शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा आचारसंहिता कार्यान्वयनमा कडाइ, सुरक्षा व्यवस्था मजबुद

आइतबार, २५ वैशाख २०७९, २१ : ४१
आइतबार, २५ वैशाख २०७९

ललितपुरमा आचारसंहिता उल्लङ्घनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरुमा आचारसंहिता विपरीत सार्वजनिकस्थल, व्यक्तिको घरमा पार्टीको झण्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको गुनासो आएपछि अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जानकारी दिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अहिले आचारसंहितालाई ललितपुरमा पूर्णरूपमा पालना गराइएको बताए । उनले आज पनि आफैँ विभिन्न ठाउँको अनुगमन गरिरहेको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताए । 

उनले भने, “आचारसंहिताको अटेर गुनासो आएका थिए, हामीले अनुगमन ग¥यौँ, सुरुमा केही ठाउँमा भएका पार्टीका झण्डा, चुनाव, चिह्न, फ्लेक्सलाई झिकेर सम्बन्धित पार्टीलाई बुझाएर सचेत गरेका छौँ, अहिले ललितपुरमा आचारसंहिता पूर्ण पालना गराएका छौँ, कहीँ कतै आचारसंहिता विपरीत काम भएको भए तत्कालै हामीलाई जानकारी गराए तत्कालै कारबाही गर्छौं ।” 

उनले यही वैशाख ३० गतेको निर्वाचनका लागि जिल्लाका सबै पालिकाको मतदानस्थल तथा केन्द्रको अनुगमन गरेको, सुरक्षा व्यवस्था मजबुद बनाउन स्थानीय तह सुरक्षा संयन्त्र नै गठन गरेर सुरक्षा योजना स्वीकृत गरी सबै मतदान केन्द्रमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सुरक्षा व्यवस्था मजबुद बनाएको बताए । 

सबै पालिकाका मतदाताले सुरक्षित भएर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने, भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सक्ने गरी सुरक्षा व्यवस्था मजबुद बनाएको उल्लेख गर्दै उनले मतगणनास्थलमा पनि सुरक्षित व्यवस्थापन गर्ने गरी सुरक्षा संयन्त्र तयार पारिएको बताए । जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता र एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकासहित ६ वटा पालिकामा कूल १३१ मतदानस्थल र २८८ वटा मतदान केन्द्र कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप