शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

अन्तिम खेलअघि नै शृङ्खला जित्यो वेस्ट इन्डिजले, नेपाल २८ रनले पराजित

बिहीबार, २० वैशाख २०८१, १६ : ४३
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी–२० क्रिकेटमा पनि नेपाली टोली पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको चौथो खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई २८ रनले हरायो । 

जितसँगै वेस्ट इन्डिजले अन्तिम खेलअघि नै शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिजले ३–१ को अग्रता लिएको हो । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

त्यसपछिका सबै खेलमा क्यारेबियन टोली विजयी हुँदै आएको छ । दोस्रो खेलमा वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल शनिवार खेलिने छ ।

क्यारेबियन टोलीले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा केवल तीन विकेट गुमाएर दुई सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो ।

कप्तान रोहित पौडेलबाहेक नेपालका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । रोहितले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ८२ रन थपे । जारी शृङ्खलामा यसअघि उनले एक शतक र एक अर्धशतक बनाएका थिए ।

नेपालका लागि सन्दीप जोर, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले १९–१९ रन बनाए । अविनाश बोहराले पनि अविजित १७ रन बनाए । उनले आठ बलमा सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । सोमपाल कामी १० रन बनाउँदै आउट भए ।

ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रूपमा १० रन पाएको थियो । क्यारेबियन टोलीका बलर ह्याडेन वाल्स र म्याथ्यू फोर्ड तीन–तीन विकेट लिए । फाबियन एलन र गुडाकेस मोटीले पनि दुई–दुई विकेट लिए ।  

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि भने आन्द्रे फ्लेचर र जोन्सन चाल्र्सले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान फ्लेचरले अविजित ८४ रन बनाए । उनले केवल ५४ बलको सामना गरी चार छक्का र नौ चौका पनि हिर्काए ।

ओपनर ब्याट्सम्यान चाल्र्सले पनि टोलीको खातामा ५८ रन थपेका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान फाबियन एलनले पनि अविजित ३३ रन बनाए ।

एलनले केवल १९ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । नेपाली बलरको प्रदर्शन निराशाजनक रह्यो । कुशल भुर्तेलले दुई विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । प्रतिस जिसीले एक विकेट हात पारे । उनले चार ओभरमा ४३ रन खर्चिए ।

ललित राजवंशी र अविनाश बोहरा पनि महँगा साबित भए । ललितले चार ओभरमा ५३ रन दिएका थिए । अविनाशले चार ओभरमा ४२ रन खर्चिए । गुलसन झाले पनि दुई ओभरमा २५ रन खर्चिए । नेपाली टोलीका बलरले अतिरिक्त रूपमा मात्र २५ रन दिएका थिए ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ पहिलो ओभरको दोस्रो बलमै पेभेलियन फर्किएका थिए । उनले खातासम्म खोल्न सकेनन् । उनलाई क्यारेबियन टोलीका बलर म्याथ्यू फोर्डले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले पाँच बलमा एक रन मात्र बनाउन सके । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले बोल्ड गरेका थिए । ४.१ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २७ रन मात्र बनाउन सकेको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी चार बलमा एक चौकाको मद्दतले केवल चार रन बनाउँदै आउट भएका थिए । उनी खराब सट खेल्ने क्रममा क्याच आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले कप्तान रोस्टन चेजद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले केवल ३१ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । सन्दीप १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले केसी कार्टीद्वारा क्याच गराएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा नेपालले ७१ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ८२ रन बनाएका थिए । उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए । उनलाई ह्याडेन वाल्सले फोर्डद्वारा क्याच गराएका हुन् ।

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् । १३.३ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय २४ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले चाल्र्सद्वारा क्याच गराएका थिए । १६.२ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ५२ रन बनाएको थियो ।

नेपालले सातौं विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उनले पेभेलियन फर्किनुअघि १४ बलमा तीन चौकाको मद्दतले १९ रन बनाएका थिए । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले अथान्जद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले एक सय ५५ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रूपमा प्रतिस जिसीलाई गुमाएको थियो । उनले खातासम्म खोल्न सकेका थिएनन् । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले गुडाकेश मोटीद्वारा क्याच गराएका थिए । १७.२ ओभरमा प्रतिस आउट हुँदा नेपालले एक सय ५६ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी १० बलमा एक छक्काको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले बिसपद्वारा क्याच गराएका थिए । १९.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमाएको थियो । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका हुन् । उनले खातासम्म खोल्न सकेनन् । उनलाई पनि वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले नै विकेटकिपर फ्लेचरद्वारा स्टम्पिङ गराएका थिए ।

त्यसअघि वेस्ट इन्डिजको पहिलो विकेट प्रतिस जिसीले लिएका थिए । उनले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान एलिक एथेन्जलाई पाँच रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको पहिलो बलमा एथेन्ज आउट हुँदा वेस्ट इन्डिजले नौ रन बनाएको थियो ।

वेस्ट इन्डिजको दोस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर जोन्सन चाल्र्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि चाल्र्सले अर्धशतक बनाएका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन जोडे ।

१०औँ ओभरको अन्तिम बलमा चाल्र्स आउट हुँदा वेस्ट इन्डिजले एक सय एक रन बनाएको थियो । अघिल्लो खेलमा पनि उनले टोलीका लागि शतकीय पाली खेलेका थिए । उक्त खेलमा उनले अविजित एक सय १९ रन बनाएका थिए ।

वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । १३.२ ओभरमा कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको थियो ।

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी आईसीसी टी–२० विश्वकप खेल्दै छ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स छन् । वेस्ट इन्डिज भने समूह ‘सी’ मा छ । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन् । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप