राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
सारांश
- बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले देशको ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटबिच प्रदर्शनकारीविरुद्ध सेना परिचालन गर्न अनुमति दिएका छन् ।
- देशभर सडक अवरोधका कारण जनजीवन प्रभावित भएपछि यो निर्णय गरिएको हो, जसमा कम्तीमा १० जनाको मृत्यु र सयौँको गिरफ्तारी भइसकेको छ ।
- प्रदर्शनकारीहरूले इन्धन अनुदान हटाउने सरकारी निर्णय, बढ्दो महँगी, न्यून ज्याला तथा आर्थिक संकट समाधान गर्न सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रपति पाजको राजीनामा मागिरहेका छन् ।
बोलिभिया । बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले देशको ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटबिच प्रदर्शनकारीविरुद्ध सेना परिचालन गर्न अनुमति दिएका छन् ।
देशभर सडक अवरोधका कारण जनजीवन प्रभावित भएपछि यो निर्णय गरिएको हो । बोलिभियामा प्रदर्शन सुरु भएयता कम्तीमा १० जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते र सयौँ व्यक्तिको गिरफ्तारी भइसकेको बताइएको छ ।
पछिल्ला पाँच सातादेखि जारी सरकार विरोधी आन्दोलनले देशलाई गम्भीर राजनीतिक र आर्थिक सङ्कटतर्फ धकेलेको छ । राष्ट्रपति रोड्रिगो पाजको सरकारविरुद्ध मजदुर संघ, किसान तथा आदिवासी समुदायहरू सडकमा उत्रिएपछि देशभरका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । प्रदर्शनकारीहरूले इन्धन अनुदान हटाउने सरकारी निर्णय, बढ्दो महँगी, न्यून ज्याला तथा आर्थिक संकट समाधान गर्न सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रपति पाजको राजीनामा मागिरहेका छन् ।
लगातारका सडक अवरोधका कारण राजधानी ला पाजसहित देशका प्रमुख सहरहरू खाद्यान्न, इन्धन र औषधिको अभावबाट प्रभावित भएका छन् । सरकारले प्रदर्शन नियन्त्रणका लागि प्रहरी परिचालन गरे पनि विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीहरूले ढुंगा, पटका र लाठी प्रयोग गरेका छन् भने प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
संकट झन् गहिरिँदै गएपछि राष्ट्रपति पाजले आपत्कालीन अवस्था घोषणा गर्न सक्ने कानुनी आधार तयार गरेका छन् । संसदबाट पारित नयाँ कानुनले आवश्यक परेमा सेना परिचालन गरी सडक अवरोध हटाउने तथा व्यवस्था पुनःस्थापित गर्ने अधिकार सरकारलाई दिने बाटो खोलेको छ । यद्यपि आपत्कालीन अवस्था लागू गर्न राष्ट्रपतिले छुट्टै आदेश जारी गर्नुपर्नेछ ।
राष्ट्रपति पाजले आन्दोलनलाई ‘नार्को–आतंकवाद’ ले उक्साएको दाबी गर्दै कठोर कदम चाल्ने चेतावनी दिएका छन् । उनले वैध माग राख्ने सामाजिक समूहसँग संवाद गर्न तयार रहेको बताए पनि आन्दोलनकारीहरूले उनको प्रस्ताव अस्वीकार गर्दै राजीनामाको माग दोहोर्याइरहेका छन् ।
गत नोभेम्बरमा करिब दुई दशक लामो समाजवादी शासनको अन्त्य गर्दै सत्तामा आएका पाजमाथि आर्थिक सुधारका नाममा जनतामाथि बोझ थोपरेको आरोप छ । यसैबिच अमेरिकाले पनि पाज सरकारलाई समर्थन जनाएको छ । राजनीतिक गतिरोध, आर्थिक संकट र बढ्दो हिंसाका कारण बोलिभिया अहिले सैनिक हस्तक्षेपको सम्भावनासहितको संवेदनशील मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण