आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

६० वर्षमाथिकालाई अतिरिक्त मात्रा बुस्टर खोप दिन सुरु

दश महिनामा दुई करोड ९ लाख ९५ हजार मात्रा खोप लगाइयाे
बिहीबार, ०१ पुस २०७८, १२ : ०३
बिहीबार, ०१ पुस २०७८

नेपालमा दश महिनाको अवधिमा दुई करोड ९ लाख ९५ हजार ५ सय ३६ मात्रा खोप लगाइसकेका छन् । जसमध्ये १ करोड १६ लाख २९ हजार ६२१ जनाले एक मात्रा खोप लगाएका छन् भने ९३ लाख ६५ हजार ९१५ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ मध्ये ३८.३ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ३०.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १८ वर्ष माथिका १ करोड ९९ लाख २२ हजार १६४ जनालाई सरकारले खोप दिने लक्ष्य जनसङ्ख्यामा तोकेको छ । जसमध्ये   ५८.४ प्रतिशतले एक मात्रा प्राप्त गरेका छ भने ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत वर्ष फागुन १० गतेसम्म अग्रपङ्क्ति खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइएको थियो भने दोस्रो चरणमा फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसँगै हिमाली जिल्लाका ५५ वर्षमाथिका र तेस्रो चरणमा ५५ देखि ६३ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो । सरकारले पुस मसान्तसम्ममा लक्षित जनसङ्ख्याको दुई तिहाइ खोप दिने लक्ष्य राखेको छ भने चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्य राखेको छ । 

यस्तै, कात्तिक १८ देखि मङ्सिर ४ गतेसम्म  १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई खोप लगाइएको थियो । कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार बाँकी रहेको खोप १२ देखि १७ वर्षका स्वस्थ बालबालिकालाई मङ्सिर ५ देखि ८ गतेसम्म खोप दिइएको थियो ।

बालबालिका विद्यालयबाटै खोप दिइँदै 

सरकारले पुस ४ गतेदेखि १४ गतेसम्म बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको खोप शाखाले जनाएको छ । बालबालिकाका लागि यो खोप देशका ५७ जिल्लाका विद्यालयबाट खोप दिइने योजना भएको छ । यस्तै, खोप लगाउन छुटेका सबैलाई आफूलाई पायक पर्ने स्थानमा पुगी कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलले आग्रह गरेका छन् ।

६० वर्ष माथिकालाई अतिरिक्त मात्रा खोप दिन सुरु 

सरकारले दुवै मात्रा भेरोसेल खोप लगाएका नागरिकलाई भेरोसेल खोप दिन सुरु गरेको छ । भेरोसेल दुवै मात्रा लगाएका ६० वर्ष पर गरेका व्यक्तिलाई खोप थप मात्रा अर्थात् अतिरिक्त मात्रा खोप लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको सल्लाहकार समितिका अध्यक्ष तथा प्रा.डा.रमेशकान्त अधिकारीले बताए । 

 यस्तै, कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी  जस्तै, एचआईभी सङ्क्रमित, क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएकालाई अतिरिक्त मात्रा दिइने  परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल बताए । थप अतिरिक्त मात्रा खोप दिइने सम्बन्धमा सम्बन्धित निकायलाई  परिपत्र तथा अन्य तयारी भइसकेको उनले बताए । त्यस्तै केही खोप केन्द्रबाट अतिरिक्त खोप दिन सुरु भएको उनले बताए ।

बुस्टर डोज कहिले ?

७० राष्ट्रभन्दा धेरै राष्ट्रमा कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि बुस्टर डोज आवश्यक पर्ने विज्ञहरूले बताउन थालेका छन् । यस्तै कोरोनाविरुद्धको खोप लगाएको ६ महिनापछि क्रमशः शरीरमा एन्टीबडी घट्दै गएको भन्दै युरोपका धेरै राष्ट्रले बुस्टर डोज दिन सुरु गरेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनले  कुल जनसङ्ख्याको ५० प्रतिशतले खोप नलगाएसम्म बुस्टर डोज लगाइन नपाइने जनाएको छ । यद्यपि नेपालमा कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ मध्ये ५८.४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको अवस्था छ । अब नेपालमा कुल जनसङ्ख्या ५० प्रतिशत पुग्न ३ प्रतिशत मात्रै बाँकी रहेकाले चाँडै दुवै मात्रा खोप लगाएकाले बुस्टर डोज पाउने अवस्था सृजना भएको राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष तथा प्राडा. अधिकारीले बताए । उनले जबसम्म कुल जनसङ्ख्याको पचास प्रतिशतले कोरोनाविरुद्धको खोप पाउँदैनन् तबसम्म बुस्टर डोज दिन नसकिने उनले बताए । नेपालमा करिब लक्षित जनसङ्ख्या मध्ये करिब ४७ प्रतिशतले खोप लगाएको अवस्था चाडै नै बुस्टर खोप पाउने विश्वास व्यक्त गरे ।

अब कहिले नेपाल खोप आइपुग्छ ?

गाभी र कोभ्याक्स सुविधाअन्तरगत बुधबार कोभिशिल्ड १८ लाख ७१ हजार मात्रा खोप प्राप्त गरेको छ । यस्तै, बिहिबार अर्थात् भोलि एक मात्रा मात्रै लगाएमा पूर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुग्ने भएको छ ।   खोप २१ लाख ७६ हजार ६ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए । यस्तै, २३÷२४ डिसेम्बर अर्थात पुस ८÷९ गर्ने ६ लाख ६४ हजार मात्रा फाइजर खोप आउने प्रमुख डा. चौरसियाले बताए । यस्तै, करिब २ करोड ७५ लाख मात्रा आयातको पाइपलाइनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण प्रसाद पौडेलले बताए । उक्त अब विभिन्न चरणमा आइपुग्ने उनको भनाइ छ । 

भण्डारणमा कति खोप ?

कोरोनाविरुद्धको खोप केन्द्र र प्रदेशका खोप भण्डारण केन्द्रमा रहेको छ । खोप अभियान सञ्चालन भइरहँदा हालसम्म प्रदेश र केन्द्रको भण्डारणमा  ६७ लाख ३२ हजार ८ सय ७३ मात्रा मौज्दात खोप रहेको व्यवस्थापन महाशाखाले जनाएको छ । अन्य खोप स्थानीय  तहका खोप केन्द्र रहेको उनले बताए । जसमध्ये ३६ लाख ५१ हजार २०० मोडर्ना खोप कोल्ड चेनमा स्टक रहेको छ । 

नेपालले हालसम्म कति खोप प्राप्त गर्‍यो ?

नेपालले कोरोनाविरुद्धको खोप अनुदान खरिद तथा गाभी कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको छ । बुधबारसम्म नेपालले ३ करोड ३२ लाख ९५ हजार २३० मात्रा खोप प्राप्त गरेको छ । जस मध्ये मोडर्ना खोप  ३६ लाख ५१  हजार २०० मात्रा प्राप्त गरेको छ । एष्ट्राजेनेका खोप ३० लाख ३७ हजार ५ सय ३० मात्रा प्राप्त गरेको खोप व्यवस्थापन आपूर्ति शाखाले जनाएको छ । यस्तै, फाइजर १ लाख ६ हजार २० मात्रा प्राप्त गरेको छ भने भेरोसेल १ करोड ७३ लाख ४९ हजार  १ सय मात्रा नेपाल आइपुगेको छ । हालसम्म ७६ लाख १६ हजार ५ सय मात्रा भित्रिएको छ । यस्तै, एक मात्रा मात्रै लगाइने जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार  ८ सय ५० मात्रा नेपालले प्राप्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप