शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रतिनिधिलाई भृकुटीमण्डपमा भात,  होटलमा ८ सयको खाट

यसरी हुँदैछ महाधिवेशनमा भोजन तथा आवासको व्यवस्थापन
सोमबार, २० मङ्सिर २०७८, १९ : १७
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूका लागि भोजन र आवासको प्रबन्ध मिलाएको छ । महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

मंसिर २४–२७ मा काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए । पाण्डेका अनुसार भोजन र आवास उपसमिति बनाएर काम भइरहेको छ ।

नेपाली काँग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्नेभएको छ ।

खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ । होटलमा चाहिँ प्रतिनिधिले सुख्खारुपमा सुत्नमात्रै पाउने छन् ।

काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गर्ने भएपछि उपत्यकाका होटल व्यवसायीहरूको बिजनेस चम्कने भएको छ ।  

४५ सय बेडको व्यवस्था

व्यवस्थापन समितिका संयोजक पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिको आवासका लागि ४५ सय बढी बेडको व्यवस्था गरिएको छ । उनी भन्छन्, ‘हामीलाई लगभग ४५ सय बेड चाहिने हो । तीमध्ये ३८ सय बेडहरू बुकिङ भैसकेको छ । बाँकी ७ सय जति बेड बुकिङको प्रक्रियामा छ, त्यो पनि बुधबारभित्र बुकिङ भइसक्छ ।’

महाधिवेशनमा आउने प्रतिनिधिका लागि काठमाडौंमा करिब एक सयवटा होटेल बुकिङ गर्नुपर्ने पाण्डेको भनाइ छ । उनले रातोपाटीसँग भने, ‘अहिलेसम्मको हिसाबमा ७५ देखि ८० वटा होटलमा राख्ने टुंगो भएको छ । अपुग भएमा अरु थपेर लगभग सय वटा होटल पुग्न सक्छन् ।’

भोजनका लागि दुईवटा फुडल्याण्ड र आवासका लागि करिब सयवटा होटेलको व्यवस्था भइरहेको पाण्डेले बताए । उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि हामीले बसुन्धराको दियालो र वत्तीसपुतलीको अनुपम फुडल्याण्डलाई संयुक्तरुपमा जिम्मा दिइसकेका छौं ।’

पाण्डेका अनुसार काँग्रेस महाधिवेशन प्रतिनिधिलाई २३ गतेदेखि २७ गतेसम्म आवास र २४ गतेदेखि भोजनको व्यवस्था मिलाएको छ । उनी भन्छन्, ‘खाना र आवास व्यवस्थापनको काम लगभग सकिएको छ भन्दा हुन्छ । २३ गतेदेखि २७ गतेसम्म हामी हाम्रा महाधिवेशन प्रतिनिधिलाई सुताउँछांै । २४ देखि २७ सम्म खाना पनि खुवाउँछौं,’ महाधिवेशन लम्बियो भने एक–दुई दिन त्यसैगरी खाने–बस्ने अवधि पनि लम्बिन्छ ।’

खाना र खाजा दिनमा तीन छाक

महाधिवेशनमा आउने प्रतिनिधिको खानपिनको व्यवस्था भृकुटीमण्डपमै गरिनेछ । पाण्डे भन्छन्, ‘खाना भृकुटीमण्डपमै क्याटरिङले नै खुवाउँछन् । बिहानको नास्तादेखि बेलुकाको डिनर पनि त्यहीँ हुन्छ । जसमा ब्रेकफास्ट, लञ्च र दिउँसो चिया हुन्छ । बेलुका डिनर हुन्छ ।’

पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिले सुत्नमात्रै होटेलमा जानुपर्ने छ । उनी भन्छन्, ‘सुत्न होटलमा व्यवस्था गरिन्छ । खाना र होटेल छुट्टा छुट्टै हो ।’

एउटा बेडको ८ सय

टुरिस्ट स्ट्याण्डरको होटलमा बेडहरू बुकिङ गरिएको पाण्डेले जानकारी दिए । उनले भने, ‘हाम्रो पर्यटन बोर्डले जस्तो भिजिट २०२० मा एउटा मापदण्ड तय गरेको रहेछ । त्यही स्ट्याण्डर्डको होटलमा राख्ने हो, जुन ठमेल एरियामा पनि हुन्छ,’ उनले भने ।

पछिल्लो समय सीसीएमसीले होटेल आइसोलेसनमा बस्नका लागि बनाएको मापदण्डअनुसारको होटेलमा महाधिवेशन प्रतिनिधिलाई सुताउने पाण्डेले बताए । उक्त मापदण्डको होटेलमा सालाखाला ८ सयका दरले बेडहरू बुकिङ गरिएको उनले जानकारी दिए ।पाण्डेले भने, ‘सालाखाला प्रतिबेड ८ सयका दरले तिर्ने भनेर तयारी गरेका छौं । जसमा एट्याच बाथरुमका साथै चिसो तातो पानीको सुविधा हुन्छ ।’

आवास–भोजनको जिम्मा खेम खड्का र प्रगतिमान रञ्जितलाई  

भोजन तथा आवासका लागि समितिले तीव्रताका साथ काम गरिरहेको पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो नेतृत्वमा भोजन तथा आवास व्यवस्थापन समिति छ, त्यसमा पार्टीका केन्द्रीय सदस्यहरू हुनुहुन्छ । उहाँहरूसँग सरसल्लाह गरेर नै काम भइरहेको छ । यस बाहेक आवासलाई छुट्टै उपसमिति बनाएका छौं ।’

पाण्डेका अनुसार ट्रेड युनियन काँग्रेस होटेल संघका अध्यक्ष खेम खड्काको संयोजकत्वमा आवास उपसमिति बनेको छ । यस्तै काठमाडौं काँग्रेसका नेता प्रगतिमान रञ्जितको संयोजकत्वमा भोजन उपसिमिति बनाइएको छ ।

पाण्डेका अनुसार प्रतिनिधिहरूले काठमाडौं आउन–जाने खर्च भने आफैंले व्यवस्था गर्नुपर्नेछ । ‘महाधिवेशन प्रतिनिधिले व्यक्तिगतरुपमा वा जिल्ला कार्यसमितिमार्फत व्यवस्थापन गरेर आउनुहुन्छ । त्यसको जिम्मेवारी हामीसँग हुँदैन,’ उनले रातोपाटीलाई भने ।

काठमाडौं आएपछि भने प्रतिनिधि भोजन तथा आवासको व्यवस्था समितिले गर्ने पाण्डेले बताए । यसको सहजीकरण आवास उपसमितिले गर्नेछ भने स्वयंसेवकहरूले प्रतिनिधिको बसोबासको सहजताका लागि काम गर्नेछन् । ‘काठमाडौं आएपछि उहाँहरूले हामीसँग सम्पर्क गर्नुहुन्छ, हामीले उहाँहरूको जिल्लाको नेतृत्वलाई कुन होटेलमा बस्ने भनेर जानकारी दिन्छौं,’ पाण्डेले भने । पाण्डे भन्छन् ‘अहिले भोजन तथा आवास व्यवस्थापन समितिमा १३ जना छौं । यसमा थपेर ५० जनाभन्दा बढी बनाएनेछ ।’

विदेशबाट आउने अथितिको व्यवस्था मिलाउन बाँकी

विदेशबाट आउने अथितिको व्यवस्था मिलाउन बाँकी रहेको पाण्डेले बताए । उनले भने, ‘विदेशबाट अतिथिका बारेमा के गर्ने भन्ने टुंगो लागिसेको छैन । कति अतिथि आउनुहुन्छ भन्ने टुंगो नलागिसकेकाले त्यसको  व्यवस्थापन गर्न बाँकी छ । त्यो संख्या निर्धारण भएपछि अतिथि सत्कार समितिसँग छलफल गरेर यसलाई टुंग्याइनेछ ।’

महाधिवेशनमा आउने अथितिको संख्या निर्धारण भएपछि भोजन र आवासको टुंगो लाग्ने उनले बताए । पाण्डेले भने, ‘हामीले गर्ने कि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिले गर्ने, टुंगो लगाउँछौं । यसबारे अहिलेसम्म निर्णयमा पुगिसकेका छैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप