शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप

के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?

शनिबार, २३ जेठ २०८३, ०७ : ५९
शनिबार, २३ जेठ २०८३

सारांश

  • एसियाली च्याम्पियन कतारले फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने सम्भावना छ, यद्यपि यो सम्भावना धेरै ठूलो छैन ।
  • कतार समूह 'बी' मा स्विजरल्याण्ड, क्यानडा र बोस्निया तथा हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ, जहाँ क्यानडाविरुद्धको खेल जित्नैपर्ने हुनेछ ।
  • प्रशिक्षक जुलेन लोपेतेगुईले टोलीलाई दबाबमुक्त भएर खेल्न प्रोत्साहित गरेका छन्, खेलाडीहरूमा महत्त्वाकाङ्क्षा रहेको बताएका छन् ।

घरेलु भूमिमा फिफा विश्वकपमा पहिलो सहभागिता जनाएको चार वर्षपछि कतार फेरि नयाँ ‘सपना’ पूरा गर्ने तयारीमा छ ।

लगातार दुई पटकका एसियाली च्याम्पियन कतार उत्तर अमेरिकामा जुन ११ देखि जुलाई १९ सम्म हुने फुटबल प्रतियोगितामा इतिहासमै पहिलो पटक छनोट चरण पार गरेर प्रत्यक्ष रूपमा पुगेको छ ।

छनोटका तीन चरण सफलतापूर्वक पार गर्दै मुख्य प्रतियोगितामा पुगेको कतार समूह ‘बी’ मा परेको छ, जहाँ उसको प्रतिस्पर्धा स्विजरल्याण्ड, क्यानडा र बोस्निया तथा हर्जगोभिनासँग हुनेछ ।

यसपटक पहिलो पटक नकआउट चरणमा पुग्ने सम्भावना कतारका लागि यथार्थपरक नै देखिन्छ ।

कतारका प्रशिक्षक जुलेन लोपेतेगुईले टोलीको मुख्य लक्ष्य दबाबमुक्त भएर खेल्नु भए पनि महत्त्वाकाङ्क्षा नछोड्ने बताएका छन् ।

विश्वकपमा कतार

  • अघिल्ला विश्वकप सहभागिता: एक पटक
  • उत्कृष्ट प्रदर्शन: समूह चरण (२०२२)
  • पहिलो सहभागिता: २०२२ (कतार)
  • सर्वाधिक गोलकर्ताः मोहमद मुनतारी (१ गोल)
  • सर्वाधिक खेल खेलेका खेलाडी: अबदेलकरिम हसन, बोयलिम खोयुखी, अक्रम अफिफ (प्रत्येकले ३ खेल)
  • विशेष प्रभावशाली खेलाडी: अलमेइज अली
  • फिफा विश्व वरीयता: ५५औँ

कतारका विपक्षी टोलीहरूको स्तर कस्तो छ ?

स्विट्जरल्यान्ड र बोस्निया तथा हर्जेगोभिना दुवै युरोपका बलिया टोली हुन् । स्विट्जरल्यान्डले विश्वकपको फाइनल चरणमा १३औँ पटक सहभागिता जनाउँदै छ र पछिल्ला तीनवटै विश्वकपमा नकआउट चरणसम्म पुगेको छ ।

विश्व वरीयताको १९औँ स्थानमा रहेको स्विट्जरल्यान्ड तीन पटक क्वार्टरफाइनलसम्म पुगेको अनुभवसहित समूह ‘बी’ को शीर्ष स्थानका लागि प्रमुख दाबेदार मानिएको छ ।

फिफा वरीयतामा ६५औँ स्थानमा रहेको बोस्निया तथा हर्जेगोभिना कतारभन्दा तल भए पनि त्यसका आधारमा मात्र उसलाई कमजोर आँक्न सकिँदैन । १२ वर्षपछि विश्वकपमा फर्किएको बोस्नियाले छनोट चरणमा चार पटकको विश्व च्याम्पियन क्ष्तबथिलाई पेनाल्टी सुटआउटमा हराउँदै ठुलो उलटफेर गरेको थियो ।

कतारले दुवै युरोपेली टोलीविरुद्ध कठिन चुनौती सामना गर्नुपर्नेछ । तर दुई पटकको एसियाली च्याम्पियन कतारले विश्व वरीयताको ३०औँ स्थानमा रहेको तथा प्रतियोगिताको सह–आयोजक क्यानडाविरुद्ध अंक बटुल्ने आशा गर्न सक्छ ।

Quatar ffff

कतारजस्तै क्यानडाले पनि २०२२ को विश्वकपमा कुनै जित निकाल्न सकेको थिएन । साथै २०१८ को अभियान पनि निराशाजनक रह्यो। तेस्रो पटक विश्वकप खेल्न लागेको क्यानडा अझैसम्म नकआउट चरणमा पुग्न सकेको छैन ।

विश्वकपअघिका मैत्रीपूर्ण खेलहरूमा क्यानडाले मिश्रित प्रदर्शन गर्‍यो, जहाँ उसले दुई खेल जित्यो र दुई खेल बराबरी खेल्यो ।

‘दबाब होइन, क्षणको आनन्द लिनुपर्छ’ प्रशिक्षक लोपेटेगुई भन्छन् । प्रतियोगिताअघि यी स्पेनी प्रशिक्षकले ४८ टोली सहभागी हुने विश्वकपमा योग्यताका आधारमा छनोट हुनु कतारका लागि ‘ठुलो उपलब्धि’ भएको बताएका छन् ।

यो उपलब्धि कतारका लागि मात्र नभई लोपेटेगुईका लागि पनि विशेष छ, किनभने उनी पहिलो पटक प्रशिक्षकका रूपमा विश्वकपमा सहभागी हुँदैछन् ।

सन् २०१८ को विश्वकपअघि स्पेनी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक रहेका लोपेटेगुईलाई प्रतियोगिता सुरु हुन केही दिनअघि रियल म्याड्रिडमा जाने घोषणा गरेपछि पदबाट हटाइएको थियो । त्यसैले उनले स्पेनको नेतृत्व गर्दै विश्वकप खेलाउने अवसर गुमाएका थिए ।

यस वर्षको विश्वकपले ५९ वर्षीय लोपेटेगुईलाई लामो समयदेखि प्रतीक्षा गरिएको अवसर दिनेछ । तर आफ्नो देशका लागि भने होइन ।

‘हामी हाम्रो सपनाको अर्को चरणमा प्रतिस्पर्धात्मक बन्ने ठुलो चुनौतीका लागि तयारी गरिरहेका छौँ,’ उनले भने ।

‘हामीले दबाब महसुस गर्नु हुँदैन । हामी त्यहाँ पुग्ने अधिकार जितेर आएका हौँ, त्यसैले यो अवसरको आनन्द लिनुपर्छ । मेरो बुझाइमा प्रतिस्पर्धात्मक भएर खेल्दा अझ बढी आनन्द लिन सकिन्छ । दबाब भन्ने शब्द हाम्रो भाषामा छैन ।’

मे २०२५ मा टोली सम्हालेका लोपेटेगुईले कतार आफ्ना विपक्षीहरूभन्दा कमजोर भए पनि खेलाडीहरूमा महत्त्वाकाङ्क्षाको कमी नरहेको बताए ।

‘विश्वकपको हरेक क्षण विशेष हुन्छ,’ उनले थपे ।

‘तपाईँले प्रत्येक देश, प्रत्येक खेलाडी र उनीहरू खेलिरहेको प्रतियोगिताको विश्लेषण गर्नुहुन्छ । तपाईं विश्वका उत्कृष्ट खेलाडीविरुद्ध खेल्दै हुनुहुन्छ । त्यसैले हामी प्रतिस्पर्धात्मक बन्न तयार हुनुपर्छ ।

‘निश्चय नै हामीभन्दा राम्रो टोलीहरूसँग खेल्दैछौँ र यो यथार्थ स्वीकार्नुपर्छ । तर यो स्वीकार्नुको अर्थ हामीसँग जित्ने वा प्रतिस्पर्धा गर्ने महत्त्वाकाङ्क्षा छैन भन्ने होइन । ती फरक कुरा हुन् ।’

कतारका प्रमुख खेलाडी को हुन् ?

यदि कतारले भ्यानकुभरमा क्यानडाको आशा समाप्त गर्न चाहन्छ भने उसले आफ्ना मुख्य स्ट्राइकर अलमेज अलीमाथि भर पर्नुपर्नेछ । ६० गोलसहित उनी कतारका सर्वाधिक गोलकर्ता हुन् ।

त्यस्तै दुई पटकका एसियाली वर्ष खेलाडी अक्रम अफिफ टोलीका सबैभन्दा सिर्जनात्मक खेलाडी हुन् ।

अफिफले २०२२ को विश्वकपमा कतारका लागि हरेक मिनेट खेलेका थिए । उनी रक्षक बुआलेम खौखी तथा अब्देलकरिम हसनसँगै विश्वकपमा सर्वाधिक तीन खेल खेल्ने कतारी खेलाडी हुन् ।

कप्तान हसन अल–हैदोस पनि समर्थकमाझ निकै लोकप्रिय छन् । लोपेटेगुईको आग्रहमा जुन २०२५ मा सन्यासबाट फर्किएका उनले कतारका लागि १८८ खेल खेल्दै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

कतारको टोली अझै पनि विगत एक दशकको सफलताको आधार बनेको एकेडेमी प्रणालीबाट विकसित घरेलु खेलाडीहरूमा आधारित छ ।

धेरै खेलाडी एउटै विकास प्रक्रियाबाट आएका कारण टोलीमा निरन्तरता र आपसी समझदारी छ । तर घरेलु लिगमा आधारित खेलाडीहरूले विश्वस्तरीय टोलीविरुद्ध लगातार प्रतिस्पर्धा गर्न पर्याप्त अनुभव र गहिराइ राख्छन् कि राख्दैनन् भन्ने प्रश्न अझै कायम छ ।

कतारको विश्वकप २०२६ तालिका

  • जुन १३– कतार विरुद्ध स्विट्जरल्यान्ड – सान्टा क्लारा, क्यालिफोर्निया (अमेरिका)
  • जुन १८– क्यानडा विरुद्ध कतार – भ्यानकुभर (क्यानडा)
  • जुन २४– बोस्निया तथा हर्जेगोभिना विरुद्ध कतार – इङ्गलउड, क्यालिफोर्निया (अमेरिका)

कतारसँग नकआउट चरणमा पुग्ने सम्भावना छ, यद्यपि त्यो सम्भावना धेरै ठुलो छैन । अंक बटुल्ने सबैभन्दा राम्रो अवसर क्यानडाविरुद्ध हुनेछ । यदि कतारले क्यानडालाई हरायो भने उसले तीन अंक प्राप्त गर्नेछ, जुन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा पुग्न पर्याप्त हुन सक्छ ।

यदि कतारले तीनवटै खेल बराबरी खेले पनि (यद्यपि त्यो सम्भावना कम छ) इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्न सक्ने अवस्था बन्न सक्छ ।

सरल भाषामा भन्नुपर्दा, यदि कतारले प्रतियोगितामा लामो यात्रा गर्ने सपना देखेको छ भने क्यानडाविरुद्धको खेल जित्नैपर्ने खेल हुनेछ ।

कतारको विश्वकप २०२६ टोली

गोलकिपरः

सालाह जाकारिया, मेशाल बर्शाम, महमुद अबुनादा

डिफेन्डरः

बुआलेम खौखी, पेड्रो मिगेल, सुल्तान अल–ब्राके, अल–हास्मी अल–हुसैन, अयुब अल–ओई, इस्सा लाये, लुकास मेन्डेस, होमाम अल–अमिन

मिडफिल्डरः

अहमद फाथी, जासिम गाबेर, असिम मादिबो, अब्दुलअजिज हातेम, करिम बौदियाफ, मोहम्मद अल–मननाइ

फरवार्डः

अल्मोएज अली, अक्रम अफिफ, तहसिन मोहम्मद जम्सिद, एडमिल्सन जुनियर, अहमद अल–गानेही, अहमद अलाएल्दिन, हसन अल–हायडोस, मोहम्मद मुन्तारी, युसुफ अब्दुरिसाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप