शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी अस्पतालमा थेगिनसक्नु चाप, निजी अस्पतालमा बिरामीको संख्या घट्दै

शनिबार, ०८ जेठ २०७८, १५ : ०४
शनिबार, ०८ जेठ २०७८

केन्द्र सरकार मातहत रहेको विराटनगरको कोशी अस्पतालले बिहीबारबाट कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ युनिट सञ्चालनमा ल्यायो । तर कोभिड युनिट सञ्चालनमा आएको २४ घण्टा नबित्दै अस्पतालका बेड संक्रमितले भरीभराउ भए ।

५ शय्याको भेन्टिलेटरसहितको आईसीयू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जनरल बेड रहेको कोभिड युनिटमा अब नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए ।

‘कोभिड युनिट सञ्चालनमा आएको छोटो समयमै बेड पुरै भरिएका छन्,’ उनले भने, ‘अहिले पनि बिरामी भर्नाका लागि उत्तिकै दबाब छ ।’ तर बेड भरिएका कारण नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था नरहेको उनले बताए ।

अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा भर्ना भएका ८ जना बिरामीलाई तत्काल आईसीयूमा सिफ्ट गर्नुपर्ने अवस्था रहेको तर बेड अभावमा सम्भव नरहेको उनको भनाइ छ ।

कोशी कोभिड–१९ उपचार केन्द्रको अवस्था पनि उस्तै छ । अहिले १० जना बिरामी आईसीयूका लागि बेड कुरेर बसेका छन् । ‘अस्पतालमा सबै बेड बिरामीले भरीभराउ छन्,’ केन्द्रका व्यवस्थापक बैजनाथ साहले भने, ‘कोही डिस्चार्ज भएर गए या अन्य कारणले बेड खाली हुने बित्तिकै पालो कुरेका बिरामीलाई खबर गरी भर्ना लिनुपर्ने अवस्था छ ।’

बेडको व्यवस्थापनलाई लिएर २४ घण्टा नै पीडामा बित्ने गरेको उनले बताए । साहका अनुसार कुल ९६ बेडको अस्पताल पूरै भरीभराउ छ । डिस्चार्च हुनेको संख्या निकै कम रहेको तर बिरामीको संख्या लगातार बढ्दै गएकाले नयाँ बिरामी भर्ना लिन निकै गाह्रो परेको उनले बताए ।

अस्पताल प्रशासनका अनुसार दैनिक सरदर पाँच जनासम्म अस्पतालबाट डिस्चार्ज हुने गरेका छन् ।

प्रदेशकै अर्को ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि बेड अभावले बिरामी फर्काउनु परेको छ ।

‘करिब एक सातादेखि अस्पतालमा नयाँ बिरामी राख्न सकेका छैनौं,’ प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलले भने, ‘बेड अभावमा नयाँ बिरामी लिन नसक्दा प्रेसर निकै छ । चारैतिरबाट फोन आउँछ तर भर्ना लिनसक्ने अवस्था छैन ।’

उनले एकसय बेडको अस्पताल भरीभराउ भएको र अझै ११ जना आईसियु बेडको लागि लाइनमा रहेको बताए । प्रतिष्ठानमा रहेको कोभिड अस्पताल ‘सी’ लेबलको भएकाले यहाँ निकै गम्भीर अवस्थाका संक्रमितको भर्ना लिने र उनीहरुको उपचार समय पनि लामो लाग्ने कारण डिस्चार्ज भएर जानेको संख्या न्यून छ ।

झापाको एकमात्र प्रादेशिक अस्पताल मेचीमा पनि पाँच दिनदेखि सबै बेड संक्रमितले भरीभराउ छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लाका संक्रमितलाई भरथेग गर्ने अस्पतालका रुपमा रहेको मेची प्रादेशिक अस्पतालमा नयाँ बिरामी लिने सक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । कुल एकसय बेडको अस्पतालमा अक्सिजन सप्लाई रहेको ७४ वटै बेड भरिएको उनले बताए ।

‘नर्मल बेडमा बिरामी राख्ने गरेका छैनौं,’ मेसु ठाकुरले भने, ‘पूर्वी पहाडी जिल्लाबाट आउने संक्रमित सबै यही अस्पतालमा ठोक्किने गरेका छन् । सीमित स्रोत र साधनमा चल्नुपर्ने बाध्यता छ । त्यसैले नयाँ बिरामी भर्नाका लागि असमर्थ हुने गरेका छौं ।’

निजीमा भने चाप घट्दै

संक्रमितको संख्यामा कमी नआए पनि पछिल्लो समय प्रदेशका निजी अस्पतालले चलाएका कोभिड अस्पतालमा संक्रमितको चाप घटेको छ । धेरै संक्रमित र आफन्तको पहिलो रोजाइमा सरकारी अस्पताल नै परेपछि निजीमा केही दिनदेखि बिरामीको चाप कम हुँदै गएको हो ।

प्रदेशका ठूला निजी अस्पतालले सञ्चालन गरेको सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितका लागि छुट्याइएको बेड खाली छन् । जसका कारण नयाँ बिरामी भर्ना लिन उनीहरुलाई कुनै समस्या छैन ।

विराटनगरको नोबेल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड युनिटमा अहिले पनि बेड खाली छन् । ‘हामीसँग केही बेड खाली छन्,’ अस्पतालका फोकल पर्सन दिनेश न्यौपानेले भने, ‘१९७ बेडको अस्पतालमा अहिले १५४ जनामात्र बिरामी छन् ।’ एक हप्ताअघि बिरामीको चाप रहे पनि अहिले कमी आएको उनले बताए ।

उनले अहिले अस्पतालबाट डिस्चार्ज हुने र भर्ना हुनेको संख्या पनि बराबरी रहेको बताए । अस्पतालका अनुसार शुक्रबार १२ जना डिस्चार्ज भएकामा १० जना नयाँ बिरामी भर्ना भएका छन् । एक साता अघिसम्म अस्पतालमा बेड नहुँदा प्यासेजमा राखेर संक्रमितलाई उपचार गरेको स्मरण गर्दै न्यौपानेले केही दिनयता त्यस्तो अवस्था नरहेको बताए । नोबेलमा पनि संक्रमितको निःशुल्क उपचार हुँदै आएको छ ।

मोरङकै बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा रहेको कोभिड युनिटमा पनि संक्रमितले सहज रुपमा भर्ना पाउने गरेका छन् । केही दिन यता अस्पतालमा एक हप्ता अघिकोजस्तो बिरामीको चाप नरहेको फोकल पर्सन सुनिल देवले बताए ।

उनका अनुसार कोभिड युनिटमा २६० बेड रहेकामा अहिले जम्मा १४० जना बिरामी उपचाररत छन् ।

केही भेन्टिलेटर र आईसीयूसहितका बेड पनि खाली रहेको देवले बताए । पछिल्ला समय सबै कोभिड अस्पतालले बेड संख्या बिस्तार गरेका कारण पनि अस्पतालमा क्रमशः बिरामीको चापमा कमी भएको हुनसक्ने उनको भनाइ छ ।

झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा पनि बेड खाली छन् । अस्पतालका जनसम्पर्क अधिकृत प्रनिस गिरीका अनुसार अस्पतालमा बिरामी भर्ना लिन कुनै समस्या छैन । बेडका हिसाबले बिरामीलाई भर्ना लिन सहज भए पनि अक्सिजनको अभावले चुनौती थप्न सक्ने उनको भनाइ छ । दैनिक ४ सय सिलिन्डर अक्सिजन खपत हुँदै आएको अवस्थामा आवश्यक अक्सिजनको जोहो गर्न भने समस्या हुन थालेको उनले बताए ।

अस्पतालका सघन उपचार कक्षमा बिरामीको चाप

प्रदेश १ का कोरोना विशेष अस्पतालमा सघन उपचारमा भर्ना हुने बिरामीको चाप बढेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा धेरै कडा लक्षण देखिने संक्रमितको संख्या निकै बढेकाले सरकारी र निजी दुबैस्तरका ठूला ८ वटा कोभिड अस्पतालमा सघन उपचार कक्षमा राख्नुपर्ने संक्रमितको संख्या बढेको छ ।

मन्त्रालयका सचिव गोविन्द कार्कीका अनुसार होम आइसोलेसनमा बसेका कतिपय संक्रमितको स्वास्थ्य अवस्था बिग्रिने क्रमसँगै उनीहरुलाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गर्नुपर्ने अवस्था बढ्दै गएको छ । तर अहिलेसम्म सघन उपचार कक्षको अभाव भने नरहेको उनले दाबी गरे ।

मन्त्रालयका अनुसार झापा, मोरङ र सुनसरीमा रहेका ठूला अस्पतालमा सञ्चालित कोभिड अस्पतालमा भेन्टिलेटर र आईसीयूमा गरी २५३ जना बिरामी छन् । जसमा भेन्टिलेटरमा ६६ र आईसीयूमा १८७ जना छन् । प्रदेशका ती अस्पतालमा भेन्टिलेटरको संख्या ११७ र आईसीयूको बेड संख्या २५५ छ । प्रदेशमा कुल संक्रमितमध्ये ८८२ जना अस्पतालमा भर्ना भएका छन् । प्रदेशमा कुल सक्रिय संक्रमित १६ हजार ८३६ छ, जसमा १६ हजार ५९ जना होम आइसोलेसनमा छन् ।

प्रदेशमा कोरोनाको दोस्रो लहर सुुरु भएयता शुक्रबार साँझसम्म २६९ जना संक्रमितको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप