शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

महासमिति बैठकबाट पारित प्रतिवेदन व्यापक हेरफेरको तयारीमा कांग्रेस

बिहीबार, २० वैशाख २०८१, १७ : १६
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख अन्तिम साता बस्ने तयारी छ । बैठकमा गत फागुन (७—१०)मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शीर्ष नेताहरू उपत्यका बाहिरबाट फर्किएपछि वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बस्ने बताए ।  ‘उपसभापति पूर्णबहादुर खड्का प्रशिक्षणका लागि डोल्पा जानु भएको छ । उपनिर्वाचनमा खटिनु भएको नेताहरू काठमाडौँ आइपुग्नु भएको छ,’ उनले भने, ‘महामन्त्री विश्वप्रकाश शर्मा इलामबाट झापा पुग्नु भएको छ । उहाँहरु काठमाडौँ फर्किएपछि केन्द्रीय समिति बैठक तय हुन्छ ।’ 

महामन्त्री गगन थापा पनि वैशाख अन्तिम सातासम्म अमेरिकाबाट फर्किने कार्यक्रम छ । केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्ने छ ।

सत्तामा हुँदा महासमिति बैठकबाट पारित प्रतिवेदन कांग्रेसले प्रतिपक्षमा पुगेपछि गठबन्धन र माओवादीलाई हेर्ने नयाँ दृष्टिकोणसहित परिमार्जन गर्ने भएको छ ।

कांग्रेसको महासमिति बैठकको दस्ताबेजले गठबन्धन फेर्न माओवादीलाई उद्वेलित बनाएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउनु पछाडिका पाँच कारणमध्ये एउटा कारण महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई बनाइराखेका छन् । फागुन २१ मा आफूसँग गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘राजनीतिक बेइमान’को संज्ञा दिएको छ ।

कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’का कारण गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ । आगामी केन्द्रीय समिति बैठकबाट सोही अनुसार प्रतिवेदनहरूमा नयाँ राजनीतिक घटनाक्रम उल्लेख हुने कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए ।

उनका अनुसार महासमितिबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पछिल्लो परिस्थिति अनुसार परिमार्जित हुने छन् । आगामी केन्द्रीय समिति बैठकमा माओवादी र गठबन्धन विरोधी विषय विना परिमार्जन पेस हुँदैछन् । यसले महामन्त्री थापालाई राहत मिलेको छ । संस्थापन पक्षको बहुमतमा पेलिएको महामन्त्री थापाको गठबन्धन विरोधी मत अहिले कांग्रेसको साझा मत भन्ने परिस्थिति बनेको छ ।

कांग्रेसमा पछिल्लो राजनीतिक परिस्थितिलाई हेर्ने दृष्टिकोणमा एकमत देखिन्छ । सिङ्गो कांग्रेसले गठबन्धन भत्किनुमा प्रधानमन्त्री प्रचण्डको अस्थिर प्रवृत्तिलाई कारक मानेको छ ।

‘अब बस्ने केन्द्रीय समिति बैठकमा नीति प्रतिवेदनबाट माओवादीको सशस्त्र द्वन्द्वको विषयमा लेखिएको कुरा झिकिन्न,’ कांग्रेसका एक नेताले भने, ‘बरु अझ थपिन्छ । साङ्गठनिक प्रतिवेदनबाट भविष्यमा कांग्रेस एक्लै चुनाव लड्ने छ भन्ने कुरा पनि झिकिन्न ।’

गठबन्धन भत्किएपछि महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘कोशी प्रकरणको च्याप्टर’ हटाउनुपर्ने भएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा कांग्रेससँग गठबन्धन भत्काएपछि महासमिति बैठकको निर्णय पनि उल्टिने भएको छ । कांग्रेस नेताहरूका अनुसार तत्कालीन गठबन्धनलाई निरन्तरता दिने निर्णयको ठाउँमा प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’को कुरा उल्लेख हुनेछ ।

‘नयाँ राजनीतिक घटनाक्रमले परिमार्जन हुने भनिएको डकुमेन्ट पनि यथास्थितिमै रहने भयो । नहुने भनेको डकुमेन्ट सबैभन्दा बढी परिमार्जन हुने भयो,’ उनले भने । महामन्त्री थापाले महासमिति बैठकमा प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिका पनि केन्द्रीय समितिबाट अनुमोदन हुने छैन । पार्टी विधानले महाधिवेशनको कार्यतालिका बनाउने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

महामन्त्री थापाले केन्द्रीय समितिले गर्ने कुरा महासमितिबाट गर्नु हुँदैन भन्ने कुरा छैन भनेर महासमितिमै महाधिवेशन कार्यतालिकाको प्रस्ताव लगेका थिए । महासमिति बैठकमै साङ्गठनिक प्रतिवेदनको अनुसूचीबाट महाधिवेशनको कार्यतालिका हटाइएको थियो ।

विधान अनुसार महाधिवेशनको कार्यतालिका बनाउने काम केन्द्रीय समितिले गर्नेछ ।  महासमिति बैठकबाट कार्यतालिका पास गर्दा पछि संशोधन गर्नु परेमा फेरि महासमिति बैठकमै जानुपर्ने भएपछि महामन्त्री थापा ‘ब्याक’ भएका थिए । यस्तै महासमितिबाट पारित भएका साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदनका केही बुँदाको कार्यान्वयन पक्ष सहज नभएकाले संशोधन गर्ने कांग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप