बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संघीयतामा अडान नलिँदा मधेसमा माओवादी केन्द्रलाई क्षति : घनश्याम रजक

बिहीबार, १५ पुस २०७८, १९ : ५४
बिहीबार, १५ पुस २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा केन्द्रीय विभाग समूह १८ का नेता घनश्याम प्रसाद रजकले अन्तरिम संविधान लेख्ने बेलामा संघीयता सम्बन्धमा पार्टीले आफ्नो अडान नलिँदा मधेसमा ठूलो क्षति व्यहोरेको जनाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

‘मधेस विद्रोहको जग जनयुद्धले तयार गरेको भए पनि अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख गर्ने सवालमा भएको त्रुटिले मधेस आन्दोलनको नेतृत्व गर्नबाट हामी चुकेका थियौं,’ उनले भने । यो कमजोरीलाई प्रतिवेदनमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।

उनले जनयुद्ध सुरु हुनुभन्दा धेरै पहिलादेखि मधेसमा संघीयताको आवाज उठ्दै आएको पनि उल्लेख गरे । विभिन्न समयमा पार्टी एकता वा अन्य बहानामा माओवाद छोडनु र समात्नु गम्भीर वैचारिक विचलन भएको उल्लेख गर्दै रजकले ‘प्रचण्डपथ’ लाई विचार शृङ्खलाकै विकसित रुपमा लिनुपर्ने र यसको थप विकासमा जोड गर्नुपर्ने बताए । उनले भने, ‘प्रचण्डपथ हिजो किन सही थियोे ? आज किन गलत भयो ? त्यो प्रष्ट आउनु पर्छ ।’

वर्तमान प्रशासनिक संघीयतालाई संशोधन गरी वास्तविक संघीयतासहितका विषय समेटेर संविधान संशोधनलाई प्रमुख कार्यनीति बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन् । चुनावमार्फत् समाजवाद ल्याउन चुनाव जित्नु प्रमुख कार्यभार रहेको बताउँदै उनले यसका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धतिमा जानका लागि कार्यनीति प्रस्ट हुनुपर्ने सुझाव दिएका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा पनि जोड दिएका छन् ।

पार्टीको विधानमा मुस्लिम, महिला र मधेसी दलितका लागि विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उनले पार्टी सदस्य र पदाधिकारीमा पूर्ण समानुपातिक आधारमा छनौट गरिनुपर्ने धारणा राखेका छन् । उनले पार्टी सदस्य र पदाधिकारी समेत प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनुपर्ने जोड दिएका छन् ।

हिन्दु राष्ट्रवादीहरुको हातमा भारतको सत्ता गएपछि नेपालका दक्षिणपन्थी शक्तिहरु पनि हिन्दु राष्ट्रवादको कुरा उठाइरहेको उल्लेख गर्दै उनले त्यसप्रति पार्टीलाई सचेत गराएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप