बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा भारतको पक्की तटबन्ध : कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

बुधबार, ०९ चैत २०७८, २० : ००
बुधबार, ०९ चैत २०७८

दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका–४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ ।

पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले ढुंगा प्रहारसमेत गर्दै आएका छन् । तर, पनि भारतीय पक्षले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।  स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई भेट गरी मन्त्री बडूले ध्यानाकर्षण गराएका हुन् । 

भारतीय पक्षले पक्की तटबन्ध निर्माण गर्ने क्रममा दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएको तर्फ दुवै मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस घटनाबाट दुवै तर्फको जनस्तरमा रहेको मित्रता र आपसी सम्बन्धलाई थप बिग्रन नदिनतर्फ सचेत हुन समेत आग्रह गरेका हुन् ।

सीमाक्षेत्रमा हुने प्रशासनिक एवं विकासका गतिविधिहरूमा दुवै पक्षको पूर्व जानकारी र समन्वयको सुनिश्चितता गर्नका लागि तत्कालै भारत सरकारसँग कूटनीतिक तहमा सम्पर्क गरी दुवै पक्षबीच प्राविधिक र प्रशासनिक समन्वय र संवादद्वारा सृजित समस्याको समाधान गर्न गराउन आग्रह गरेका हुन् ।   

भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले उक्त घटनालाई गम्भीर लिँदै भारत सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।  दुवै देशका संयुक्त प्राविधिक टोली खटाइ स्थलगत रूपमा नै समस्याको समाधान गर्न दूतावासमार्फत भारत सरकारलाई मौखिक साथै लिखित रूपमा अनुरोध गराइसकिएको उनले प्रष्ट पारे । 

यो विषयमा आफू निरन्तर भारतसँग सम्वादमा रहेको भन्दै चाँडै उक्त समस्याको समाधान गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप