आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय
सोमबार, २१ चैत २०७८, २१ : ००
सोमबार, २१ चैत २०७८

काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।

आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।

केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् । त्यो स्थितिमा ६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भइरहेको बुझिएको छ । पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।  

नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले रातोपाटीसँग भने, ‘चितवन जिल्ला कार्यसमितिको बैठकले केन्द्रको पाँच दलीय संयन्त्रलाई अन्य जिल्लामा जस्तै निरन्तरता दिइने निर्णय ग¥यो । तर, यसको बटमलाइन भरतपुर महानगरपालिकाको मेयर काँग्रेसको हुनुपर्नेछ ।’

चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को गृहजिल्ला समेत हो यही कारण भरतपुर महानगरको मेयर पुनः माओवादीले पाउनुपर्ने माओवादीको अडान छ ।

​देशैभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र विवादको केन्द्र भरतपुर महानगर बन्न पुगेको छ । प्रचण्डको निर्वाचन क्षेत्र हुनु र उनकी छोरी रेणु दाहाल भरतपुर मेयर भएकाले चितवन चर्चामा आएको हो । विगतको चुनावी नतिजा हेर्दा चितवनमा माओवादी अंकगणितीय हिसावले तेस्रो स्थानमा छ ।  ०७४ को चुनावमा भएको गठबन्धनलाई लिएर पनि चितवन काँग्रेसमा असन्तुष्टि देखिको थियो, जुन अहिले फेरि सतहमा आएको छ । ०७४ मा माओवादीले मेयर र काँग्रेसले उपमेयर लिने गरी गठबन्धन भएको थियो ।

स्थानीय चुनावमा सत्ता गठबन्धन गरेर जाने सहमती भएपनि कुन मोडल अपनाएर जानेमा टुंगो लागेको छैन। अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी लगायत दलले यसअघि जुन पार्टीले जितेको त्यसलाई दिएर चुनावी तालमेल गर्ने मत राखेका छन्। अरु एमालेले जितेका स्थानीयतहमा गठबन्धनमा सहभागी दलले भागवण्डा गरेर लिने उनीहरुको अडान छ । त्यसमा काँग्रेसले असहमति जनाएको छ ।  

स्थानीय तहको मतभारका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने काँग्रेसले अडान राखेको छ । उता शेखर कोइराला पक्षले चुनावी तालमेल गर्न नहुने भन्दै दबाव बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा बहुमत भएकाले चुनावी तालमेल गर्ने अवस्थामा काँग्रेसलाई पु¥याएका छन् । कोइराला पक्ष भने चितवनबाट संघमा प्रचण्डलाई सघाए पनि भरतपुर महानगर जसरी पनि लिने ध्याउन्नमा छ ।

काँग्रेस केन्द्रीय सदस्य एवं चितवन नेता दिनेश कोइरालाले यसअघि आफूले मेयरमा उम्मेदवारी दिएर फिर्ता लिएकाले यसपटक आफूहरुले मेयर नछोड्ने बताए । उनले रातोपाटीसँग भने, ‘स्वभाविकै रुपमा भरतपुर काँग्रेसले पाउनुपर्छ । अरु कुरा पछि हुँदै जान्छ । अघिल्लोपटक माओवादीले अस्वाभाविक रुपमा मेयर लियो । अब माओवादीले ठूलो छाति देखाएर हामीलाई सघाउनुपर्छ।’

यसअघि निर्वाचनमा माओवादीले ट्रयापमा पारेर आफूहरुलाई उम्मेदवारी फिर्ता लिन लगाएको भन्दै कोइरालाले आक्रोश व्यक्त गरे । अब चुनावी तालमेल गर्नुपर्ने भएमा कुनै न कुनै बलियो मापदण्ड बनाउनुपर्ने बताउँदै कोइरालाले हरेक दृष्टिकोणले भरतपुर काँग्रेसले पाउने आधार देखिएको बताए ।

‘भरतपुरमा जनमतका हिसाबले ठूलो पार्टी काँग्रेस छ । मतमा एक नम्बर छौं, उहाँहरु तेस्रो नम्बरमा हुनुहुन्छ । हरेक कोणले भरतपुरको मेयर काँग्रेसले पाउनु्पर्छ’ कोइरालाले भने, ‘माओवादीले सधैं लिने काँग्रेसले दिने मात्रै गर्नुहुन्न । यसपटक माओवादीले उदारता देखाए एउटा राजनीतिक संस्कार बस्ने थियो ।’

काँग्रेस र माओवादीबीच निरन्तर नोकझोंक

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा भएलगत्तै  गत असोज २० गते चितवनका काँग्रेस नेता जितेन्द्र नारायण श्रेष्ठले चितवन काँग्रेसले रुखमा बाहेक अन्त भोट नहाल्ने अभिव्यक्ति दिए । त्यसअघि भरतपुरको मेयरमा माओवादी केन्द्रबाट मेयर बनेकी रेणु दाहाललाई भोट हाल्दा लोकतन्त्र नै संकटमा परेको भन्दै हँसिया हथौडामा भोट नहाल्ने श्रेष्ठले जिकिर गरे ।

श्रेष्ठको अभिव्यक्तिलाई लिएर माओवादीभित्र तरंग पैदा भयो । उनको अभिव्यक्तिलाई माओवादी नेताहरुले प्रतिवाद गरे । तर, त्यो श्रृंखला निरन्तर चलिरहेकै छ ।

गत चैत १० गते गृहजिल्ला चितवन पुगेर अध्यक्ष प्रचण्डले ‘स्थानीय तहको निर्वाचनमा चितवनका काँग्रेस नेताले भनेर हुँदैन, माथिबाटै गठबन्धन हुन्छ’ भन्ने दाबी गरे । प्रचण्डको अभिव्यक्तिलाई लिएर चितवनका काँग्रेस नेताहरुले आफूहरुलाई मिनिमाइज्ड गर्न खोजेको भन्दै आक्रोशित भए । लगत्तै बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा नेता दिनेश कोइरालाले प्रचण्डको अभिव्यक्तिको प्रतिवाद गरे । उनले प्रतिक्रिया दिँदै भने, ‘प्रचण्डको दाबी अस्वाभाविक दम्भ हो, त्यसो गर्नुहुँदैन । गठबन्धन केन्द्रमा होला, भोट त हामीले हाल्ने हो नि ।’

यस्तो छ भरतपुरको अंकगणित  

भरतपुरमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरी कुल मतदाता १ लाख ५० हजार २७४ छन् । त्यतिबेला माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो ।

माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा काँग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

भरतपुरको मेयरको मत हेर्दा काँग्रेस र माओवादी दुबैको जोड्दा एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो । यसअघि निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएकाले एकिन मत आउन सकेको छैन । यो पाँच वर्षको अन्तरालमा काँग्रेस र माओवादीले कति मतदाता थपेका छन्, त्यसले पनि अर्थ राख्नेछ ।

तर, माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले पछिल्लो समय माओवादी संगठन बलियो बनाएको दाबी गरे । भरतपुरबाट मात्रै १४ हजार ८ सय संगठित कार्यकर्ता भएको भन्दै बाहिर प्रचार गरिएजस्तो कमजोर नभएको अधिकारीले जिकिर गरे ।

पूर्वाधारको क्षेत्रमा माओवादीले भरतपुरमा उल्लेख्य काम गरेकाले पुनः माओवादीबाटै मेयर उठ्ने उनले दाबी गरे । भरतपुर माओवादीलाई दिने विषयमा काँग्रेसमा कुनै समस्या नभएको अधिकारीको दाबी छ । उनी भन्छन्, ‘हामीले पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौं । समुदाय विद्यालयको सुधार राम्रो भएका छन् । भरतपुरमा ६ हजार विद्यार्थी निजीबाट सामुदायिक विद्यालयमा आएका छन्’ अधिकारीले भने, ‘हामीले गरेका कामको पनि प्रचार गर्न सकेनौँ, अरुले नगरेका कामको पनि प्रचार गरे।’ 

माओवादी नेताले संगठन राम्रो भएको दाबी गरे पनि माओवादीले एक्लै भरतपुरको मेयर जित्ने सम्भावना कम रहेको स्थानीय बताउँछन् । काँग्रेससहितका दलसँग चुनावी तालमेल गरेर माओवादीले मेयर पाएमा पनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

एमाले विभाजित भए पनि त्यसको असर भरतपुरमा भने कम पर्ने आकलन छ । यसअघि दाहालले चुनावी मतपत्र च्यातेर जितेको आरोप छ । त्यो आरोप नपखालिएकाले माओवादीका अन्य उम्मेदवार उठ्दा पनि त्यसको नोक्सानी नोक्सानी माओवादीले बेहोर्नुपर्ने हुन सक्छ ।

यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो । राप्रपाका बद्रीनाथ तिमिल्सेनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् । अहिले राप्रपा विभाजित भएकाले त्यसको असर पर्ने सम्भावना छ ।

गठबन्धनमा सहभागी जसपालगायत दलहरुको प्रभाव कम भएकाले जसपा र एकीकृत समाजवादीसमेत चुनावी तालमेलमा जोडिए पनि मतभारमा खासै फरक पर्ने देखिँदैन । त्यसमा मुख्य रुपमा काँग्रेसले सातामात्रै माओवादीले भरतपुर जित्ने देखिन्छ ।

यसैबीच भरतपुरकी मेयर रेणु दाहालले अघिल्लो साता रातोपाटीसँग गरेको कुराकानीमा आफूलाई व्यक्तिगत रुपमा मेयरमा दोहोर्याउने ईच्छा नभएको बताएकी थिइन् । तर, पार्टीको निर्णय आफूले पालना गर्ने र भरतपुरको विकासमा माओवादीको भूमिका पुनः आवश्यक रहेको उनले बताएकी थिइन् ।

दाहालले रातोपाटीसँग भनेकी थिइन्, ‘व्यक्तिगत हिसाबले भन्ने हो भने मलाई त पुग्यो । तर, पार्टीको बफादार कार्यकर्ता भएको नाताले पार्टीको निर्णय भयो भने उठ्ने हो । मेरो ५ वर्षे कार्यकाल सफल नै रह्यो । व्यक्तिगत हिसाबले भन्ने हो भने मेरो रहर चाहिँ छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप