शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१६२ मुलुकसँग नेपालको व्यापार, १३० देशसँग घाटा

सबैभन्दा धेरै घाटा चीन र भारतसँग
बुधबार, २८ वैशाख २०७९, १२ : ०५
बुधबार, २८ वैशाख २०७९

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटाको खाडल १३ खर्ब ६ अर्ब रुपैयाँ पुगिसकेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब रुपैयाँमा सीमित थियो, जुन यो वर्षको भन्दा २८ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा थप चुलिएको देखिन्छ । उच्च गतिमा आयात बढ्नु अनि सोही गतिमा निर्यात नबढ्नु नै व्यापार घाटा चुलिनुको मुख्य कारण हो । यस अवधिमा विदेशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको ९ महिनामा यस्तो आयात ११ खर्ब ११ अर्ब रुपैयाँ थियो, जुन यो वर्षको ९ महिनामा भएको आयातको तुलनामा ३१ प्रतिशतले कम हो । यस्तै गत वर्षको ९ महिनामा ९४ अर्बमा सीमित नेपालको निर्यात १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ६९ प्रतिशतले निर्यात बढे पनि आयातको तुलनामा उल्लेख्य गतिमा बढ्न सकेको छैन ।

नेपालसँग व्यापार सम्बन्ध रहेका अधिकांश मुलुकसँग निर्यातको कमी नै प्रत्येक वर्ष ठूलो मात्रामा व्यापार घाटा बेहोर्नुको मुख्य कारण रहेको दखिन्छ । चालू आर्थिक वर्षको यस अवधिमा नेपालले विश्वका १६२ देशसँग व्यापार गरेको छ । यीमध्ये १३० मुलुकसँगको व्यापार घाटामा छ । बाँकी ३२ मुलुकसँगको व्यापारमा मात्रै नाफा देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले विश्वका १५३ मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये २७ देशसँगको व्यापार मात्रा नाफामा थियो भने बाँकी १२६ देशसँगको व्यापार घाटामा थियो । नेपाल नाफामा रहेको मुलुकहरूतर्फको निर्यात न्यून गतिमा छ भने आयात उच्च गतिमा भइरहेको हुन्छ ।


सबैभन्दा धेरै घाटा चीन र भारतसँग
व्यापार घाटा रहेका मुलुकमध्ये भारत र चीन सबैभन्दा अगाडि छन् । ९ महिनाको अवधिमा नेपाललाई भारतसँग सबैभन्दा बढी ७ खर्ब ७३ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यस अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब निर्यात हुँदा भारतबाट ९ खर्ब १ अर्ब रुपैयाँको आयात भएको छ । 
यस्तै व्यापार घाटा भइरहेको मुलुकको दोस्रो सूचीमा उत्तरी छिमेकी मुलुक चीन छ । चीनबाट ९ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँको आयात हुँदा यही अवधिमा जम्मा ६२ करोड रुपैयाँको निर्यात भएको छ । फलस्वरूप नेपाललाई यस अवधिमा २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ ।

यसबाहेक इन्डोनेसियासँग ३९ अर्ब, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ३७ अर्ब, अर्जेन्टिनासँग ३२ अर्ब, अमेरिकासँग २५ अर्ब, युक्रेनसँग १९ अर्ब, अस्ट्रेलियासँग १८ अर्ब, मलेसियासँग १३ अर्ब, ब्राजिलसँग १० अर्ब र थाइल्यान्डसँग ९ अर्ब रुपैयाँ व्यापार घाटा छ ।

यी मुलुकबाट आयात मात्रै हुन्छ, छैन निर्यात
नेपालको व्यापारिक सम्बन्ध रहेका मध्ये ३७ वटा देशबाट नेपालतर्फ एककोहोरो आयात मात्रै हुने गरेको पाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार कुल व्यापार सम्बन्ध रहेका १६२ मध्ये ३७ देशतर्फ नेपालबाट निर्यात नै हुँदैन ।

यीमध्ये अन्डोरा, अन्टिगुवा र बर्बुडा, ब्रहामास, बारबाडोस, बेलारुस, बेलिजे, बोसनिया एन्ड हर्जगोभिना, क्यामरुन, क्रिस्टमस आइल्यान्ड, कोकोस आइल्यान्ड, कोमोरोस, डोमिनिकान रिपब्लिक, एल साल्भाडोर, गाबोन, ग्वाटेमाला लगायतका देशबाट आयात मात्रै गर्छ । यस्तै गिनिया– बिसाउ, होन्डुरस, इरान, कोसोभो, लक्जमवर्ग, माडागास्कार, मोजाम्बिके लगायतका देशबाट समेत आयात मात्रै हुन्छ ।

यी मुलुकमध्ये केही देशबाट धेरै र केहीबाट थोरै परिमाणमा आयात हुने गरे पनि नेपालतर्फको निर्यात शून्य देखिन्छ । जसले नेपालको वैदेशिक व्यापार घाटालाई थप बढवा दिइरहेको देखिन्छ । यसैगरी मोजाम्बिके, निकारागुवा, नर्दन मारिआना आइल्यान्ड, पानामा, पाराग्वे, मोल्दोभा, सन मारिनो लगायतका देशबाट समेत आयात मात्रै हुने गरेको पाइएको छ ।

१२ देशमा निर्यात मात्रै, छैन आयात
३७ वटा देशबाट आयात मात्र भइरहँदा १२ देशबाट भने आयात हुँदैन । भन्सार विभागको तथ्याङ्कअनुसार १२ देशतर्फ नेपालबाट निर्यात हुने भए पनि उताबाट वस्तु आयात नहुने गरेको छ ।
वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आएको नेपालबाट निर्यात हुने मुलुकतर्फ जाने वस्तुको परिमाण भने धेरै छैन । यद्यपि अल्जेरिया, अर्मेनिया, अजरवैजान, बेरमुडा, फिजी, जमैका, किर्गिस्तान, मौरिसिनिया, माइक्रोनेसिया, मोनोको, सेन्ट हेलेना र ट्रिनिडाड एन्ड टोबाकोतर्फ निर्यात मात्रै हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप