प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
सारांश
- मानवअधिकार अभियन्ता प्रदीप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ बजारमा आएको छ।
- पुस्तकमा लेखक परियारको व्यक्तिगत यात्रा, दलित समुदायले भोग्नुपरेका विभेद, हिंसा तथा न्यायका लागि सङ्घर्ष समेटिएको छ।
- यो कृतिले सीमान्तकृत जीवनका सत्यहरू, आशा र विद्रोहको स्वरलाई दस्ताबेजका रूपमा प्रस्तुत गरेको छ।
काठमाडौँ । मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदीप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ बजारमा आएको छ। काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सन्समा बिहीबार आयोजित एक विशेष समारोहका बिच पुस्तकको औपचारिक लोकार्पण गरिएको हो।
कार्यक्रममा उपस्थित अतिथि तथा पाहुनाहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। सो अवसरमा संगीतकर्मी किरण नेपालीले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए।
सिन्धुलीमा जन्मिएर हाल ललितपुरलाई आफ्नो कर्मथलो बनाएका परियार लामो समयदेखि युवा अधिकार, मानवअधिकार तथा दलित समुदायको हकअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। ‘सियोधागो’ आफ्नो जीवनयात्रा, सामाजिक अनुभव र न्यायका लागि गरिएको सङ्घर्षको दस्ताबेजका रूपमा तयार गरिएको लेखक परियारले बताए। पुस्तकमा उनको जन्मथलो सिन्धुलीदेखि हालसम्मको व्यक्तिगत यात्रा, दलित समुदायले भोग्नुपरेका विभेद, हिंसा तथा हत्याका घटनासँग जोडिएका अनुभूति, न्याय प्राप्तिका सङ्घर्ष र समाजमा विद्यमान असमानताका विविध पक्षहरूलाई मिहिन ढङ्गले समेटिएको छ। दलित समुदायको अवस्था र परिवर्तनका सम्भावनालाई पुस्तकमा कथात्मक शैलीमा प्रस्तुत गरिएको छ।
फिल्म निर्देशक शान्ता नेपालीले ‘सियोधागो’ ले व्यक्तिगत भोगाइमार्फत समाजका गहिरा संरचनात्मक विभेद र न्यायको खोजीलाई उजागर गरेको उल्लेख गरिन्। यस कृतिले सामाजिक रूपान्तरणसम्बन्धी बहसलाई थप सशक्त बनाउने विश्वास उनले व्यक्त गरिन्।
दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौँदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई लेखक परियारले आफ्नै अनुभवसँग गाँसेर एउटा सामूहिक कथा बुनेका छन्। उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रूप हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई एकै ठाउँमा जोड्ने काम गरेका छन्।
यो कृति सीमान्तकृत जीवनका नभनिएका सत्यहरूको जीवन्त दस्ताबेजका रूपमा बाहिर आएको छ। आँसु, अन्याय र अपमानबिचबाट उठेको आशा र विद्रोहको स्वर यस पुस्तकमा भेटिन्छ।
नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा लेखकले देखेका र भोगेका यथार्थहरू यसमा समेटिएका छन्। युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना तथा हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष जस्ता संवेदनशील विषयहरू पुस्तकमा शब्द बनेर उभिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण