शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन स्थगन गर्ने निर्देशनका बावजुद प्रक्रिया नरोक्ने, मन्त्रालयसँग छलफल गर्ने एनआरएनएको निर्णय

सोमबार, २८ भदौ २०७८, १९ : ३६
सोमबार, २८ भदौ २०७८

यूएई । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिए पछि संघले सरकारसँग छलफल गर्ने जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयको पत्रले अन्योल सिर्जना गरे पनि सरकारसँग छलफल गरी यसलाई सहज ढङ्गले समाधान खोजिने बताए ।  

परराष्ट्र मन्त्रालयले निर्देशन दिए पनि एनआरएनएले अहिले नै निर्वाचन प्रक्रिया नरोक्ने निर्णय गरेको छ । यस सम्बन्धमा मन्त्रालयसँग संवाद गरेर सहमति खोजिने संघका पदाधिकारीहरूको (आइइएस) बैठकले निर्णय गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

 

​एनआरएनएको १०औँ महाधिवेशनका प्रतिनिधिहरू चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । उजुरी गर्नेहरूमा अध्यक्षका प्रत्याशी कुल आचार्य समूह निकट आईसीसी पूर्व सचिव जानकी गुरुङ (बेल्जियम), एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसीसी मानार्थ सदस्य शनी कुमार ओली(कतार) रहेका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले शुक्रबार (सेप्टेम्बर १० मा) एक अनुगमन समिति गठन गरिएको उल्लेख छ। उक्त समितिले कहिले सम्म छानबिन गरिसक्छ भन्नेमा टुङ्गो नहुँदा अन्यौलता छाएको छ । उक्त अनुगमन समितिले आफ्नो प्रतिवेदन पेस नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको हो।

गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाका प्रमुखको संयोजकत्वमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (कानुन सम्बन्धी अधिकारी) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (प्रविधि विज्ञ) प्रतिनिधि रहेको एक अनुगमन समिति गठन गरिएको पत्रमा उल्लेख छ।

संघका उपाध्यक्ष डाक्टर बद्री केसीले परराष्ट्रको पत्रले कोही पनि विचलित नहुन र समयमै निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । अध्यक्षका प्रत्याशी समेत रहेका डाक्टर केसीले आइतबार युरोपका प्रतिनिधिहरूको भर्चुअल भेलालाई सम्बोधन गर्दै कसैको हार र जीतले एनआरएन अभियान रोकिनु नहुनेमा जोड दिए । अधिवेशन रोकेर संस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै डाक्टर केसीले आफूले आफ्नो हारजीत नहेरेको बताए । हामी सरकारसँग यस सम्बन्धमा छलफल गरी अहिले छाएको अनिश्चततालाई छिट्टै नै तोड्छौ, केसीले भने ।अर्को एक प्रसङ्गमा देश र प्रवासी नेपालीहरूको हितको लागि राजनीतिक दलहरूसँग सहकार्य गर्नु पर्ने तर राजनीतिक दलहरूले संस्थामा हस्तक्षेप गर्न नहुनेमा केसीले जोड दिए ।

महासचिव डाक्टर हेमराज शर्माले अहिले प्रथम चरणको प्रतिनिधिहरूको नामावली प्रकाशित भएको र दाबी विरोधहरू प्राप्त भइरहेकोले ती दाबी विरोधहरू उपर छानबिन गरिने बताए । परराष्ट्र मन्त्रालयले उठाएको प्रश्नलाई प्रमाण सहित यथोचित जवाफ दिएर समयमै निर्वाचन गरिने महासचिव शर्माले बताए ।    

(निर्वाचन स्थगन गर्न परराष्ट्र मन्त्रालयबाट जारी पत्र)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप