आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपभोक्तावादीको आरोप- महङ्गी र कालोबजारीमा सरकारले आँखा चिम्लियो

सोमबार, १५ कात्तिक २०७८, १७ : ५५
सोमबार, १५ कात्तिक २०७८

उपभोक्तावादी ‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी बढेको खाद्य वस्तुमा अखाद्य वस्तुको मिश्रण बढेको र उपभोक्ताले थेग्नै नसक्नेगरी महङ्गी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

आम उपभोक्ताहरूको दैनिक जीवन र स्वास्थ्यजस्तो गम्भिर विषयसँग जोडिएको बजार मनलाग्दी ढंगले बढ्दा पनि सरकारले देखेको नदेखे झैं गरेको कन्जुमर आई नेपालको आरोप छ ।  ‘यहाँ के चीजमा महङ्गी छैन ? कुन वस्तुमा मिसावट छैन ? सब–सब उपभोग्य वस्तुहरु उपभोग विपरित छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले प्रश्न गरिन्, ‘खोइ सरकार कहाँ छ ?’

सोही कार्यक्रममार्फत अध्यक्ष खनालले उपभोग्य खाद्यवस्तु केराउ, मरिच तथा छोकडामा सरकारले आयात प्रतिबन्ध लगाएर कार्टेलिङ गरेको आरोप लगाइन् । विश्व व्यापार संघ (डब्लूटीओ) को सदस्य राष्ट्र समेत रहेको नेपालले यसरी वस्तु आयातमा प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको उनको आरोप छ ।  तर संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सभापति बिमल श्रीवास्तवले उक्त आरोपको ठाडै अस्वीकार गरे ।

वस्तु तथा सेवाको निर्वाध उपभोग गर्न पाउनु उपभोक्ताहरूको अधिकार भएपनि आवश्यक भन्दा बढी मात्रा आयात गर्न पाउनुपर्छ भन्ने माग जायज नभएको सभापति श्रीवास्तवले बताए । 

‘बाहिरबाट वस्तु आयात गर्न पाएनौं, दिइएन भन्दा पनि हाम्रो आवश्यकता के हो त्यो महत्वपूर्ण कुरा हो । हामीलाई कति परिमाणमा चाहिन्छ र कति आयात भइरहेको छ ?’ श्रीवास्तवले भने, ‘महत्वपूर्ण कुरा त त्यो अत्यावश्यक वस्तु हो कि होइन भन्ने हुन्छ । यदि होइन र चाहिने भन्दा बढी आयात भइरहेको छ भने त्यसलाई रोक्नैपर्छ । केराउ, मरिच र छोकडामा अहिले भएको पनि यहि हो । हामीलाई वार्षिक २ अर्बको भए पुग्छ भने १२ अर्ब बढीको किन भइरहेको छ ? त्यसैले यसमा टाउको दुखाउनुपर्छ जस्तो मलाई लाग्दैन’ सभापति श्रीवास्तवले भने ।

 बरु स्वदेशी उत्पादनमा हुने वस्तुको उपलब्धतामा, बजार मूल्यमा र त्यसको गुणस्तरमा खोजी गर्नुपर्ने उनले बताए । यस विषयमा उठेका सवालमा समितिले निकै गम्भिरतापूर्वक काम गर्ने गरेको र सरकारलाई निर्देशन दिने गरेको उनले बताए । तर, अहिलेको सरकारमा कसैले भनेको नसुन्ने प्रवृत्ति पनि देखिँदै गएको उनले गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप