आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विपिन रावतको मृत्यु : मोदीलाई धक्का

शनिबार, २५ मङ्सिर २०७८, १४ : १४
शनिबार, २५ मङ्सिर २०७८

बुधबार हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्यु भयो । उनीसँगै दुर्घटनामा उनकी पत्नी र अन्य १३ जनाको पनि मृत्यु भयो । भारतका प्रभावशाली व्यक्तित्व रावत पूर्व सेनाप्रमुख मात्र थिएनन् प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नियुक्त भएका चीफ अफ डिफेन्स स्टाफ पनि हुन् ।

भारतका पहिलो रक्षा प्रमुख रावतको विश्वका धेरै मुलुकहरूसँग सम्बन्ध सुमधुर थियो । उनी सन् २०१७ मा दोकलाम र सन् २०२० मा गलवानमा भएको युद्धमा  चिनियाँ सेनासँग लड्ने बहादुर योद्धा पनि हुन् । पछिल्लो समय पुनः चीन र भारतीय सेनाबीच सीमा तनाव बढिरहेको छ । यस्तो अवस्थामा उनको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनलाई भारतले अपूरणीय क्षतिको रुपमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

भारतको अंग्रेजी पत्रिका ‘द हिन्दु’ का अनुसार रावत एअर फोर्सको एमआई १७ भी–५ मा धर्मपत्नी मधुलिका रावतसहित १४ जना सवार हेलिकोप्टर तामिलनाडुको वेलिंगटनमा डिफेन्स सर्भिसेज स्टाफ कलेज वेलिङ्टनका विद्यार्थीसँग अन्तरक्रिया गर्नका लागि जाँदै थिए । हेलिकप्टरको १२ बजेर ८ मिनेटमा एअर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविच्छेद भयो । त्यसको केही समयपछि कुन्नूर नजिकैको जङ्गलमा हेलिकोप्टर दुर्घटना भएको थाहा भयो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ग्रुप क्याप्टेन वरुण सिंहको उपचार भइरहेको छ ।

सुरक्षा व्यवस्था

‘द हिन्दु’ का अनुसार जनरल रावतका लागि तमिलनाडू प्रहरीले जेड प्लस सेक्युरिटीको व्यवस्था गरेको थियो । कोयम्बटुर सिटी प्रहरीले रावतको सुरक्षाका लागि उक्त सुरक्षा व्यवस्था गरेको हो । रावत सवार हेलिकोप्टर वेलिंगटन हेलिप्याडभन्दा १० किलोमिटरको दूरीमा दुर्घटना भएको हो ।

हेलिप्याडमा तमिलनाडु प्रहरी तैनाथ थिए । प्रत्यक्षदर्शीले हेलिकोप्टर दुर्घटना भएको समयमा मौसम सफा थियो भने बादल पनि लागेको थिएन । प्रत्यक्षदर्शीले भने, ‘हेलिकोप्टर निकै कम उचाईमा उडिरहेको मैले देखेको थिएँ । अचानक हेलिकोप्टर रुखको ठूलो हांगामा गएर ठोक्कियो । र, ठूलो आवाजमा विस्फोट भयो । हेलिकोप्टर दुर्घटना हुँदा मौसम सफा थियो ।’

रावतको मृत्युपछि हेलिकोप्टर दुर्घटनाका विषयमा विभिन्न सवालहरु उठेका छन् । जस्तैः हेलिकोप्टर त्यति कम उचाईमा किन उडिरहेको थियो ?, के पाइलटलाई एयर ट्राफिक कन्ट्रोल वा आर्मी कन्ट्रोलबाट मौसम सम्बन्धी कुनै सूचना दिइएको थियो ? यस्ता प्रश्नको जवाफका लागि थप अनुसन्धान भइरहेको तमिलनाडु प्रहरीका अधिकारीहरुले बताएका छन् ।

दुर्घटना भएको हेलिकोप्टर भारतीय वायुसेनाको सबैभन्दा विश्वासिलो र सुरक्षित मानिन्थ्यो । रुसमा बनेको Mi-17 ‘भी फाइभ’ को प्रयोग भारतीय वायुसेनाले उच्च क्षेत्रमा उडान भर्नका लागि, विभिन्न अभियान, उद्धारकार्य र राहत वितरणका लागि प्रयोग हुँदै आएको थियो । वेलिंगटनका लागि रावतले छानेको हेलिकोप्टर सही भएको प्लानेट–एक्स एयरोस्पेस सर्भिसेज लिमिटेडका निर्देशक तथा प्रमुख बताउँछन् ।

सन् २००१ को सेप्टेम्बर २ मा आन्ध्र प्रदेशमा तत्कालीन मुख्यमन्त्री वाइएस राजशेखर रेड्डीको हेलिकोप्टर कुरनूलको पर्वतीय इलाकामा दुर्घटना भएको थियो । उक्त समयमा मौसम खराब हुँदाहुँदै पनि पाइलटलाई उडान भर्न लगाइएको थियो । हेलिकोप्टर दुर्घटना भयो तर त्यसपश्चात कुनै पनि अनुसन्धान भएन ।

रावत सवार हेलिकोप्टर   Mi-17V5 को इन्जिन मजबुत थियो । यसको डाउनवाश पनि प्रभावकारी थियो । यदि पाइलटले कम उचाईमा उडान भरिरहेको भए पनि डाउनवाशले रुखलाई चक्कर लगाउने सम्भावना रहन्छ । यस्तो अवस्थामा पाइलटलाई हेर्नमा समस्या आउँछ । अनि, कहिलेकाँही अनुभवी पाइलटले पनि धोखा खान सक्छ ।​

को हुन् जनरल रावत ?

सन् १९५८ को मार्च १६ मा भारतको उत्तराखण्डको पौरी जिल्लामा जन्मिएका हुन् रावत । उनको जन्म एक सैनिक परिवारमा भएको थियो । उनका पिता सेनामा लेफ्टिनेन्ट जनरल थिए । उनी सन् १९७८ मा सेनामा भर्ना भएका थिए ।

उनले शिलाको सेन्ट एडवडर््स स्कुलमा पढाइ सकाएर खडकवासलाको राष्ट्रिय रक्षा प्रतिष्ठानमा सैन्य तालिम लिएका थिए । इन्डियन मिलिटरी एकेडेमी, देहरादुनबाट तालिम लिएपछि उनी ११ औं गोर्खा राइफल्सको पाँचौं बटालियनमा सेकेन्ड लेफ्टिनेन्ट बनेका थिए । उनी गोर्खा ब्रिगेडबाट सेनाको उच्च पदमा पुग्ने चौथो अधिकृत थिए ।

जनरल रावत ३१ डिसेम्बर २०१९ मा भारतको पहिलो सीडीएस नियुक्त भए र भोलिपल्ट पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्त २०१९ मा लाल किल्लाबाट आफ्नो भाषणमा रक्षा प्रमुख (सीडिएस) को पद सिर्जना गर्ने घोषणा गरेका थिए ।

सीडीएस जनरल रावतको जिम्मेवारीहरूमा भारतीय सेनाका विभिन्न भागहरूमा समन्वय र सैन्य आधुनिकीकरण जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू समावेश थिए । जनरल रावत यसअघि भारतीय सेना प्रमुख थिए । उनी ३१ डिसेम्बर २०१६ देखि १ जनवरी २०१७ सम्म भारतको ३६ औं सेना प्रमुख रहे ।

चार दशक लामो सैन्य करियरमा जनरल रावतलाई सेनामा बहादुरी र योगदानको लागि परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक, सेना पदक र विशिष्ट सेवा पदक लगायत अन्य धेरै सम्मानित गरिएको थियो ।

सेनामा अहम योगदान

रावतले जीवनको चार दशकभन्दा बढी लामो समय सैन्य जीवन बिताए । आफ्नो सैन्य करियरमा जनरल रावतले ब्रिगेड कमाण्डर, जनरल अफिसर कमाण्डिङ चीफ, दक्षिणी कमाण्ड, मिलिटरी अपरेशन डाइरेक्टोरेटमा जनरल स्टाफ अफिसर ग्रेड जस्ता महत्वपूर्ण पदहरू सम्हालेका थिए ।

पूर्वात्तरमा अतिवाद न्यूनीकरणमा उनको योगदानको प्रशंसा गरिएको थियो । रिपोर्टहरूका अनुसार सन् २०१५ मा म्यानमारमा प्रवेश गरेका एनएससीएन के  चरमपन्थीहरू विरुद्ध भारतीय सेनाले गरेको कारबाहीका लागि पनि उनको प्रशंसा गरिएको थियो । २०१८ को बालाकोट आक्रमणमा पनि उनको भूमिका उल्लेख्य रहेको थियो । 

उनले भारतको पूर्वमा चीनसँगको वास्तविक नियन्त्रण रेखा वा एलएसी यसबाहेक रिपब्लिक अफ कंगोमा विभिन्न देशका सैनिकहरूको ब्रिगेडको पनि कमाण्ड गरेका थिए । जनरल रावत भारतको उत्तरपूर्वी कोप्र्स कमाण्डर पनि थिए । उनले डिफेन्स सर्भिस स्टाफ कलेज (वेलिंग्टन, तमिलनाडु) र फोर्ट लेभेनवर्थ (अमेरिका) मा कमाण्ड र जनरल स्टाफ कोर्समा स्नातक गरेका थिए ।

विपीनले राष्ट्रिय सुरक्षा र सैन्य नेतृत्वमा धेरै लेख लेखे । उनले व्यवस्थापन र कम्प्युटर अध्ययनमा डिप्लोमा गरेका थिए । चौधरी चरण सिंह युनिभर्सिटी अफ मेरठले मिलिटरी मिडिया स्ट्रेटेजिक स्टडीजमा गरेको अनुसन्धानका लागि उनलाई फिलोसोफीको डाक्टरबाट सम्मानित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप