बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो धारका नेतालाई प्रश्न : केपी ओली सुध्रिएकै हुन् ?

गोकर्ण विष्ट भन्छन्– ‘१० बुँदे कार्यान्वयनको मोडालिटी हेरौँ’
सोमबार, ०७ भदौ २०७८, २० : २९
सोमबार, ०७ भदौ २०७८

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्ट ‘तेस्रो धार’का नेता हुन् । एमालेको तेस्रो धारमा रहेका नेताहरुले सोमबार बालकोटमा पुगेर अध्यक्ष केपी ओलीसँग वार्ता गरेका छन् । वार्तामा के भयो भन्ने चासो एमाले कार्यकर्ता पंक्तिमा बढेको छ ।

पहिले माधव नेपालको समूहमा रहेका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तको ‘तेस्रो धार’ वाला टोली अब केपी ओली समूहमै फर्कन लागेको हो त ? यसबारे एमालेजनमा चासो देखिएको छ ।

बालकोटमा केपी ओलीसँग भएको वार्ता सकारात्मक रहेको र एकताको वातावरण बनेको नेताहरुले दाबी गरिरहँदा माधव नेपाल पक्ष भने ‘ब्याक’ नहुने विश्लेषण सुनिन थालेको छ ।

यिनै सन्दर्भमा रातोपाटीले तेस्रो धारका नेता गोकर्ण विष्टसँग अब केपी ओली सुध्रिएका हुन् त भनेर सोधेको छ । हामीले विष्टलाई यो पनि सोधका छौं, अब माधव नेपालविनाको एमालेमा तपाईहरु समाहित हुन लाग्नुभएकै हो त ?

विष्टसँग गरिएको भिडियो वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–  

तपाईंहरु तेस्रो धारका नेताले आज बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्नुभयो । यो छलफल सकारात्मक भएको भनिएको छ, खासमा त्यहाँ के–के भयो ?

नेकपा एमालेभित्र लामो समयदेखि विवाद देखापरेको छ । केही असहज र असामान्य परिस्थिति उत्पन्न भएको छ । यो असामान्य परिस्थितिको समाधान खोज्नका लागि गठित १० सदस्यीय कार्यदलले औपचारिक अनौपचारिक बैठकमार्फत १० बुँदे सहमतिका आधारमा समाधान खोज्ने भनेर एउटा निष्कर्षमा पुग्यो । त्यो १० बुँदे सहमतिको आधारमा केही दिनअघि नै प्रभावकारी कार्यान्वयनमार्फत समाधान खोजिसक्नुपर्दथ्यो । तर, कहीँ न कहीँ अविश्वासको खाडल कायमै रह्यो ।

एक प्रकारले भन्ने हो भने अन्तरविरोधको त्यो दुरीलाई घटाउन जुन प्रकारले हामीले प्रयत्न गरेका थियौं, त्यो प्रयत्नमा अपेक्षाकृत सफलता प्राप्त गर्न सकिएन । र, आजका दिनसम्म आइपुग्दा दल विभाजनसम्बन्धी अध्यादेशमा टेकेर माधव नेपालसहितका केही कमरेडहरुले एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्नेसम्मको अवस्था देखा परेको छ । जसले देशभरका एमाले नेता कार्यकर्तामा एक प्रकारको निराशा, अन्योल देखिएको छ ।

यो अवस्थामा एकातिर १० बुँदे सहमतिमा हाम्रो नैतिक जिम्मेवारी पनि हो । अर्कोतिर पार्टी एकताको मुख्य आधार १० बुँदे सहमति भनेर दुई नेताको सहमतिमा आधारित गठित कार्यदल नेताहरुकै सुझावका आधारमा निष्कर्षमा पुगिसकेपछि यसमै टेकेर एकता गर्नुपर्छ भन्ने मान्यता हामीले निरन्तर राख्दै आयौँ ।

तपाईहरुले हामीलाई तेस्रो धार भनिरहनुभएको छ, एक हिसावले तेस्रो धार नै हो । यो तेस्रो धार भनेको नेकपा एमालेलाई एकतावद्ध बनाउनका लागि एकता चाहने समर्थक, शुभचिन्तकको भावना र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने पंक्ति हो । हामीले यही अडान कायमै राखेका थियौं । केही दिनअघि कमरेड माधव नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि पनि हामीले अध्यादेश फिर्ता लिनका लागि माग गर्यौं । माधव नेपालसहित १४ सांसद साथीहरूमाथि गरिएको कारवाही फिर्ता लिन आग्रह गर्याैं । एकातिर कारवाही फिर्ता लिन कमरेड केपी ओलीलाई आग्रह गर्यौं भने अर्कोतिर माधव नेपाललाई दल दर्ताको प्रक्रियाबाट पछि फर्कन र एकताका लागि आग्रह गर्यौं । र, यो एकताको मुख्य आधार भनेको फेरि पनि १० बुँदे सहमतिको सम्पूर्ण हिसावले कार्यान्वयन हो, यसलाई कार्यान्वयनको प्रक्रियामा लगियोस् भनेर चारवटा विषयलाई हामीले साझा वक्तव्यका रुपमा बाहिर ल्यायौं ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग हामी कार्यदलमा बसेका कमरेडहरु र हिजो माधव नेपाल–झलनाथ समुह भनेर पार्टी कमिटीमा रहेका स्थायी कमिटीका सदस्यहरुले नौ/दशजनाले भेटघाट गर्यौं । यो भेटवार्तामा हामीले १० बुँदे सहमतिका आधारमा कार्यन्वयन गरेर अगाडि बढ्न चाहनुहुन्छ कि हुँदैन, हामी प्रस्ट हुन चाहान्छौँ भनेर हाम्रा कुरा राख्यौं ।

यसमा अध्यक्ष केपी ओलीबाट जवाफ के आयो ?

जवाफमा अध्यक्षले व्यक्तिगत हिसावले पनि प्रतिवद्ध छु र संस्थागत हिसावले पनि केन्द्रीय कमिटी स्थायी कमिटी प्रतिवद्ध छ भन्नुभयो । उहाँले विलम्ब नगरौं, तपाईहरु भन्नुहुन्छ भने भोलि नै बैठक राखेर निकास खोजौं, यसलाई कार्यान्वयन गर्नका लागि कहीँ पार्टी छोडेका वा कुनै कारणले खाली भएका ठाउँमा रचनात्मक ढंगले समाधान खोज्नुपर्ला, बाँकी जेठ २ को अवस्थामा जस्ताको त्यस्तै फर्काउनका लागि तयार छौं भन्ने उहाँले आफ्ना विचारहरु राख्नुभयो ।

यसलाई हामीले सकारात्मक ठान्यौँ र भोलि (मंगलबार) ११ बजेलाई सहमतिका आधारमा स्थायी कमिटी बैठक तय भएको छ । १० बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा एउटा मोडालिटी तय गर्ने र भोलिको बैठकबाट पारित गरेर सम्पूर्ण पार्टी कमिटीलाई जेठ २ को अवस्थामा फर्काएर एकतावद्ध गर्ने सन्दर्भमा मोटो सहमति भएको छ ।

मंगलबार ११ बजे बस्ने स्थायी समितिको बैठकअघि नै १० बुँदे प्रस्तावको कार्यान्वयनको मोडालिटी तय गर्ने जिम्मा ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेललाई दिइएको हो ?

निर्णय नै भन्ने होइन । तर, अनौपचारिक हिसावले बैठकमा जाँदा फेरि सोचाइ र प्रस्ताव फरक नहुन्, सबैको बुझाइमा एकरुपता होस् भन्नका लागि केही कमरेडहरुले अनौपचारिक गृहकार्य गर्ने भनेको हो ।

एमालेको कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिमा जेठ २ मा फर्कने, नवौं महाधिवेशनले तय गरेका पार्टी कमिटीमा फर्कने र एक अर्कालाई कारवाही नगर्ने भनिएको थियो । अब योबीचमा १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन अध्यक्ष तयार हुनुभयो ?

१० बुँदे सहमतिको मुख्य बुँदा भनेको जेठ २ अगाडिको अवस्थामा रहेका पार्टीका सबै तहका कमिटीहरु, जनसंगठनका सबै कमिटीहरु क्रियाशील हुने र फागुन २३ गतेको अदालतको फैसला पछाडि कुनै पनि पक्षबाट पार्टी एकता र विधान प्रतिकुल हुने गरी गरिएका हरेक निर्णयहरु बदर हुने लगायतका कुराहरु महत्वपूर्ण थिए । त्यसपछि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदन र विधानको मर्म र भावनालाई अक्षरशः पालना गर्ने जस्ता महत्वपूर्ण पक्षहरु थिए । यसैमा अरु कुराहरु पनि जोडिएका छन् । बीचबीचमा अरु धेरै कारवाहीका प्रक्रियाहरु पनि अघि बढे । फेरि ती फिर्ता पनि भए । फेरि कारवाहीका प्रक्रिया अगाडि बढे । यस्तो चक्र धेरैपटक घुमिरहेको छ ।

पछिल्लोपटक २० प्रतिशत सांसद वा पार्टी केन्द्रीय सदस्यको उपस्थितिमा नयाँ दल दर्ता गर्ने अध्यादेश आएको छ यो लोकतन्त्रको भविष्यका लागि अत्यन्तै प्रतिगामी छ । यसले रणनीतिक अस्थिरता र अराजकता निम्त्याउनेछ ।

अध्यादेश ठीक होइन भन्ने कुरामा त अध्यक्ष ओली र एमालेको तेस्रो धार एकै ठाउँमा छ । अध्यादेश फिर्ताको मागबारे मंगलबारको बैठकले सर्वसम्मत नै निर्णय गर्ला । तर, १४ सांसदको कारवाही फिर्ताको कुराचाहिँ के हुन्छ ?

जिम्मेवार पार्टी र जिम्मेवार नेताका तर्फबाट माधव नेपाल लगायतका नेतामाथि गरिएको कारवाहीलाई फिर्ता लिएर उहाँहरुलाई दल दर्ताको प्रक्रियाबाट फिर्ता आउन आह्वान गर्नुपर्छ । यसका लागि अन्तिम हदसम्म नेकपा एमाले वा पार्टी अध्यक्षका तर्फबाट प्रयत्न भएको सन्देश जानु महत्वपूर्ण छ । यसले माधव कमरेडलाई पनि फर्कनलाई सोच्न बाध्य बनाउने छ । फर्कनुभएन भने पनि देशभरिका आम कार्यकर्ताहरूले महसुस गर्ने एउटा वातावरण बन्नेछ भन्ने हिसावले हामीले सुझाव दिएका छौं ।

कारबाही फिर्ताका सन्दर्भमा अध्यक्षको जवाफ कस्तो आयो ?

उहाँले ठोस ढंगले जवाफ दिनुभएन । तर, अन्तिममा पार्टीको स्थायी कमिटीको बैठकले नै उहाँहरुलाई फर्कनका लागि संस्थागत ढंगले नै निर्णय गरेर आह्वान गरियो भने त्यो अर्थपूर्ण हुन्छ भन्ने कुरा राख्नुभएको छ ।

तर, ‘चल्ला पहिले कि अण्डा’ भनेजस्तै पो हुने हो कि ? १४ सांसदमाथिको कारवाही पहिले फिर्ता लिने कि त्योभन्दा पहिले निर्वाचन आयोगबाट माधव नेपाल ‘ब्याक’ हुने ?

तपाईले भनेजस्तै पहिला के भन्ने सन्दर्भ त छ । कारवाही गरेको पक्षले पहिला दल दर्ता प्रक्रियाबाट फिर्ता आउनुपर्छ भन्ने अडान राख्ला । दल दर्ता गर्न गएको पक्षले पहिला कारवाही फिर्ता हुनुपर्छ भन्ने अडान पनि राख्ला । वा, कारवाही फिर्ता भए पनि दल दर्ताको प्रक्रियाबाट फिर्ता आउँदैनौँ भन्ने ठाउँ रहला कि भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि त्यो बाँकी नै छ । तर, यसका बावजुद पनि यो हाम्रो राजनीतिक अपील हो । यदि एकता चाहने हो भने, अध्यक्ष र माधव नेपाल तयार हुने हो भने यी दुवै विषयलाई सँगसँगै फत्ते पनि गर्न सक्छौं ।

यसका लागि दुईपक्षबीच सम्वाद त जरुरी होला नि ?

अवश्य, प्रत्यक्ष सम्वाद हुन जरुरी होला । अनौपचारिक हिसावले अरु माध्यम पनि हुनुपर्ने होला । तर, असम्भव छैन ।

मंगलबारको स्थायी समिति बैठक अघि नै माधव नेपालसँग छलफल गर्नुहुन्छ कि गर्नुहुन्न ? तपाईहरु हिजो माधव नेपालकै साथमा रहनुभएको थियो....

एकता चाहने हाम्रो टिमका तर्फबाट हामीले जे प्रस्ताव अघि सारेका छौँ, अध्यक्ष कमरेडलाई कारवाही फिर्ता लिन भनेझैं माधव कमरेडलाई पनि कार्यकर्ताको भावना बुझ्नुस् भन्छौं ।

रातोपाटीको स्टुडियोबाटै माधव नेपाललाई के भन्न चाहनुहुन्छ ?

५० वर्षभन्दा लामो वामपन्थी आन्दोलनमा माधव कमरेडको योगदान छ । नेकपा एमाले निर्माण उहाँले धेरै लामो योगदान गर्नुभएको छ । १५ बर्ष पार्टी प्रमुखकै हैसियतले अगुवाइ गर्नुभएको छ । पार्टी जीवनमा आएका धेरै उतार–चढावहरुमा उहाँ साक्षी हुनुहुन्छ र नेताको हैसियतले भुमिका खेल्नुभएको छ । पार्टीभित्र उत्पन्न हुने द्वन्द्वलाई पार्टीभित्रै समाधान गरौं । के कारणले पार्टीभित्र अन्तरविरोध पैदा हुन्छन् र त्यसको आधारभूत कारण के हो ? यस्ता अन्तरविरोधको समाधानको विधि के हुन सक्छ ? अझ किन कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि द्वन्द्व मुखरित भएर आउँछ ? यी विषयको गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । यो गरौंला, तर आज फेरि पनि गत चैत ४–५ को राष्ट्रिय भेला वा समानान्तर गतिविधि बनाउँदा जेठ २ को अवस्थामा फर्कने नै पार्टी एकताको बटमलाइन भनेर माधव नेपालले पनि राख्नुभएको थियो । उहाँले अध्यक्ष केपी ओलीलाई बरिष्ठ नेताका तर्फबाट ६ बुँदे एकताको प्रस्ताव भनेर पठाउनुभएको छ, त्यही प्रस्तावका आधारमा १० बुँदे टुंगो लागेको छ भने त्यही १० बुँदेमा टेकेर कमरेड माधव नेपाल एकतामा फर्कनुस् ।

तपाईले पर्याप्त योगदान गरेको पार्टीबाट बाहिर रहने होइन । कहीँ मिलेन भने यहीँभित्र समाधान खोजौंला । यहीँभित्र मिलाउँला । ठीक ढंगले अघि बढ्दा पार्टी नेता कार्यकर्ताले न्याय गर्छन् । समस्या आयो भनेर नयाँ पार्टी खोलेर समाधान आउँदैन । द्वन्द्व व्यवस्थापन गर्न सकिएन भने फेरि पनि गुटहरु जन्मन्छन् र पार्टी विभाजन नै हुन्छ । त्यसैले त्यो बाटोमा नहिँड्न कमरेड माधव नेपाललाई म अत्यन्त आदरका साथ आग्रह गर्न चाहान्छु । तपाई आउनुुस्, फर्कनुुस् । हामीले हिजो पनि नेता मानेका थियौं, आज पनि मान्छौं । १० बुँदामा टेकेर पार्टी एकता गरौं । यो मेरो मात्रै भावना होइन, आज एमालेका ९८ प्रतिशत कार्यकर्ता एकता चाहिरहेका छन् । यो चाहानालाई सम्बोधन गर्ने गरी जिम्मेवार भएर फर्कनुुुस् । र, अध्यक्ष कमरेडले पनि कारवाहीबाट फिर्ता लिनुस् । दुवै नेताहरुलाई म यो आग्रह गर्न चाहान्छु ।


एउटा अनुमान गरौं, मंगलबार बस्ने स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्न तयार हुनुभयो, यसको मोडालिटी पनि बन्यो, जेठ २ मा फर्कने र फागुन २३ पछिका सबै निर्णय पनि खारेज भए । तैपनि माधव नेपाल निर्वाचन आयोगबाट ‘ब्याक’ हुनुभएन भने तेस्रो धारका नेताहरु माधव नेपालबाहेककै एमालेमा समाहित होलान् कि नहोलान् ?

हामी एमालेमै छौं । दुई–तीन दिनअघि माधव र झलनाथ कमरेड पनि एमालेमै हुनुहुन्थ्यो । एमालेभित्र देखा परेको असमान्य परिस्थितिको समाधान १० बुँदेका आधारमा गरौं, यसमा टेकेर पार्टीलाई एकतावद्ध गरौं भन्ने नै हाम्रो प्रस्ताव हो । चाहे स्थायी कमिटी बैठकअघि होस् वा पछि पनि हामी यो प्रयास जारी राख्छौँ । कथम् कदाचित् माधव कमरेड सनाखतमा जानुभयो र अलग पार्टी भयो भने पनि फेरि पनि एकतामा आउनका लागि अत्यन्त सम्मान र आदरका साथ आग्रह गर्छौं ।

जहाँसम्म हाम्रो कुरा छ, १० बुँदे सहमति सम्पूर्ण हिसावले कार्यान्वयन गर्ने गरी मोडालिटीका बारेमा आज छलफल हुँदैछ । त्यो मोडालिटी सहमतिलाई कार्यान्वयन गर्नेगरी अगाडि आयो भने त्यही आधारमा पार्टीलाई एकतावद्ध गरेर जान्छौं ।

माधव नेपालले भनिरहनुभएको छ कि केपी ओली सुध्रने कुनै सम्भावना छैन । तपाईहरुले चाहिँ सुध्रिने सम्भावना देख्नुभो ?

समस्या कहाँनेर आयो भने नेकपा एमाले र नेकपा माओवादीको एकता गर्दा कमरेड केपी ओली र कमरेड प्रचण्ड दुईजना नेताहरुको सहमतिका आधारमा पार्टीका कामहरु सञ्चालन हुनेछन् भनेर एकतामा त्यो एउटा बुँदा प्रवेश गराइयो र त्यो एकप्रकारले विधानको व्यवस्था जस्तो हुनपुग्यो । दुईजना सहमत भए भने पार्टी चल्ने भयो, दुईमध्ये एउटा सहमत भएन भने पार्टी नचल्ने भयो । ५० प्रतिशत त सहमतिको सम्भावना हुन्छ, ५० प्रतिशत जहिल्यै सहमतिको सम्भावना हुँदैन । कहिलेकाहीँ व्यक्तिलाई प्रधान ठान्दाखेरि उत्पन्न हुने समस्या विगतमा हामीले पर्याप्त भोगेका छौं ।

यसकारण, पार्टीलाई विधि, प्रणाली र जनवादी केन्द्रीयताद्वारा चलाउने हिसाबले नै अगाडि बढ्नुपर्छ । यो नै पार्टीभित्र व्यक्तिविशेषमा उत्पन्न हुने समस्या समाधानको विधि हो । चाहे केपी ओली होस्, चाहे माधव नेपाल होस् । व्यक्तिगत चिन्तन र प्रवृत्तिहरुको समाधान फेरि पनि पार्टीले संस्थागत ढंगले नै खोज्ने हो । संस्थागथ निर्णयभन्दा माथि कुनै एउटा नेताको भूमिकाले ‘प्रिभेल’ गर्न थाल्यो भने आज एकता होला, भोलि संकट पैदा हुन्छ । आज अर्को पार्टी बनाऔंला, त्यहाँनेर समस्या हुन्छ । यसकारण हरेक प्रवृत्तिको समाधान विधिले नै गर्ने हो । चाहे माधव नेपालभित्र देखापर्ने प्रवृत्ति होस्, चाहे केपी ओलीभित्र देखा पर्ने प्रवृत्ति । हामीले पार्टीको संस्थागत प्रणालीलाई विश्वास गर्नुपर्दछ । यही नै एकताको मुख्य आधार हो ।

उसोभए यसमा तपाईहरुले व्यक्ति (ओली) लाई हेर्नुभएन, पार्टीलाई हेर्नुभयो भनेर बुझौँ ?

हामी आफैंले निर्माण गरेको पार्टी नेकपा एमाले हो । यहाँभित्र उत्पन्न भएको समस्याको समाधान विधिले नै खोज्नुपर्दछ । जे कारणले हामी नेकपा एमालेको बैठकमा गएनौं, ती कारणहरुको सम्वोधन गर्ने गरी १० बुँदाले त्यो भावनालाई प्रतिविम्व गरेको छ । जे कुरामा अडान राखेर हामी बैठकमा गएनौं, ती कुराहरु पूरा भइसकेपछि, पूरा गर्ने मोडालिटी तयार भएपछि पनि हामीले विभाजन गर्नुको अर्थ भनेको देखाउने एउटा कारण थियो, तर विभाजन अर्कै कारणले गरियो भनेर कसैले प्रश्न गर्यो भने पनि त्यसको जवाफ हुँदैन ।

अब भोलिदेखि एमालेमा ‘तेस्रो धार’ रहँदैन ?

नेकपा एमालेभित्रका विचार समूह र अन्तरविरोधहरु फेरि पनि एउटा जीवन्त पार्टीभित्र नयाँ नयाँ खालका मुद्दाहरु आउन सक्छन् । नयाँ ढंगले समीकरण बन्न सक्छ । चाहे नेकपा एमालेभित्र होस्, चाहे नयाँ पार्टीभित्र होस्, द्वन्द्व आउँदैन, अन्तरविरोध जन्मँदैन त भन्न सकिँदैन । तर, आज जे मुद्दाका कारणले अन्तरविरोध पैदा भएको छ, ती अन्तरविरोधका कारणहरु समाधान भए भने एउटा तहमा हामी निश्कर्षमा पुग्छौं । त्यसपछि फेरि पनि हामीले विगतमा कमीहरुलाई एउटा निश्चित समयमा समीक्षा गर्नुपर्ने होला ।

यतिबेला एमालेभित्र सांगठानिक अराजकता, वैचारिक अराजकता देखापरेको छ । नेकपा एमालेमा जुन प्रकारको अनुशासन थियो, त्यो अनुशासन लगभग समाप्त भएको छ । पार्टीको न्यूतम मूल्य र मान्यताको आधार भत्किएको छ । यी सबै चिजहरुलाई सच्याएर हामी लड्दै, धुलो टक्टक्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ । कार्यकर्ता र जनताकोबीचमा हामीले हजारौं प्रश्नको जवाफ दिनुपर्ने छ । विगतमा हाम्रा कमजोरीहरुलाई सच्याएर एकतावद्ध भएर पार्टीका न्यूनतम मूल्य र मान्यताहरुलाई हामीले अक्षरशः पालना गर्दै हामी अगाडि बढ्नुपर्नेछ । हामीले अहिले जुन क्षति व्यहोर्नुपरेको छ, यसलाई  न्यूनीकरण गर्दै भविश्यमा क्षति हुन नदिने गरी अगाडि बढ्नुपर्ने छ ।

यो सन्दर्भमा यदि १० बुँदे सहमतिको कार्यान्वयनको मोडालिटी सही ढंगले गयो भने हामी एकै ठाउँमा हुन्छौं । १० बुँदे सहमति कसरी कार्यान्वयन गर्ने भन्ने माइन्युटमा लेखिएको छ । त्यो लेखिएको स्पिरिटबमोजिम मोडालिटी आयो भने फेरि पनि एकतावद्ध भएर पार्टी अगाडि बढ्छ ।

मंगलबार बस्ने स्थायी कमिटीको बैठकअघि नै माधव नेपालले यो कुरालाई गम्भीरतापूर्वक ध्यान दिनुभएन भने उहाँ अब नेकपा एमालेमा छुट्नुभयो भने बुझ्दा हुन्छ ?

हामीले माधव कमरेडलाई छोड्न चाहेको होइन । उहाँ छुट्नोस् भन्ने कहीँ पनि आग्रह गर्न चाहँदैनौं । तर, अन्तिम एक मिनेटसम्म पनि हामी प्रयास गर्छौं । कहिलेकाहीँ मैले ठट्टा गर्ने गरेको छु, अस्पतालहरुमा उपचार गराइरहेको बिरामीलाई निको भएन भने पनि पशुपतिमा घाटे वैद्यकहाँ सकुशल फिर्ता गर्ने गरी लाने चलन छ ।

यद्यपि हामीले सतहमा हेर्दा जे प्रकारका घटनाहरु सतहमा घटेका छन्, कमरेड माधव नेपालसहितको एकताको सन्दर्भमा विश्वास गर्ने आधार त ज्यादै झिनो छ । तर, हामीले अन्तिम एक मिनेटसम्म पनि प्रयत्न गर्नैपर्छ, त्यो हाम्रो कर्तव्य हो । हामी नेकपा एमालेको विभाजन चाहँदैनौं, एकता चाहन्छौं ।

तर, यसो भन्दै गर्दा तपाईहरुलाई त अवसरवादी धारको आरोप पनि लागिरहेको छ नि ?

कसैले यसरी प्रचार गर्ने कोशिस पनि गरिरहेका होलान्  । अवसर लिनका लागि त बीचमा बसिँदैन नि । नेकपा एमालेभित्र यदि कुनै पंक्ति सबैभन्दा अप्ठ्यारो र जोखिममा छ भने त्यो हामी नै हो । दुबैतर्फका अतिवादका विरुद्ध एकताको प्रयत्न गरिरहेको बीचको पंक्ति हाम्रै पंक्ति हो ।

केपी ओलीतिर लागेको भए हिजो प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतातिर लागेको भए लाभै हुन्थ्यो होला नि त । त्यहाँ अवसरको ठूलो थुप्रो थियो होला । अहिले पनि सत्तापक्षीय गठबन्धनतिर लागेको भए तात्तातो लाभ हुन्थ्यो होला । तर, यो एकता चाहने पंक्तिले सबै कुरा त्याग्यो र विभाजन चाहने अतिवादका विरुद्ध यसले पार्टी एकताको निरन्तर विगुल फुक्यो । र, आज पनि यो पंक्ति नै सबभन्दा जोखिममा छ । यो पंक्तिले आफ्नो व्यक्तिगत सुरक्षा हेरेको भए यो प्रकारको जोखिम मोल्नुपर्ने थिएन । हाम्रो हैसियत जहाँ पुग्ला, तर हामीले यो पार्टीको एकता जोगाउनका लागि अन्तिम अवस्थासम्म प्रयत्न गरिरहेका छौं ।

तर, दुर्भाग्य, हाम्रो सीमाले भ्याएन । हाम्रो कोसिसले भ्याएन । प्रयत्न गर्दैगर्दा पनि हामीले सकेनौँ । हामीले यही कुरालाई लिएर नै आत्मसन्तुष्टि लिनेछौं । हामीले लाभ वा अवसर हेरेको यस्तो त्याग गर्नुपर्ने थिएन ।

त्यसकारण हाम्रा विरुद्ध जे प्रचार गरिएको छ, मैले त्यसप्रति आलोचना, उत्तेजना वा विरोधको कुनै शब्द प्रयोग गर्नुपर्ने जरुरी छैन । कसैले विनाजानकारी हामीलाई यसप्रकारले बुझ्नुभएको छ र प्रचार गर्नुभएको छ भने शायद यति कुरा राखेपछि उहाँहरुले बुझ्नुहोला । कसैले जानीबुझी, मनसायका साथ हामीलाई बदनाम गर्न चाहिरहेको छ भने निदाएको व्यक्तिलाई ब्युँझाउन सकिन्छ, तर निदाएको बाहना गर्ने व्यक्तिलाई ब्युँझाउन सकिँदैन ।

तर, म फेरि पनि भन्न चाहन्छु कि नेकपा एमालेको विभाजन यो नेकपा एमालेको मात्रै विभाजन होइन, यो काल पल्किएको हो । यो अरु पार्टीभित्र पनि काल पल्किनेछ । यस प्रकारका काल पल्कने प्रवृत्तिलाई कतैबाट पनि प्रोत्साहित नगरौं ।     

एमालेको तेस्रो धारमा पनि फुट आउन सक्ने आकलन गरिँदैछ । तपाईहरु ९ जना स्थायी कमिटीका नेतामध्ये कोही केपी ओलीसँगै मिल्ने र कोहीचाहिँ माधव नेपालतिर जाने सम्भावना कत्तिको छ ।

छैन । आज हामी जति (बालकोट) गएका थियौं, हामी सबैले एउटै साझा कुरा गरेका छौं । पहिलो, १० बुँदाको सम्पूर्ण हिसाबले कार्यान्वयन गर्ने । दोस्रो, १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता र माधव नेपाललाई फिर्ता आउनका लागि आग्रह गर्ने । माधव कमरेडले पनि फिर्ता आउनका लागि इमान्दारपूर्ण भूमिका खेल्नुपर्यो, कामरेड केपी ओलीले पनि कारवाही फिर्ता लिएर एकतामा आउनका लागि अपिल गर्नुपर्यो भनेर सबैले साझा ढंगले यही कुरा राखेका छौं ।

१० बुँदालाई कार्यान्वयन भएको अवस्थामा हाम्रावीचमा समस्या छैन । १० बुँदा कार्यान्वयनको मोडालिटीमा समस्या आएको अवस्थामा के हुन्छ भन्ने सन्दर्भमा अहिले नै बोल्नु उपयुक्त हुँदैन । तर, हामी सबैको साझा कुरा भनेको केपी ओली वा माधव नेपाल होइन, हामी व्यक्तिविशेषमा केन्द्रित भएनौं ।

पार्टीभित्र देखापरेको अन्तरविरोधको समाधानका लागि नेकपा एमालेभित्रको  शक्ति संघर्षको प्रतिविम्बका रुपमा १० बुँदे सहमति भएको हो । शक्ति सन्तुलन, शक्ति संघर्षको समाधानका रुपमा १० बुँदे सहमति भएको हो । यसको सम्पूर्ण हिसाबले प्रभावकारी कार्यान्वयन भएको अवस्थामा एकता चाहने हाम्रो पंक्ति नेकपा एमालेमा एकतावद्ध गर्नेतिरै जिम्मेवारपूर्ण भूमिका खेल्छ । यसमा कुनै शंका छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप