रास्वपा दैलेखमा पदाधिकारी घोषणा भइसकेपछि खसेको भन्दा बढी मत भेटियो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशनमा सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भइसकेपछि १२ मतको खोजी भएको छ ।
- सभापतिका एक आकाङ्क्षी प्रकाश बुढाका अनुसार मतदानमा कुल खसेको मत संख्या २४० भनिएको थियो, तर सभापतिको उम्मेदवारको प्राप्त मत २४६ देखिन्छ ।
- निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कामको छानबिन हुनुपर्ने माग गर्दै रास्वपा दैलेख जिल्ला पार्टी कार्यालयमा तालबन्दी गरिएको छ ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशन विवादित बनेको छ । सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भइसकेको घोषणापछि अहिले आएर १२ मतको खोजी भइरहेको हो ।
रास्वपा दैलेखको सभापति पदका लागि चार जना आकाङ्क्षी थिए । सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार साँझ चुनाव भएको थियो । सभापतिका एक आकाङ्क्षी प्रकाश बुढाका अनुसार मतदानमा कुल खसेको मत संख्या २४० भनिएको थियो ।
तर सभापतिको उम्मेदवारको प्राप्त मत २४६ देखिन्छ । सभापतिमा निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए । यस्तै, अर्का उम्मेदवार प्रकाश बुढा ६९, विनी बहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल: ४१ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले जानकारी दिएको कुल मत संख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबिच तालमेल नमिलेको देखिन्छ, जसले निर्वाचन समितिको पारदर्शितामाथि प्रश्न उठेको छ ।
उम्मेदवार रहेका बुढाका अनुसार, खसेको मतमा पनि ६ मत बदर भएको भनियो । ४० बाट ६ घटाएपछि २३४ हुन्छ । तर सभापति पदका उम्मेदवारले पाएको कुल मत २४६ भयो ।
१२ मत कसरी बढी भयो भन्ने विषयमाथि छानबिन हुनुपर्ने माग उनले गरेका छन् । ‘निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कामको छानबिन हुन जरुरी छ,’ उनले भने । साथै, उनले प्रमाण नष्ट नहोस् भनेर रास्वपा दैलेख जिल्ला पार्टी कार्यालयमा तालबन्दी गरिएको बताए ।
जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तोकेको थियो । यस विषयमा रातोपाटीले शाहीलाई बुझ्दा उनले निर्वाचन सकेर सबै डकुमेन्ट पार्टी कार्यालयमा बुझाइसकेको बताए ।
साथै, आफुलाई त्यो तथ्याङ्क कण्ठ नभएकाले पार्टी कार्यालयमै बुझ्न भने । उनले निर्वाचन निष्पक्ष तरिकाले भएको मौखिक दाबी पनि गरे ।
तर मत सङ्ख्या बढी कसरी भयो ? भन्ने प्रश्नमा उनले जवाफ दिएनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण