शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बन्दसत्रमा तनाव, प्रचण्डले जवाफ दिँदै

बिहीबार, १५ पुस २०७८, २० : ४४
बिहीबार, १५ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको १५ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१.बन्दसत्रमा रिपोर्टिङ सकियो

नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । बिहीबार १४ समूहका टोली नेताले आफ्नो रिपोर्टिङ सकेसँगै सबै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।

बिहीबार रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।

शुक्रबार लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेश हुनेछ । त्यस्तै फरक मत तथा पुरक दस्तावेज पनि अध्यक्ष मण्डललाई प्राप्त भएको अध्यक्ष मण्डलले जनाएको छ । छलफलमा उठेको प्रश्नको प्रचण्डले शुक्रबार नै जवाफ दिने कार्यक्रम छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रदेश २ का नेता सत्यनारायण भगतको अभिव्यक्तिका विषयमा छलफल भएको छ। भगतले बुधबारको बन्दसत्रमा पार्टीका केही नेतामाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

खासगरी उनको अभिव्यक्ति स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल र उनी निकटहरुप्रति लक्षित थियो । सो अभिव्यक्तिपछि बिच्किएका पोखरेल बिहीबारको बन्दसत्रमा अनुपस्थित रहेका थिए । पोखरेल अनुपस्थित भएको विषयमा प्रतिनिधिहरुले प्रश्न उठाएपछि दिउँसो कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमै स्थायी समिति बैठक बसेर भगतको अभिव्यक्तिबारे छलफल भएको हो ।

सो छलफलमा अध्यक्ष प्रचण्डले भगतले आत्मालोचना गरिसकेको र यसलाई उचाल्न नहुने बताएपछि पोखरेल आस्वस्त हुँदै बिहीबारको बन्दसत्रको अन्तिम समयमा सहभागी भएको एक नेताले बताए । बैठकमा प्रचण्डले यस विषयमा बन्दसत्रमै थप स्पष्ट पार्ने समेत आश्वासन दिएको बताइएको छ ।   

​३. माओवादी महाधिवेशनबारे एमालेको टिप्पणी

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाण्डे माओवादी अध्यक्ष प्रचण्डको दस्तावेज आफुले पुरै पढ्न नपाएपनि सञ्चारमाध्यममा आएका समाचारहरूलाई हेर्दा नेपाली वास्तविकतामा मेल खाने नभएको बताएका छन् ।

‘हाम्रो देशका नेताहरुले राखेका सैद्धान्तिक प्रस्तावनाहरू नेपाली रियालिटिमा मेल खाने हुँदैनन् । त्यसकारण लागू पनि हुँदैनन्’, पाण्डेले रातोपाटीसँग भने, ‘जुनसुकै पार्टीका नेताहरुमा हिजोका किताब पढेर दस्तावेजहरु लेख्ने चलन छ, ती जिन्दगी मेल खाँदैनन्’, उपाध्यक्ष पाण्डेको भनाइ छ ।

​४. लाउरे पक्राउ

लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो । उनी पोखराबाट पक्राउ परेका थिए ।

५. कोरोना अपडेट

देशभर थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

६. राजेन्द्रको अभिव्यक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् ।

​७. विद्युत आपूर्तिमा समस्या

तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला ।  केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।

चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

८. ल्होसार मनाइयो

आज गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्।  यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा समेत दियो ।

​९. गोकर्णमा ज्ञानेन्द्र

धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।

​१०. यो पनि..

नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । चौधरी स्रोतका अनुसार शुक्रबार नै चौधरीले दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । सञ्चारमाध्यममा उनी एमाले प्रवेश गर्ने चर्चा भएपनि आफू एमालेमा नजाने समेत उनले बताएका छन् ।

​विराटनगरको रानी नाकामा दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको एन्टिजेन परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप