शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपा र लोसपालाई किन निम्ता दिएन भाजपाले ?

बिहीबार, २० वैशाख २०८१, १६ : ५४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको संसदमा रहेका प्रमुख पाँच दलका नेताहरूलाई भारतमा निम्ता गरेर चुनावको बारेमा जानकारी गराइरहेको छ । 

दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा  नेताहरूलाई भारतमा भइरहेको चुनाव, पार्टीको अभियान लगायतको विषयमा जानकारी दिइरहेको हो । 

भाजपाको निम्तामा  काँग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन् । तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई नबोलाइएको हो । 

भाजपा निकट एक नेताले भने, ‘भाजपासँग जसपाको राम्रो सम्बन्ध छैन, यसअघि पनि गराएका विभिन्न भ्रमणहरुमा जसपालाई सहभागी गराइएको छैन, भाजपा नेताहरू नेपाल भ्रमणमा जाँदा जसपाका नेताहरूसँग भेटेका हुँदैन । यस अवस्थामा निमन्त्रणा नदिनु स्वाभाविकै हो ।’

भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउँदा सानादेखि ठुला दलका नेताहरूलाई भेटेका हुन्छन् । तर जसपाका नेताहरुलाई भेट्ने गरेका छैनन् ।  

यस्तै भाजपाको नजरमा लोसपा राष्ट्रिय दल होइन । नेपालमा उक्त दलको खासै शक्ति पनि नभएकाले निमन्त्रण नदिइएको भाजपाका ती नेताले बताए ।

लोसपाका महासचिव मनिष मिश्रले भाजपाबाट निमन्त्रणा नआएको कारण आफ्नो पार्टीको तर्फबाट प्रतिनिधि नगएको बताए । उनले भने, ‘यो भारत सरकारको कार्यक्रम होइन, एउटा पार्टीको कार्यक्रम हो त्यसमा कसलाई बोलाउने, कसलाई नबोलाउने त्यो पार्टीको निजी कुरा हो, यसमा हाम्रो कुनै टिप्पणी छैन ।’

यस्तै जसपाका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले पनि भाजपाबाट जसपालाई निमन्त्रणा नआएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप