बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा घुमघाम : थोरै बजेट र समयमा घुम्न सकिने १० प्रसिद्ध गन्तव्य

शनिबार, २३ असोज २०७८, ०८ : ५६
शनिबार, २३ असोज २०७८

दसैँ /तिहारजस्ता चाडबाड खानपान र लत्ताकपडा लगाउने चाहनाबाट माथि उठिसकेको छ । केही वर्ष अघिसम्म खानेकुराका परिकार र पहिरनलाई मात्र विशेष महत्व दिने हामी आज दसैँ लाई नयाँ ठाउँ घुमफिर गर्ने र नयाँ जानकारी लिने समयको रूपमा लिन थालेका छौँ । त्यसो त घुमफिर गर्ने उपयुक्त समय र अवसर पनि यही हो । शरद ऋतुमा पर्ने दसैँ  तिहारमा सबैतिर हरियाली र घमाइलो स्वच्छ वातावरण समेत हुने हुँदा घुम्न उपयुक्त मानिन्छ । यो पर्वमा घुम्न सकिने गरी बिदा पनि मिल्छ । अनि के चाहियो र ! 

दसैँ मा कहाँ जाने र के गर्ने भनी सोच्दै हुनुहुन्छ ? पक्कै सोच्नुभएको होला । यदि सोच्नु भएको छैन भने पनि अब सोच्न थाल्नुस् । किनकी उमंगसाथ दसैँ  मनाउनुपर्‍यो नि ! आज हामी तपाईंहरूलाई थोरै समय र बजेटमा घुम्न सकिने प्रसिद्ध १० गन्तव्य सुझाउँदैछौँ । जहाँ तपाईंहरूले सामान्य खर्चमा छोटो अवधि छुट्याएर पनि घुम्न र आनन्द लिन सक्नुहुनेछ । 

उपत्यका नजिकका आकर्षक गन्तव्य :

नगरकोट
नगरकोटबारे नसुन्ने र त्यहाँ नपुग्ने सायदै होलान् । उपत्यकावासी, बाहिरी जिल्लाका र विदेशीहरूका लागि समेत यो निकै परिचित स्थान हो । काठमाडौँ उपत्यका नजिकैको प्रसिद्ध रमणीय स्थल नगरकोट तपाईंहरूका लागि दसैँ  तिहारको उपयुक्त घुमफिर गन्तव्य बन्न सक्छ । काठमाडौं नजिकै २ हजार ७५ मिटर उचाइमा रहेको यो स्थान निकै रमणीय छ । मौसम सफा भएको बेला यहाँबाट उत्तरतर्फ मनमोहक हिमालका चुचुराहरू आँखा अघिल्तिर नै लहरै देख्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्यसँगै धौलागिरी, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से र मकालु लगायतका थुप्रै हिमश्रृङ्खलाहरू समेत देख्न पाइन्छ । 


पछिल्लो समय खुलेका होटल तथा लज, विशिष्ट तारे होटलहरूमा समेत खानपानको राम्रो प्रबन्ध छ । त्यसैले, नगरकोट पुग्नेले खानपान र बस्नका लागि पनि चिन्ता लिनुपर्दैन । त्यसो त उपत्यका नजिकै रहेकाले यो क्षेत्र त्यति महँगो पनि छैन । काठमाडौंदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको यो स्थानमा साथीभाइसँग दसैँ को विशिष्ट मज्जा लिन सकिन्छ । 

धुलिखेल


घुमफिर र बिदा मनाउन उपत्यका नजिकैको अर्को उपयुक्त गन्तव्य काभ्रेपलाञ्चोकको धुलिखेल पनि बन्नसक्छ । उपत्यकाबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो क्षेत्र पछिल्लो समय पर्यटन व्यवसायको ‘हब’ नै बन्दै गएको छ । पछिल्लो समय यो क्षेत्रमा खुलेका प्रशस्त होटल, लज, रिर्सोट तथा होमस्टेहरूले पर्यटक तानिरहेका छन् । त्यसो त बजार नजिकै रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू तिमाल, हजार छिडी, नमोबुद्ध र उत्तरतर्फ साँघाको शिव मुर्तिले समेत धार्मिक पर्यटकहरू तानिरहेको छ । दसैँ का लागि यो क्षेत्र तपाईहरूको घुमफिरको उपयुक्त विकल्प बन्न सक्छ ।

सुन्दरीजल–चिसापानी 


काठमाडौं उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने सुन्दरीजल–चिसापानी ट्रेकिङ तथा हाइकिङको छोटो रुट पनि हो । उपत्यकादेखि नजिककैको यस क्षेत्रमा एक–दुई दिन बसोबास गर्न र घुमफिर गर्न निकै रमाइलो हुन्छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको छेउ अघिल्लतिर नै देखिने लाङ्टाङ, गणेश र मनास्लु लगायतका हिमश्रृङ्खलाहरूले मनै चङ्गा बनाउँछ । पछिल्लो समय यहाँ खुलेका होमस्टे, साना तथा मझौला होटल तथा लज र रिर्सोटहरूमा खान र बस्न राम्रो प्रबन्ध छ । उपत्यका बाहिर रमणीय दृष्यमा केही दिन रम्न र हराउन चाहनेहरूका लागि यो क्षेत्र पनि उपयुक्त विकल्प बन्न सक्छ । 

ककनी


काठमाडौं उत्तरी क्षेत्रको प्रसिद्ध पर्यटकीय क्षेत्र हो ककनी । नुवाकोट जिल्लामा पर्ने सो क्षेत्र राजधानीदेखि करिब २० किलोमिटरको दूरीमा मात्र छ । चिसो हावापानी र मनोरम दृष्यले भरिपूर्ण यो क्षेत्र घुमफिरको राम्रो गन्तव्य हो । तामाङ र गुरुङहरू जनजातीहरूको बाहुल्यता रहेको यो क्षेत्रमा मौलिक घर तथा बस्ती रहेको छ । स्थानीय कृषि खेती, स्ट्रबेरी र ट्राउट माछाका लागि यो क्षेत्र निकै प्रसिद्ध छ । 
घुमफिर गर्न जानेहरूले यहाँ ट्राउट माछाको साथमा स्थानीय स्ट्रबरी तथा कोदोबाट बनेको मदिराको स्वादसमेत लिन पाउँछन् । बसोबासका लागि होमस्टेहरूको राम्रो प्रबन्ध छ ।  

अब उपत्यकाबाट केही टाढाका पर्यटकीय गन्तव्यहरू :

दामन–चित्लाङ


काठमाडौं उपत्यका नजिक, तर यात्रा समयका हिसाबले केही घण्टा बढी लाग्ने प्रसिद्ध रमणीय पर्यटकीय क्षेत्र हो : चित्लाङको दामन ।
विशेषतः कुलेखानी हुँदै जाने पर्यटकहरू दामन पुग्ने र त्यहाँको उच्च भागमा रहेको रिर्सोट तथा होमस्टेहरूमा क्यामफाइरिङ गर्न उनीहरू खुब मन पराउँछन् । पछिल्लो समय दामनमा यस्ता थुप्रै होटल, रिर्सोट तथा होमस्टेहरू खुलेका छन् । खर्चका हिसाबले पनि यो ठाउँ त्यति महँगो छैन । दामन निकै रमाइलो छ ।

पोखरा
गीत नै छ : पोखरा त साँच्चिकैको पोखरा नै रै’छ । नेपालको पर्यटकीय क्षेत्र केन्द्र नै मानिने पोखराबारे थाहा नपाउने सायदै होलान् । 
काठमाडौंदेखि २०० किलोमिटर दूरीमा रहेको पोखरा पुग्न करिब ५ घण्टा समय लाग्छ । घुम्नकै लागि जानेहरूका लागि तीन–चार दिन बिताउन यो निकै राम्रो र उपयुक्त गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण र हिमालको काखमा रहेको पोखरामा प्रसिद्ध तालतलैयादेखि गुफा, झर्ना र धार्मिक मठमन्दिरहरू समेत रहेका छन् । फेवातालको बीचमा रहेको तालबाराही यहाँको प्रसिद्ध मन्दिर हो । यस्तै, बेगनास ताल र रूपाताल सहित महेन्द्र गुफा, चमेरे गुफा तथा पातले छाँगो (डेबिड फल) पोखराका प्रसिद्ध पर्यटकीय क्षेत्रहरू हुन् । 


खानबस्नका लागि आफूले चाहेको र क्षमताले भ्याउने सबै खालका होटल तथा लजहरूको सुविधा पोखरामा उपलब्ध छ । एक दिन जान, दोस्रो दिन घुम्न र पर्सिपल्ट फर्किन पनि सकिन्छ । सराङकोट डाँडाबाट प्याराग्लाइडिङको मज्जा लिने सुविधा पनि छ । त्यसैले दसैँ  बिदाको सदुपयोग गर्ने एक उपयुक्त विकल्प पोखरा हुनसक्छ । 

सौराहा
प्रकृति पर्यटनका लागि चितवनको सौराहा निकै प्रसिद्ध छ । हात्ती चढेर निकुञ्जको अवलोकन र वन्यजन्तुहरूलाई प्रत्यक्ष हेर्न पाउनु यहाँको विशेषता हो । त्यसो त यहाँ केही दिन खान बस्न र रहनका लागि समेत निकै रमाइलो छ । सबै तनाव भुलेर केही दिन शहरी वातावरणबाट बाहिर रहन चितवन एक उपयुक्त विकल्प हो । 


यहाँ होटल तथा लजहरूको समेत राम्रो व्यवस्था छ । दुई तीन दिन घुमफिर गर्ने प्याकेज बनाएर सौराह जान सकिन्छ । त्यसो त ट्राभल एजेन्सीजहरूले समेत चाडवार्डको अवसरमा आकर्षक भ्रमण प्याकेजहरूको अफर गर्ने गर्छन् ।  

लुम्बिनी
गौतम बुद्धको जन्मथलो लम्बिनी अर्को घुमफिरको आकर्षक घुमघाम गन्तव्य हो । तराईको तल्लो भूभागमा पर्ने यो क्षेत्र हुँदै पाल्पाको तानसेन, रानीमहलसँगै गुल्मीको रेसुङ्गासम्म पुग्न सकिन्छ । तर, यसका लागि अलिक बढी समय छुट्याउनुपर्ने हुन्छ । करिब एक हप्ताको प्याकेज बनाएर जाने हो भने, तराईको प्रसिद्ध गौतम बुद्ध सर्किट, महाभारत चुरे क्षेत्रको बुटवल–पाल्पा र उच्च पहाडी र हिमाली क्षेत्रसम्मको गुल्मी पुगेर फर्किन सकिन्छ । 


यहाँ पनि खानपान र बसोबासको कुनै समस्या छैन, प्रशस्त खुलेका होटल, लज तथा होमस्टेहरूले राम्रै पाहुनाको सेवा सत्कार गरिरहेका छन् । तथापि, दसैँ का बेला खानपान र बस्न पहिले नै व्यवस्था गरेर जाँदा सहज हुन्छ । विकल्पमा यात्रा छोट्याउन हवाईयात्रा समेत गर्न सकिन्छ ।

जनकपुर
धनुषास्थित जनकपुरधाम एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । रामजानकी मन्दिर रहेको यो क्षेत्र प्राचीनकालीन संस्कृति, लिपी तथा सभ्यतामा प्रख्यात छ । विशेषतः मैथिली संस्कृति र कला कौशलमा जनकपुरधाम निकै अघि छ ।
यो धार्मिक पर्यटकहरूका लागि त भगवानको घर नै हो । दसैँ  तिहारको छुट्टीमा बिदा सदुपयोग निम्ति घुमफिर गर्न जनकपुर निकै राम्रो विकल्प हुन सक्छ । जनकपुरस्थल र हवाई दुबै मार्गबाट काठमाडौंसँग जोडिएको छ । 

यी बाहेकका घुम्न लायक अन्य पर्यटकीय ठाउँहरू पनि प्रशस्त छन् । यस निम्ति हामीले आफ्नो समय र खर्चलाई पनि ध्यान दिनुपर्ने हुन्छ । थोरै खर्चमा थोरै समया घुम्न यस्ता ठाउँहरू उपयुक्त हुन्छन् । लामो समयसम्म घुम्नेगरी जान पनि नेपालभित्र प्रशस्त ठाउँहरू छन् । दसैँ  बिदामा तपाईंहरू जहाँ जानुहुन्छ, जुन ठाउँ जाने सोच बनाइरहनु भएको छ–पहिला आफ्नो बजेट हेर्नुहोस्, पुग्ने ठाउँको वस्तुस्थिति बुझ्नुहोस् र खानपान र बसोबास प्रबन्धबारे राम्रो ख्याल गर्नुहोस् । ता कि पछि कुनै समस्या नआओस् । शुभ यात्रा, शुभ दसैँ  !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप