बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कम्युनिष्टहरू भाग्यमा विश्वास गर्दैनन् तर, हाम्रो भेट भाग्यले नै भएको हो’

शेरबहादुरको शालीनता र उषाकलाको बौद्धिकताले अंकुराएको प्रेमयात्रा
सोमबार, २३ फागुन २०७८

‘चुचु’ शब्द नेपाली शब्दकोशमा भेटिन्न । यसको अर्थ के हुन्छ ? त्यो पनि थाहा छैन । तर, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्वय एवं संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश नं. १ की प्रदेश सांसद उषाकला राईलाई जोड्ने प्रेमिल शब्द हो ‘चुचु’ । 

प्रेमका आफ्नै भाष्य होलान् । प्रेमिल भाव जताउने थुप्रै शब्द होलान् । तर, शेरबहादुर र उषाकलाको जोडीका लागि चुचु शब्द नै प्रिय छ । ‘खै शब्द त के हो थाहा छैन, तर प्रेमले बोलाउँदा हामी एक अर्कालाई चुचु भन्छौं’, यति भनेर फरासिली उषाकला शेरबहादुरको निधार चुम्छिन्, शेरबहादुर भने लजाउँछन् । 

‘हामी बीचमा आदर छ, सम्मान छ, अनि त हामी सफल दम्पती छौं ’, शेरबहादुर सुनाउँछन्, ‘हामी एक अर्कालाई तँ, तिमी भन्दैनौ, तपाईं, हजुर मात्र भन्छौं । यसले प्रेममा सम्मान हुन्छ, भावनात्मक एकता हुन्छ, पारिवारमा सकारात्मक उर्जा मिल्छ । अझ खुसी लाग्छ, हामी बीचको सम्मान र आदरको उदाहरण देखेर धेरै नेताहरूले हाम्रो सिको गर्नुभएको छ ।’

आज फागुन २३ गते, शेरबहादुर र उषाकला एक भएको दिन । यो दम्पती आज २० औं विवाह वर्षगाँठ मनाइरहेको छ । तर, उनीहरूलाई लाग्छ कि, यो २० वर्षको सहयात्रा बल्ल २० दिन पुग्दैछ । ‘लौ २० वर्ष पुगिसक्यो ! खै २० दिन पुगे जस्तो नि लाग्दैन । कसरी पो बिते यतिका दिन’, उषाकला आश्चार्य मान्छिन् । यो यात्रामा कुनै दिन पनि आपसमा ठाकठुक परेको उनीहरूलाई याद छैन । 

संयोगले भेट भयो या भाग्यले तर, दुवैजना सम्बन्ध र सहयात्राबारे भाग्यमानी ठान्छन् । ‘कम्युनिष्टहरू भाग्यमा विश्वास गर्दैनन् तर हामी हाम्रो भेटलाई भाग्यकै रुपमा विश्वास गर्छाैं,’ उषाकला सुनाउँछिन्, ‘संयोग भनौं या भाग्य, उहाँ जस्तो श्रीमान् पाउनु मेरा लागि सौभाग्य हो ।’

आकर्षण, प्रेम र सम्मान

प्रजातन्त्रका सेनानी सर्वधन राईकी नातिनी, रुद्र राईकी छोरी पुष्पलालको संगतमा परेर भूमिगत बनेका कम्युनिष्ट नेताकी छोरी हुन् उषाकला । राजनीतिक पृष्ठभूमि अत्यन्तै मजबुत परिवारकी एक्ली छोरी । अनि नेपालमै एमएस्सी गरेर नेदरल्याण्डमा पिएचडी गरिरहेकी एक प्रखर महिला शेरबहादुरका लागि आकर्षणको केन्द्र बनेकी थिइन् उषाकला ।

‘खास गरी पूर्वमा २००७ सालमा प्रजातान्त्रिक क्रान्तिका लागि नेपाली काँग्रेसबाट जनमुक्ति सेनाको सहकमाण्डर भएर उहाँको हजुरबुबा लड्नु भएको थियो। पछि २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि १८ सालमा त्यसका विरुद्धमा पहिलो पटक हतियार उठाउने पनि उहाँ नै हुनुहुन्थ्यो। जुन खोटाङको ऐसेलु खर्कमा ठूलो काण्ड भएको थियो, त्यसका प्रमुख उहाँ नै हुनुहुन्थ्यो’, उषाकलामाथि बढ्दै गएको विश्वास, सम्मान अनि मनमा अंकुराउँदै गएको प्रेमका बारेमा बारेमा शेरबहादुर सविस्तार लगाउँछन्, ‘अर्कोतर्फ उहाँको बुबा रुद्र राई पुष्पलालको संगतमा परेर भूमिगत कम्युनिष्ट नेता, ४७ सालमा खोटाङ जिल्लाको एमाले पार्टी सचिव हुनुहुन्थ्यो । त्यो इतिहास बोकेको परिवारको छोरी, जो आफ्नै संगठनमा रहेर युवा संघको केन्द्रीय सदस्यमा रहेर काम गर्दै हुनुहुन्थ्यो’, यिनै कारणले शेरबहादुरले उषाकलालाई एक प्रतिभावान व्यक्तिका रुपमा, एक प्रखर नेतृका रुपमा लिने गर्थे ।

यता उषाकलालाई भने शेरबहादुरलाई सुरु सुरुमा चिन्दिनथिन् । संगठनमा शेरबहादुर केन्द्रीय महासचिव थिए, उनी केन्द्रीय सदस्य मात्र । तर संयोगले उनीहरूलाई काठमाडौंबाट पोखरा पुर्याएर जोडिदिएछ । 

शेरबहादुरको प्रेममा पर्नु अघिको किस्सा सुनाउँछिन् उषाकला, ‘संगठनको कामले हामी पोखरा गएका थियौं, महिला र पुरुषलाई त्यहाँ छुट्टाछुट्टै बस्ने व्यवस्था थियो, ठट्यौली उमेर संगठन भित्रकै केटाहरूका बारेमा चर्चा चलिरहकै थियो’, उषाकला केही उत्साहित हुँदै थप्छिन्,‘साथीहरू भन्दै थिए, ‘हेर साथी हो, हामी महिलालाई राजनीति गर्न गाह्रो छ । भविष्यका बारेमा बिचार गर्नुपर्छ । तर, हाम्रो संगठनमा एउटै मात्र केटा साथी छ शेरबहादुर तामाङ, उसको चाँहि भर पर्न सकिन्छ है !’’

उषाकला सुनाउँदै गइन्,‘यति सुनिसक्दा नसक्दा म जुरुक्कै उठेँ । प्रश्न गरेँ, को हो त शेरबहादुर तामाङ ? त्यहीँबाट उहाँलाई नजिकबाट पिछा गरेँ, उहाँको व्यवहार बुझ्दै गएँ ।’ उषाकला श्रीमानको बयान गर्न थाल्छिन्,‘यति शालिन, शान्त अनि भद्र व्यक्ति, हरेक समस्यालाई बुझ्ने एउटा पृथक मान्छे पाएँ मैले । अहिले सम्झन्छु, सुरुमा त मैले नै मन पराएछु झैँ लाग्छ’, यति भन्दै उषाकला शेरबहादुरको अनुहारमा हेरेर मुस्कुराउँछिन् ।

...त्यो पहिलो डेट

भनिन्छ, प्रेम र युद्धमा जे पनि जायज हुन्छ । यस्तै यस्तै प्रेम कहानी छ शेरबहादुर र उषाकलाको । २०५८ फागुनमा विवाह गरेपनि उनीहरू करिव ४ वर्ष अफेयरमा रहे । यद्यपि पहिलो प्रेमिल भेट २०५६ मा मात्र भएछ । 

ती सबै कुरा पोख्न चाहन्छन् शेरबहादुर । उनी गहिरो स्मृतिमा फर्कन्छन् र सुनाउँछन् ,‘मलाई याद छ, २०५६ को दसैंको छेको । बानेश्वरको बेकरी क्याफेमा एउटा सर्ट उपहार लिएर आउनु भएको थियो उषाकला । सँगै नेदरल्याण्डबाट ल्याएको कलम पनि थियो।’ 

त्यो दिन उषाकलाले तामाङको छोरो शेरबहादुर निविग्रियोस्, कुलतमा नफँसोस् भनेर घुमाउरो भावमा केही कमिट्मेन्ट पनि गराइछन् । शेरबहादुर सुनाउँदै जान्छन्,‘उपहार दिएर उहाँले मलाई एउटा कमिटमेन्ट पनि गराउनु भयो । म सामान्य पिउने तामाङको छोरोलाई नपिउन आग्रह गर्नुभयो, दसैंमा मार हानेर गाउँमा तहल्का मच्चाउने मलाई जीव प्रेम गर्न र कहिलै हत्या नगर्न आग्रह पनि गर्नुभयो,’ शेरबहादुरका कुरा नसकिँदै उषाले थपिन्,‘अचम्म लाग्छ, मेरो प्रेमको भाव र म प्रतिको समर्पण कति ! म प्रतिको सम्मान कति ! पछि थाहा भयो उहाँको दसैं नै अर्कै भएछ, त्यही दिनबाट पिउन चटक्कै छोड्नु भएछ, अनि मारकाट पनि ।’

विवाह, सन्तान र खुसी

हाम्रो समाजमा प्रेम आफू गर्ने अनि विवाह चाँहि बाबु आमाले नै गरिदिएको भन्ने गरिन्छ । तर शेरबहादुर–उषाकला दम्पती त्यसको विरोधी रहे । त्यसैले उनीहरूले यो विषयलाई औपचारिक रुपमै ब्रेक गर्ने निधो गरे । २०५८ फागुन २३ मा फर्किदै शेरबहादुर सुनाउँछन्, ‘अब, हामी सँगै बस्न सक्छौं भन्ने निर्णयमा पुगेपछि विवाह गर्यौं, विवाहको कार्डमा हामी आफै दर्शनाभिलाषी भएर बा–आमालाई प्रार्थी बनाएर कार्ड बाँड्यौँ।’ 

राजनीतिक जीवन, हतार र व्यस्तताको जीवनका बीचमा दुई छोराको अभिभावक बनेका छन् उनीहरू । त्यही बीचमा आ–आफ्नो औपचारिक शिक्षालाई पनि उनीहरूले उत्तिकै महत्वका साथ पूरा गरेका छन् । 

‘पहिलो छोरा पेटमा भएदेखि मैले एमए सोसोलोजी÷एनथ्रोपोलोजीमा मास्टर गरेँ, दोस्रो छोरा पेटमा हुँदादेखि हामीले दुवैले एलएलबी गर्यौं र कानुनको अधिवक्ता पनि बन्यौँ,’ त्यो समयका अविस्मरणीय क्षण पनि उषाकला विर्सन्नन्,‘म छ दिनको सुत्केरी हुँदा उहाँ पढेर सुनाउनु हुन्थ्यो, पछि सँगै गएर परीक्षा दियौं । म रेगुलर पास भए, उहाँको एउटा विषय लाग्यो’, यसरी उषाकलाले श्रीमान्ले श्रीमतीमाथि गरेको माया प्रेम र श्रद्धाबारे लामै बयान गरिन् ।

राजनीतिक यात्राका क्रममा देश र जनताका सुख दुःख सुन्न उनीहरु गाउँ–गाउँ पुग्छन् । सिन्धुपाल्चोकका प्रतिनिधि शेरबहादुर अनि खोटाङकी प्रतिनिधि उषाकला पार्टीका कार्यभारले दौडिरहन्छन् । यद्यपि परिवारिक खुसी र सुखका पर्याय पनि हुन् उनीहरू ।

‘देश र जनताका जति काम गर्नुहुन्छ उहाँले परिवारमा उति समय दिनुहुन्न’, उषाकलाको गुनासो छ । तर, छोराहरूलाई खुसी बनाएर श्रीमान्÷श्रीमती दुवैजना राजनीतिक यात्रामा निरन्तर रहिरहनु, देशको विकास र समृद्धिका लागि कर्म गर्न पाइरहनुलाई उनीहरू उपलब्धि मान्छन् । यस अर्थमा उनीहरू एकअर्कामा परिपूरक छन् ।  एकअर्कामा निहित हुँदै भन्छन्, ‘शेरबहादुरकै कारण उषाकला बनेकी छन्, अनि उषाकलाकै कारण शेरबहादुर।’ 

समाजसँगको संघर्षदेखि व्यवस्था परिवर्तनसम्म

तामाङको छोरासँग राईकी छोरीको विवाह अझै पनि समाजले कुरा काट्ने विषय हो । तर, उनीहरूले विवाहमात्र गरेनन्, आफ्नो सन्तानका थर पनि तामाङ र राईबाट कमन तानेर ‘तारा’ राखिदिएका छन् । 

‘समाजले के गरिरहेको छ भन्दा पनि छोरा र छोरीको समान अधिकारका लागि मेरो छोराहरूको थर तारा राखेका छौं, सुरुमा त धेरैले आलोचना गरे तर, संविधानमै हामीले यो व्यवस्था ल्यायौं । आज सबैका लागि यो विषय सामान्य बनेको छ’, शेरबहादुर व्यवस्था परिवर्तनका लागि आफू र श्रीमती उषाकलाले गरेको त्याग सुनाउँछन् । ‘उहाँ (उषाकला) २०६४ मा संविधान सभामा हुनुहुन्थ्यो, म २०७० मा थिएँ । त्यसैले हामीले संविधानमै बाबु र आमा दुवैजनाको बंशजको अधिकार पाउने व्यवस्था गरायौं ।’ यस मानेमा शेरबहादुर र उषाकला दम्पती पारिवारिक जीवनसँगै व्यवहारिक जीवनलाई पनि सँगसँगै अघि बढाउन सफल भएको ठान्छ । 

केही महिनाअघि शेरबहादुर र उषाकला एकैपटक मन्त्री बने । उषाकला प्रदेश १ की सामाजिक विकासमन्त्री अनि शेरबहादुर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री । उनीहरूको चर्चा राम्रैसँग भयो । यसरी उनीहरूको पारिवारिक मात्र नभएर राजनीतिक यात्रामा पनि सफल छ । देशको आर्थिक समृद्धिका बारेमा आफूहरू चिन्तित रहेको उनीहरु सुनाउँछन् ।

यतिबेला यो दम्पती ‘ब्याण्ड भर्सेस ब्राण्ड’को अभियानमा छ । अर्थात् शेरबहादुर तामाङ नेपालमा गाँजालाई वैधानिकता दिन हतारिएर लागिरहेका छन् भने उषाकला लोकल कोदोको रक्सी ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्छ भनेर लागिरहेकी छन् । उनीहरूलाई नै थाहा छैन कि, यो अभियान कहाँसम्म पुग्छ, तर नेपाली उत्पादनलाई ब्राण्ड बनाउन सके आफ्नै समयमा विकास र समृद्धि सम्भव देख्छन् उनीहरू ।

प्रदेश सांसद र प्रतिनिधिसभा सांसद गरेर दुई जनाको करिब १ लाख तलब बुझ्ने यो जोडी आर्थिक हिसाबमा कमजोर रहेको बताउँछ । ‘पुर्खाको सम्पत्ति व्यवस्थापन गरेर चलिरहेका छौं । आर्थिक रुपमा दुःखका साथ मितव्ययी भएर काम गरिरहेका छौं,’ असामान्य आर्थिक परिस्थितिलाई सामान्य बनाउन खोज्छिन् उषाकला ।  

‘हाम्रा लागि मन्त्री र सांसदभन्दा देश र जनताको जिम्मेवारी महत्वपूर्ण छ । माटो र जनतालाई मुटुमा राखेर गरिएको समर्पण अनि इमान्दारीपूर्वक गरिने जिम्मेवारीले एक दिन अवश्य सफल हुन्छौँ’, उनीहरूमा भविष्यमाथि पूर्ण विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया