मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
सारांश
- लुम्बिनी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम पारित गरिसकेपछि पाँच मन्त्रालयका मन्त्री फेरबदल भएका छन्।
- बजेट निर्माणको अन्तिम चरणमा मन्त्री परिवर्तन हुँदा योजनामा पुनः छलफल भई केही कार्यक्रम थपिने वा हट्ने सम्भावना छ।
- नवनियुक्त मन्त्रीहरूले बजेटलाई अझै आकर्षक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा पाँच वटा मन्त्रालयका मन्त्री फेरबदल भएका छन् । बजेट निर्माणको अन्तिम चरणमा मन्त्रालयहरूले सिलिङ अनुसार योजना तथा कार्यक्रम इन्ट्री गर्ने काम भइरहेका बेला मन्त्री परिवर्तन भएपछि बजेटमा केही असर पर्ने अनुमान गरिएको छ ।
प्रदेश सभाले जेठ १३ गते आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको थियो । त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले जेठ २० गते एमालेका ४ र जसपा नेपालका एक मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले सोमबार शपथग्रहण गरेर कार्यभार सम्हालेका छन् ।
बजेट निर्माणको समयमा मन्त्री परिवर्तन भएपछि मन्त्रालयगत योजनामा पुनः छलफल हुने र केही कार्यक्रम हट्ने तथा नयाँ थपिने सम्भावना रहेको प्रदेश सरकारका एक सचिवले बताए । उनका अनुसार अन्तिम चरणमा पुगेको बजेटमा नयाँ नेतृत्वका प्राथमिकताअनुसार केही समायोजन हुन सक्छ ।
अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई बजेट सिलिङ उपलब्ध गराइसकेको छ । संघीय सरकारबाट आउने समपूरक तथा सशर्त अनुदानका कार्यक्रम पनि थपिँदै छन् ।
लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयका प्रवक्ता एवं उपसचिव धनिश्वर अर्यालले बजेट निर्माण कार्य तीव्र रूपमा भइरहेको रातोपाटीलाई बताए । उनले मन्त्री फेरबदलले बजेट निर्माणमा ठुलो असर नपरे पनि सामान्य प्रभाव स्वाभाविक रूपमा पर्ने बताए ।
‘मन्त्रालयहरूले पाएको सिलिङकै आधारमा योजना तथा कार्यक्रम प्रविष्ट गर्ने काम भइरहेको छ,’ अर्यालले भने, ‘नयाँ मन्त्री आए पनि त्यही सीमाभित्र केही योजना काट्ने र थप्ने काम स्वाभाविक रूपमा हुन्छ ।’
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । तर आन्तरिक स्रोत घट्नु र संघीय अनुदानमा कमीका कारणले यस वर्ष बजेट आकार केही घट्ने अनुमान गरिएको छ ।
मन्त्रीहरू भन्छन्– बजेट अझै राम्रो बन्ने छ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमार्फत प्रदेशको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै बजेट निर्माण अझै राम्रो बनाउने बताएका छन् । उनीहरूले बजेट स्वाभाविक रूपमा आकर्षक र प्रभावकारी बनाउने दाबी गरेका छन् ।
नवनियुक्त स्वास्थ्यमन्त्री रामजी घिमिरेले स्वास्थ्य सेवालाई जनतासँग सिधै जोड्ने गरी योजना ल्याइने बताए । उनले अस्पताल स्तरोन्नति, कर्मचारीको कार्यक्षमता वृद्धि र सेवा सुधारलाई प्राथमिकतामा राखेर बजेट तयार गरिने उल्लेख गरे । ‘अबका योजना जनतासँग प्रत्यक्ष जोडिने खालका हुनेछन्,’ उनले भने ।
कृषि, भूमि तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर नयाँ कार्यक्रम अघि सारिने बताए । उनले बजेट निर्माणका लागि अझै केही दिन समय रहेकाले प्रभावकारी योजना थप्न सकिने बताए ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसालले प्रदेशमा ऊर्जाको सम्भावना उच्च रहेको भन्दै पुराना अध्ययनलाई कार्यान्वयनमा लैजाने र नयाँ अध्ययनमार्फत योजनाहरू विस्तार गर्ने बताए । सिँचाइतर्फ आवश्यकताका आधारमा बजेट विनियोजन गरिने उनको भनाइ छ ।
अर्थमन्त्री धनेन्द्र कार्कीले अन्तिम चरणमा मन्त्री परिवर्तन भए पनि समन्वय गरेर बजेटलाई परिष्कृत बनाउने बताए । मन्त्रालयबाट आएका योजनालाई प्राथमिकता र आवश्यकता अनुसार समावेश गरिने उनले जानकारी दिए ।
मन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूले आफूलाई उपयुक्त लागेको कार्यक्रम थपेर ल्याउन सक्ने खुलाए ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका संयोजक हुमराज भुसालले अन्तिम समयमा मन्त्री फेरबदल हुँदा बजेट निर्माण प्रक्रियामा स्थिरता नआउने र संघीयता कार्यान्वयनमा समेत नकारात्मक प्रभाव पर्न सक्ने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण