शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी र पदाधिकारी चयनबारे के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ?

शुक्रबार, २० फागुन २०७८, १५ : ५८
शुक्रबार, २० फागुन २०७८

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए । उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई विस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुपर्ने बताए । केन्द्रीय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे ।

केन्द्रीय सदस्य क्षेत्रीले भने, ‘एमसीसीको बारेमा हामीले पहिल्यै नेकपा हुने बेलामा पनि हामी एउटा कमिटी बनाएका थियौं  झलनाथ खनालको नेतृत्वमा । त्यसले सुझाव दिएको थियो । माओवादी पार्टीले एमसीसी संशोधन बिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो । अहिले जसरी बहस उठ्यो गठबन्धन भित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल ग¥यौं । व्याख्यासहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल गर्यौं । अहिले सदनले त्यसलाई पास गरेको छ ।

उनले भने, ‘एकथरी साथीहरुले त्यसलाई विरोध गरिरहनुभएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने भयौं । भारतलाई सधैँ विस्तारवाद देख्ने भयौं । विश्व बैंक र यूएनडिपीका सम्झौताहरु, जायिका, एसिया डेभलपमेण्ट बैंकका सम्झौताहरु छन् । केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ । अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ । त्यही रुपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ । अमेरिकाले पनि स्वीकार गरेको छ । यो ठिक हो भन्ने लागेको छ । पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन ।’

त्यस्तै पार्टी केन्द्रिय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे । उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोहीअनुसार नै एमसीसी पास भएको दाबी गरे । केन्द्रीय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए ।

 केन्द्रीय सदस्य दाहालले भने, ‘पहिलो कुरा के बुझ्न जरुरी छ भने महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन । यो भ्रम छ जस्तो लाग्यो । महाधिवेशनमा परिमार्जनसहितको अनुमोदन गर्ने भन्ने कुरा हो । अहिले व्याख्यात्मक घोषणा जो भएको छ र त्यसका क्रिया, प्रतिक्रिया यहाँसम्म आइरहेका छन्, त्यसबाट महाधिवेशनले जे भनेको थियो, त्यो भन्दा अलिकति पनि दायाँबायाँ छ भन्ने मलाई लाग्दैन । एमसीसी जसरी आएको थियो, त्यसको संशोधनको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले दिएको छ । महाधिवेशनले भनेको दिशातिर नै अघि बढेको छ । अब कुटनैतिक संघर्ष बाँकी छ उताबाट अनुमोदन गराउन । व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले मान्यो भने मलाई लाग्छ, हामीले खोजेको मानो र पाएको पाथी जस्तो हुन्छ । पदाधिकारीको चयन जतिसक्दो छिटो गर्दा राम्रो हुन्छ ।’

त्यस्तै केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्नका लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे । केन्द्रीय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अँध्यारोमा जानबाट रोकेको बताए । उनले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताए ।

केन्द्रीय सदस्य पौडेलले भने, ‘हाम्रो पार्टीको ८ औँ महाधिवेशनले एमसीसी बारेमा जुन निर्णय गरेको थियो । त्यो निर्णयको विषयमा भर्खरै सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ । पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि व्याख्यात्मक सहमति व्यवहारिक छ । आजको बैठकबाट पदाधिकारीको चयन सम्भव हुनसक्ला । समयको पावन्दी आदि इत्यादि भयो भने नहुन पनि सक्ला । सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्छ ।’

त्यस्तै अर्का केन्द्रीय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताए । उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए ।

केन्द्रीय सदस्य दाहालले भने, ‘यो एमसीसीको विषय महाधिवेशनमा पनि उठेको विषय हो । परिमार्जनसहित एमसीसीको म्यान्डेट दिएको हो महाधिवेशनले । जो राष्ट्रघाती मुद्दा छन्, नेपाललाई नेपालको रुपमा नस्वीकारेका विषयहरु छन् ती विषय हट्नुपर्छ भन्ने हाम्रो महाधिवेशनको मान्यता हो । त्यो १२ बुँदे व्याख्यात्मक घोषणाभित्र नै त्यो पर्छ । ११ बुँदे घोषणापत्र एक किसिमले परिमार्जन नै हो । यसले समस्या समाधान गर्यो । महाधिवेशन पछि एमसीसीले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको थियो । यसलाई किनारा नलगाइकन बैठक बस्न सकेन । बैठक नबसेपछि पदाधिकारी चयन हुन सकेन । सर्वसम्मत भएन भने निर्वाचनको विधिबाट पनि नेतृत्व चयन गर्नुपर्छ ।’

केन्द्रिय सदस्य दाहालले एमसीसी पास भएपछि पार्टीमा केही अन्तरविरोधहरु देखा परेको उल्लेख गर्दै केन्द्रिय समिति बैठकले समाधान गर्ने बताए । उनले सर्वसम्मत रुपमा पार्टी पदाधिकारीको चयन हुनुपर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट पनि पदाधिकारी चयनको प्रक्रियालाई मूर्तरूप दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप