिक्षाले मात्र गरिबी हटाउन सक्छ र देशलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने धारणा बनाइएको छ । शिक्षा र ज्ञानलाई गाउँगाउँसम्म पुर्‍याउन र जनतालाई सचेत र जागरुक बनाउन नै यसो गरिएको रहेछ । कृषि शिक्षा, प्रविधि शिक्षा, प्रयोगमूलक शिक्षा, व्यावहारिक शिक्षा, खोजमूलक शिक्षा, ऐतिहासिक शिक्षा, आधुनिक शिक्षालाई व्यापक विस्तार गरिएको छ । विद्यार्थीहरु पढाइ सकेर निस्कँदा उनका हातमा शीप, दक्षता, क्षमता, विशेषज्ञता, प्राविधिक–यन्त्र शिक्षाको योग्यता लिएर निस्कियून् र स्वरोजगारी, स्वव्यवसाय गर्न सक्ने आत्मनिर्भर बनून् भन्नेमा जोड दिइएको छ । उच्च गुणस्तरीय, वैज्ञानिक शिक्षा चीनको आधुनिक शिक्षाको रुप रहेको देखिन्छ । ‘शिक्षा सबैलाई’ भन्ने नारा बनाइएको रहेछ ।

झ) उपरोक्त पाठ तथा सन्देश नै हाम्रो टोलीले चीन भ्रमणमा प्राप्त गरेको पाठ हो । तसर्थ यो भ्रमण अत्यन्त सार्थक र उपलब्धिपूर्ण बन्न पुगेको महसुस हुन्छ । हामीले पनि चीनले गरेको यो प्रयोगलाई आफ्नो विशेषतामा प्रयोग गरेमा दिगो प्रगति र समृद्धि हासिल गर्न सकिन्छ । चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरुले जुन विधि र पद्धति अपनाएका छन् ती अत्यन्त अनुकरणीय छन् । खासगरी कृषि र उद्योगमा चीनसंग नेपालले सहकार्य गर्नु पर्ने आवश्यकता बोध हुन्छ । यसले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका वीच सम्बन्धको घनिष्टता, प्रगाढता, सामीप्यता, कमरेडली भावना सिर्जना पनि गर्छ । त्यस्तै दुई देशवीचको मित्रता र सम्बन्धलाई पनि अझ विकसित र मजबुत बनाउन सक्छ । तसर्थ चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वरचन्द्र ज्ञवाली
ईश्वरचन्द्र ज्ञवाली
लेखकबाट थप